Author Topic: Short Stories  (Read 2430 times)

0 Members and 1 Guest are viewing this topic.

anand

  • Administrator
  • *******
  • Posts: 945
Short Stories
« on: May 01, 2015, 12:52:49 PM »
By Badal Suresh

उषा- कथा

कलेजको पहिलो दिन म कक्षामा पस्दा बेन्चहरू लगभग भरिइसकेका थिए।लास्ट बेन्चमा एउटि केटि मात्र बसिरहेकि थिई।सायद ऊ मभन्दा केहि समय अघिमात्र आएकि थिई।म सरासर त्यहि बेन्चको छेउमा गएर बसेँ।उसलाई पुलुक्क हेरेँ, ऊ पनि अनुहारको भाव नबिगारिकन मुस्काई।पहिलो दिनको क्लास भएर होला खासै पढाइ भएन।साथीहरू एकआपसमा चिनजान गरिरहेका थिए तर हल्ला भने वर्षौँको चिनजान भएकाहरूको जस्तो आइरहेको थियो।त्यो हल्ला बिचमा मौन थियौँ त उनी र म।

'उषा,कति राम्रो नाम।'उसको कपि हेर्दै मैले मौनता चिर्दै जिस्काएँ।

'सुरेश,छ्या कति नराम्रो नाम!' उसले मलाई जस्तालाई तेस्तै भनेजसरि बदला लिई।

'यति राम्रो नाम छ किन नराम्रो नि?' मैले रिसाएजस्तो गरेँ।

'अर्थ न बर्थको नाम!'

'अर्थ छ त'

'के छ अर्थ?',उसले नाक खुम्च्याउँदै सोधि।

'तेत्तिस कोटि देउताहरू मध्य एउटाको नाम हो सुरेश।'

'हाहाहा! टोइट गफाडि! तेत्तिस करोडमा को हो को हो!' ऊ बेस्सरि हाँसि।हाँस्दा उसका गाजलु आँखा चिम्म भए। गाला पनि पुक्क परेका राता देखिए।उसका मिलेका दन्तलहर पनि सबै देखिए।मलाई उसको हाँसोले आनन्द बनायो।यहि हाँसो र यहि स्वरूप जिन्दगीभर हेरिरहन पाए हुनेजस्तै लाग्यो।मलाई पहिलो भेटमै उषासँग प्यार भएजस्तै लाग्यो।

उषा खासै अरूहरूसँग घुलमिल भइन।ऊ क्लासमा मसँगै बस्थि।अरूले बोलाए भने हाँसेर बोलिदिने तर आफु भने कसैसँग बोल्न नजाने स्वभाव थियो उसको।म भने सबैसँग घुलमिल भैसकेको थिएँ।

हामी केहि केटाहरू क्लासहरूको बिचमा बाहिर निस्केर चुरोट खाने गर्दथ्यौँ। बाहिरबाट आउँदा म सधैँ उषालाई 'हल्स' चॉकलेट दिन्थेँ। ऊ पनि हाँस्दै खाइदिन्थि। हामी केटाहरू क्लासमा पस्दा पुरा क्लासले नाक छोप्थे। कोहि चुरोट गनायो भन्दै गाली गर्थे तर सँगै बस्दा पनि उषाले मसँग कहिल्यै गुनासो गरिन।

मलाई लाग्थ्यो उषाले मसँग गुनासो गरोस्।'चुरोटले राम्रो गर्दैन सुरेश,प्लिज नखाउ न ल!'भनोस् तर अहँ उसले कहिल्यै यस्तो भनिनँ।मैले पनि साथीहरूको लहडमा खाएको थिएँ।आफैँलाई कत्ति मन पर्दैनथ्यो तर उषाको आग्रह आएदेखि चुरोट छाड्ने प्रण गर्रेको थिएँ।

एकदिन आफैँले उसको अघि मुख खोलेँ,'तिमिलाई चुरोट खाने मान्छेहरू कस्ता लाग्छन्?'

