Author Topic: What is a Ghazal (गजल के हो?)  (Read 722 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
What is a Ghazal (गजल के हो?)
« on: June 15, 2015, 01:22:34 PM »
गजल के हो ?

समानकिसिमले मुख मिलाइएका, झट्ट हे्र्दा झन्डै उस्तै वा समानजस्ता लाग्ने धार र टुप्पा भएका भिन्नभिन्न बाणहरू तूणीरमा राखिएका हुन्छन् । कुशल धनुर्धरले तूणीरबाट बाण झिकेर आफ्नो निशाना वा शिकारमाथि अचूक प्रहार गर्छ ।
   
गजलका बारेमा गहन अध्ययन गर्नु वा गजल सिर्जना गर्नु अघि आधारभूत जानकारीका लागि माथिको अनुच्छेद सहयोगी हुन्छ सायद ।समान पद वा पदावलीमा मुख मिल्ने रदीफ,समान जस्तो लाग्ने तर भिन्न धार र टुप्पा जस्ता काफिया र भिन्न बाणजस्ता मुक्त शेरहरु गजल नामको तूणीरमा राखिएका हुन्छन् ।अब कुशल धनुर्धारी गजलकारले आफ्नो शिकार वा निशानाको प्रतिनिधि श्रोतामाथि एकपछि अर्को कुशल प्रहार गरेर कलाप्रदर्शन गर्छ ।अचूक प्रहारले लक्षभेदित शिकार वा निशानाबाट एकाएक प्रतिक्रियाको ध्वनि नै वाह! वाह ! हो  । 
   
बाण छोड्नु नै तीरकला होइन र रदीफ काफियासहितको सतही वर्णन नै गजल होइन ।धनुबाट एक घन्टामा कतिवटा बाण छोडियो वा दिन सप्ताह वा महिनामा कति गजल लेखेर पोस्ट गरियो भन्दा पनि लक्षभेदनको गुण मुख्य पाटो हो ।  यो कलापूर्ण हुनुपर्छ।अर्जुन एकलव्य वा कर्णको एकाग्रता साधना र समर्पणले प्राप्त हुने गुण हो यो । यो मेरो सामान्य बुझाइ हो, जो मैले तपाईहरुकै लेख वा सिर्जनाबाट पाएको ज्ञान हो ।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: What is a Ghazal (गजल के हो?)
« Reply #1 on: June 15, 2015, 01:30:40 PM »
लय

गजल शब्दमा कुद्ने भन्दा शब्दलाई साधन बनाएर भावको गहिराइतिर लाग्नु महत्वपुर्ण हुन्छ।

गुगलबाट गजलसम्बन्धी सामग्री खोजेर थुप्रै साथीले लाभ लिन सक्नुहुनेछ ।  फेसबुकमा लयको बारेमा धेरै छलफल र चर्चा-परिचर्चा भएको पाइन्छ ।

हामीले भाषा प्रयोग गर्दा अर्थात् बोल्दा आवाजमा जुन उतार-चढाव(आरोह-अवरोह) हुन्छ त्यो नै लय हो ।जतिसुकै सानो वाक्य वा वर्ण नै किन नहोस् विनालय उच्चारण हुनैसक्दैन ।बोल्दा पैदा हुने लय,प्रयोग भएका शब्दको गति वा चाल र यति वा विराम जुनसुकै अभिव्यक्तिमा हुन्छन् ।लयको शून्यता गद्य होइन न्यूनता अवश्य हो ।जति लय तीव्र र विशिष्ट बन्दै लान्छ त्यति नै त्यो पद्य वा  गेय हुन्छ भने लय जति खुकुलो हुँदैजान्छ त्यतिनै पद्य पनि गद्यतिर प्रवेश गर्ने हुनाले गद्य र पद्यको सीमारेखामा निबन्ध र हामीले भन्ने गरेको गद्य कविता रहन्छन् ।       

कतिपय अवस्थामा छन्द र लयलाई पर्यायको रूपमा प्रयोग गरिन्छ । यो चर्चा पछि कुनैबेला ।यहाँपनि त्यरी नै अहिले प्रयोग गर्दा सहज होला ।छोटकरीमा भन्नुपर्दा  छन्द भनेको वर्ण-मात्राको विशेष संरचना हो भने लय भनेको त्यसलाई गाउँदा सुनिने आरोह-अवरोह हो ।

जस्तोः- "जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति "  यो शार्दूलविक्रीडित छन्द हो ।यसलाई अनेक तरिकाले जुन गाइन्छ ती सबै लय हुन् ।छन्द वर्णमात्राको व्यवस्थापन हो भने लय प्रयोगमा पैदा हुने साङ्गीतिक आरोह-अवरोह हो ।यस अर्थमा छन्द र लय भिन्न कुरा हुन् भने एकै सिक्काका दुई पाटा पनि हुन् ।यहाँ  कतै छुट्टै र कतै पर्यायको रूपमा प्रयोग गर्नुको कारण पनि चलनलाई पछ्याएको हो ।   

