नेपालको साहित्यिक–पत्रकारिता ः समस्या र समाधान
विष्णु प्रभात
अवधारणा र पृष्ठभूमि ः
१. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमिनारहरु वा सम्मेलन, पत्रपत्रिका सम्पादन–प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरुको प्रचार–प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक कामहरुलाई साहित्यिक–पत्रकारिताको वृत्तभित्र राख्ने गरिन्छ । त्यसैले समग्र सांस्कृतिक उन्नतिका लागि वाङ्मयका विविध विधामा विभिन्न भाषाको माध्यमबाट अभिव्यक्त हुने सिर्जनात्मक, शोधपूर्ण एवं मूल्याङ्कित लेखनलाई सुव्यवस्थित सम्पादन, प्रकाशन र प्रसारण व्यवस्थाद्वारा परिचालन गर्ने कलालाई साहित्यिक–पत्रकारिता भनिन्छ । नेपाली पत्रकारितामा पनि सूचना पत्रकारितासँगै साहित्यिक–पत्रकारिताको समानान्तर विकास हुँदै आएको छ ।
नेपाली पत्रकारिताको विकास साहित्यिक–पत्रकारिताबाट सुरू भएको हो भन्ने अभिमत पनि हामीबीच छ (शिव रेग्मी, ‘साहित्यिक–पत्रकारिता’ गरिमा, समालोचना विशेषाङ्क, २०५१ पृ. २२९) । गोरखापत्रबाट प्रारम्भ भएको सूचना पत्रकारिता प्रमाणित छ भन्ने धारणा पनि हामीबीचमै छ । (डा. तुलसी भट्टराई, साहित्यिक–पत्रकारिताः सम्भावना र चुनौती (लेख), पृ.४) । यस विषयमा थप अनुसन्धानको खाँचो छ । किनभने एक शताब्दीभन्दा लामो इतिहास उल्लेख गर्दै नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९५५ मा प्रकाशित सुधासागरबाट भएको भनिए पनि त्यसको प्रमाणिक प्रति उपलब्ध छैन । साहित्यिक पत्रिकाको प्रामाणिक आधार वि.सं. १९९१ मा प्रकाशित ‘शारदा’ ले प्रदान गर्दछ । त्यसपछि नै उद्योग (वि.सं.१९९२), साहित्य स्रोत (२००४), आँखा (२००५) पुरुषार्थ (२००६), भारती (२००६) जस्ता पत्रिकाहरु प्रकाशन भएको र २००७ सालपछि यसको तीव्र विकास देखापर्दछ ।
२. नेपाली साहित्यिक–पत्रकारिताको इतिहास र वर्तमान दुवै नै राष्ट्रिय एवं अन्तराष्ट्रिय स्वरुप र चरित्रमा प्रवाहित रहेको छ । नेपालीय नेपाली धारासँगै भारतीय नेपालीधाराको समानान्तर प्रवाहमा गतिशील साहित्यिक–पत्रकारिताले नेपाली भाषा, साहित्य र कलाको विकासमा महŒवपूर्ण योगदान दिएको भए पनि राष्ट्रिय सन्दर्भमा नेपाली साहित्यिक–पत्रकारिता र भारतीय नेपाली साहित्यिक–पत्रकारितालाई पृथक् पृथक् अस्तित्वमा देख्नुपर्दछ । दुवैधारालाई एउटै ठान्ने वा मान्ने धारणा उचित देखिँदैन । भारतीय नेपाली साहित्यिक–पत्रकारिताको प्रारम्भ वि.सं. १९४८ मा प्रकाशित ‘गोर्खा भारत जीवन’ सँग जोड्ने गरिन्छ । यद्यपि त्यसको पनि प्रमाणिक प्रति उपलब्ध छैन । बरु वि.सं. १९६६ को गोर्खा खबर कागजलाई पो मान्नुपर्ने हो कि ? जेहोस् यी विस्तृत शोधकै विषय हुन् । चन्द्रिका (वि.