'खासै केहि लाग्दैन।सबैको आ-आफ्नै जिन्दगी हो।जसलाई जे मन लाग्छ त्यहि गर्छन्,खान्छन्।सहि के हो ख़राब के हो बुझ्ने मान्छेहरूलाई सिकाइरहनु पर्दैन नि हैन र! बरू कोहि-कोहिलाई त चुरोट खाएको पनि क्या सुहाउँछ नि है?' उसले प्रतिप्रश्न गरि।

हो भन्ने संकेतस्वरूप मुण्टो हल्लाउँदै मैले सहमति जनाएँ।त्यो दिनदेखि मैले चुरोट खान पनि छाडिदिएँ जसले उषाको दिलमा केहि प्रभाव पार्न सकेन।

एकदिन मैले 'क्लिनसेभ' गरेर दार्हि काटेर कलेज गएँ।उषाले जिस्काउँदै सुहाएन भनि।

'हल्का मसिनो दाह्रि पो राम्रो देखिन्छ त।के बनाको यस्तो खसी खुइलाएको जस्तो।' उसले कटाक्ष गर्दै जिस्काई।मलाई त्यो दाह्रि नपलाउन्जेल तनाव भइरह्यो केहि दिन।

मैले उसलाई न त प्रभावित गर्न सकेँ न त उसको चाहना बुझ्न नै सकेँ।बस् अब सिधै प्रेमको प्रस्ताव गर्छु भन्ने सोच पलायो।

उषालाई प्रेमप्रस्ताव राख्ने दृढ अठोट लिएर म एकदिन कलेज पुगेँ।अहँ त्यो दिन उषा आइन।पहिलो,दोस्रो,तेस्रो गर्दै सबै कक्षाहरू सकिए तर मेरा आँखाहरूले ढोकाबाट नजर हटाएनन्।तर पनि उषालाई देखेनन्।साँझ मैले उसलाई फोन गरेँ तर सम्पर्क हुन सकेन। यसरि नै पाँच दिन बिते तर उषाको अत्तोपत्तो थिएन। एकदिन अकस्मात् उसको फोन लाग्यो।मैले घुर्क्याउँदै रिसाएजस्तो गर्दै उसलाई किन सम्पर्कविहिन भएको भनेर सोधेँ।

'हेरन सुरेश त्यस्तै इमरजेन्सि परेर गाउँ आएको थिएँ क्या!'

'के थियो नि त्यस्तो इमरजेन्सि,हामिलाई भन्न मिल्छ कि?'

'तिमि रिसाउने पो हो कि?' खित्खिताउँदै उसले भनि।

'अहँ रिसाउँदिनँ।बरू कुरा के हो भन न। मैले सोधेँ।

'मैले बिहे गरेँ के अस्ति।तिमिलाई बोलाउन त परै जावस् खबर पनि गर्न पाइएन।कस्तो अप्ठेरो लागिराको छ।माइण्ड नगर ल! एकदम हतारमा भयो के।'

'ओए के भनेको मजाक नगर न।'मैले ससंकित हुँदै भनेँ।

'मजाक हैन यार,सत्य हो।उहाँ डेनमार्कबाट आएपछि स्पाउज भिसाको लागी कागजपत्र मिलाउन हतारमा बिहे गर्नु पर्यो यार।'

म जिल्ल परेँ।बोल्न पनि सकिनँ। बस् यति आवाज निस्कियो मुखबाट,'अब कलेज कहिले आउँछौ त?'

'म अबदेखि कलेज आउँदिन सुरेश।लगभग डेढ़ महिनामा भिसा लागिसक्छ होला।डेनमार्क जानुअघि मिल्यो भने साथीहरू सबैसँग भेट्ने मन छ। सबैलाई सोधेको छ भन्देउ ल।'

मैले कतिबेला 'हस्' भनेँ,कतिबेला फोन राखेँ थाहै भएन।म रातभर रोएछु।भोलीपल्ट आँखा र अनुहार पुरै फुलेर सुन्निएछ।

मैले अब राम्रैसँग आदत बनाएँ चुरोट पिउन।दाह्रि पनि लामा लामा हुन थाले।अहँ मलाई केहि परवाह थिएन।म पुरै वैरागीजस्तो देखिन थालेँ।

एकदिन सपनामा उषा आई।मलाई गाली गर्न लागी,'ल हेर! के हुलिया बनाको सुरेश यस्तो? तिमिलाई त दाह्रि काटेको पो सुहाउँछ त! छि:छि चुरोट पनि खान थाल्यौ फेरि? प्लिज नखाउ न ल!'यति भनेर ऊ खै कता हो हराई।

बिहान उठ्दा मलाई आफैँदेखि घिन लागेर आयो।सपनाले धेरै कुरा सिकायो मलाई।जसको निम्ति म यति निराश छु उसलाई मेरो भावनाबारे थाहा नै छैन भने मैले किन आफैँले आफैँलाई सजाय दिनु? मैले ठानेँ कि अब उषा नामको विगतलाई भुल्नुपर्छ र सम्हाल्नु पर्छ आफुलाई सुन्दर भविष्यका निम्ति।त्यसपछि मैले दाह्रि कपाल काटेर नुहाएँ र सरासर कलेजतिर लागेँ।।