पद्य वा गेयविधा(गीत-गजल-कविता)का लागि छन्द वा विशिष्ट लयविधान अनिवार्य सर्त हुन् तर छन्द वा लयमात्र चाहिं कविता गीत वा गजल होइनन् ।संरचना, पदयोजना, वाक्यविन्यास उक्तिवैशिष्ठ्य लयविधान जस्ता कुराको समग्रताबाट  गीत गजल वा कविताको दर्शन हुन्छ ।  शब्दहरुको प्रयोग,लयात्मक वर्णन नै गीत कविता वा गजल होइनन् ।

गीत  गजल वा कविता, पद्यविधा हुनाले यिनीहरुमा लयको विशिष्ट अवस्था हुन्छ ।पद्यको पहिचान भनेकै लयको विशिष्टता हो ।सामान्य गद्यको न्यूनतम लयले विशेष उचाइ लिने क्रम बढेसँगै पद्यमा प्रवेश हुन्छ र अडान-अडान पाउ-पाउ वा चरण-चरण हुँदै लयको विशिष्टता देखापर्छ ।यो वर्ण-मात्रा पद-पदावली र वाक्यको स्थितिमा देखिन्छ त्यसैले लयनिर्मितिका लागि आवश्यकतानुसार व्याकरण लिङ्गमा विचलन आएर अरु श्रवणीय हुन्छ ।लयको अधिकतम अनुशासन नै वर्णमात्रिक( वार्णिक) वा शास्त्रीय छन्द हो । यसमा वर्ण र मात्रा दुबैको फलामे  अनुशासन हुन्छ  र वर्ण र मात्राको रूप र रखाइबाट यगण मगण गणहरु आदि  पैदा हुन्छन् ।यो अनुशासित खुकलो भएर कतै वर्ण र कतै मात्रालाई गणना गरिने छन्दविधान हुन्छन् ।त्यसैलाई लयविधान पनि भनिएको हो । 

के शब्दको स्रष्टाले लय मिलाउन वा जान्न जरूरी छैन ?

थुप्रै साथीले गीतकार, गजलकारले लय मिलाउनु वा जान्नु जरुरी छैन त्यो संगीतकारको काम हो भनेको  पनि पाइन्छ। गीतकार वा गजलकारको काम भनेको शब्दमा पोखिनु हो । त्यसलाई कस्तो संगीत र लय दिने ? भन्ने कुरा संगीतकारले जान्ने काम हो ।अनि मिलाएर गाउने काम गायक-गायिका को हो ।

कलाको आफ्नै धर्म-मर्म, चालढाल लय र ताल हुन्छ । यसको अर्थ यसले भाषा-व्याकरणका नियम मान्दैन भन्ने होइन ।अझ लय-निर्मिति त पदयोजनाबाटै हुने भएकाले विचलनका सम्भावना अधिक हुन्छन् ।तर सिर्जनात्मक विचलन ।  एकछिनका लागि मानौं गीतकार वा गजलकारले भन्यो "लेख्ने मेरो काम हो लेखें ।लय मेरो काम होइन ।"संगीतकारले पनि भन्यो कि "शब्दको भाव र मर्म बुझ्नु मेरो काम होइन त्यसैले मेरै  हिसाबले लय भरिदिंएँ ।"त्यसमाथि गायकले भन्यो "शब्द र संगीत मेरो चासो र चिन्ताको विषय होइन तसर्थ ताल पर्यो गाइदिएँ ।"र श्रोता वा पाठकले भन्यो "आ ! साथीको थियो एक कानले सुनेर अर्कोले उडाइदिएँ तर वाह वाह चाहिं भनिदिएँ ।" के होला अब ?   

शब्द-संगीत र स्वर एकअर्काका परिपूरक हुन् ।शब्द सुन हो भने संगीत सुगन्ध हो अनि स्वर स्वाद हो भन्ने ठानौं ।सबैको लक्ष भनेको श्रोता वा पाठक हो ।कसैले कसैलाई दायित्व पन्साउने वा मुन्साउने कुरा नभएर सहकार्यद्वारा श्रोता वा पाठकसम्म रसमय भएर सम्प्रेषित हुने संयुक्त दायित्व हो ।यो अरु कसैको काम गरिदिएको नभई हार्दिक दायित्व हो ।मेरो काम पढाउने हो । कसरी बुझ्ने ? यो विद्यार्थीको दायित्व हो भन्ने हो भने म कस्तो गुरु हुँला ? मात्रात्मक हिसाबले प्रतिभाहरु गीतकार गजलकार संगीतकार र  गायक हुन् । परन्तु गायकलाई शब्द र संगीतको मर्म थाहा हुनुपर्छ ।संगीतकारलाई गायनको धर्म र मर्म जानकारी हुनुपर्छ ।अनि शब्दको स्रष्टालाई लयको सैद्धान्तिक ज्ञान भए-नभए पनि त्यसबारे सामान्य जानकार हुनैपर्छ ।गजल-गीत- कविता लेख्न रुचि राख्ने तर लयमा उदासीन हुने कुरा राम्रो हो र?पदयोजना,भावविधान उक्तिसौन्दर्य विधागत संरचनासँग परिचित हुनै परे जस्तै छन्द वा लयविधानसँग पनि नाता हुनैपर्छ ।अर्थात् गीतिचेत र लयप्रति अनुराग पद्यनिर्मितिका सर्त नै नुन् भने हुन्छ ।हाम्रा पाखाभित्तामा गाइने लोकगीत गीतिचेत र लयविधानका  भरपर्दा सहयोगी हुन् ।लोकगीत सुन्ने र गुनगुनाउने गर्नाले लयको अभ्यास हुनसक्छ ।र सिर्जना पनि कलात्मक हुन्छ ।कतिपय गीत-गजल-कविताका सर्जकहरु अलमलिको ठाउँ यतैकतै हुनुपर्छ ।लोकगीत र लोकलयले राम्रो सहयोग गर्न सक्छ भन्ने मेरो बुझाइ छ ।   

