Author Topic: Nepali Grammer kina garho?  (Read 817 times)

0 Members and 1 Guest are viewing this topic.

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Nepali Grammer kina garho?
« on: June 16, 2015, 10:15:40 PM »
Dhakka Sharma

हाम्रो schooling एउटै हो उहि बाताबरण, लगभग पढेका किताबहरु सबै उहि। SLC सम्ममा मान्छेको बेस बनी सक्ने हुनु पर्ने हो। त्यस पछिका बर्षहरुमा भने बाताबरण फरक भयो !

मेरो भाषा झनै ठिमाहा, अशुद्ध र अपुरो छ त्यो मलाइ पनि थाहा छ। तर त्यसो भन्दा के मैले लेख्नै छोड्ने? कोशीस गरेकै हो बुताले भ्याउदैन त के गर्ने?बोल्नै छाड्ने? घर सबका एकरुपका हुदैनन् तर बनाउनेले आफ्नु बुताले सकेसम्म धर नै बनाउने कोशीस गरेकै हुन्छ अोतका लागि मात्रै होइन !कसैका महल होलान कसैका झुपडी त कसैका कुटि झै सुन्दर भने कसैका भाडा उठाएर जिविकोपार्जना साधन ! लुगा सबैका एकैखाले हुदैनन् सबैले राम्रै देखिन खोजेकै हुन्छ भलै हामीलाइ नसुहाउदो लागेको होस ! खाना पेट भर्नका लागि मात्र होइन मिठै खान खोजेको हुन्छ सबैले । अर्काले हेर्दा पोशण नपुगेको ,नमीठो आदि इत्यादि होला !

यहि लेख्दा पनि १०- १५ ठांऊ गल्ती भए होलान ! भलै मलाइ थाहा नहोस ! के गर्ने? मैले नलेख्ने ? शुद्ध लेख्नन कोशिस गर्ने हो ! सकिएन भने सकिएन ! पढ्नेले मिलाएर बुझ्ने ! सबै कुरामा एकरुपता हुन सक्दैन भने भाषामा चै सोरै अाना किन? समय अनुसारको लचक आएन भने शुद्ध भाषाको आत्माको शान्तिको कामना गर्नु पर्ने दिन पनि आउला !

हाम्रा बेद पुराणहरु निकै गहकिला साहित्य हुन् भन्छन ! भाषाकै कारणले त होला नि समा्न्य मान्छेले नपढेको नबुझेको ! सहज सरल भाषामा भए धेरैले पढ्ने थिए होलान् ! झन त्यसको गलत ब्याक्ख्या गरेर गुढ रहस्य बताएर धर्मको मोड नै परिवर्तन भएको होला ! भाषाको नि त्यै हविगत नहोस ! जय होस !

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Nepali Grammer kina garho?
« Reply #1 on: June 16, 2015, 10:28:13 PM »
भाषा अनुशासनहीन र अव्यवस्थित हुन सक्दैन । मैले मान्नै पर्छ ।

तर भाषा आफैमा गतिशील र परिवर्तनशील वस्तु हो र यस्तो परिवर्तन कुनै एउटा बिन्दुमा पुगेर एकाएक हुने होइन । यो निरन्तर चलिरहने अन्तर्सङ्घर्षको परिणाम हो । धेरैले रुचाएको र सबैभन्दा बढ़ी अनुशासित ठानिएको संस्कृत भाषा पनि बदलियो । अनुशासन रूढ़ भयो भने भाषाले त्यसलाई छोडेर अघि बढ्छ । पाणिनि व्याकरण यति अपवादरहित र कडा भयो कि भाषाले त्यसलाई छोडेर अन्तै हिँड्यो र आज हिन्दी, नेपाली, मराठीजस्ता नव्यभारतीय भाषाहरूको जन्म भयो ।

अक्सफोर्डले निकाल्ने अंग्रेजीको शब्दकोशको हरेक संस्करणमा सयौं शब्द हटाइन्छन् र थपिन्छन् ।
हिजो हामीलाई शुद्ध लागेको भाषा आज अशुद्ध हुन्छ र भोलि फेरि शुद्ध हुनसक्छ ।

परिवर्तनकै पछि लागियो भने पनि भाषाको मौलिकता मर्छ अनि शुद्धताका नाममा कठोर भइयो भने पनि भाषा मर्छ । घरको मूलभूत उद्देश्य ओत नै हो...अरू कुरा ओतपछिका हुन् । घरको ओतबाहेकका अन्य पक्षमा सम्झौता हुनसक्छ तर ओतमा हुँदैन । 