Published on April 25 2015

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Short Stories
« Reply #1 on: May 01, 2015, 12:54:20 PM »
बादल वर्षा- कथा


एस.एल.सी. पछि गाउँबाट प्लस टु पढ्न काठमाण्डु आएको म असाध्यै सोझो थिएँ।मानिसहरुसँग खुलेर बोल्न पनि धक लाग्थ्यो।कलेजमा पनि कसैसँग बोल्दैनथिएँ।साथीहरुले पनि मेरो सोझोपनको फाइदा उठाउँदै मलाई मजाकको पात्र बनाइरहन्थे। उनीहरु मलाई वर्षासँग नाम जोडेर जिस्काउँथे।म लाजले निहुरिरहन्थेँ।

साथीहरुका नजरमा वर्षा सायद केटि थिइन अरुजस्तो।न त ऊ थ्रेडिङ गर्थि न त अरु कुनै मेकअप। यस्ती धुस्री फुस्री केटि मजस्तो सोझोलाई मात्र सुहाउँछ।साथीहरु सायद यस्तै सोच्दथे।तर मलाई वर्षा एकदम मन पर्न थालिसकेकि थिई।के कारण थियो खै मजस्तै हेपिएकि भएर दया जागेको हो या प्रेम नै थियो म बुझ्न सकिरहेको थिइनँ।

दुनियाको नजरले आकर्षण नपाउने वर्षाको मुहारमा म व्रम्हाण्डको सम्पुर्ण लालित्य पोतिएको पाउँथेँ।पिकनिक जाँदा पनि म उसैलाई हेरिरहेको हुन्थेँ।ऊ लुज फिटिङ पाइन्ट लगाउँथि।चश्मा लगाउँथि।उसका घुम्रिएका कपाल थिए।साथीहरु उसको हुलियाको मजाक बनाएर कुरा गर्थे,मलाई असह्य हुन्थ्यो तर पनि म चुपचाप सुनिरहन्थेँ।

म साथीहरुका आँखा जोगाएर वर्षासँग कुरा गर्थेँ।सामान्य कुराहरु हुन्थे पढाइलेखाइ सम्बन्धी नै।म उसलाई एकोहोरो चाहिरहेको थिएँ।अहँ उसलाई माया गर्छु भन्ने आँट कहिल्यै आएन।
बिस्तारै-बिस्तारै हेर्दाहेर्दै कलेजका दिनहरु सकिए।दुई वर्षको पढाइ सकिएको थियो।प्राक्टिकल एक्जामको अन्तिम दिन नै हाम्रो साथीहरुको अन्तिम भेटघाट रह्यो।साथीहरु 'टच'मा रहौँला भन्दै बिदा हुँदै थिए।मलाई वर्षासँग बिछोड हुने पीडाले सताइरहेको थियो।

वर्षा आँखाभरि आँसु बनाउँदै म भएतिर आइ।'ल त बादल पछि पनि गेट टुगेदर गर्नुपर्छ है।फोन गरिराख ल।'ऊ हात हल्लाउँदै बिदा भई।म मुटुभरि माया लुकाएर उसलाई बिदा गरिरहेको थिएँ।
त्यतिबेला फेसबुक आइसकेको थिएन।मोबाइल पनि सहज थिएन। वर्षाले उसको ड्याडीको पोष्टपेड को नम्बर दिएकि थिई।मैले त्यो नमबरमा फोन पनि गर्न सकिनँ।म उसकै यादमा तड्पिरहन्थेँ।
मलाई वर्षाको अत्तोपत्तो थिएन।बस् यादहरुमा आएर सताइरहन्थि।मैले इन्जिनियरिङ पढ्न थालेँ।नयाँ साथीहरु बने।तर पनि वर्षालाई भुल्न सकेको थिइन।

एकदिन म साथीहरुसँग बसन्तपुरमा टहलिँदै थिएँ।मेरा आँखा परिचितजस्तै लाग्ने मुहारमा पुगेर टोलाए।म झसँग भएँ।हो त्यो पराइसँग हातेमालो गर्दै हिँडेकि मेरी वर्षा नै थिई।म अन्योलमा थिएँ।यस्तो चेञ्ज?उ टाइट पाइन्ट,लङ कोरिएन कोट अनि बुटमा थिई।पुरा मेकअपले धपक्कै बलेकि थिई।आँखामा चश्मा पनि थिएन।उसले पनि मलाई हेर्दै हेर्दै गई।मैले पनि हेरिरहेँ।मैले आफूलाई चिमोटेर हेरेँ,म बिपनामै थिएँ।