  मेरो आशय के हो भने मानिलिउँ  'भुजङ्प्रयात' छन्दमा चारवटा यगण हुन्छन् भन्ने कुरा मलाई थाहा नभएपनि त्यसलाई वाचन गर्ने सामान्य लय-गति र यतिका बारेमा जानकारी राखिन्न  र टाकनटुकन पारेर लेखेपछि मिलाउने काम संगीतकारको काम हो भन्ने हो भने हामी कहिल्यै उठ्न सक्दैनौं ।छन्दका गण,गति यति मिलाउने र गीति-लयमा सहज लय मिलाउने काम स्रष्टाको हो ।त्यसलाई विशेष लय दिने वा सुमधुर बनाउने काम संगीतकार गर्छ ।एउटा छन्द वा सिर्जनाको संरचनालाई अनेक लयमा गाउन सकिन्छ ।तीमध्ये एउटालाई शब्दको स्रष्टाले टिप्नुपर्छ । हजारौ छन्द र लाखौं लयको बारेमा म जान्दिंन ।केवल मेरो नेपाली कान अभ्यस्त भएका र जिब्रोमा बानी परेका छन्दमात्र म मिले-नमिलेको परैबाट थाहा पाउँछु ।परिचितको आवाजजस्तै ।सारेगम नै जानेको हुनुपर्दैन तर लयमा रुचि छैन तसर्थ  दायित्व पनि  होइन भन्ने हो भने कुशल स्रष्टा बन्न गाह्रो छ ।   

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: What is a Ghazal (गजल के हो?)
« Reply #2 on: June 15, 2015, 01:32:42 PM »

सिर्जना प्राविधिक भएरमात्र हुँदैन स्रष्टा रसिक पनि हुनुपर्छ ।बजाउन आउँदैन, यसको अर्थ वादनप्रति विकर्षण हुने ?गायन कला नहोला यसको अर्थ नसुन्ने ?होइन भने 'शब्द मैले दिएँ लय मेरो काम होइन भन्ने हो भने त्यो गीत-गजल केवल वर्णन होला कला हुँदैन ।स्रष्टाको लयमा अभिरुचि हुँनैपर्छ र ऊ रसिक वा रौसे हुनैपर्छ ।ऊ शब्दसँगमात्र होइन भावसँग पनि खेल्न जान्ने हुनुपर्छ ।यो रसिकताको कुरा हो दायित्व बोक्ने वा नबोक्ने कुरा होइन ।तर स्रष्टाको सामाजिक र भावकीय दायित्व अवश्य हो ।

  सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
  सार्वभौम भई फैलिएका मेची-महाकाली ।।

यो गीतलाई राम्रोसँग हेर्नुहोस् ।करीव तेह्र सय सिर्जनाका बीचबाट छानिएको र राष्ट्रगानको स्थान पाइसकेको यसलाई कथित चश्मा लाएर नहेर्दा खोट लाउनुहुन्न ।तर व्याकुल माइलाले शब्द दिनुभयो ,अम्बर गुङले संगीत दिनु भयो ।सायद लयको क्षेत्र मेरो होइन भन्ने व्याकुललाई लाग्यो होला र अम्बरलाई शब्द जे छ त्यसमा नै संगीत दिउँ भन्ने लाग्यो हो ।यति राम्रा शब्दको संगीत र स्वरमा दाँतमा ढुङ्गो लागेको अनुभव त्यतिबेर हुन्छ जब सार्वभौम्\भै\फैलिएका\मेची-महाकाली उच्चारण हुन्छ ।बरु व्याकुलले   सार्वभौम  फैलिएका मेची-महाकाली ।।लेखिदिएर लयमा न्याय गर्नुभएको भए  गानमाथि नै न्याय हुनेथियो ।लयलाई ध्यान दिएको एउटा हरफः

नौलाख तारा उदाए धर्ती र आकाश हाँसेछ ।
यसलाई पनि संगीत अम्बरले नै दिनुभएको हो ।अब तुलना गर्नुहोस अम्बरलाई कुनमा सहज भयो संगीत भर्न ?लय पक्कै संगीतकारले भर्ने हो तर सामान्य लय शब्दको सर्जकले मिलाएकै हुनुपर्छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: What is a Ghazal (गजल के हो?)
« Reply #3 on: June 15, 2015, 01:35:27 PM »



