Author Topic: इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका -- शिव रेग्मी  (Read 7639 times)

0 Members and 1 Guest are viewing this topic.

sag

  • VIP
  • ******
  • Posts: 734
इलाम जिल्लाबाट प्रकाशित साहित्यिक पत्रपत्रिका
शिव रेग्मी

नेपालका जिल्लाहरुबाट प्रकाशित साहित्यिक पत्रिकाहरुको इतिहास जान्ने मेरो जिज्ञासाको फलस्वरुप जन्मेको यो पहिलो आलेख हो । यसमा धेरै पत्र–पत्रिकाहरु छुटेका छन्–म कायल छु यसलाई पूरा गर्ने काममा लाग्नेछु । अध्ययनशील विद्वान सम्पादक÷प्रकाशक वा जसलाई जानकारी छ, लिखित सूचना पाउन सादर अनुरोध गर्दछु ।

राणाकालीन प्रशासकीय इकाइको रुपमा इलाम सुरुमा धनकुटा गौँडा अन्तर्गत पथ्र्यो भने पछि इलाम पनि छट्टै गौँडाको रुपमा रहेको थियो । २०१८ सालमा चौध अञ्चल र पचहत्तर जिल्लामा विभाजित हुँदा इलाम मेची अञ्चलको सदरमुकाम कायम भएको थियो । तर पछि सदरमुकाम पनि झापा जिल्लामा सरेपछि इलामको चहलपहल र रौनकमा कमी आएको अनुभव हुन्छ । तर यसमा रहेको प्राकृतिक सौन्दर्य, दृश्य तथा चिया बगान लगायत प्राकृतिक सम्पदा यथावत् छन् । यी नै इलामको इज्जत र प्रतिष्ठा हुन् भन्ने ठान्छु ।

इलाम साहित्यिक व्यक्तित्वहरुको उर्वर भूमि हो । २००७ सालको क्रान्ति लगत्तै ‘नेपाली भाषा प्रचारक सङ्घ’ र ‘करफोक विद्या मन्दिर’को स्थापना भएपछि यहाँ साहित्यिक चहलपहल सुरु भएको मानिन्छ । नेपाली भाषा प्रचारक सङ्घ र करफोक विद्या मन्दिरले २००८ सालमा बृहत् साहित्यिक सम्मेलन गर्नु र नेपाली भाषा प्रचारक सङ्घले २०११ साल भदौदेखि ‘हाम्रो नेपाल’ मासिक पत्रिकाको प्रकाशन गर्नु इलामको स¥हाहनीय कार्य हो । यही वृहत् सम्मेलनमा भाग लिन गएका कविशिरोमणि लेखनाथ पौड्याल, महान् नाटककार बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘त्रिमूर्ति’ नामले पुकारिन थालेको हो ।

‘हाम्रो नेपाल’ पहिलो अङ्क महानन्द सापकोटाको सम्पादनमा प्रकाशनमा आएको थियो भने दोस्रो अङ्कदेखि भवानीप्रसाद शर्मा तथा अन्त्यका दुई अङ्क दानियल खालिङद्वारा सम्पादित भएका छन् । प्रधान सम्पादक भने महानन्द स्वयं देखिनु हुन्छ । इतिहास भैसकेको यो पत्रिका इलाम जिल्लावासीबाट पनि बिर्सिइसकेको अनुभव हुन्छ । यो लेखकले ‘हाम्रो नेपाल’को ६ वटा अङ्कको इतिहास लेख्दा पछिल्लो अङ्कमा आगामी आकर्षणमा केही लेख रचनाको विवरण दिइएकोले अर्को अङ्क पनि प्रकाशित भएको छ कि भन्ने शङ्का उब्जाएको थिएँ । तर कतैबाट कुनै प्रतिकृया आएन ।