एकदिन म फेसबुक खोल्दै थिएँ।धेरैदिनदेखि आएर बसेका फ्रेण्ड रिक्वेस्ट चेक गर्दैजाँदा वर्षा थापा बस्नेत भनेर फेला पारेँ।मेरो मन भारी भयो।रिक्वेस्ट एसेप्ट गरेर उसको प्रोफाइल हेर्न थालेँ।
रिलेसनसिप म्यारिड टु निसान बस्नेत,करेन्ट सिटि सिड्नी अष्ट्रेलिया देखेँ।

बिस्तारै फोटोहरु हेर्न थालेँ।धेरै एल्बमहरु थिए।'भ्याकेसन इन नेपाल' मा बसन्तपुरका फोटोहरु पनि देखेँ।एउटा फोटोमा गएर आँखा टक्क अडिए।बच्चाको फोटो थियो।क्याप्सनमा लेखिएको थियो,'माइ क्युट बेबी सन बादल'।मेरा आँखाबाट आँसु टिल्पिलाउन थाले।उसले पनि मेरो नाम जिन्दगीभर नबिर्सिने गरि सम्हालेर राखेकि रहिछ।

'रियल्ली क्युट लाइक हिज मदर', फोटोमा कमेन्ट गर्दागर्दै मेरा आँखाभरि आँसु जमिसकेको थियो।

Published on March 25 2015
By Badal Suresh

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Short Stories
« Reply #2 on: May 01, 2015, 12:57:53 PM »
अस्मिता- कथा

देख्न त उसलाई सानैदेखि देखेको हो तर पनि मलाई उप्रति आकर्षण दश कक्षा पुगेपछि मात्र बढ्न थाल्यो। ऊ नौ कक्षामा पढ्थि। स्कुल जाने बेलामा एउटा दोबाटोमा हाम्रो भेट हुन्थ्यो। म हरेक दिन ऊ भेट हुने समयको अन्दाज गरेर निस्किन्थेँ। अनि सँगै स्कुल जान्थेँ।

बाबु सानैमा बितेकाले उसकि आमाले उसलाई दुख गरेर हुर्काएकि थिइन्।राम्रो शीलस्वभाव भएकि अस्मिता साँच्चै स्कुलमा सबैभन्दा राम्री केटि थिई।

यसरी सँगै स्कुल जाँदा म उसलाई प्रभावित पार्न अनेक कुराहरू गर्थेँ, हँसाउने प्रयास गर्थेँ। ऊ मात्र मुस्काउँथि। खासै दोहोरो कुरा गर्दैनथि। बिस्तारै ऊ भेट हुन छाडि। कहिले चाँडै त कहिले म भन्दा ढिलो स्कुल पुग्थि। उसँग जान नपाउँदा म निरास हुन्थेँ।

एकदिन उसलाई भेट्न म दोबाटोमा कुरेर बसेँ। ऊ निकै ढिलो गरेर आई। मलाई देख्नेबित्तिकै केहि असजिलो मानि।

'किन तिमी आजकाल पर- पर भएकि छौ नि। सँगै हिँड्न पनि अप्ठेरो मान्छौ त?' मैले सहनै नसकेर सोधेँ।

'हैन त्यस्तो त।' उसले टारेर दिएको जवाफ हो भन्ने मैले बुझिहालेँ।

'केहि त पक्कै हो। मैले केहि गल्ति गरेँ कि। भन न।'

'उसै त म टुहुरी, चरित्रमा धेरैले औँला उठाउँछन्। यसरी तपाईँसँग सधैँ सँगै हिँड्दा नराम्रो कुरा गर्छन् कि भन्ने डर लाग्छ। हामीले त हाँस्दा पनि राम्रो मान्दैन यो समाज।'
मलाई उसका कुराले झन् उप्रति प्रेम बढेर आयो।