काफिया

व्यवहार र साहित्यमा पनि सकेसम्म आफ्नै मौलिक पद र पदावलीको प्रयोग गर्ने हो ।तर कतिपय अवस्थामा भावलाई यथावत् टिप्नका लागि अन्य भाषाका शब्दको पनि प्रयोग गर्नुलाई अन्यथा मान्नुहुन्न ।गजलको सन्दर्भमा पनि नेपाली भाषामा प्रयोग हुने पद र पदावलीको प्रयोग गर्दा बुझ्नलाई सजिलो हुन्छ ।

गजलको विषयवस्तु अव हिजोको सीमित परिभाषामा रहेन र स्वयं गजल गीतको उपविधा नभएर पद्यको छुट्टै विधाको रूपमा स्थापित भइसकेको हुँदा अन्य विधामा जस्तै अनेक विषयमा गजल लेख्न सकिन्छ ।यो सार्वभौम सत्य हो ।तर सबै कुरा फेरिएपनि जुन कुराले एउटा विधालाई अर्को विधाबाट छुट्याउँछ वा जुन कुरालाई हेरेर फलानो विधा हो भनिन्छ त्यो आधारभूत कुरामा भने परिवर्तन हुँदैन ।

गजललाई अन्यविधाबाट छुट्याउने प्रमुख तत्व काफिया र रदिफ हुन् ।कुनै गीतिविधा गजल हो वा होइन भन्ने कुरा हामी रदिफ र काफियाबाट छुट्याउने गर्छौं ।अझ रदिफ नभएपनि मान्न सकिएला तर काफिया भएन भने त्यो गजल हुनै सक्दैन ।चुच्चोविनाको चरो ,सुँडविनाको हात्ती नभएजस्तै काफियाविनाको गजल हुँदैन ।

यतिबेला सबैभन्दा ज्यादा लेखिएको र सबैभन्दा बढी गिजोलिएको विधा नै गजल बनेको छ ।रदिफ- शेर-मिसरा आदिका बारेमा आवश्यकतानुसार चर्चा गर्दै जाउँला ।तर अहिले काफियालाई नै चर्चाको विषय बनाउनु सान्दर्भिक होला ।काफिया यो सापटीको शब्द गजल शब्दसँगै आएको हुनाले हुनाले कसैलाई यही ठीक लाग्नु स्वाभाविक हो ।तर कसैलाई यो शब्द नै टाउको दुखाइको विषय बनेको छ । कोनै पनि कुरालाई बुझ्नका लागि सजिलो बाटो अपनाउनु राम्रो हुन्छ र प्रचलनमा भए आफ्नो भाषाका शब्दे बुझ्दा राम्रो हुन्छ ।आजको कुराको सार यही हो । काफिया गजलको प्राणतत्व हो ।माथि नै भनियो ।नेपाली साहित्यमा प्रयोग हुने अनुप्रास वा चलनचल्तीको भाषामा तुकवन्दी नै काफिया हो ।ध्वनिगत रूपले सुन्दा उस्तै लग्ने तर भिन्न अर्थ भएका पदको आवृत्ति वा खप्टिएर आएको अवस्था नै अनुप्रास हो ।जस्तैः-

    चरी बस्यो बाँसैको टुनामा
    छिन्छ पोते नसमाऊ तुनामा ।।

    माथि टुना र तुना को ध्वनि उस्तै लाग्छन् तर अर्थ फरक छन् ।यसलाई अनुप्रास भनिन्छ ।यो नै काफिया हो ।अनुप्रासका अनेक रूप र अवस्था भएपनि हरफको अन्त्यमा प्रयोग हुने तुकबन्दी वा अनुप्रास नेपाली पद्यविधा र विशेषतः लोकगीतको प्रिय कुरा हुन् ।अझ लोकगीतमा त अनिवार्य भएर आउँछन् ।तसर्थ यसको प्रयोग र मिठासका लागि हाम्रा लोगगीत नै भरपर्दा सहयोगी हुन् । 'बाटो' स्वयंमा यो काफिया वा अनुप्रास नभएर पदमात्र हो ।'बाटो 'पाटो' यसरी प्रयोग भएपछि तिनलाई काफिया वा अनुप्रास भनिन्छ ।प्रायः नेपाली गीत, प्रायः छन्दोबद्ध कविता र अनिवार्यतः लोकगीतका प्रत्येक हरफको अन्त्यमा यिनीहरुको प्रयोग हुन्छ ।जोर-बिजोर हरफको अन्यमा प्रयोग हुने त्यस्ता अनुप्रास अन्य गीतिविधामा एकएक जोडीमा सीमित हुन्छन् जस्तैः-

