Author Topic: निर्देशनमा नायिका -- पछि हटे रेखा र करिश्मा  (Read 2588 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 1203
विजयरत्न ।

चलचित्रमा अभिनय गर्ने अभिनेताहरु पछी गएर चलचित्रको निर्देशनमा पनि अघि बढेका उदाहरणहरु धेरै छन् । हलिउड बलिउडतिरको कुरै छोडौं नेपालमा पनि नीर शाह, कृष्ण मल्ल, अशोक शर्मा, उज्वल घिमिरे र रमेश बुढाथोकीहरु जस्ता अभिनेताहरु निर्देशनमा पनि अघि बढेका छन् । तर यसरी चलचित्रको निर्देशनमा आफ्नो पाइला अघि सार्ने काममा अभिनेत्रीहरु भने त्यति धेरै देखिंदैन् । हलिउड बलिउडतिर पनि कमै छन् । हलिउडको कुरा गर्ने हो भने एन्जेलिना जोलिको नाम सबैभन्दा अग्रपंक्तिमा पर्दछ । नेपालको सन्दर्भमा चर्चा गर्दा अभिनेत्री रेखा थापाको नाम अहिले सबैभन्दा अग्रपंक्तिमा परेको छ ।

एउटी अभिनेत्रीको रुपमा शिषर्थ स्थान बनाउन सफल रेखा थापाले केही वर्ष अगाडिदेखि चलचित्र निर्माणमा समेत आफुलाई अगाडि बढाउँदै आएकी थिइन् । केही वर्ष अगाडिसम्म उनी आफ्ना तत्कालिन पति छविराज ओझासितको संयुक्त लगानीमा चलचित्र निर्माण गर्थिन् । पति छविराजसित सम्बन्ध विच्छेद भए पश्चात “काली” चलचित्रको आफु एक्लैले निर्माण गरेकी रेखा थापाले “हिम्मतवाली” चलचित्रबाट एउटा निर्देशकको रुपमा आफ्नो यात्रा अगाडी बढाएकी हुन् । यो चलचित्रको निर्देशनको जिम्मेवारी निर्देशक श्याम भट्टराईलाई सुम्पेर आफु निर्माता र अभिनेत्रीको रुपमा मात्र रहने विचार गरेकी रेखा थापाको निर्देशक भट्टराईसित शुटिंगको क्रममा मनमुटाव भएपछि निर्देशनको काम आफै सम्हाल्न परेको थियो ।

“हुनत मैले पहिले देखि नै फिल्म निर्देशक बन्ने बारे सोचिराखेकी थिएँ । “काली” को बेला पनि म आफै नै “डाईरेक्ट” गरुँ कि जस्तो लागेको थियो । किनकी मैले जसलाई (हिमग्याप टासी) निर्देशकको जिम्मेवारी दिएको थिएँ, उहाँले भ्याउनु भएन । त्यसैले मैले नै डाइरेक्शन गर्नुपर्ने जस्तो भएको थियो । तर मैले सोचें कि निर्देशन जस्तो गहन जिम्मेवारी बहन गर्न हतार गर्नु हुँदैन । त्यसैले शबीर दाई (शबीर श्रेष्ठ)लाई नै निर्देशकको जिम्मेवारी सुम्पें ।” निर्देशन प्रति आफ्नो झुकाव पहिलेदेखि नै भएको कुरा रेखा थापाले यसरी स्पष्ट पारिन् । “काली”को लागि हिमग्याप टासी लामालाई “ब्रेक” दिने योजना बनाएको भएतापनि त्यतिबेला निर्देशक लामा आफ्नो महत्वाकांक्षी चलचित्र “भिमदत्त”को तयारीमा व्यस्त हुनुपरेकोले “काली”को लागि समय निकाल्न भ्याएनन् । दोस्रो चलचित्र “हिम्मतवाली” को सन्दर्भमा भने रेखा थापाको निर्देशक श्याम भट्टराईसँग नराम्रो मनमुटाव भयो र फलस्वरुप निर्देशक भट्टराई फिल्मबाट अलग्गिए। अनि रेखा थापा स्वयंले निर्देशनको जिम्मेवारी सम्हाल्नु पर्‍यो ।