सं.१९७४), आदर्श (१९८७), नेपाली साहित्य सम्मेलन पत्रिका (१९८९), नेबुला (१९९३), गोर्खासंसार (१९८३) आदि भारतीय नेपालीहरुद्वारा प्रकाशित पत्रिका हुन् । जहाँसम्म प्रवासमा रहेका नेपालीहरुद्वारा नेपालकै भाषा, साहित्य र समाजको उत्थानका लागि गरिएका प्रयास एवं प्रकाशनहरुको सन्दर्भ छ, त्यसलाई यथोचित गणना र मूल्याङ्कन गर्नु नै उचित हुनेछ । सुन्दरी (१९६३), माधवी (वि.सं. १९६५), चन्द्र (१९७१), जन्मभूमि (१९७९), उदय (१९९३), र युगवाणी (२००४) जस्ता पत्रिका भारतीय नेपालीद्वारा प्रकाशित नभै बनारस प्रवासमा रहेका प्रवासी नेपालीहरुद्वारा प्रकाशित हुन् ।
३. प्रारम्भिककालदेखि नै नेपाली साहित्यिक–पत्रकारिता विचारधारात्मक पृथकतामा प्रवृत्तिगत पहिचान निर्माण गरेर हुर्केको छ । खासगरी यथास्थितिवादी र सुधारवादी सोचसँगै आमूल परिवर्तनका निम्ति सामाजिक जागरणलाई टेवा दिने विचार प्रवृत्तिले नेपालको साहित्यिक–पत्रकारितालाई तीन मूल प्रवृत्तिमा हुर्काएको छ ।
क) यथास्थितिवादी सनातनधारा
ख) सुधारवादी नूतनधारा
ग) क्रान्तिकारी प्रगतिशीलधारा
चिन्तनका सन्दर्भमा पहिलोले सामन्तवादी सामाजिक मान्यतालाई अँगालेर प्रत्ययवादी दार्शनिकताको वृत्तभित्र घुमाउँछ । दोस्रोले पुँजीवादी सामाजिक पद्धतिको पक्षपोषण गरी निर्वर्गीय मानवता र व्यक्तिवादलाई सर्वोपरि राख्दछ । तेस्रोले श्रमवादी चिन्तनमा समाजलाई सर्वोपरि राखेर अन्ततोगत्वा वैज्ञानिक समाजवाद तर्फ आफ्ना समस्त कार्यकलापलाई अग्रसर गराउँछ । स्वस्फूर्त वा सचेतन ढङ्गले यिनै मूल वैचारिक वृत्तहरुभित्र एकात्मक रुप र द्वन्द्वात्मक सारमा नेपाली साहित्यिक–पत्रकारिता हुर्किरहेको छ । यस तथ्यलाई स्वीकार्दै रोचक घिमिरे लेख्दछन् –
सुरुका साहित्यिक पत्रिकाहरुको उद्देश्य मुख्यतयाः कविता, कथा, नाटक, उपन्यास आदिका माध्यमबाट पाठकहरुको मनोरञ्जन गर्नमा नै लक्षित थियो । पारम्परिक शास्त्रीय शिल्प र शैलीको परिधिमा रहेर रचित तत्कालीन रचनाहरु दैविक अथवा लौकिक स्तुतिगानतर्फ केन्द्रित हुने गर्दथे । मूल संस्कृत भाषाका रचनालाई उल्था गरेर प्रकाशन गर्ने प्रवृत्ति पनि त्यो बेलाका साहित्यिक पत्रिकाहरुमा रहेको थियो ।” यो प्रवृत्ति यथास्थितिवादी सनातनधारा थियो र अहिले पनि यस मूल प्रवृत्तिको निरन्तरता देख्न सकिन्छ ।
