Author Topic: Shankar Acharya (शंकर आचार्य) Bhadragol director and actor  (Read 4819 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1187
भद्रगोलका निर्देशकको भद्रगोल जीवन

भै गो नि त, हजुर वरिष्ठ, हस्त नमस्ते । अहिले यो थोगो निकै चर्चित छ । पछिल्लो समयको सर्वाधिक चर्चित हास्य टेलिशृंखला भद्रगोलमा वरिष्ठ पात्रले यो थोगो बोल्छ । र, ती ‘वरिष्ठ’ हुन्– शंकर आचार्य ।

भद्रगोलका निर्देशकसमेत रहेका शंकर आफ्नो टेलिशृंखलाले दर्शकको मन जितेकोमा प्रफुल्लित छन् । आफू निर्देशकका साथै  सिरियलको एक मुख्य पात्र पनि भएकाले भद्रगोललाई अझै कसरी जनप्रिय बनाउने भन्ने ध्याउन्न उनको हुने गर्छ । ‘जुन सोच र लक्ष्य लिएर भद्रगोल सुरु गरेका थियौँ, त्योभन्दा पनि बढी उपलब्धि हासिल भएको छ,’ शंकर भन्छन्, ‘देशमा मात्र नभई विदेशमा पनि हाम्रो टेलिशृंखलाले तारिफ पाउने गरेको छ । यसले अझ जिम्मेवार बनाएको छ ।’

भद्रगोलको सफलतासँगै वरिष्ठेको उपनामले चिनिए पनि कलाकारिताप्रतिको उनको लगाब र निरन्तरता भने निकै गहिरो छ । ‘मैले बच्चैदेखि कलाकारिता सुरु गरेको हुँ’, शंकर भन्छन्, ‘अभिनय, गायन, निर्देशन मात्र नभई निर्माणमा समेत म संलग्न छु ।’ टिभीको पर्दामा हँसाउँदै आएका उनको बाल्यकाल भने निकै दर्दनाक छ ।

‘म त माया मारेको मान्छे हुँ’ उनी भन्छन्, ‘दश वर्षको थिएँ, त्यतिवेला म र मेरो माइलो दाइ खेल्न गएका थियौँ,’ काठमाडौं नजिकैको मुड्कु भञ्ज्याङ गाविसमा जन्मिएका शंकर फल्यासब्याकमा गए, ‘खैल्दै गर्दा मैले ६६ हजार हाई टेन्सन लाइनको करेन्टमा समात्न पुगेछु । करेन्टले मेरो पूरै शरीर जल्यो । ६ महिना वीर अस्पतालमा बेहोस हालतमा मेरो उपचार भएछ । ६ महिनापछि मेरो होस खुल्यो । अनि अर्को छ महिना अस्पतालमै उपचार गरेपछि मात्रै मलाई घर ल्याइएको थियो ।’ आफूतिर तान्ने नभएर फाल्ने करेन्टमा परेकाले आफू बाँचेको उनले बताए ।

‘करेन्टले मलाई हुत्याइदिएछ । जिउभरि आगो लागेछ । डा। अञ्जनीकुमार शर्मा र उहाँको टिमले मलाई बचाउनुभयो,’ उनी भन्छन्, ‘मेरो शरीर जलेको देखेर डाक्टरले पनि बाँच्ने सम्भावना एक प्रतिशत मात्र छ भन्नुभएको रहेछ । त्यसमाथि म ६ महिना बेहोस भएँ । बाँच्दैन भनेर सबैले माया मारेका रहेछन् । तर, भगवान्को कृपाले मैले जीवनदान पाएँ ।’ अरूलाई सक्दो खुसी बनाउँदा आफूलाई खुसी लाग्ने उनी बताउँछन् । ‘माया मारेको मान्छे बाँचेँ । त्यसैले सबैलाई हँसाएर खुसी पार्न चाहन्छु,’ कमेडी सिरियल निर्माणको एउटा कारण पनि उनले बताए, ‘अरूको मुहारमा हाँसो ल्याउनु पनि धर्म हो । होइन र रु’

शंकरले ०३४ मा स्कुले जीवनबाटै कलाकारिता थालेका थिए । त्यतिवेला उनी काभ्रेको पाँचखालस्थित समाज कल्याण केन्द्र स्कुलमा पढ्थे । राजा वीरेन्द्र र रानी ऐश्वर्याले आफ्नो अभिनय तथा गायन कलाको प्रशंसा गरेपछि उनलाई अझ हौसला मिल्यो रे । ‘त्यतिवेला हामी पढ्ने स्कुलमा राजारानीको सवारी भएको थियो । म र मेरो गु्रपले नाटक देखायौँ, गायौँ, उहाँहरू खुसी भएर हामीलाई प्रेरणा दिनुभयो । त्यसपछि त कलाकारितामा लाग्न अझ हौसला मिल्यो ।’

