नाईं नभन्नु ल ३ समीक्षा : अलमलिएको कथा
रेटिङ : २.५/५
गोकर्ण गौतम
उपकथाको सही संयोजनले फिल्मको मुल कथालाई सशक्त र जीवन्त बनाउँछ । सहायक कथा जति जोटिला हुन्छन्, मुल कथाको वजन त्यति नै बढ्छ तर सहायक कथा अनावश्यक रुपमा हावी भयो भने फिल्मको बहाव बिग्रन्छ, मुल कथा ओझेलमा पर्छ । फिल्म पुरा हेरिसक्दा पनि निर्देशकले भनेको कथा भेउ पाउन मुस्किल हुन्छ । नाईं नभन्नु ल ३ यही कोटीमा पर्ने फिल्म हो । झिना-मसिना कथालाई बढी स्पेश दिदा फिल्मको चुरो कुरो धरमराएको छ ।
नाईं नभन्नु ल २ मा पनि यो समस्या थियो, यसमा पटक अझ बढेको छ । यद्यपी नामबाहेक कथागत रुपमा अघिल्लो फिल्मसँग यसको कुनै सम्बन्ध छैन । निर्देशक पनि नयाँ हुन् । विकास आचार्यले निर्देशनको जिम्मेवारी मुस्कान ढकाललाई दिएका छन्, पटकथा र निर्माण भने विकासकै हो । बच्चामै केन्दि्रत भएपनि अघिल्लो फिल्मजस्तो बच्चाको इमोशनलाई अतिरञ्जित गरिएको छैन ।
फिल्ममा मुख्य चार कलाकार छन् । बाबु विनाको बालक रिदम (अनुभव रेग्मी), परिवारबाट टाढिएर एक्लै छोरालाई हुर्कारहेकी कुसुम (प्रियंका कार्कीं), भर्खरै जेलबाट निस्किएको गायक समिर (सुरजसिंह ठकुरी) अनि श्रीमतीको मृत्युपश्चात एक्लै छोरीलाई हुर्कारहेको प्रकाश (आर्यन सिग्देल) । फिल्मको कथा यी चार पात्रको वरपर घुमेको छ । सँगै समिरकी पत्नी शान्तिवृत्ति (सञ्चिता लुईंटेल), अभिभावकविहीन गायक संयम (संयम पुरी), उसकी प्रेमीका आश्मा (आश्मा डिसी), प्रकाशकी छोरी दिक्षा (सफला भट्टराई) अनि कुसुमका बाबु बसन्त भट्टले पनि धेरेथोर ठाउँ ओगटेका छन् । यति धेरै पात्र र उनीहरुका आ-आफ्नै पृष्ठभूमि देखाउँदा नै धेरै दृश्य खर्च गरिएको छ । फ्ल्यासब्याक धेरै भएकाले कथा बुझ्न मुस्किल हुन्छ ।
एक सिनमा देखिएका कलाकारको पनि मुल कथासँग प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध हुनुपर्छ । ताकी त्यो पात्रको महत्वबोध होस् । हिन्दी फिल्म लाईफ इन मेट्रो धेरै कलाकारको सुन्दर संयोजन गरिएको उत्कृष्ट नमूना हो तर पटकथाकारले नाईं नभन्नु ल ३ लाई उक्त फिल्मसँग दाँज्न योग्य बनाएका छैनन् । अनावश्यक पात्रहरुले गर्दा फिल्मलाई बोझिलो बनाएको छ । संयम र आश्मा फिल्ममा जर्बजस्ती घुसाइएका पात्र हुन् । सञ्चिताको भूमिका पनि त्यति प्रकावकारी छैन । बरु अनुभव, पि्रयंका र सुरजको सम्बन्धलाई अझ प्रभावकारी र मर्मस्पर्शी ढंगबाट देखाउन सकिन्थ्यो ।
पि्रयदर्शनको शैलीमा सबै पात्रलाई एकै ठाउँमा जम्मा पारिएको क्लाइमेक्स अत्यन्त बनावटी लाग्छ । कथाप्रति निर्देशकको आत्मविश्वास नभएको परिणाम हो यो । आशुँ त नाई नभन्नु ल कै ट्रेडमार्क भइहाल्यो । यसमा पनि दोहोरिएको छ । तर मध्यान्तर अगाडी आर्यनले निकै हसाउँछन् ।
कथा र पात्रको संरचनामा फिल्म चुकेको भएपनि शैलीगत हिसाबमा मुस्कानले प्रसंशनीय काम गरेका छन् । पात्र धेरै भएपनि छरितो प्रस्तुतीले फिल्मलाई पट्टयार लादो हुनबाट जोगाएको छ । पटकथाको तहभन्दा उनको निर्देशकीय शिल्प केही माथि छ भन्न हिच्किचाउनु पर्दैन् । खिच्ने शैली र पृष्ठभूमि संगीतजस्ता प्राविधिक पक्षमा पनि फिल्म अब्बल छ ।
कलाकारको जीवन्त अभिनय फिल्मको अर्को सकारात्मक पाटो हो । अघिल्लो सिक्वेलमा प्रेममा परेका बालक अनुभव यो फिल्ममा अाइपुग्दा प्रेम गर्न सिकाउने भएका छन्, त्यो पनि अरुलाई हैन, आफ्नै आमालाई । चुलबुले प्लस गम्भीर दुवै भूमिकामा उनी फिट छन् । पि्रयंका, सुरज, आर्यनलगाएतका कलाकारले भूमिका सुहाउँदो अभिनय गरेका छन् ।
फर्मुला फिल्ममा चाहिने हाँसो, रोदन, संगीत र फाइट सबै तत्व यसमा छ । टाइम पासका लागि कामचलाउ भएपनि यो सम्झनालायक फिल्म होइन् । नयाँपन नखोज्ने र पुरानै कथालाई हल्का रंगरोगन गर्दा चित्त बुझाउने सामध्र्य छ भने यो फिल्मले निराश पार्दैन ।
प्रकाशित मिति: २०७१ चैत्र ३०