घिमिरे अगाडि लेख्दछन् –“राणाशासनको बेला नेपाल बाहिर भारतमा बसेर नेपालीहरुले निकालेका साहित्यिक पत्रिकाहरुमा स्वदेश प्रेम, मुलुकको दयनीय स्थिति र जनमानसमा व्याप्त उकुसमुकुसलाई प्रतिबिम्बित गर्ने प्रवृत्ति टड्कारो रुपमा देखिन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले बनारसमा बसेर ‘युगवाणी’ मार्फत नेपालीहरुलाई जागृतिको सन्देश दिएका थिए भने धरणीधर, महानन्द सापकोटाजस्ता राष्ट्रप्रेमी कविहरुले भारतबाटै प्रकाशित विभिन्न साहित्यिक प्रकाशनका माध्यमबाट सामाजिक र राजनीतिक कुरीतिविरुद्ध शङ्खघोष गरेका थिए । यथार्थमा भन्दा समाचारपत्रहरुका अभावको त्यस बेलामा साहित्यिक पत्रिका नै लेखक र बौद्धिकहरुको एक मात्र सशक्त अभिव्यक्तिका माध्यम बनेका थिए । यसरी तत्कालीन अँध्यारो युगमा नेपाली समाजमा राजनीतिक चेतना उकास्न, प्रजातान्त्रिक सङ्घर्षलाई टेवा दिन र क्रान्तिकारी उत्सर्गको भावना उमार्न तत्कालीन साहित्यिक पत्रिकाहरुले गरेको योगदान अत्यन्त स्तुत्य रहेको छ ।” (रोचक घिमिरे, ‘नेपालको साहित्यिक–पत्रकारिता र प्रवृत्तिगत वैशिष्ट्य” (लेख), हाम्रो पुरुषार्थ (२०६२) गुल्मी किरण पुस्तकालय) । यहाँ उनले दुई प्रवृत्ति सुधारवादी नूतनधाराको प्रतिबिम्बन गर्ने प्रवृत्ति, जसले राजनैतिक जागरण र प्रजातन्त्रको सञ्चेतना फैलाउने काममा टेवा दिएको थियो र दोस्रो क्रान्तिकारी प्रगतिशीलधारा जसले बलिदानपूर्ण सङ्घर्षलाई हौस्याउने अर्थात् क्रान्तिकारी उत्सर्गको भावना उमार्ने काम गरेको थियो, लाई औँल्याएका छन् ।
नेपाली साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति ः
नेपालको साहित्यिक–पत्रकारिताको विकासमा २००७ सालको परिवर्तनले एउटा नयाँ मोड र गति प्रदान गरेको तथ्य सर्वस्वीकृत बनिसकेको छ । वि.सं. २००८ मा “सेवा” पत्रिका प्रकाशित भयो । त्यो पत्रिका प्रगतिशील साहित्यधाराको पहिलो प्रकाशन बन्न पुग्यो । नेपाली साहित्यिक–पत्रकारिताको विकास र विस्तारका दृष्टिले सात सालपछिका दुई दशक अत्यन्त उर्वर, गतिशील तथा समृद्ध दशक बनेर रहेका छन् । यस अवधिमा प्रतिभा (२००९), प्रगति (२०१०), जन साहित्य (२०११), नौलो पाइलो (२०१३), इन्द्रेणी (२०१३), धरती (२०१३), साहित्य (२०१६), रुपरेखा (२०१७), इन्दु (२०१७), स्वास्नीमान्छे (२०१७), बगैँचा (२०१८), रचना (२०१८), हिमानी (२०१९), सिंहनाद (२०१९), मुकुट (२०१९), पूर्णिमा (२०१९), भानु (२०२०), रत्नश्री (२०२०), अरुणोदय (२०२०), कविता (२०२१), रमझम (२०२१), सगुन (२०२१), हाम्रो संस्कृति (२०२२), प्रवाह (२०२२), आकाङ्क्षा (२०२३), गुराँस (२०२३), प्राचीन नेपाल (२०२४), प्रतीक्षा (२०२५), मधुपर्क (२०२५), सुस्केरा (२०२६), अभिव्यक्ति (२०२७), प्रज्ञा (२०२७) जस्ता पत्रिकाहरु प्रकाशित भए । यीमध्ये रचना, भानु, नेपाली, पूर्णिमा, कविता, मधुपर्क, अभिव्यक्ति, प्रज्ञा आदि पत्रिका आज पनि निरन्तर प्रकाशन भइरहेका छन् र यी मध्ये कतिले सयौँ अङ्क पार गरी नेपाली वाङ्मयका अनेकौँ विधाको समृद्धिमा महŒवपूर्ण योगदान दिएका छन् ।