र पनि, भोलि पक्कै मरिन्छ भनेर आजै खुट्टा फ़ाल्नु त हुँदैन नै । भोलि भाषा फेरिन्छ भनेर आजै मर्यादा नाघ्नु उचित होइन ।

kurakani

  • 50x
  • ****
  • Posts: 2480
Re: Nepali Grammer kina garho?
« Reply #2 on: June 16, 2015, 10:29:29 PM »
Ganesh Chapagai एक पटक फेरि:-
१) नेपाली भाषा (वा अरू जुनसुकै भाषा पनि) कसरी शुद्ध र सरल तरिकाले प्रयोग गर्ने (लेख्ने, बोल्ने र पढ्ने) भन्ने विषयमा छलफल चलाउनु राम्रो कुरा हो।
२) नेपाली भाषाको प्रयोगमा ब्यक्ति, स्थान, समय, विधा इत्यादि पिच्छे फरक पर्नु पनि स्वभाविक छ ।
३) भाषाको यहि फरक प्रयोगले नै विवाद र छलफललाई निम्त्याउँछ, जुन भाषाको जीवन हो ।
४) भाषा क्षेत्रमा लागेका धेरैजसो विद्वानहरू कुनै पनि भाषाको एउटा मानक रूप होस् भन्ने मान्दछन् ।
५) नेपाली भाषाको प्रयोगमा रहेभएका विवादहरू पनि त्यस्तै मानकहरूको निर्धारण गरी समाधान गर्न सकिन्छ ।
६) तर-गाँठीकुरा के भने, त्यस्ता मानकहरूको निर्धारण कसरी हुन्छ वा कसरी गर्ने वा कस्ले गर्ने भन्ने नै हो ।
७) स्तरिय नेपाली भाषाको प्रयोग गर्ने भनिएका संस्थाहरू(एकेडमी, विश्वविद्यालय,संचारजगत आदि) ले लेखेका/बोलेका कुराहरूमा पनि एकरूपता छैन ।
८)नेपाली भाषामा प्रकाशित कृतिहरू पनि भाषाको प्रयोगमा विवाद मुक्त छैनन् ।
९) त्यसैले, नेपाली भाषाको प्रयोगको विषयमा छलफल गर्न, विवादहरू छिनोफानो गर्न आगामी समयको लागि दिशानिर्देश गर्न नेपाली भाषा सम्बन्धि वृहतर सम्मेलन गर्नु आवश्यक छ ।
१०) नेपाली भाषा सम्बन्धि यस्तो संम्मेलन पहिला भएको मेरो ज्ञानमा छैन। नेपाली भाषा सम्वन्धि यस्तो सम्मेलन गर्नु र भाषा विवादका विषय समाधान गर्नु त्यति सजिलो नहुन पनि सक्छ । तर हिम्मत हार्नु हुदैन ।
११) जहाँ सम्म भाषाको प्रयोग (खास गरी लेखाई/छपाई) मा प्रविधि प्रयोगको कुरा छ,त्यो पनि मान्छेले नै बनाएको हो र आवश्यकता अनुकूल निर्माण र परिवर्तन गर्ने कुरालाई उठाइए बेस होला ।
१२) हरेक कुरोको नियम भएझैं हरेक भाषाको पनि आफ्नै नियम हुन्छ । जान्दैनजान्ने ( लेख्न),ले सिक्न प्रयत्न गर्नु र अलिक जान्नेले त्यसलाई सुधार्न प्रयत्न गर्नु आवस्क र स्वभाविक छ । बेनियम संग प्रयोग गरिए त्यो भाषा हुदैन ।
१३) हाललाई भने प्रतिनिधि भनिएका/ठानिएका ब्यक्ति वा संस्थाहरूले नेपाली भाषामा सम्प्रेसण गर्दा जहाँसुकै भएपनि सकेसम्म शुद्ध र सरल/सजिलै बुझ्न सकिने गरिदिए हामी सिकरूलाई हौसला मिल्ने छ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Nepali Grammer kina garho?
« Reply #3 on: July 10, 2015, 04:22:49 AM »
पुरुष नामका अन्त्य लेखिन्छन् इ, उ ह्रस्व नै ।
जस्तै- भाइ, पनाति वा भिनाजु, बाबु ह्रस्व नै ।।१।।