'आफु असल हुनुपर्छ अरुले के भन्छन् भनेर डराउनु पर्दैन।'मैले सम्झाएँ।

'त्यो त हो नि है।'ऊ मुसुक्क हाँसि।

नजिकैको एस एल सी सँगै आएको पढाईको तनावको पनि पर्वाह नगरि मैले उसलाई एकदिन प्रेमप्रस्ताव राखेँ।पहिले त उसले यस्तो कुरा नगर्नुस् न प्लिज भन्दै पन्छिन खोजि। ऊ केहि आत्तिएजस्तै गरि। तर मैले हुन्छ या हुँदैन जे भए पनि स्विकार्नै बाचा गर्दै जसरी पनि जवाफ देउ भनेर बताएँ।

'म अहिले जवाफ दिन सक्दिन। अहिले आफ्नो जाँचको तयारी गर्नुस् न ल! पछि भन्छु नि तपाईँको जाँच सकिएपछि।'

मैले उसको कुरा मानेँ। म ढुक्क थिएँ उसको जवाफ हुन्छ भन्ने नै हुनेछ। नत्र त किन कसैले अस्विकार गर्नलाई कुराउँछ होला र! पक्कै मेरो माया लागेर नै जाँच नबिग्रोस् भनेर यस्तो भनेकि हो।
म घर बसेर जाँचको तयारि गर्थेँ। उसँग भेट हुँदैनथ्यो। बिस्तारै दिनहरू बिते। मेरो एस एल सि पनि आयो। जाँच राम्रोसँग दिएँ। परिवार र स्कुल सबैको आशा ममाथी थियो।

जाँच सकिएको केहि दिनमै म काठमाण्डु जानुपर्ने भयो। बुबाले ब्रिज कोर्स पढ्नको लागी व्यवस्था मिलाइसक्नुभएछ। काठमाण्डु जानुअघि अस्मितालाई भेटेर उसको जवाफ जान्नु थियो तर गाउँ समाजको संकुचित परिस्थितिमा भेट्ने वातावरण नै मिलेन। म अमिलो मन लिएर काठमाण्डु हिँडेँ आफ्नो प्रेमलाई छोडि बुबाआमाको सपना बोकेर। त्यो सपना जहाँ छोरो साइन्स पढेर डक्टर बन्नेछ।

म काठमान्डुमा एक्लो थिएँ। आफ्नै मन पनि मलाई छोडेर हिँडिरहन्थ्यो अस्मिता भएकै ठाउँमा। उसँग मोबाइल नभएकोले मेरो सम्पर्क गर्ने माध्यम नै थिएन। बस् सपना र कल्पनामा भेटिरहन्थेँ। कुरा गरिरहन्थेँ।

यसरी मैले काठमान्डुमा तीन महिना बिताइसकेको थिएँ। यसैबिच मेरो रिजल्ट पनि प्रकाशित भयो। डिस्टिंसन आएछ। खुसीको सिमा रहेन। आमाले फोनमा खुसी हुँदै एकचोटि घर आइज न भन्नुभयो। मैले पनि हुन्छ भनिदिएँ।

यसैबिच म कलेज भर्ना गर्ने पैसा ल्याउने बहानामा अस्मितालाई भेट्ने भित्री चाहना बोकेर घर गएँ।

घरमा बुबाआमाले मेरो प्रगति देखेर स्याबास् भन्दै अझै सफलताको आसिर्वाद दिनुभयो। अब झन् राम्रो पढ्नुपर्छ भन्नुभयो।

साँझ खाना खाइसकेपछि मैले आमालाई गाउँमा के के हुँदैछ त भनेर सोधेँ।

आमाले खुइय्य सास फेरेर भन्नुभयो,' के भन्नु र बाबु यो गाउँ त पापीहरू बस्ने ठाउँ भएछ। थाहा पाइस् होला नि त अस्तिको घटना।'

'केहि थाहा छैन त आमा मलाई। के कुरा हो?'

'त्यो माहिलीको छोरीको के त..'

म झसंग भएँ। आमा माहिलीको छोरी अर्थात् अस्मिताको कुरा गर्दै हुनुहुन्थ्यो।

'के घटना र आमा?' मेरो कौतुहुलता सँगै धड्कन तेज हुँदैथियो।

'कसरी भन्नु र खै बाबु...'