तीसको दशकमा सङ्कल्प, वेदना, झिसमिसे, उत्साह, मिर्मिरे, गरिमा, साङ्ग्रिला, शृङ्खला, श्रीनगर, रश्मि, समष्टि, बगर, दोभान, साथी (२०३९), ज्ञानगुनका कुरा, उन्नयन, कलम, मञ्जुषा, तन्नेरी, प्रलेस, दायित्व, साहित्य–सन्ध्या, जनमत, जुही, सगर, सुगन्ध, समकालीन साहित्य, नागार्जुन, दौँतरी(नेपालगन्ज), राप्तीदूत (दाङ) नव प्रज्ञापन आदि अनेकौँ अनेकौँ पत्रिकाहरु प्रकाशित भए । वैचारिक प्रवृत्तिका सन्दर्भमा पनि यस अवधिका पत्रिकाहरुले सामान्यतयाः पहिले उल्लेख गरिएका तीन आधारभूत प्रवृत्तिलाई नै अँगालेर केही नयाँ प्रयोगहरु गर्दै अघि बढेका छन् ।
व्यावसायिक तवरले सञ्चालित मासिक पत्रिकाहरु – सर्वोत्तम, विमोचन, तथ्यकथा, युवामञ्च, मुना, अन्तर्राष्ट्रिय मञ्च, एक्काइसौँ शताब्दी, मूल्याङ्कन, कामना, साधना, अस्मिता, नवयुवा आदि विचार प्रधान एवं वयवृत्ति पत्रिकाहरुले पाठकहरुमाझ नयाँ–नयाँ खुराकहरु पस्कँदै आए । सामयिक सङ्कलनहरु, संस्थागत प्रकाशन एवं स्मारिकाहरुले पनि साहित्यिक गतिविधिलाई थप टेवा दिए । साहित्यिक–पत्रकारिताका सन्दर्भमा यी सबैको प्रवृत्तिगत सामग्रीको अध्ययन, विवेचना र मूल्याङ्कन गर्नुपर्ने ऐतिहासिक खाँचो छँदैछ र अब त्यसतर्फ पनि हाम्रो ध्यान जानु जरूरी भएको छ ।
वर्तमान समयमा नेपालको साहित्यिक–पत्रकारिता नेपालीय नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्रिय भाषाका माध्यमबाट प्रकाशित विभिन्न साहित्यिक पत्र–पत्रिकाहरुका सङ्ख्यात्मक वृद्धिबाट समृद्ध भएको छ । नेपालीय नेपालीका अतिरिक्त नेवारी, मैथिली, भोजपुरी, थारू, सेर्पा, राई, लिम्बू, तामाङ, मगर, गुरूङ आदि भाषामा प्रकाशित पत्रिकाहरुको माध्यमबाट ती भाषाका नेपाली साहित्यको विकास भइरहेको छ । यस सन्दर्भमा हाल नेपाली भाषाका मधुपर्क, गरिमा, समकालीन साहित्य, प्रज्ञा, कविता, वेदना, सङ्कल्प, समष्टि, ज्योति, रचना, अभिव्यक्ति, जुही, जनमत, भानु, अक्षर, मुना, पूर्णिमा, दायित्व, साथी, उन्नयन, बगर, सगर, यद्यपि, नेपाली, प्रलेस, कलम, संस्कृति, आरोहण, गुञ्जन, जनसंस्कृति, शब्द संयोजन, कौशिकी, फित्कौली, शिवपुरी सन्देश, कल्पतरू, नवप्रज्ञापन, हाम्रो सिर्जना, अन्तर्बोध, प्रहरी, सिपाही, दोभान, बनिता (विराटनगर), दौँतरी (नेपालगन्ज), अनुराग, हिमाली गुराँस, नवआकाङ्क्षा, तादी, निर्झर, साहित्य सागर, शब्दाङ्कुर, अकाल कुसुम, संयोग, थुम्को आदि पत्रिकाले महŒवपूर्ण स्थान लिएको देखिन्छ । नेवारीमा प्रकाशित मचाक्यव, पुलुकिसी, थाय्भू (नेपाल प्रज्ञा प्रतिष्ठान) नःलि, नसंःचा, झीः नेपाः संस्कृति, थौं कन्हे आदि पत्रपत्रिकाहरुले काठमाडौँको नेवार समुदायमा विशेष स्थान राखेको देखिन्छ । तामाङ भाषामा प्रकाशित पत्रिकाहरुमध्ये प्राङ्बोला छारहान् (सिन्धुली), तामाङ डाजाङ (काठमाण्डू) आदि विशेष उल्लेखनीय रहेका छन् । मगर भाषाको लाङ्घाली, लाफा आदि पत्रिकाले त्यस भाषाका स्रष्टालाई एउटा मञ्च प्रदान गरी मगर भाषाको साहित्य प्रवद्र्धनमा टेवा दिएको छ । मैथिली पत्रिका आँगन (ने.