नपुसंक लिंगीको अन्त्य उकार ह्रस्व हुन्छ है ।
जस्तै- आलु, पिंडालु वा गाउँको उ त ह्रस्व है ।।२।।

धातुका अन्त्यमा आउ, नु, आइ प्रत्यय भए ।
नामबाट बनेका भै आइ, याइँ अन्त्यमा भए ।।३।।

भाववाचक हुन्छन् ती अन्त्यमा इ, उ ह्रस्व भै ।
गर्नु-गराइ, दुष्ट्याइँ, सघाउनु-सघाउ झैँ ।।४।।

नपुंसक लिंगी शब्दैको अन्त्य ई दीर्घ लेख है ।
खरानी, पानी वा फर्सी, गाग्रीमा दीर्घ देख है ।।५।।

स्त्रीलिंगी शब्दका अन्त्य ई वा ऊ दीर्घ भैगए ।
बहिनी, सम्धिनी, गाई सासू, भाउजू, झैँ भए ।।६।।

पेशा र जातको अन्त्यमा हुन्छ दीर्घ ई, ऊ नै ।
जस्तै- नेपाली, ज्यापू, भो गुभाजू, घती, नाऊ नै ।।७।।

अन्त्यमा आदरार्थीका ज्यू वा जी प्रत्यय भए ।
दीर्घ हुन्छन् पिताजी झैँ मंत्रीज्यू, दाज्यू नै भए ।।८।।

तद्वित शब्दका भाव, सम्बन्धी तद्भव पनि ।
अन्त्यमा दीर्घ इ हुन्छ गरीबी, बैगुनी, खुनी ।।९।।

सर्वनाम सधैँ दीर्घ इ वा ऊ जे भए पनि ।
तपाईँ, आफू, ती, यी, ऊ मेरी, तेरी र कोही नि ।।१०।।

सर्वनामसँगै अर्को जोडे प्रत्यय शब्दमा ।
त्यो-बाट त्यस्तरी फेरि हुन्छ लौ त्यही दीर्घमा ।।११।।

विशेषण् प्रकरण् हेरी हुन्छन् ह्रस्व र दीर्घ नै ।
गुलीयो-गुलियो, मीठो वा मिठो ह्रस्व दीर्घ नै ।।१२।।

सानू, सानु, ठूलु, ठूलू, दुवै शुद्ध प्रयोग हुन् ।
प्यारमा भनिने सानो ठूलोका न यी रूप हुन् ।।१३।।

संख्याबोधकमा देख्छौँ आदि-मध्यान्त दीर्घ ई ।
तीन, बीस र पच्चीस, साठी, सत्तरी झैँ भई ।।१४।।

अन्त्यमा ई हुने स्त्री वा दुवै लिंग बुझाउने ।
गोरी, नामी, धनी, राम्री, जातीमा सब दीर्घ नै ।।१५।।

दुवै लिंग बुझाउने उ हुन्छ जब अन्त्यमा ।
ह्रस्व हुन्छ घरेलु वा दुधालु र सिकारुमा ।।१६।।

‘गरेर बक्सियो’ भन्दा लेखिन्छ गरी बक्सियो
‘गर्‍यो’को आदरार्थीमा भैहाल्छ गरिबक्सियो ।।१७।।

लेखी देऊ भने केही ‘लेखेर केही देऊ’ हो ।
लेखिदेऊ भनेदेखि ‘लेख्‍ने काम गरिदिनु’ हो ।।१८।।

लगातार बुझाएमा ह्रस्व वा दीर्घ हुने ।
बोलीरहन्छ वा बोलिरहन्छ दुईमा कुनै ।।१९।।

विध्यर्थ शब्दका अन्त्य ई वा ऊ हुन्छ दीर्घ नै ।
लेख्‍नु, आऊ, बसूँ, निक्ली, देखून्, होऔली, सप्री नै ।।२०।।

स्त्रीलिंगीका क्रिया अन्त्य हुन्छन् सदैव दीर्घ है ।
आउली, गरिथी, जाली, दिएकी थिई दीर्घ झैँ ।।२१।।

अव्यय शब्दका अन्त्य इकार र उकार छन् ।
ह्रस्व हुन्छन् अगि, पर्सि, निंति, कि, बरु छिः त झन् ।।२२।।