यसरी बाध्यतावश निर्देशक भएकी रेखा थापा एउटै चलचित्रमा मात्र सिमित रहने हो कि भन्ने धेरैको आशंकालाई मेट्दै उनले आफ्नो निर्देशनमा अर्को चलचित्र “रामप्यारी” बनाउने घोषणा गरीन् । तर हाल आएर यो फिल्मको निर्देशन आफुले नगर्ने घोषणा गरेकी छिन् र यस पटक पनि आफ्नो चलचित्रको निर्देशनको जिम्मेवारी शबीर श्रेष्ठलाई सुम्पेकी छिन् । निर्देशकसित भएको मनमुटावको कारण निर्देशक अलग्गिए पछि रेखा थापा आफैले निर्देशनको जिम्मेवारी सम्हाल्नु परे जस्तै अभिनेत्री सिर्जना बस्नेतको सामु पनि त्यस्तै खालको परिस्थीति आईपरेको थियो र त्यही परिस्थीतिको कारण उनले पनि निर्देशनको जिम्मेवारी सम्हाल्नु परेको थियो । अभिनेत्री सिर्जना बस्नेतले निर्देशनको अभिभारा लिनु परेको चलचित्रको शिर्षक “गुडलक” हो । सिर्जना बस्नेत यस चलचित्रकी निर्माता पनि हुन् ।

“गुडलक”को लागि निर्देशकको रुपमा गोविन्द गौतमलाई अनुबन्धित भएको थियो । तर निर्धारित समयमा शुटिंग शुरु गर्न नसक्दा निर्देशक गौतम काम विशेषले मुम्बई जानुपर्ने भयो । उनी मुम्बइबाट लामो समयसम्म फर्केनन् । बाध्य भएर अभिनेत्री बस्नेत आफैले “गुडलक” को निर्देशक बन्ने अभिभारा उठाउनु परेका थियो । चलचित्र बनेको र तयार भएको हिसाबले नेपाली चलचित्र जगतमा नायिकाबाट निर्देशक बनेको पहिलो व्यक्ति सिर्जना बस्नेत नै भएपनि “गुडलक” चलचित्रको देश विदेशमा केही च्यारीटी शो हुनु बाहेक सार्वजनिक प्रदर्शन भएको छैन ।

केही समय अगाडिको कुरा हो अभिनेत्री करिश्मा मानन्धर पनि चलचित्र निर्देशनमा उत्रिने खबरले चर्चा पाएको थियो । नेपालका वरिष्ठ चलचित्र व्यवसायी एवं गोपीकृष्ण मुभिजका संस्थापक उद्धव पौड्यालले अभिनेत्री करिश्मा मानन्धरलाई निर्देशकको रुपमा अनुबन्धित पनि गरेको खबर पनि आयो । नायकको रुपमा हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यलाई लिइने गाईंगुईं पनि चल्यो । तर त्यति नै बेला हरिवंश आचार्यकी श्रीमति मीरा आचार्यको आकस्मिक निधन भयो । आमाको शोकमा डुबेका मोहितले चलचित्रमा अभिनय गर्ने अवस्था नदेखिएपछि सेलाएको त्यो प्रोजेक्ट पछि चर्चामा आएन । फेरी चर्चा चल्यो कि केही समय अगाडि अमेरिका प्रवासमा रहादा अभिनेत्री मानन्धरको त्यहाँ अभिनेता रमेश उप्रेतीसित राम्रो मित्रता गाँसिएको थियो भने अहिले अभिनेता उप्रेती नेपालमा नै छन् र नेपाली चलचित्र बनाउने योजना गर्दै छन् । रमेश उप्रेतीले निर्माण गर्ने चलचित्रको निर्देशक अरु कोही नभई करिश्मा मानन्धर हुने कुरा सुनियो । तर अहिले करिश्माले गोपीकृष्ण मुभिजसँग मिलेर बनाउने भनिएको फिल्म “फागु”का लागि निर्देशक सम्झना उप्रेती रौनियारलाई अनुबन्धित गरीसकेकी छन् ।

नेपालमा अभिनेत्रीहरुले चलचित्र निर्देशन गर्ने विषयमा चर्चा गर्दा अभिनेत्री झरना थापाको नाम पनि उल्लेख योग्य छ । रेखा थापा, सिर्जना बस्नेत र करिश्मा मानन्धर जस्तै झरना थापा पनि केही समय यतादेखि चलचित्र निर्माणमा संलग्न रहादै आएकी अभिनेत्री हुन् । केही समय अगाडि झरनाले “ए मेरो हजुर २” बनाउने घोषणा गरेकी थिईन् । “ए मेरो हजुर” निर्देशक स्व.शिव रेग्मीले निर्देशन गरेको अनि श्रीकृष्ण श्रेष्ठ र झरना थापाको प्रमुख भुमिका भएको चलचित्र हो भने निर्माता तथा अभिनेत्री झरना थापा यसै चलचित्रको दोस्रो भागको रुपमा “ए मेरो हजुर २” निर्देशन गर्ने योजनामा छन् । अभिनेता श्रीकृष्ण श्रेष्ठसित यस विषयमा कुरा पनि गरी सकेकी थिइन् । तर श्रीकृष्ण श्रेष्ठको आकस्मिक निधन पछी अहिलेलाई झरना थापाको निर्देशक बन्ने यात्रामा “ब्रेक” लागेको छ । तर भविष्यमा उनी निर्देशक बन्ने कुरा भने लगभग निश्चित नै छ ।