  _________________खान्छ
___________________जान्छ।।


____________________गयो
____________________भयो  ।।

यहाँ खान्छ जान्छ अनि गयो भयोको जोडी छन् । यी अनुप्रास हुन् ।।

यसको विपरीत गजलको शुरुका दुई हरफ(मतला)मा अनुप्रास वा काफियाको जोडी हुन्छ भने प्रत्येक शेरको विजोर हरफ वा शेरको अन्यमा शुरुकै तुकबन्दी वा अनुप्रासको प्रयोग हुन्छ ।जस्तैः-

गजलको बनोट
विजोर हरफ_______________________बाटो रैछ।
जोर हरफ_________________________माटो रैछ


विजोर____________________________
जोर_______________________पाटो रैछ  ।।


____________________________
__________________________खाटो रैछ ।।


________________________
___________________________टाटो रैछ ।।

यहाँ बाटो माटो पाटो खाटो टाटो जस्ता उस्तै लाग्ने पद काफिया वा अनुप्रास वा तुकबन्दी हुन् भने रैछ रैछ जस्ता उनै पदको पुनरावृत्ति रदिफ हुन् । गजलको सुर ताल र स्वर पहाडी खोला र झरनाजस्तो नभएर  कलकल आवाज सुनिने तर शान्त नदीजस्तै हुनाले सोही प्रकृतिका पद हुनुपर्छ  ।काफियासँगै शेरको अन्त्यको विशेष बज्ने र रदिफमा विश्राम हुने भएकाले श्रोतालाई वाह वाह गराउने अचूक पद भनेकै त्यो अनुप्रास हो भन्ने मेरो बुझाइ छ ।

कतिपय साथीले काफियाका नाममा अनेकौं प्रयोग गरेको पाइन्छ ।ठीक हो कि होइन ?यसको उत्तर के हो भने श्रोताले पहिलेकोजस्तै वा त्योभन्दा तीव्र आवेगमा स्वीकार गर्छ भने र विधाको संचरचना अन्योलग्रस्त हुँदैन भने ठीक छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: What is a Ghazal (गजल के हो?)
« Reply #4 on: June 15, 2015, 01:52:42 PM »
छन्दका नियम हरु

गजलमा मात्रागिरावट– डा. घनश्याम परिश्रमी
यो आलेख मूलत: गजलमा मात्रागिरावट विषयमा केन्द्रित भएर तयार गर्न खोजिएको हो । मात्रा गिरावटको सम्वन्ध बहरसँग हुन्छ, बहरमा पनि प्रमुखतः शास्त्रीय बहरसँग । शास्त्रीय बहरमा गजल रचना गर्नु अभ्यस्त नभइसकेका स्रष्टाहरुका लागि अवश्य नै जटिल कार्य हो । यसका लागि प्रथमत: रुक्नहरुको ज्ञान हुनु आवश्यक छ । रुक्न भनेको बहरको गण हो । संस्कृत काव्यशास्त्रमा पिङ्गल छन्दका मुख्य आठवटा भ(SII), ज (ISI), स (IIS, य (ISS, र (SIS), त (SSI, म(SSS), न(III) जस्ता गणहरु र कोष्ठकमा दिइएका तिनका गुरु–लघु सङ्केतक सूत्रहरु भएजस्तै इस्लामिक छन्दशास्त्रमा पनि आठवटा नै प्रमुख रुक्नहरू छन्, जुन निम्नानुसार छन् :
१) मफाईलुन्(ISSS) ,
२) मुस्तफ्इलुन्(SSIS),
३) फायलातुन् (SISS),
४) फऊलुन्(ISS)
५) फाइलुन्(SIS),
६) मुतफाइलुन्(IISIS)
७) मफाइलतुन्(ISIIS) ,
८) मफ्ऊलातु(SSSI)
नेपालीमा
१. यमाता lSS या जमाना