अरी प्रत्यय लागेर बन्ने अव्यय दीर्घ हो ।
जस्तै ‘राम्रो गरी’ बाट राम्ररी दीर्घ भैगयो ।।२३।।

अरी प्रत्ययको अर्थ दिने अव्यय दीर्घ हो ।
झलझल गरी बनाएमा झलझली दीर्घ नै भयो ।।२४।।

अर्को भाषा जब हाम्रो भाषामा मिल्न आउँछ ।
उही भाषाअनुसार तत्सम शब्द छाउँछ ।।२५।।

शक्ति, रीति, कति विन्दु, वीर, बूट, हजूरमा ।
खुशी, बुद्धि, मुताबिक यस्तै हुन्छ हुकूममा ।।२६।।

व को ब हुन्छ चल्तीमा श, ष को पनि हुन्छ स ।
वास-बास, शीतल्-सीतल, पोष-पोस त बन्दछ ।।२७।।

विभक्ति जतिका चिन्ह जोडेर लेख्‍नुपर्दछ ।
कृष्णले रामका घरमा मलाई भेट्नुपर्दछ ।।२८।।

भन्दा, चाहिं, पछि, माथि, विना इत्यादि शब्दमा ।
जोडिन्छ पद ऊमाथि, रामचाहिं, सीताविना ।।२९।।

जानेछ यसरी लेखे ‘जाला’ भन्ने बुझिन्छ नि ।
जाने छ भन्नु हो ‘कोही जानेवाला’ छ नै भनी ।।३०।।

विभक्ति चिन्ह लागेका शब्दभन्दा पछि कुनै ।
भन्दा, चाहिं, पछि, माथि आए लेख्‍नु अलग्ग नै ।।३१।।

छुट्टयाई लेख्‍नुपर्ने हो नै, जस्तो, पनि, ता, भने ।
कृष्ण जस्तो, हरि मात्र, ऊ नै, यसरी लेखिने ।।३२।।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15871
Re: Nepali Grammer kina garho?
« Reply #4 on: July 10, 2015, 04:23:37 AM »
ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू


ह्रस्व र दीर्घसम्वन्धी सामान्य नियमहरू
पदादिमा ह्रस्वः
१.       झर्रा र तद्भव नेपाली शब्दमाः जस्तै - कुकुर, पुर्पुरो, कुनो, सुकुल, गुन, घिउ, हिउँ, सिन्की, सिन्को, गुन्द्रुक आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै - बुबा, मुमा, भिनाजु, दिदी, मितिनी, जुवाइँ, जिबा, जिमा, फुपाजु, बुहारी, आदि ।
३.       उपसर्ग वा प्रत्यय लागेका व्युत्पन्न शब्दमाः जस्तै - विरोध, उपहार, नियम, सुयोग्य, कुकर्म, निर्माण, निस्तेज, दुर्गन्ध, बुढ्याइँ, धुपौरो, सिलौटो, पुजारी, पिराहा, नुनिलो, दुधालु, भित्रिया, ढुकुवा, आदि ।
४.       मूल वा व्युत्पन्न सर्वनाम शब्दमाः जस्तै - तिमी, उनी, उहाँ, तिनी, यिनी, कुन, जुन आदि ।
५.       संख्यावाचक शब्दः जस्तै - दुई, त्रिचालीस, त्रिपन्न, उन्नाइस, उनान्सय, दुना, तियाँ आदि ।
६.       आगन्तुक शब्दमाः जस्तै - इन्जिन, डिपो, डिलर, ग्लुकोज, बुट, इनाम, किताब, उस्ताद, मुचुल्का, इस्पात, मिसन, बिगुल, लिची आदि ।
७.       धातु वा क्रिया शब्दमाः जस्तै - दिनु, लिनु, सुन्नु, हुनु, उभिनु, चिम्लनु, चुहिनु, खुस्किनु, लिन्छ, हुन्छ, बिर्सिन्छ आदि ।
८.       व्युत्पन्न वा अव्युत्पन्न शब्दमाः जस्तै - उहिले, उही, भित्र, तिर, सित, हिजो, मुनि, कुन्नि, नि, लु, चिम्म, फुत्त आदि ।
पदमध्यमा ह्रस्व
१.       झर्रा तद्भव र देशज शब्दमाः जस्तै - कमिलो, आलुचा, पटुवा, खुकुरी, माइत, मानिस, मुन्धुम, मथिङ्गल, खड्कुलो, कनिका, थुचुक्क, टाकुरो, चुकुल, रसिया, हँसिया, खोरिया, गबुवा आदि ।
२.       नाताबोधक शब्दमाः जस्तै - भतिजा, भानिज, ससुरा, भाउजू, माइजू, भाइबुहारी, सम्धिनी, देउरानी, बहिनी आदि ।
३.       उपसर्ग र प्रत्यय लागी बनेका नाम र विशेषण शब्दमाः जस्तै - अनुमान, अतिरिक्त, अधिकार, अभिमान, परिचय, प्रतिशत, विनिमय, सदुपयोग, ररिलो, लिखित, मौखिक, भरिया, बटुवा, कसिङ्गर, जिताउरी आदि ।
४.       अव्यय शब्दमाः जस्तै - अघिल्तिर, मास्तिर, यतिन्जेल, अहिले, उहिले, लेखुन्जेल, जाउन्जेल आदि ।
५.       सम्पूर्ण कृदन्त र मिलित क्रियामाः जस्तै - उभिनु, झस्किनु, टल्किनु, भनिएको, गरिसकेको, लेखिँदा, गरिने, चलिरहनु, लिइन्छ, बसिदिन्छु, गइहाल्यो आदि ।
६.       सबै आगन्तुक शब्दमाः जस्तै - तरिका, नतिजा, हाजिर, हजुर, असुल, कानुन, फाइदा, चाउमिन, पाउडर, कमिज, टेलिफोन, कार्टुन आदि ।
७.       केही संख्यावाचक शब्दमाः जस्तै - उन्नाइस, एकाउन्न, बाउन्न, पहिलो, एउटा, दुइटा, दुगुना, बाइसौँ आदि ।