प्र.प्र.बाट), नैमिकानन् (जनकपुर), आकृति (जनकपुर), पल्लव, मिथिलावाणी आदिले त्यस भाषाको सिर्जनात्मक लेखनलाई बढवा दिएको छ । भोजपुरीमा मोजर (२०५२) गमक (२०५२), अजोरिया आदि पत्रिकाहरुले त्यस भाषाको साहित्यिक विकासमा मद्दत पु¥याएका छन् । थारू भाषामा प्रकाशित गोचाली आदिले थारू भाषा साहित्यको प्रवद्र्धन गरेको छ । राई भाषामा– बुङ्वाखा, कोङपी (बान्तवा, काठमाडौँ), लिब्जु–भुम्जु (वाम्बुले, काठमाडौँ) र लिम्बू भाषाको तानछोपा, पालम् र डोट्याली भाषाको गुगुल्डिजस्ता आदि पत्रिकाहरुले हामीलाई जगाएको छ । बहुभाषी पत्रिकाको रुपमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ विशिष्ट छ । यस अतिरिक्त गोरखापत्रले हालै समावेशीकरणको नीति भन्दै नेपालका विभिन्न भाषाका सामग्री प्रकाशन गर्ने गरी विशेष पाना उपलब्ध गराई जातीय साहित्य प्रवद्र्धनमा टेवा दिएको छ ।
यस प्रकारको विविधतापूर्ण विकासका बाबजुद नेपाली साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति सन्तोषजनक छैन । संस्थागत प्रकाशन बनेका नेपाली, मधुपर्क, गरिमा, मिर्मिरे, समष्टि, समकालीन साहित्य, ज्योति, प्रज्ञाजस्ता पत्रिकाहरुमा आम नेपालीको पहुँच अझै पनि पुग्न सकेको छैन । देशका सबै भागमा ती पत्रिका पढ्न पाइने स्थिति छैन । निजीक्षेत्रबाट नियमित प्रकाशित – रचना, अभिव्यक्ति, जुही, अक्षर, वेदना, जनमत, बगर, सङ्कल्प, संस्कृति, शब्दसंयोजन, भानु, कलम, झिसमिसे, साथी, उन्नयन चिन्तन, राप्तीदूत (दाङ), सगर आदि पत्रिकाहरुले अपेक्षित मात्रामा व्यापकता हासिल गर्न सकेका छैनन् । त्यतिभए पनि साहित्यिक पत्रिकाको प्रकाशनबाट धेरै पाठक, स्रष्टा र द्रष्टाहरु लाभान्वित भएका छन् ।
साहित्यिक–पत्रकारिताका समस्याहरू ः
नेपाली साहित्यिक–पत्रकारिताको सामु अनेकौँ समस्याहरु छन् । तिनीहरुमध्ये प्रकाशनका दृष्टिबाट महŒवपूर्ण आर्थिक समस्या हो भने पाठकीय दृष्टिमा निरन्तरता एवं स्तरीयताको समस्या देखापर्दछ । त्यसो त पहिलोलाई लगानीको समस्याका रुपमा र दोस्रोलाई सम्पादनको समस्या भन्न पनि सकिने हुन्छ । पाठकीय रुचिको प्रवद्र्धन, सामग्री चयनको योजना र विषयगत सम्पादनको कुशलताजस्ता कुराहरु पनि समस्या बनेर आएका छन् । सरकारी नीतिको अस्पष्टताले गर्दा उत्पन्न समस्याहरुमा पनि थुप्रै पक्षहरु छन्– विज्ञापन प्राप्त गर्ने समस्या, ढुवानी समस्या, अनुदान र कर छुट गर्ने समस्या, सूचना पत्रकारिताको हाराहारीमा राखेर वर्गीकरण गर्ने समस्या तथा सरकारी संस्था र निजी संस्थाहरुद्वारा प्रकाशित पत्रिकाहरुबीचको अन्तर नदेख्ने समस्या आदि । बिक्री–वितरण प्रवद्र्धनको समस्या दुवै क्षेत्रमा विद्यमान छ । त्यसैले यी समस्याहरुका सम्बन्धमा अलि विस्तारमा छलफल गरिनु उचित हुनेछ ।