आमाले सबै भन्नुभयो। म सुनिरहेँ। म टोलाइरहेँ। आमालाई के थाहा यो कुराले मेरो मनमा कस्तो हलचल पैदा गरायो। उहाँले त बस् गाउँको तातो घटना छोरालाई सुनाउनुभयो। अहँ थाहा छैन उहाँलाई त्यो बलात्कारको शिकार भएकि माहिलीको छोरी अस्मिता आफ्नै छोराकि प्रेमिका हो भन्ने। आमा कतिबेला जानुभयो, रूँदारूँदै म कतिबेला निदाएछु केहि पत्तो पाइनँ।

मलाई त्यो गाउँमा बस्नै मन लागेन भोलीपल्टै म खर्च लिएर काठमाण्डु हिँडेँ। बाटोमा मेरी अस्मितालाई चिथोर्ने पशुलाई टुक्रा टुक्रा पारौँजस्तो सोच आयो तर जेल परिसकेको त्यसको भन्दा बढि सजाय पाइरहेकि मेरी अस्मिताको यादले पिरोल्यो। यात्राभरि मेरा आँखा ओभाएनन्।

काठमाण्डु आएर मैले परिवार र समाजसँग अस्मितालाई दाँजेर हेरेँ। म सानो र अपरिपक्व मान्छेलाई आँट आएन आफ्नो प्रेमको पक्षपोषण गर्न। मलाई इज्जत, प्रतिष्ठा जस्ता खोक्रा आडम्बर देखाउने समाजले आतंकित तुल्यायो। मैले अस्मितालाई भुलिदिएँ। बस् संगालेँ तीता यादहरूलाई अनि लागीपरेँ आफ्नो सपना सजाउन डक्टर बन्ने सपना।

कहिलेकाहिँ घर जाँदा सुन्थेँ अस्मिता पनि काठमाण्डुमै छ रे! बलात्कृत नारीहरूको सामाजिक पुनर्स्थापनाका लागी काम गर्ने एन जी ओ मा काम गर्छे रे। यस्तो सुन्दा मुटु चिसो भएर आउँथ्यो। कतै उसँग भेट भइहाले कसरी मुख देखाउन सकुँला म। म पश्चातापमा जलेँ। म डराएर हिँडिरहेँ। अस्मिताको इज्जत लुटिएको भन्दा पनि लाग्यो मेरो अस्मिता लुटिएको हो र त उसँग भागेर हिँडिरहेछु म।

Published on March 24 2015

By Badal Suresh

anand

  • Administrator
  • *******
  • Posts: 945
Re: Short Stories
« Reply #3 on: May 01, 2015, 12:59:58 PM »
च्याट विथ प्रमिला - कथा


'हेल्लो'

मेसेन्जरको रातो बलेको ठाउँमा क्लिक गरेँ। नचिनेको नारी नामबाट मेसेज आएको रहेछ। मैले पनि 'हाइ' भनेर जवाफ फर्काएँ।

'सन्चै हुनुहुन्छ?'

'हजुर, आरामै छु। तपाइँलाई नि!'

'मलाई पनि ठिक छ। म तपाईँको फ्यान भएँ बादल जी। कती मन छुने कुराहरू लेख्नुहुन्छ।'

'धन्यवाद हजुर', यति धेरै तारिफले मन फुरूंग बनायो।

उसले मलाई मेरा बारेमा सोधिरहि। मैले पनि भएजति सबै तथ्य खोलिरहेँ।

'तपाईँका कथाहरू सधैँ अधुरा हुन्छन् किन?' उसले बिचैमा प्वाक्क सोधि।

'मैले कसैको पनि पुरा जिवन लेख्ने हैन। जिवनको कुनै एक घटना लेख्ने हो। त्यसैले पनि अधुरो लागेको होला।'

'हैन के तपाईँ कथालाई लास्टमा त्यसै छोडिदिनुहुन्छ।' उसले स्याड इमो टाँसेर पठाई।

'त्यसो भयो भने अब के भयो होला भनेर तिमीले सोच्न पाउँछौ नि त!' मैले हाँसेको इमो पठाएँ। कतिबेला नजिक ठानेर उसलाई तिमी भनेछु होसै भएन।

'कथा आफ्नै रियल स्टोरी हो?' उसले सोधि।

'कुन चाहिँ कथा? यति धेरै छन्!'

'सबै।'

'सबै कथा आफ्नै रियलिटि हुनलाई त दशजनासँग लभ परेर ट्राजेडि पनि हुनुपर्यो नि हाहाहा!'

'हाहाहा अनि कसरी लेखेको त यति राम्रा कथा?'

'तिमीजस्तै साथीभाईको देखेर नि!'

'मेरो कथा पनि लेख्दिनु न!'

'व्हाट? ओइ म त जिस्केको मात्र हो।'

'प्लिज मेरो लेख्दिनु न'

'म त ट्राजेडि लेख्छु नि त!'