२. मातारा SSS म नेपाली
३. ताराज SSl त आकाश

४. राजभा SlS र भावना

५. जभान lSl ज हजार
६. भानस Sll भ आँगन

७. नसल lll न कमल

८. सलागा llS स छहरा
९. ल l (लघु) - म

१०. गा S (गुरु) - यो

कोष्ठकमा दिइएका सूत्र लघु गुरुका सङ्केत हुन् । (I) ले लघु वा ह्रस्व मात्रालाई र =. ह्रस्व वर्णहरु - अ इ उ ऋ स्वर र तिनीहरुसँग जोडिएका सबै क कि कु कृ व्यन्जनहरू
 (S) ले गुरु अर्थात् दीर्घ मात्रालाई सङ्केत गर्दछन् । उपर्युल्लिखित रुक्नहरुको आवृत्ति तथा पूर्ण वा खण्डित रुपहरूको मेलबाट शास्त्रीय बहरहरूको निर्माण हुन्छ ।=
ख. दीर्घ वर्णहरू - आ ई ऊ ए ऐ ओ औ अम् अ: स्वर र तिनीहरूसँग जोडिएर आउने का की कू के कै को कौ
शास्त्रीय बहरमा गजल लेख्नेहरूले लघु र गुरुबारे सम्यक् जानकारी लिनु अनिवार्य हुन्छ । लघु अर्थात् ह्रस्वले अकार, ह्रस्वइकार, ह्रस्वउकार ऋकारयुक्त अक्षरहरूलाई बुझाउँछ ।
जस्तै – कलह(III), कुकुर(III), कृषक(III) , शिशिर(III), । यी सबै शब्द लघु मात्राले बनेका छन् । गुरु अर्थात् दीर्घले आकार, दीर्घ ईकार, दीर्घ उकार, एकार, ओकार, औकार, अंकार, र अःकार (विसर्ग ) युक्त अक्षरहरूलाई बुझाउँछ । जस्तै – आमा (SS), पीडा (SS), पूजा (SS), नेपाली (SSS), ऐना (SS), आगो(SS), कौवा(SS), संज्ञा(SS), दुःखी (SS) यी सबै शब्द दीर्घ मात्राले बनेका छन् । यसरी नै अगाडिको लघु अक्षरले पछाडिपट्टिको संयुक्त ब्यञ्जनको एउटा वर्णलाई तान्नु वा टिप्नु परेमा यस्ता लघु अक्षर गुरु (दीर्घ ) बन्दछन् ।
जस्तै
अर्का (SS) ‘अ’ ले ‘र्’ लाई तानेको छ ।
बिर्खे (SS) ‘बि’ ले ‘र्’ लाई तानेको छ ।
पण्डा (SS)‘प’ ले ‘ण्’ लाई तानेको छ ।
अन्धो (SS) ‘अ’ ले ‘न्’ लाई तानेको छ ।
कुप्रो(SS) ‘कु’ ले ‘प्’ लाई तानेको छ ।
सृष्टि(SS)‘सृ’ ले ‘ष्’ लाई तानेको छ ।
यद्यपि माथिका सबै शब्दका पहिला अक्षरहरू व्याकरणिक दृष्टिले ह्रस्व हुन् तर पछाडिपट्टिका संयुक्ताक्षरका वर्णलाई तान्नु वा टिप्नुपरेकाले यी दीर्घ बन्न पुगेका छन् । यदि पछाडिपट्टिका संयुक्ताक्षरका वर्णलाई तान्नु नपरेमा अगाडिको लघु अक्षर लघु नै रहन्छ ।
भन्यो (IS)
उज्यालो (ISS)
किन्यो (IS)
दुख्यो (IS)
शब्दको अन्तमा आउने हलन्त (खुट्टा काटिएको ) वर्णभन्दा पूर्वको अक्षर पनि लघु भए पनि गुरु मानिन्छ । हलन्त वर्णको गणना हुँदैन ।
जस्तै :
मित्रवत् (SIS ) व – गुरु
भन्छन् (SS) छ – गुरु बस्छन् (SS) छ – गुरु
जान्नन् (SS ) न – गुरु
मिसरा ( पङ्क्ति वा पाउ ) को अन्तमा पर्ने लघु मात्रालाई पनि गुरु मानिन्छ । (यो नियम उर्दू र हिन्दीका गजलमा भने लागु हुँदैन । )
यी नियमहरु संस्कृतका शास्त्रीय छन्द तथा गजलका बहर दुवैका लागि समान रूपले वितरण भएका देखिन्छन् । संस्कृतका शास्त्रीय छन्दमा यिनको प्रयोग अत्यन्त कठोरतापूर्वक गरिएको हुन्छ भने गजलमा उदारतापूर्वक गरिएको पाइन्छ । अर्थात् संस्कृतको पिङ्गल छन्दको जस्तो “अपि मासम् मसम् कुर्यात् छन्दोभङ्गम् नकारयेत्” भन्ने कठोर नीतिलाइृ गजलले अक्षरशः अङ्गीकार गर्दैन । वस्तुत : बहरमा उदारता र लचकता बढी देखिन्छ । यही उदारताले नै गजलका शास्त्रीय बहरमा “मात्रागिरावट” नियम लागु भएको हो । यो नियम गजल रचनाका सन्दर्भमा एउटा सिद्धान्त नै बन्न पुगेको छ ।