आर्थिक समस्या ः
आर्थिक समस्या, निजी, संस्थागत र सरकारी प्रकाशनहरुका बीच समान अवस्थामा छैन । गैरसरकारी क्षेत्रका निजी वा व्यक्तिगत लगानीमा सञ्चालित साहित्यिक पत्रिकाहरु र संस्थागत रुपमा प्रकाशित पत्रिकाहरुका बीचमा पनि केही भिन्नताहरु छन् । त्यति भएर पनि आर्थिक समस्या मूलतः सबैतिर लगानीको समस्याका रुपमा रहेको छ । यहाँसम्म कि सरकारी र अर्धसरकारी संस्थाहरुद्वारा प्रकाशित साहित्यिक पत्रिकाहरु पनि घाटामा रहेको हुँदा ‘बन्द गर्ने वा चलाउने’ भन्ने विषय सधैँ नै छलफलको मुद्दा बन्ने गरेको पाइन्छ । लगानीकर्ताहरु साहित्यिक प्रकाशनमा आकर्षित हुँदैनन् । राज्यले पनि यस विषयमा यथोचित ध्यान दिएको छैन । अनेकौँ पत्रिकाहरुले लामो इतिहास निर्माण गरेर पनि आफ्नो निरन्तरता राख्न नसक्नुको एउटा मुख्य कारण आर्थिक समस्या नै रहिआएको छ । बिक्री भएका पत्रिकाको भुक्तानी पनि प्राप्त नहुने, छापिएका विज्ञापनको भुक्तानी नपाइने वा समयमा नपाइने, हुलाक र हवाई सेवाले ढुवानी भाडा चर्को गर्नु र छुट नदिनु, कागजको आपूर्तिमा कठिनाइ भोग्नु पनि आर्थिक समस्याकै रुपमा रहेका छन् । त्यसैले आर्थिक समस्या भनौँ वा लगानीको समस्या भनौँ साहित्यिक–पत्रकारितालाई फस्टाउन नदिने पहिलो समस्या यही नै हो । सरकारी क्षेत्रबाट साहित्यिक पत्रकारिताको विकासका लागि विभिन्न पत्रिकालाई सहयोगस्वरुप नेपाल प्रज्ञा–प्रतिष्ठानमार्फत दिइने गरेको वार्षिक १५ लाख रुपैयाँ पनि एक वर्ष मात्र उपलब्ध गराएर त्यसै थन्किएको अवस्था छ । हाल उक्त रकमलाई घटाउने तथा अन्य शीर्षकमा सारेर खर्च गर्ने काम भएको बुझिन्छ ।
निरन्तरताको समस्या ः
आर्थिक स्रोतका अभावमा बन्द हुने अवस्थाका अतिरिक्त बौद्धिक उत्तराधिकारीको अभावमा पनि निजीक्षेत्रका कतिपय पत्रिकाहरु बन्द भएका छन् । हामीहरुले शारदा, रुपरेखा र रत्नश्रीजस्ता पत्रिकाहरुको सम्झना यहीँनिर गर्न सक्छौँ । रुपरेखा र रत्नश्री केही समय शान्ति कुँवर र शान्तदेव भट्टराईले चलाउने प्रयास गरेका थिए र शारदाको हालै पुनप्र्रकाशन भएको छ । परन्तु निरन्तरताको समस्या भनेको केवल आर्थिक समस्यासँग मात्र सम्बन्धित नभएर पत्रिकाको समग्र व्यवस्थापन, सम्पादन, प्रभावकारिता, पाठकवृद्धि, स्तरीयता आदि पक्षसँग पनि सम्बन्धित हुन पुग्दछ । यस अर्थमा नेपाली साहित्यिक पत्रिकाको सबैभन्दा ठूलो समस्या स्थायित्व