जहाँ पुग्नुपर्थ्यो त्यहाँ पुगिएन - गीतकार एवं गजलकार प्रकट पंगेनी शिव
सबैले प्रकट पंगेनी शिव भनेर चिन्छन् उनलाई तर थोरैलाई थाहा होला, उनी शिवराज पंगेनी हुन् । देउराली उकाली कास्कीका शिवले २०३३ सालमा स्थानीय 'हिमदूत' पत्रिकामा विडम्बना नामको कथा छपाएर साहित्याकाशमा प्रवेश गरेका हुन् । यो मन कतै अल्झेको छ, जूनको चिठ्ठी जूनालाई, प्रणयवेदका ऋचाहरूजस्ता गीत र गजल सङ्ग्रहले आफ्नो छाप बनाएका उनका छवटा कृति प्रकाशोन्मुख छन् । करिब ४० वटा गीत रेकर्ड गराएका उनले नाटक निर्देशन र अभिनयसमेत गरेका छन् । राजधानी आगमन क्रममा उनै शिवसँग जम्काभेट भयो नयाँ सडकमा । प्रस्तुत छ, सोही क्रममा मधुपर्कका लागि जी पथिकले गरेको अन्तरङ्ग कुराकानी ।)
प्रकट पंगेनीलाई कसरी चिन्ने ?
यो एउटा छाप कसरी बन्यो भने कवितामा ग्रामीण परिवेश, गृहस्थीमा लेख्छु । 'गृहस्थी कवि' भनेर सुरू सरूभक्तले उपनाम दिनुभयो । दोस्रो पुस्तामा १४ लाइनका गीतबाट अर्को छाप पर्न गयो । गजलमा प्रणयपरक गजलले स्थापित बनायो ।
प्रणयपरकमा ढल्किनुको कारण ?
आँसु वेदनाका पनि लेखेको छु । संयोगान्तभन्दा वियोगान्तका दुईवटा गीतका पुस्तक नै छन् । मेरा फ्यानले काठमाडौँंको गुरुकुलमा 'प्रणयमा प्रकट दाइ' गरेपछि छाप बस्यो । मलाई पनि त्यस्तै मनपर्यो ।
प्रणयपरक गजलमा अश्लील वा हल्कापन हुन्छ भनिन्छ ?
यो आ-आफ्नो दृष्टिकोणको कुरा हो । गजल बुझ्नेले यसलाई बुझ्छ । अश्लीलताको आरोप पनि खेप्नुपर्यो । मेरा गजलमा संयोग होइन, स्पर्श छ । सौन्दर्यको वर्णन गर्दा अश्लील बन्न जान्छ भने यौन कुण्ठित दृष्टिकोण हो । आरोप लगाउनेमा डाहापन भेटेको छु ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
जुन समयदेखि प्रेमको परिभाषा चल्दै आयो, त्यो फेरिएन । युवाले गर्ने प्रक्रिया भनियो तर प्रेम शाश्वत हो, हरेक कुनै उमेरमा पनि प्रेम हुनसक्छ भनेर कहिल्यै भनिएन । पत्नीलाई गरिने प्रेम प्रेमिकालाई गरिँदैन ।
मागी कि भागी विवाह ?
दुवै भन्नुपर्यो । भेटघाट बोलचाल भयो, त्यसपछि मागियो । उसबेला मोबाइलबाट डेटिङ जाने चलन थिएन । चिठी वा समाचार पठाएर समय र स्थान मिलाउनुपर्थो । उनी दमौली म पोखरा देउरालीमा ५० किलोमिटर दूरी थियो । अचेलजस्तो दिनहुँ भेट हुने त कल्पनासम्म थिएन ।
यौनलाई साहित्यसँग जोड्ने कि नजोड्ने ?