मत्रागिरावट भनेको गजलको बहरका मात्रामा देखिने विचलन हो । यसर्थ मात्रा गिरावटलाई हामीले मात्राविचलन पनि भन्न सक्दछौँ । खासगरी बहर मिलाउँदा गायनमा कत्ति असर नपर्ने गरी दीर्घ मात्रालाई ह्रस्वका रुपमा र कतिपय अवस्थामा ह्रस्व मात्रालाई दीर्घका रुपका स्थानापन्न गर्नुलाई मात्रागिरावट भनिन्छ । यसले उच्चार्य अक्षरको प्रयुक्तिका आधारमा शब्दको विन्यासलाई पनि महत्व दिन्छ । जस्तै :
लेख्य आधारमा उच्चार्य आधारमा
जीवन (SII) (IS/SS)
शीतल (SII) (IS/SS)
मुलुक (III) (IS)
फार्सी, उर्दू र हिन्दीमा आकार, एकार, ऐकार, ओकारयुक्त अक्षरहरुलाई “मत्रागिरावट” नियमका आधारमा विकल्पमा लघु मात्राका रुपमा समेत प्रयोग गरिएका प्रशस्त उदाहरण पाइन्छन्, यद्यपि यी मात्राहरू गुरु हुन् । यसका केही उदाहरणहरू अवलोकन गरौं :
१। सूत्र SIS + SIS + ISSS
होश आए तो किस कदर आए
दस्त ही दस्त बस नजर आए
– डा. कमर खाँ “बहम”
यहाँ “तो” लघु भएको छ ।
२। सूत्र : SISS + SISS + SISS + SIS
जिन्दगी के शोरो शर मे गम का मारा कौन है
जातकी तन्हाइयोँ मे बेसहारा कौन है
– सलीम रासिख
यहाँ “ऐ” र “का” लघु भएको छ ।
३। सूत्र : SSIS + ISS + ISS + IS
खौप पत्थर से खाने लगे आइने
अव हकीकत छिपाने लगे आइने
– प्रवीण “नाकाम”
यहाँ “से” लघु भएको छ ।
४।सूत्र : SISS + ISS + SIS
हमको जो भी उजाले मिले
तम के घर पलने वाले मिले
– राजेन्द्र वर्मा
यहाँ पहिलो मिसराको “को” र दोस्रो मिसराको “क” र “न” दुबै ह्रस्व मात्राका रुपमा छन् ।
५। सूत्र : SISS + ISS + SISS + ISS
हरदम दुहाएँ देना हर लम्हा आहेँ भरना
इनका भी काम करना आपना भी काम करना – जिगर मुरादावादी
यहाँ एँ, हा, हेँ, भी जस्ता अक्षरहरू लघु मात्राका रूपमा प्रयोग भएका छन् ।
६।सूत्र : ISS + ISS + ISS + ISS
भँवर मे अजल से है दिल खोए खोए
मुहब्बत उभारे मुहब्बत डुबोए
– फिराक “गोरखपुरी”
यहाँ है र ए लघु मात्राका रूपमा प्रयोग भएका छन् ।
माथि प्रयुक्त शेरहरूका अधिकांश शब्दहरू उच्चारणका आधारमा बहरमा प्रयोग भएको पाइन्छ । यस्ता शब्दहरुमा सूत्र १ का किस (S), कदर (IS), बस (S ), नजर (IS), सूत्र २ का शर (S), गम (S ), सूत्र ३ का पत्थर (SSI), अब (S ) हकीकत (ISS), सूत्र ४ का हम (स्), तम (S), घर (S ), पल (S), सूत्र ५ का हरदम (SS) हर (S), भरना (SS), इनका
(SS), करना (SS), अपना (SS ), सूत्र ६ का भँमर ( IS ),अजल (IS ), दिल (S), मुहब्बत (ISS) रहेका छन् । मात्रा गिरावट नियमले नै बहरमा यस्तो छुट दिएको हुन्छ ।
नेपालीमा पनि ईकार, ऊकार, एकार र ओकारलाई गुरुका अतिरिक्त आवश्यक पर्दा लघु मात्राका रुपमा समेत सजिलै प्रयोग गर्न सकिन्छ । आकारलाई पनि शब्दको बीच वा अन्तमा मात्र लघु मात्रामा रूपमा प्रयोग गर्न सकिन्छ । ऐकारलाई भने फार्सी, उर्दू र हिन्दीमा झैँ लघु मात्राका रूपमा नेपालीमा प्रयोग गर्न सकिँदैन । यसैगरी लघु मात्रा अकार, इकार र उकारलाई बहर मिलाउँदा विशेषतः यति हुने स्थानमा र आवश्यक परे विकल्पमा अन्य स्थानमा समेत गुरुका रूपमा प्रयोग गर्न सकिन्छ । जस्तै –
सूत्र SSIS + ISS+ SSIS + ISS
रोएर दिन विताएँ तारा गनेर राती
निठुरी रहेछ तिम्रो पत्थरसमान छाती
– उपेन्द्रबहादुर जिगर
निठुरी शब्दको निठु दुई लघु (S) मात्राले एक गुरु (I) को काम गरेका छन् भने दिन पनि एक गुरु (क्), मात्राको रुपमा प्रयोग भएको छ र पत्थर दुई गुरु (क्क्), मात्राको रुपमा प्रयोग भएको छ : यस सूत्रकै अर्को उदाहरण पनि हेरौँ –
हीरा जुहारभन्दा माटो मलाई प्यारो
रङ्गीन दुनियाँमा रातो मलाई प्यारो
