रिभ्यू मात्र, सकिन्छ भने फिल्म नै अपलोड गरी लिंक दिऊ न हउ ।।
फिल्म नै त के पाइएला र ..
‘फिल्म चल्नैपर्छ भन्ने छैन तर हेर्दा लाज लाग्ने चाही हुनुहुन्न’
- कान्तिपुर संवाददाता, काठमाडौं
आश्विन २, २०७२- झन्डै दुई दशकदेखि निर्देशकका रुपमा सक्रिय उज्ज्वल घिमिरेले आठवटा फिल्म बनाएका छन्। उनको नवौं फिल्म ‘वडा नम्बर ६’ शुक्रबारदेखि रिलिज भएको छ। सुशील पौडेलसँगको कुराकानी:
तपाईंको फिल्मको प्रचार कमेडी शैलीमा भइरहेको छ तर तपाईं देखिनुहुन्न नि किन?
‘वडा नम्बर ६’ कमेडी हुँदाहुँदै पनि यसमा गम्भीरता छ। प्रचार कमेडी शैलीमा भइरहेको छ। तर म फिल्म प्रचारका त्यस्ता कार्यक्रममा गइरहेको छैन। किनभने म कमेडियन पनि हैन र मेरो काम पनि छैन।
फिल्ममा निर्देशकको भूमिका कहाँ पुगेर सकिन्छ? प्रचारमा निर्देशक हुनु पर्दैन?
फिल्म ल्याबबाट निस्किसकेपछि निर्माताबाट अलग हुन त सक्ला तर दर्शकसँग निर्देशक आजीवन जोडिरहन्छ। कस्तो फिल्म हो? कुन बेसमा बनाएको हो, कुन जानराको कसरी बनाएको हो भनेर दर्शकलाई थाहा दिनु निर्देशकको कर्तव्य रहन्छ।
यो फिल्म पहिलेका भन्दा कसरी फरक छ?
म व्यावसायिक फिल्म बनाउने मान्छे हुँ। अलिकति बलिउड ‘स्कुल अफ थट’ बाट प्रभावित छु। म प्रकाश थापाको चेला हँु। ममा विद्वता नभएर यसो गरेको पनि हैन। मेरो फिल्मको सिद्धान्त ‘लार्जर देन लाइफ’ हो। वडा नम्बर छ त्योभन्दा अलि फरक छ।
ठ्याक्कै फरकचाहिं के हो त?
स्क्रिप्टको पेस स्लो थियो। बनाउँदै जाँदा यसलाई बेग्लै ट्रिटमेन्ट चाहिन्छ भन्ने भयो। यसमा राजेश हमाल, आर्यन सिग्देलजस्तो स्टारकास्ट छैन। न चार, पाँचवटा गीत नै छ। र, रोमान्स पनि त्यस्तो धेरै छैन। त्यसैले यो अलि बेग्लै बन्यो। मैले नजानेर यस्तो बनाएको होइन। म नयाँ धारको आर्ट
फिल्म बनाउनुपर्यो भने पनि सक्छु। किनभने मसँग अध्ययन छ, अनि मजस्तो फिल्म हेर्ने र पुस्तक पढ्ने निर्देशक सायदै कोही होला।
यो फिल्म तीन वर्षको अन्तरमा बनाउनुभयो, निर्माताले नपत्याएर हो कि अरू कुनै कारण थियो?
म छानेर मात्रै काम गर्छु। यो बीचमा मकहाँ धेरै स्क्रिप्ट आएका थिए। हरिवंश आचार्य दाइको स्क्रिप्टमा पनि काम गरिरहेका छौं। केही राम्रो हुने देखेपछि स्क्रिप्टलाई अझ राम्रो बनाउन लागेका छौं। मैले चाहेर नै थोरै फिल्म गरेको हुँ।
प्राय: स्क्रिप्टमा के समस्या पाउनुभयो?