हस्तलिखित बाहेक इलाम जिल्लाबाट छापिएर निक्लेको पत्रिका यो नै पहिलो हो आजसम्मको खोजीमा । अहिले पनि पढ्दा स्तरीय र गरिमायुक्त लाग्ने ‘हाम्रो नेपाल’ मासिक पत्रिकामा कथा, कविता भन्दा लेख, निबन्ध बढी मात्रामा प्रकाशित छन् । पत्रले आफूलाई शैक्षिक सांस्कृतिक र साहित्यिक सचित्र पत्र भनेकोले यस्तो हुन गएको हो । लेख निबन्धहरुमा मातृकाप्रसाद कोइराला, महानन्द सापकोटा, रामप्रसाद मानन्धर, कृष्णप्रसाद चापागाईं, तारानाथ शर्मा, तेजबहादुर प्रसाई, बालकृष्ण पोखरेल आदि छन् ।

इलामको दोस्रो साहित्यिक पत्रिकामा करफोक विद्या मन्दिर, करफोक, इलामबाट प्रकाशित ‘जुनेली’ सुरुमा चार महिने थियो । पहिलो प्रकाशन २०१५ सालमा भएको थियो । यो पत्रिकाको इतिहास लेख्दा मैले पूर्णाङ्क १२ अङ्क सम्म लेखेको रहेछु । (अतीतका पाना, प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौँ, २०६३) बीचमा तेह्र अङ्क निक्लेर २०६० सालमा स्वर्ण महोत्सवको अवसरमा स्मारिका अङ्क १४ प्रकाशनमा आएको छ । प्रस्तुत स्मारिका स्कुलसँग सम्बन्धित छात्र–छात्रा तथा शिक्षक वर्गको लेख रचनाले सिँगारिएको छ । बडो सजधजका साथ निकालिएको यस अङ्कमा २००९ सालको करफोक सम्मेलनमा खिचेको ऐतिहासिक तस्वीर पनि छापिएको छ । तर सम्पादक महोदयले तस्वीरमा रहेका व्यक्तिहरुको परिचय दिँकदा ईश्वर बरालको सट्टा ईश्वर बल्लभ र दीर्घराज कोइरालाको सट्टा दीर्घराज प्रसाईं गरेर त्रुटि गर्नुभएको छ ।

इलाम जिल्लाबाट प्रकाशित भएको तेस्रो साहित्यिक पत्रिका ‘घाँसी’ २०१६ सालमा गठन भएको ‘घाँसी परिवार इलाम’ बाट प्रकाशित भएको हो । इलाम गौँडामा १÷११७ मा दर्ता भएको यो ‘घाँसी’ पत्रिका सामयिक साहित्य सङ्कलन हो । यसको प्रकाशन २०१७ सालको अन्त्यतिर टीकाप्रसाद उप्रेतीको सम्पादनमा भएको हो । तर प्रस्तुत पत्रिका र हस्तलिखित ‘घाँसी’, जुन श्यामकृष्ण श्रेष्ठबाट निकालिएको थियो बारे केही साइनो खुलाइएको छैन । छापामा आएको ‘घाँसी’ मा आदिकवि भानुभक्तको जीवनका प्रेरणास्वरुप उपस्थित भएका घाँसीलाई यो प्रथम पुष्प सादर समर्पित’ भनिएको छ । यो ‘घाँसी’ मा निबन्ध, कथा, कविता, लेख, रचना आदि प्रकाशित छन् । स्तरीय रुपमा घाँसीमा लेख रचना पनि स्तरीय र गरिमायुक्त छन् ।

कथामा देवकुमारी थापा, ईश्वर बल्लभ, मदनकृष्ण प्रसाईं, भूपाल शाक्य छन् भने निबन्ध–समालोचनामा रामकृष्ण शर्मा, गणेशबहादुर प्रसाई, लोकराज बराल, पुष्पलाल सिवाकोटी, इन्द्रबहादुर राई, तथा कविहरुमा लेखनाथ पौड्याल, बालकृष्ण सम, धरणीधर कोइराला, भीमनिधि तिवारी, तुलसी अपतन, अगमसिंह गिरी, वासु शशी, सावित्री ंिसंह, गोविन्दप्रसाद सिंह, श्यामकृष्ण श्रेष्ठ, गोविन्दकृष्ण श्रेष्ठ आदि छन् ।