'मेरो कथा सुन्नुभो भने थाहा पाउनुहुन्छ नि।'

'ल सुनाउ न त!'

उसले आफ्नो प्रेमको विगत सम्झिन लागि।

...... उसलाई त स्कुल पढ्दादेखि नै असाध्यै मन पराउँथेँ। म त्यो स्कुलमा आठ कक्षामा भर्ना हुन गएकि थिएँ। ऊ दश कक्षामा पढ्थ्यो। स्कुलमा अति नै चल्तापुर्ता थियो ऊ। अलराउण्डर थियो। सबैको मुखमा उसैको नाम झुण्डिएको हुन्थ्यो। साथीभाई र सरहरू सबैमाझ लोकप्रिय थियो ऊ। म उसको प्रेममा लट्ठै भएकि थिएँ।

सानै उमेर भए पनि सोचले म परिपक्व थिएँजस्तै लाग्छ। त्यसैले मैले उसको सामु तत्कालै प्रेम प्रस्ताव राखिन। मैले धेरै सुनेकि थिएँ उसले धेरैको प्रेम प्रस्ताव 'रिजेक्ट' गर्यो भनेर।म आफ्नो चोखो प्रेम यति सस्तो बनाउन चाहन्नथेँ। म उपयुक्त समयको पर्खाईमा थिएँ चाहे केहि वर्ष नै किन नलागोस्।

उसको एस एल सी थियो। स्कुल आउन छोड्यो। म उसलाई हेर्न नपाएर ओइलाएको फूलजस्तै हुनथालेकि थिएँ।बिस्तारै दिनहरू बिते। म उसको मायामा डुब्दै गएँ। उसको अत्तोपत्तो थिएन। सायद कलेज पढ्न थालिसकेको थियो।

म एक्लै तड्पिरहेँ। कसैलाई केहि पनि भन्न सकिनँ। भनौँ पनि कसरी। म यस्तो मान्छेसँग प्रेममा थिएँ जोसँग मैले एक शब्द पनि बोलेको छैन। सुन्नेहरूले त मलाई पागल नै पनि भन्न सक्थे। सुन्न त मैले पनि धेरै कथाहरूमा यस्तो प्रेमका बारे सुनेकि थिएँ तर आफैँ यस्तो सागरमा डुब्नेछु भनेर कल्पनासम्म पनि गरेकि थिइनँ।

मैले पनि स्कुलको पढाई सकेँ। कलेज पढ्न थालेँ। मेरो जिवनमा धेरै साथीहरू आए गए तर पनि मुटुको एउट कुनामा मात्र ऊ बसिरह्यो। त्यहि मुटुको कुनाबाट ऊ सोधिरहन्थ्यो,'खै त प्रमिला मलाई खोज्दैनौ? तिमीले ढिला गर्यौ भने त म धेरै अगाडि पुग्न सक्छु अनि तिमी धेरै पछाडि नै रहौली नि।'

मलाई त्यहि डरले एउटा उपाय मनमा आयो। फेसबुकमा धेरै तरिकाले उसको नाम खोजेँ। एउटा तस्वीरमा आँखा टक्क अडियो। सात वर्षपछि पनि उसलाई उस्तै हँसिलो र प्रेमिल देखेँ।

फ्रेण्ड रिक्वेस्ट पठाउन लाग्दा हात थर्रर्रर्र काँप्यो। मुटु ढक्क फुलेर आयो। म रोमान्चित हुँदै थिएँ। उसको प्रोफाइलमा रिलेसनशीप सिंगल देख्दा त झन् त्यसै त्यसै के के सोच्न लागेछु।

फ्रेण्ड रिक्वेस्टको जवाफको प्रतिक्षामा म पुरा दिन फेसबुक खोलेर बसेँ। हरेक पटक नोटिफिकेसनको बत्ती बल्दा मन फुरूंग हुन्थ्यो तर उसको जवाफ आएन। यसरी तीन दिन बितेपछि बल्ल उसले फ्रेण्ड रिक्वेस्ट एसेप्ट गर्यो। मेरो मन खुशीले माथी आकाशमा बादलसँगै उँड्न थाल्यो।

म हरपल उसको प्रोफाइलमा डुलिरहन्थेँ। मनमा धेरैथरि सपनाहरूले डेरा जमाउन थाले। उसका फोटोहरूमा हराइरहनु नै मेरो दिनचर्या बन्यो। च्याटमा उसँग बोल्न र आफ्नो मनको कुरा सुनाउन अझै हिम्मत आएन।