पदान्तमा ह्रस्व
१.       पुलिङ्गी नाम शब्दमाः जस्तै - दाजु, भाइ, नाति, पति, गुरु आदि ।
२.       कृदन्त नु, आइ, आउ र तदितान्त आइ, याइँ, गाँसिई बन्ने भाववाची नाम शब्दमाः जस्तै - पढ्नु, लेख्नु, सोचाइ, बोलाइ, घेराउ, पक्राउ, लमाइ, मोटाइ, चतुर्‍याइँ, मुर्ख्याइँ आदि ।
३.       स्थान जनाउने नाम शब्दमाः जस्तै - बालाजु, मलेखु, कपिलवस्तु, टेकु आदि
४.       नपुंशकलिङ्गी उकारान्त नाम शब्दमाः जस्तै - आलु, छानु, घिउ, हिउँ, केराउ, उखु, मासु आदि ।
५.       परिमाणबोधक विशेषण शब्दमाः जस्तै - यति, उति, त्यति, कति, जति आदि ।
६.       उकारान्त बिशेषण शब्दमाः जस्तै - दयालु, मयालु, घरेलु, सिकारु, सिपालु आदि ।
७.       मूल अव्यय शब्दमाः जस्तै - मुनि, माथि, भोलि, पर्सि, अघि, पछि, पनि, नि आदि ।
८.       सामान्य क्रियाको अन्तिम उकारः जस्तै - जान्छु, गाउँछु, खान्छु आदि ।
९.       देखि र निम्ति विभक्ति लागेका शब्दः जस्तै - मदेखि, तिम्रानिम्ति आदि ।
१०.   अन्तमा टि, ति, धि, नि, पि, वि,षि हुने तत्सम शब्दमाः जस्तै - सृष्टि, गति, शान्ति, नीति, विधि, मुनि, प्रतिनिधि, सन्धि, ग्लानि, रवि, छवि, लिपि, कवि, कृषि आदि ।
११.   प्रथम पुरुषवाची एकवचन बुझाउने वर्तमानकालीन क्रियामाः जस्तै - गर्छु, लेख्छु, पढ्छु, बोल्छु आदि ।

पदादिमा दीर्घ
१.       दुई अक्षरले बनेको नामको पछाडि रेफ लागेको छ भने अगाडिको ईकार/ऊकार दीर्घ हुन्छः जस्तै - पूर्ण, घुर्की, कीर्ना, मूर्ख आदि ।
२.       विशेषण शब्दमाः जस्तै - पूरा, ठूलो, तीतो, बूढो, मीठो, झीनो, ठीक, तीखो आदि ।
३.       संख्यावाचक शब्दमाः जस्तै - तीन, बीस, तीस आदि ।
४.       केही तत्सम (संस्कृत) शब्दमाः जस्तै - पीडा, दूध, शीर्षक, भूमि, ईश, चीत्कार, भीषण, मीन, शून्य, सुक्ष्म, क्षीण, रीति, नीति, प्रीति, कीर्ति, वीर, जीव, जून, ईश, दीन, हीन, मूल, शूल आदि ।