मान्छेले राजनीतिसँग साहित्यलाई जोडे जुन मलाई मन पर्दैन । झन्डा बोकेर धेरैले साहित्यलाई अनुकूल बनाए । यौन र साहित्य अभिन्न कुरा हुन् । यौन पनि जीवन हो । साहित्य पनि जीवन हो । त्यसैले यौनलाई साहित्यमा उतार्नुपर्छ । यौनविनाको साहित्य नूनविनाको तरकारीजस्तै हुन्छ।
आफ्नै सबल पक्ष भन्नुपर्दा ?
यो उमेरमा आएर प्रणयका गजल लेख्न सुहाएन भन्ने जमात पनि छ । तिमी गृहस्थीका गीत कविता लेख्ने मान्छेले किन प्रणयलाई अँगाल्यौँ भनेर पनि प्रश्न गरे । उचाइ आफैँं घटायौ भन्ने पनि नभएका होइनन् तर कुनै गल्ती गरँें भन्ने लागेको छैन । अरूले लेख्न नसकेकालाई लेखेँ, वाचन गरेँ ।
कमजोर पक्ष नि ?
जहाँ पुग्नुपर्ने थियो, त्यहाँ पुग्न सकिएन । साथीभाइले धेरै कमाएका छन् । सहरमा महल ठड्याएका छन् । आफूले एक टुक्रा जग्गा जोड्न सकेको होइन । पारिवारिक दुःख झेल्नु परिरहेको छ । नाम कमाएँ तर दाम कमाउन सकेको छैन । थोरै लेखनीले नाम दियो मलाई । यो मानेमा म भाग्यमानी लेखक । सद्भाव र सम्मानको कमी छैन ।
प्रसङ्ग मोडौं, मर्निङ वाक गर्नुहुन्छ कि योग ?
पोखराको बसाइमा मर्निङ वाक गर्छु । हावा पवित्र र शुद्ध छ । पाँच बजेअघि घरबाट निस्कन्छु । झन्डै एक घण्टा हिँड्छु । त्यसपछि विनासोचाइ घरमा खाली दिमाग बनाएर एकछिन बस्छु तर काठमाडौँ आएपछि त्यो काम हुँदैन । काठमाडौँ बसाइ बनाउने योजना केही सातामै पूरा गर्दैछु तर मर्निङ वाकको सट्टा योग गर्ने सम्भावना छ । भगवान्को कृपा आजसम्म कुनै रोग लागेको छैन ।
पूजापाठ नि ?
पूजापाठ गर्दिनँ । मन्दिर पनि जान्नँ । टाढैबाट नमस्ते गर्छु । भगवान् मसँगै हुनुहुन्छ र आशीर्वाद दिइरहनुभएको छ जस्तो लाग्छ । दुःख होस् वा सुख, भगवान् सम्झिरहन्छु । लाइन बस्दैमा मन्दिरमा पूजा गर्दैमा केही हुन्छ भन्ने लाग्दैन ।
शाकाहारी कि मांसाहारी ?
मांसाहारी । चुरोट र रक्सी पिउने गथ्र्ये । अहिले चुरोटमात्र पिउँछु । मासु चाहिन्छ भन्ने छैन तर छोडेको पनि होइन ।
चलचित्र हेर्नुहुन्न ?
हेर्छु तर हलमा कम जान्छु । घरमै टेलिभिजनबाट हेर्दा आनन्द लाग्छ । नाटक चलेको थाहा पाए थिएटर पुग्छु । चलचित्र, नाटक र टेलिसिरियलका कथाले त्यति प्रभाव पार्दैन तर हरेक पात्रको अभिनयले मलाई छुन्छ । पछिल्लो समयमा लुट हेरेँं । हिन्दीमा देशीब्वाइज ।
जीवन के रहेछ ?
जीवन वरदान हो । 'जिन्दगी यो उत्सब हो, वरदान ईश्वरको', हरिशरण लामिछानेको गीतलाई मैले पढाउने पोखराको स्कुलका भित्तामा लेखाएको छु । ठूलो प्राप्ति हो जीवन ठूलै चिठ्ठाजस्तो । कतिले खेर पनि फालेका छन् । जीवनको माया लाग्छ । कुनै गुनासो छैन मलाई जीवनसँग ।
जीवनसङ्गिनीसँग कत्तिको झगडा पर्छ ?