०४२ मा एलएलसी पास गरेपछि उपत्यका छिरेका उनले ०४४ मा राष्ट्रिय नाचघरमा निर्मल गंगा नामक नाटकमा अभिनय गरे । एक महिनासम्म चलेको सो नाटक गर्दा उनको जीवनमा अर्को ठूलो घटना घट्यो । उनले स्टेजमै रगत छादेछन् । ‘सधँै नाटक–नाटक भन्दै हिँडियो । समयमा खानपिनको बन्दोबस्त नहुनाले म निकै कमजोर भएछु । त्यसले गर्दा मलाई त क्षयरोग पो लागेछ,’ उनले भने, ‘त्यतिवेला क्षयरोगलाई निकै ठूलो रोगका रूपमा हेरिन्थ्यो । त्यसकारण एक वर्षसम्म काम नगरी डाक्टरको निगरानीमा औषधि खाएर बस्नुपर्‍यो ।’

०४४ मै उनले निर्माण गरेको भद्रगोल नामक भिडियो फिल्म  रिलिज भएन । त्यसबाट घाटा खाएका उनले त्यसपछि आफ्नै लेखन, निर्देशन र अभिनयमा धर्मपुत्र नामक नाटक मञ्चन गरे । ‘स्टेजमा सबैले वाह शंकर वाह भन्थे, मेरो कामको तारिफ गर्थे,’ शंकरले आफ्नो पीडा सुनाए, ‘तर, घर गएपछि भने घ्याम्पो सबै रित्तै हुन्थ्यो । महिना दिनसम्म आफँै खटेर काम गर्दा पनि मैले त्यो नाटकबाट सुक्को पैसा पाइनँ । त्यसपछि भने मलाई यस्तो पाराले चल्दैन भन्ने लाग्यो ।’

रंगमञ्च, टेलिभिजनको दुनियाँबाट टाढिएर उनले व्यापार सुरु गरे । व्यापार थियो, भारतको जयपुरबाट सामान ल्याउने, काठमाडौंमा बेच्ने । व्यापारबाट आर्थिक उन्नति गरेपछि उनी पुनस् कलाकारितामा सक्रिय भए । पछि उनलाई रुद्रराज पाण्डेले ०५१ मा रूपमती टेलिशृंखलामा विरूपाक्ष नामक पण्डितको भूमिका अभिनय गराए । भोक र भित्ताहरूमा उनी प्रमुख भूमिका अभिनय गरे । तीबाहेक उनले केही भिडियो फिल्ममा पनि अभिनय गरेका थिए । तर, कलाकारिताप्रतिको आफ्नो भोक भने नमेटिएको उनी बताउँछन् ।

‘व्यापारबाट घरगृहस्थी राम्रै चल्न थालेपछि म ठूलो पर्दातिर लागेँ’ उनले भने, ‘०५७ मा मायाको घर नामक फिल्म बनाउँछु भनेर दिलीप रायमाझी र जल शाहलाई अनुबन्धित गरेँ । गीत रेकर्डिङ, प्राविधिक फाइनल, सबै भयो । तर, देशको तत्कालीन राजनीतिक उथल–पुथलका कारण फिल्म बनाउने वातावरण भएन । पाँच लाख त्यतिकै डुब्यो ।’

तर, उनले दुई वर्षअघि ठूलो पर्दाको फिल्म निर्माण गरे– लभ फर एभर । सुमिना घिमिरे, नीरज बराल र गजित विष्ट प्रमुुख भूमिकामा रहेको उनको फिल्मले व्यावसायिक सफलता पाएन । ‘हेरेका जति सबैले फिल्म दामी छ भने । तर, हलमा पर्याप्त दर्शक आएनन्,’ उनी भन्छन्, ‘झन्डै ६० लाख रुपैयाँ डुब्यो मेरो ।’

व्यापार, व्यवसाय सबै छोडेर कलाकारितामा समर्पित भएको बताउँछन् वरिष्ठे । ‘व्यापार छोडेको आठ वर्ष भयो,’ भन्छन्, ‘कलाकारितालाई नै मूल पेसा बनाउँछु भनेर सबै छोडेर लागेको छु ।’

भद्रगोलका अन्य कलाकारहरू देश–विदेशका प्रोग्राममा व्यस्त छन् । तर, यी वरिष्ठे भने लभ फर एभर फ्लप भए पनि पुनस् फिल्म बनाउने धुनमा लागेका छन् । उनका छोरा राज आचार्य ९तितो सत्य टेलिशृंखलाका बाल अभिनेता राज० उनको फिल्मको प्रमुख अभिनेता हुन् । ‘फिल्म, कलाकारिताप्रतिको मेरो लगाब निरन्तर छ । त्यसैले फेरि फिल्म बनाउँदै छु,’ उनी भन्छन्, ‘आगोले पोलेको घाउ आगोमै सेकाउनुपर्छ भन्छन् नि, त्यही भएर फेरि फिल्म बनाउन लागेको हुँ । सधैं त किन फेल भइएला र ।’

आफ्नो टेलिशृंखला भद्रगोलले छोटो समयमै लोकप्रियता हासिल गरेकोमा पुलकित भएका शंकर टिमवर्कले नै सफलता दिलाउने बताउँछन् । ‘भद्रगोलको टिम एकदम मिहिनेती छ । त्यसैले हामीलाई सफलता मिलिरहेको छ,’ उनी बग्दै गए, ‘शृंखलालाई अझै राम्रो र प्रिय बनाउने जिम्मेवारी हाम्रो छ ।’ ए हो † भै गो नि त, हजुर वरिष्ठ हस् त नमस्ते ।

नयापत्रिकाबाट साभार