– बूँद राना
यस सेरको मिसरा ए उला र मिसरा ए
सानी दुवैमा रदीफका रूपमा प्रयुक्त ‘मलाई’को ‘ई’ गुरु – (दीर्घ) भए तापनि बहरको सूत्र अनुसार यहाँ लघु मात्राको रूपमा छ भने ‘दुनियाँ’को ‘दु’ लघु भए तापनि क् गुरु मात्राको रूपमा छ ।
अरू शेरहरु पनि हेरौँ –
सूत्र –ISS+ ISS+ ISS+ ISS
बढेको नदीमा पसेझैँ भएँ म
कुनै भुमरीमा फसे झैँ भएँ म – डा. घनश्याम परिश्रमी
यहाँ रदीफ “म” (दुवै मिसराको ) लघु हो तापनि बहरको सूत्रअनुसार गुरुका रूपमा प्रयोग भएको छ भने भुमरीको “भु” पनि गुरुका रूपमा नै प्रयोग भएको छ । यद्यपि “भु” लघु हो ।
सूत्र SIS+ SIS+ ISSS
वेदना छातीमा थुनेजस्तो
मनमनै क्यै कुरा गुने जस्तो
– सनतकुमार वस्ती
यस शेरमा प्रयुक्त छातीको “ती” नियमानुसार दीर्घ भए तापनि बहरमा यसको उच्चारण “ति” लघु हुन्छ । यसरी नै मन दुई लघु मात्रा हुन् तापनि यी दुईले एक गुरु (S) मात्राको काम गरेका छन् ।
सूत्र –ISS+ ISS+ ISS+ ISS
मेरो दिलको धडकन तिमी हौ
म बाँचेको जीवन तिमी हौ
– डा. घनश्याम परिश्रमी
यहाँ मेरो को “म” दिलकोको “को” बाँचेकोको “को” लघु मात्राका रुपमा प्रयोग भएका छन् भने दिल (S) धडकन (SS ) जीवनको “वन” ले गुरु (क् ) मात्राको काम गरेका छन् ।
सूत्र –IISIS+ IISIS+ IISIS+ IISIS
कति दिन बिते यही यादमा कति दिन अरू छ बिताउनू
कित त आउनू तिमी नै स्वयं कि त याद यो नपठाउनू – दा. कृष्णहरि बराल
यस शेरमा यही को “ही” र तिमीको “मी” गुरु हुन् तापनि लघु मात्राका रूपमा प्रयोग भएका छन् । यसरी नै दिन (S) दुई लघु मात्राले एउटा गुरु (I) मात्रालाई बुझाएका छन् ।
मात्रागिरावट नियमले आवश्यकताअनुसार हलन्तलाई अजन्त र अजन्तलाई हलन्तका रुपमा सौन्दर्य र उच्चारणमा असर नपर्ने गरी प्रयोग गर्न पनि छुट दिन्छ । त्यसैले त यसलाई अग्रेजीमा “कन्सेक्सन” भनिन्छ ।
सूत्रका आधारमा मात्रागिरावटको नियम लागु गरेर गजल लेख्ता वा छाप्ता व्याकरणको नियमलाई उल्लङ्घन गरेर वा तोडेर ह्रस्वलाई दीर्घ र दीर्घलाई ह्रस्व तथा अजन्तलाई हलन्त र हलन्तलाई अजन्त बनाउनु भने पर्दैन । सूत्र बुझेपछि उच्चारण गर्दा वा गाउँदा ध्यान दिए पुग्छ । जस्तै
सूत्र ISS+ ISS+ ISS+ ISS
जीवनको कहानी सुनायौ तिमीले
बगाएर आँसु के पायौ तिमीले
–डा. घनश्याम ‘परिश्रमी’
यस शेरको पहिलो मिसराको “जीवन” को मात्रा ब्याकरण अनुसार हुनुपर्छ तर यहाँ उच्चारण गर्दा बहरको सूत्रअनुसार “जिवन” को मात्रा व्याकरण (IS) भएको छ भने दोस्रो मिसराको आँसुको “सु” गुरु (S) र “के” लघु (।) मात्राका रूपमा प्रयोग भएका छन् । तर यसरी मात्रामा विचलन देखिए तापनि यी शब्दहरूको उच्चारणमा कुनै प्रकारको बाधा र जटिलता आएको छैन । त्यसैले उक्त शेरको लयमा पनि गायनका सन्दर्भमा कुनै व्यवधान वा अवरोध देखा पर्दैन ।
गजल मूलत: सङ्गीतसँग सन्निकट भएकाले यसले ब्याकरणको यान्त्रिकतालाई वरण गर्न असजिलो मान्दछ । छन्देही कविताको शैलीमा लेखिएका गजलहरु स्वाभाविक सौन्दर्यबाट प्राय: बञ्चित हुन पुगेको देखिन्छन् । यस्ता गजलमा कृत्रिमता अधिक दृष्टिगोचर हुन्छ । त्यसैले सङ्गीतात्मकता र गेयतामा असर नपर्ने गरी कोमल र उच्चार्य वा कथ्य भाषालाई गजलले सर्वाधिक महत्व दिन्छ । यही उदारता र लचकताले गजललाई विकृत र कुरूप होइन अपितु सुन्दर, शालीन र स्वाभाविक बनाउन सहयोगीको भूमिका खेलेको हुन्छ । यसकारण गजलमा मात्रागिरावटको उपयोग औचित्यपूर्ण छ ।