कहिलेकाँही ठाकठुक त परिहाल्छ नि । ३३ वर्ष भएछ बिहे भएको । पहिले पर्थ्यो तर १५ वर्षजति भएछ, त्यस्तो केही छैन । त्यो बेला पनि कमाउन नसकेको गुनासो हुन्थ्यो उनीबाट ।
रिसाए कसले फकाउँथ्यो ?
म आफैँ फकाउँछु । गल्ती महसुस हुन्छ र फकाउँछु । क्षणिक रिस छ मसँग, खासै लामो हुन्न । आवेशमा आएर रिसाउँछु तर महसुस गरिहाल्छु ।
सपना देख्नुहुन्छ ?
कहिले डरलाग्दो र अत्तालिएको देख्थेँ त कहिले खोला तरेको । अचेल त्यति देख्दिनँ । त्यसको प्रतिफल के हुन्छ पनि थाहा छैन । सपनामा त्यति विश्वास गर्दिनँ ।
जीवनको सपना ?
आफूलाई जहिले पनि जीवनलाई प्रिय बनाइराख्नुपर्छ, सरल बनाउँदै लैजानुपर्छ भन्ने लाग्थ्यो, लाग्छ तर महìवाकाङ्क्षा छैन । सरलता, नम्रता र शिष्टता नै मेरो परिचय हो, मलाई आमाले सिकाउनु भएका ।
लामो समय भयो साहित्य लेखेको, के रहेछ यसमा ?
पहिले रूचि थियो साहित्य । पछि नशा भनौं कि दैनिकी । आवश्यकता पनि बनेको छ । नलेखी बस्न सक्दिनँ । साहित्य अरूले जे परिभाषा दिए पनि म साथी भन्छु यसलाई । कविता, गीत, गजल, उपन्यास र कथा लेख्छु । यिनले मलाई जीवन दिएका छन् ।
साहित्यबाट अलग राखे के हुन्छ ?
एक्लो हुन्छु । अब त सक्दिनँ । २०३४ सालदेखि लेख्न थालेको थिएँ ३४ वर्ष पूरा भएछ । समकालीनले कलम थन्क्याइसकेँ तर पोखराका हामी सरूभक्त, तीर्थ श्रेष्ठ र म निरन्तर यसैमा छौं ।
पछिल्लो लेखन के चल्दैछ ?
सिम्रिकाको डायरी । यो उपन्यास हो । मैले पढाउने स्कुलको विषयमा आधारित छ । सिम्रिका पनि विद्यार्थी भएकाले पात्र बनाएँ । जहाँ म पाठ्यक्रमभन्दा फरक अर्थात् जीवनका पाठहरूलाई पढाउँछु । त्यसैले मूलपात्र पनि म आफैँ छु । त्यही उपन्यासमा ढाल्दैछु ।
तपाईंका पात्र फरक हुन्छन् किन होला ?
अन्ना पहिलो पात्र हो । उसले गीत गजल लेख्ने प्रेरणा दिइन् । उसकै नाममा गीत गजल समर्पण गरेको छु । अनुश्रेया पनि पात्र हो, उसलाई भेटेपछि कथा लेख्न थालेँ । सिम्रिका भेटेँं, विद्यार्थी हो डायरी लेख्दैछु । पछिल्लो पात्र हो, शैलीका । के पाउँछु उसबाट अनि कसरी अघि बढ्छु थाहा छैन ।
अन्त्यमा के लेखियोस् भन्ने लागेको छ नेपाली साहित्यमा ?
नयाँपन आए हुन्थ्यो तर यही र यस्तै भन्न सक्दिनँ ।
मधुपर्क जेठ, २०६९