एकदिन उसलाई अनलाइन देखेँ। मेसेन्जरमा गएर 'हेल्लो' लेखेँ। मुटुको धड्कन आफैँले सुन्न सक्नेगरि धड्किन थाल्यो।

'हाई', उसको जवाफले मलाई बिलखबन्दमा पार्यो। अब के लेखुँ।

'हाउ आर यु?' मलाई तिमी या तपाईँ के सम्बोधन गरौँ गाह्रो पर्यो, त्यसैले अंग्रेजी नै सजिलो लाग्यो।

'फाइन' उसको छोटो उत्तरले झनै अप्ठ्यारो बनायो।

'मलाई चिन्छौ त?' मेरो धार्यताको बाँध टुटिसकेको थियो। मैले तिमी नै भनेँ।

'अहँ छैन त!'

'हामी स्कुलमा सँगै पढ्थ्यौँ नि त।'

'ए अँ अँ!' उसले चिन्यो कि चिनेन कुन्नि मेरो मन राखिदियो। 'के गर्दैछौ नि आजकाल?'

'म त नर्सिंग पढ्दै छु। तिमी नि?'

'मेरो त इन्जिनियरिंग सकियो।'

ऊ सोधेको प्रशनको जवाफ मात्र दिन्थ्यो। बाँकि केहि भन्दैनथ्यो। मेरो लागी ऊ सर्वस्व थियो भने उसको वागी म केहि पनि थिइनँ।

यसरी धेरै दिन बित्यो। मेरो मनमा सुनामी जस्तै आँधिबेहरी आउन थाल्यो।म सहनै नसक्न् भइसकेरो थिएँ। त्यसैले एकदिन मैले उसलाई देखेदेखि आजसम्मका मनका भावनाहरू अफलाइनमा मेसेज गरिदिएँ। म जिन्दगी एउटा कठिन मोडमा उभिएर ऊ सामु हात फैलाउँदै थिएँ।

मैले दुईदिनसम्म फेसबुक खोलिनँ। आफैँलाई लाज लागेर आयो।

दुई दिनपछि फेसबुक खोल्दा म छाँगाबाट खसेझैँ भएँ। जे म सुन्न र पढ्न चाहन्नथेँ तियहि पढ्नु पर्यो।

'मेरो इन्गेजमेन्ट भइसकेको छ। प्लिज यसरी मेरो जिन्दगीमा दखल नदेउ। फेरि यस्तो मेसेज गर्यौ भने राम्रो हुनेछैन।'

उसले मलाई धम्क्यायो। मेरो टुटिसकेको दिल अझै मसिना मसिना टुक्रा बनायो। मैले वर्षौँदेखि सजाएको महल एकाचोटि गर्ल्यामगुर्लुम ढल्यो। म त्यहि ढलेको महलको भग्नावशेशमा च्यापिएर निसास्सिएझैँ भएँ।

मैले फेसबुक डिएक्टिभेट गरेँ। केहि दिन यतिकै लुटिएको यात्रीजस्तै मनमनै भौँतारिरहेँ। के गर्ने के नगर्नै सोच्नै सकिनँ। एकदिन दिउँसो फेरि फेसबुक खोलेँ। मन मानेन। उसको प्रोफाइल खोलेँ। तस्वीर हेरेँ। केहि छिन यताउता हेरेर फेरि उसको प्रोफाइल खोजेँ। अहँ फेला परेन। उसले मलाई ब्लक गरेछ। अब मैले बुझिसकेको थिएँ यो एकोहोरो रोटि पकाउनुको कुनै तुक छैन। ऊ काँचो नै रहन्थ्यो भने म पाकेर पनि जल्ने निश्चित थियो। म हारेँ, खै कसरी, आफ्नै कारणले या नियतीले बस् यसरी हारेँ कि अबका सयौँ जितहरूले पनि भरपाई गरिन सायदै सक्ला बादल जी।
प्रमिलाले आफ्नो कथा सकि। म चुपचाप थिएँ।

बस् यति मात्र भन्न सकेँ'विगतलाई बिर्सिदिनु र भविष्य बारे सोच्नुस् न।'

उसले मुस्काएको इमो पठाई। सायद यो मुस्कान आफ्नो बह पोखेर मन हल्का पारेको संकेत थियो। ऊ त सायद आँसु बगाउँदै होली यता मजस्तै।

Published on March 24 2015