प्राय: निर्माताहरू एउटा रोल आर्यन व जीवन लुइँटेललाई र अर्को आफैंले भनेर भाग लगाएर आउँछन्। टाइटल ‘सुपरम्यान’ टाइपका हुन्छन्, हिरो यस्तरी उड्दै आउँछ भनेर निर्माताले भन्छन्। म कसैले लेखिसकेको स्क्रिप्टमा फिल्म बनाउन चाहन्नँ। लेखनमा पनि सुरुदेखि नै संलग्न हुन खोज्छु। प्राय: नयाँ निर्माताले म कहाँ आउने हिम्मत गर्दैनन्, पुराना नै आउँछन्। निर्देशकको काम लेखकदेखि कलरिस्टसम्मलाई डाइरेक्सन गर्ने हो।
धेरै कलाकार लिएर फिल्म बनाउन कत्तिको गाह्रो भयो?
यो फिल्मका कलाकार स्टार होइनन्, कलाकार हुन्। धूलोमा लड भन्यो भने लडिहाल्ने। हाम फाल भन्यो भने साँच्चिकै हाम फाल्दिने। तर टेलिफिल्ममा खेल्ने भएकाले उनीहरूको एक्टिङ पनि अलि लाउड हुने रहेछ। त्यसमा धेरै कुरा दबाउन पर्यो। उनीहरू क्यारेक्टरभन्दा पनि बढी आफ्नै परिचयमा देखिन खोज्ने। मेरो काम भनेको तपाईं माग्ने बूढा वा राजाराम (पौडेल) हैन फलानो हो भनेर चरित्र सम्झाउने काम हुन्थ्यो। तर सबैजना एकदमै कोअपरेटिभ। स्टारलाई लिँदा कुर्नुपर्ने, अनेक झमेला हुन्छ। यसमा सबै कलाकारले सय प्रतिशत काम गरे त्यो साह्रै राम्रो पक्ष। कलाकारहरू राम्रो फिल्म बनाउँ भन्ने भावनाका। उनीहरू सबैजना प्रोड्युसर रहेछन्, मलाई पहिले थाहा थिएन।
फिल्म रिलिजको बेला निर्माता र निर्देशक अलग देखिनुको कारण के हो?
खासै ठूलो होइन, प्रचारको तरिकामा कुरा नमिलेको हो। मैले फिल्मको प्रचार गर्दा अलि इन्टेलेक्चुअलिटी आओस् भनेको हुँ। प्रचारका लागि आर्टिस्ट नै गाउँगाउँ कुद्नु जरुरी पर्छजस्तो मलाई लाग्दैन। मेरो मान्यता भनेको स्टारलाई हेर्न दर्शक लालायित हुन् भन्ने हो। यो उहाँहरूकै फिल्म भएकाले मैले विरोध पनि गरेको छैन। मैलेचाहिँ प्रचारको यो शैलीमा म सहज महसुस गर्न सक्दिनँ।
सशस्त्र द्वन्द्व कथाको पृष्ठभूमिले व्यवसायमा केही फरक पार्छ?
हाम्रोमा केही अन्धविश्वास छन्। कोही विदेशमा सुटिङ गरेको फिल्म चल्दैन भन्छन्, कोही जोमसोममा गीत सुटिङ गर्यो भने त्यो फिल्म साफ हुन्छ, सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फिल्म बनायो भने चल्दैन भन्छन्। हाम्रो फिल्ममा सशस्त्र द्वन्द्व निकै धेरै छैन। फेरि यस्ता अन्धविश्वासलाई त तोड्दै जाने हो।
अहिले फिल्महरू किन चलिरहेका छैनन्?
हामी व्यावसायिक हुन सकेका छैनौं। सबैलाई एकपटक निर्माता वा निर्देशक हुनुपरेको छ, आफूले राम्रो गर्न सक्ने काम के हो भन्ने थाहा छैन। पाँच लाख रुपैयाँ निकाल्यो भने त्यो मान्छे चाहेको बन्न सक्छ। कलाकार होइन, निर्देशकका नाममा फिल्म चल्ने हुनुपर्छ। दर्शकले निर्देशकमा वर्गीकरण गर्नुपर्छ। केही फिल्म चलेका पनि छन्। निर्देशकका सबै फिल्म चल्नैपर्छ भन्ने हुँदैन तर हेर्दा लाज लाग्नेचाहिँ हुनुहुन्न ।
प्रकाशित: आश्विन २, २०७२