नै हो भन्ने विजय चालिसेको भनाइसँग सहमत हुन सकिन्छ । (विजय चालिसे, साहित्यिक–पत्रकारिताको वर्तमान स्थिति, गोष्ठीपत्र, २०६२) । त्यति भएर पनि कतिपय निजी पत्रिकाहरु निरन्तर प्रकाशित नहुनुमा संस्थागत आधार एवं सञ्चालन अभिभाराको अभाव पनि जिम्मेवार रहेका छन् । त्यसो त आर्थिक आधार बलियो भएमा, सरकारले यथोचित सहयोग प्रदान गर्दै गरेमा, व्यवसायीहरुले विज्ञापन दिइरहेमा, पाठकसङ्ख्या वृद्धि हुँदै गएमा निजीक्षेत्रका सामान्य पत्रिकाले पनि निरन्तरता प्राप्त गर्न सक्लान्, तर यहाँ ती सबैको अभाव नै अहिलेसम्मको अनुभव बनेर बसेको छ । तसर्थ हाम्रो साहित्यिक–पत्रकारितामा निरन्तरताको समस्या प्रारम्भदेखि अहिलेसम्म कायमै रहेको स्थिति छ ।
सम्पादनको समस्या ः
साहित्यिक–पत्रकारितामा रहेको अर्को समस्या सम्पादनको समस्या हो । सम्पादन कुशलताको अभावमा ठीकसँग सामग्री चयन हुँदैन । हरेक अङ्कमा के दिने ? कसरी संयोजन गर्ने ? विधागत विषयवस्तु छान्ने, स्तरीयता कायम गर्ने र महŒव दिने कुरासँगै सम्पादकीयमा कुन मुद्दालाई कसरी उठाउने भन्ने सुस्पष्टताविना पत्रिकाको सम्पादन सम्भव छैन । सम्पादकीय खुबी पत्रिकामा प्रकट हुन्छ र त्यसले नै पाठकलाई प्रभाव पार्दछ । कुनै एक विधामा केन्द्रित हुँदैमा पनि स्तरीयता प्राप्त हुँदैन । आएका सामग्रीलाई उनेर, साहित्यिक गतिविधिका समाचार तुनेर अथवा सामान्य भाषिक रेखदेख गर्ने काम गरेर मात्रै सम्पादकको दायित्व पूरा भएको मान्ने हो भने त्यसबाट साहित्यिक–पत्रकारिता कहिल्यै उभो लाग्दैन । हाम्रा साहित्यिक पत्रिकाहरुमा सम्पादनको कुशलता निकै कम मात्रामा देख्न पाइन्छ । योजनाबद्ध लेखन र प्रकाशनको तारतम्य प्रकट गर्ने ‘भानु’का विशेष अङ्कहरुले योजनाबद्ध लेखन र प्रकाशनद्वारा नै साहित्यिक–पत्रकारिता समृद्ध बन्दछ भन्ने पुष्टि गरेको छ । यसका लागि भवानी घिमिरेको सम्झना र सराहना गर्नैपर्ने हुन्छ । स्तरीयताको समस्या सम्पादन कलासँग जोडिएको भए पनि त्यो आमस्रष्टाको सञ्चेतना, रचना कौशल र आदर्शसँग जोडिएर रहेको हुन्छ । स्तरीय रचनाको अभाव हुनुको कारणमध्ये कृतिगत मूल्याङ्कन नगर्नु र लेखकलाई पारिश्रमिक नदिनु पनि रहेको छ । प्रत्येक रचनाकारका सिर्जनालाई सम्पादकले परिष्कार गर्ने कार्यकुशलता भैरव अर्यालमा झैँ सबैमा हुँदैन । त्यसकारण सम्पादन कलामा पनि पर्याप्त ध्यान पुग्नु जरूरी छ । पाठकीय रुचिको पहिचान, परिष्कार र प्रवद्र्धनका लागि सम्पादकको दृष्टिकोण, आदर्श र रचनात्मकता महŒवपूर्ण हुन्छ । अन्तरभाषिक आदान–प्रदानको समस्या पनि यहीँनिर सम्झन सकिन्छ । कुशल स्रष्टा र द्रष्टाको सीप सबै सम्पादकहरुमा होस् भन्ने सदिच्छा राख्न सकिन्छ तर त्यो त्यसै प्राप्त हुने होइन । त्यसका लागि अर्थात् सम्पादन अकुशलताको समस्या हल गर्न समय समयमा तालिम, गोष्ठी विचारमन्थनहरु गरिनुपर्दछ र त्यसबाट निकालिने निष्कर्षहरुलाई साहित्यिक पत्रकारहरुले पालन गर्नुपर्दछ ।