पदमध्यमा दीर्घ
१.       केही नाम शब्दमाः जस्तै - अछूत, कपूर, कन्दमूल, खजूर, जासूस, पनीर, बन्दूक, मरीच, सन्दूक आदि ।
२.       ईय, ईन, ईत आदि प्रत्यय लागेका शब्दमाः जस्तै - जातीय, सम्पादकीय, केन्द्रीय, आत्मीय, नवीन, कालीन, प्राचीन, कुलीन, अतीत, व्यतीत आदि ।
३.       संख्याबाचक शब्दमाः जस्तै - चौबीस, बत्तीस, छत्तीस, चालीस, बयालीस आदि ।
४.       विध्यर्थ क्रियामाः जस्तै - बसून्, गरून्, जाऊन् आदि ।

पदान्तमा दीर्घ
१.       स्त्रीलिङ्ग नाम शब्दमाः जस्तै - छोरी, साली, स्वास्नी, गाई, भैँसी आदि ।
२.       नपुंशक शब्दको अन्तिम इकारः जस्तै - पानी, थाली, ठेकी, थैली, टोपी, फर्सी आदि ।
३.       सर्वनाम शब्दमाः जस्तै - हामी, तिमी, ऊ, उनी, आफू, कोही, तपाइँ आदि ।
४.       ईकारान्त विशेषण शब्दमाः जस्तै - धनी, नोकरी, ज्ञानी, डाक्टरी, अल्छी, आँटी, गफाडी, नेपाली, काली आदि ।
५.       ऊकारान्त विशेषण शब्दमाः जस्तै - उल्लू, बुद्दू, लद्दू, पत्रू, चालू आदि ।
६.       संख्यावाचक विशेषण शब्दमाः जस्तै - दुई, साठी, सत्तरी, असी आदि ।
७.       विध्यर्थ जनाउने क्रियामाः जस्तै - खाऊ, सुन्नू, दिनू, सम्झनू, बसूँ आदि ।
८.       सर्वनामबाट निर्मित शब्दको पछाडि आउने 'ही' जस्तै - यही, उही, त्यही आदि ।
९.       'एर' अर्थ दिने र स्त्रीलिङ्गी क्रियाको अन्तिम ईकारः जस्तै - खाई (खाएर), पढी, आई, लेखी, बुझी आदि ।
१०.    की, री, नी विभक्ति चिन्ह लागेका शब्दः जस्तै - मेरी, तेरी, रामकी, उसकी आदि ।
११.    'लाई' विभक्ति लागेका शब्दः जस्तै - मलाई, रामलाई, उसलाई आदि ।
१२.    'अरी', 'तरी' प्रत्ययान्त र व्युत्पन्न अव्यय शब्दः जस्तै - यसरी, कस्तरी, त्यसरी, खलखली, तनतनी आदि ।
१३.    आदर, माया वा सम्बन्धबोधक स्त्रीलिङ्ग जनाउने शब्दः जस्तै - श्री, सुश्री, श्रीमती, जी, ज्यू, सानू, बाबू, उसकी, उसकी, आफ्नी, तिम्री, मेरी आदि ।
१४.    जात, थर, पेशा जनाउने शब्दमाः जस्तै - कामी, दमाई, क्षेत्री, रेग्मी, अधिकारी, पराजुली, भट्टराई, ज्यामी, व्यापारी, खेती आदि ।
१५.    स्थान र नदीको नामको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - नारायणी, सिन्धुली, सप्तरी, लालबन्दी, मेची, द्यौलागिरी आदि ।
ली, आली, एली, यौली, अनी, अन्ती, आउटी, आरी, एरी जस्ता प्रत्यय लागेका शब्दको अन्तिम ईकार दीर्घ हुन्छः जस्तै - भारतेली, पुर्ख्यौली, रत्यौली, उब्जनी, कटनी, घोकन्ती, छेराउटी, चिनारी, पोतेरी आदि ।

from - nepalibhashabyakaran.blogspot.com