दृष्टिकोणको समस्या ः
साहित्य समाजको प्रतिबिम्ब भएकाले साहित्यिक–पत्रकारितामा पनि सामाजिक संरचनाको प्रभाव, प्रतिबिम्ब र विविधता प्रकट हुन्छ । नेपाली समाज लघु–उत्पादन पद्धतिमा कक्रिएको, वैचारिक आदर्शमा पनि सामन्तवाद, पुँजीवाद र समाजवादबीचको प्रतिद्वन्द्वितामाझ हिँडिरहेको र सामाजिकवर्गहरुको चाहना, भावना र हितहरुबीच परस्पर प्रतिस्पर्धा, द्वन्द्व र दमन चलिरहेको कारणले गर्दा हाम्रा साहित्यिक सिर्जनाहरु त्यसबाट प्रत्यक्ष एवं परोक्ष किसिमले प्रभावित हुँदै आएका छन् । विचारधारात्मक सङ्घर्षका शैलीहरु कहिलेकाहीँ अशिष्ट ढङ्गले समेत प्रकट भएका पनि छन् । शासकीय सोचका विपक्षमा रहँदा अभिव्यक्तिमा रोक लागेका थुप्रै घटनाक्रमहरुले हाम्रो साहित्यिक–पत्रकारिताको इतिहास रङ्गिएको छ । प्रारम्भमै ‘प्रगति’ पत्रिकाले उल्लेख गरेझैँ अथवा ‘साहित्य’ पत्रिकाले जनाएझैँ मात्र होइन सङकल्प, वेदना र कलमले अघि सारेका आदर्शबीच पनि एक प्रकारको अन्तरद्वन्द्व रहिआएको छ । सुधारको कुरासम्म पनि सुन्न नचाहने यथास्थितिवादी सनातनधाराका विरुद्धमा सुधारवादी नूतनधाराको प्रतिनिधित्व गर्दै युगवाणी, रुपरेखा, भानु, सुस्केरा, प्रलेस, मुक्तिमोर्चा आदिले अघि सारेका मूल्य मान्यताबाट अघि बढेर वर्गीय दृष्टिकोणकै पक्षधरता अघि सार्ने साहित्यिक पत्रिकाहरुसम्मको विस्तार भएर पनि दृष्टिकोणको समस्या हल हुन अझै बाँकी रहेको देखिन्छ । एउटै धाराभित्र पनि विविधता छन् । वास्तवमा श्रमप्रतिको श्रद्धा, शान्तिका लागि सङ्घर्ष र वैज्ञानिक समाजवादको पक्षपोषण वर्गीय दृष्टिकोणबाट परिभाषित छन् । संस्कृति र कलाको वर्ग चरित्रबारे कुरा गर्दा अझै पनि कतिपय मानिसलाई अनौठो लाग्छ र उनीहरु सबै साहित्य र साहित्यकारलाई प्रगतिशील भन्न रूचाउँछन् । यस प्रकारको दृष्टिकोणद्वारा प्रभावित साहित्यिक पत्रिका, पत्रकार र पत्रकारिताले वैचारिक क्षेत्रमा लोकतान्त्रिक समावेशीकरणलाई स्वीकार गर्दैन । विचारधाराको क्षेत्रमा जनतन्त्र कसरी स्थापित गर्ने ? पञ्चायती असहिष्णुता, सेन्सरसिप, दमन र यातनाको पुनरावृत्तिद्वारा अथवा सहिष्णुता, स्वतन्त्रता, वैचारिक वाद–प्रतिवाद र सहअस्तित्वबोधद्वारा ? त्यसकारण नेपाली साहित्यिक–पत्रकारितामा ऐतिहासिक निरन्तरता कायम राख्दै आएको क्रान्तिकारी प्रगतिशील धारालाई देशको एक सशक्त लोकप्रिय सोचका रुपमा स्वीकार्दै वर्गीय विभेदबाट उत्पन्न विचारधारात्मक बहुलताको समस्यालाई बोध गर्नुपर्दछ ।