दोस्रो अङ्कको निमित्त रचनाको आहवान गर्दै प्रथम पुष्प सदाका लागि बन्द भयो । तर एकै अङ्क निकाले पनि यसको स्तरीयता र बरीयताले गर्दा इलामवासीले अहिले पनि गर्व गर्न सक्छन् ।

‘अन्तु’ साहित्यिक त्रैमासिक पत्रिका २०४६ सालको विजया दशमीको शुभ उपलक्ष्यमा त्यतिखेरको इलाम नगर पञ्चायतबाट प्रकाशित भएको छ । विष्णु निष्ठुरीको सम्पादनमा प्रकाशित यो पत्रिका कति अङ्क निस्कियो थाहा छैन तर मसँग भएका दुई अङ्कले चित्त बुझाउनु परेको छ । दुई अङ्कमा प्रकाशित लेख रचनामा ‘ताप्लेजुङ्’ शीर्षक कविता, ‘अन्तु डाँडाको परिचय’ तथा ‘मुर्चुङ्गा जस्तो मेरो इलाम’ निबन्ध उत्कृष्ट छन् ।

‘सौगात’ मासिक पत्रिका २०२२ साल कार्तिकदेखि त्यतिखेरको इलाम जिल्ला पञ्चायत कार्यालयबाट प्रकाशित भएको पत्रिका हो । यसको सुरुको सम्पादन माधव भण्डारीबाट भएको थियो । सम्भवतः इलाम जिल्लाबाट निक्लेको पत्रिकामा यो नै सबभन्दा लामो समय चल्यो । यसको वर्ष १४ अङ्क १० (२०३६ साउन) इतिहास अङ्कको रुपमा प्रकाशित छ ।
‘सौगात’ को इतिहास अङ्कलाई ठूलो उपलब्धिको रुपमा मान्नु पर्छ । ‘सौगात’ बीचमा धेरै अङ्क पढ्न नपाएपनि पढ्न पाइएको अङ्क धेरै उपयोगी लाग्यो । यतिखेर भने सम्पादक मण्डल बनेको र देवदास राईका साथै अन्य पाँच जना छन् । पृथ्वीनारायण शाहको कविताबाट सुरु भएको ‘सौगात’को प्रस्तुत अङ्कमा बालकृष्ण समको–

‘‘क्रोधले मानिस राक्षस नबनोस्
कामले अन्धो नबनोस्
मोहले त्यो झिँगो नबनोस्
लोभले कुकुर नबनोस्
मदले मत्त हात्ती नबनोस्
मात्सर्यले गोमन नबनोस्
मानिस सोझो, ठाडो अग्लो
मानिसकै आदर्श बनोस्’’ उल्लेखनीय छ ।

‘सौगात’ प्रस्तुत अङ्कको ऐतिहासिक सामग्रीहरुमा नेपालको शाहकालीन शासन व्यवस्था, जङ्गबहादुर र बेलायत, रणोद्दीप सिंहको हत्या र देव समशेरको निष्काशनमा समानता तथा भिन्नताः समीक्षात्मक एक अध्ययन, लाप्चाः दुने र नेबू, पद्म समशेरको नेपाल सरकार बैधानिक कानुन, २००४ एक ऐतिहासिक सन्दर्भ, जङ्गबहादुरको महाराज पद, नेपालको बारेमा हुएनसाङ्को वर्णन् तथा विष्णु ‘नवीन’ को फूल पार्ने भाले लेख प्रकाशित छ । यसरी हेर्दा ‘सौगात’ यो गहकिलो अङ्कका रुपमा देखिन्छ र ऐतिहासिक यी सामग्रीहरु महेन्द्ररत्न बहुमुखी क्याम्पस, इतिहास विभागबाट तयार भएको उल्लेख छ ।

‘पुस २०३४ मा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल, इलामबाट ‘विद्यार्थी’ नामक साहित्यिक पत्रिकाको पहिलो अङ्क निक्लेको छ । राम सापकोटा सहित पाँच जनाको सम्पादक मण्डलबाट तयार गरिएको यो पत्रिकामा ‘देशभक्ति’ निबन्ध, देशको विकासमा नारी वर्गको भूमिका, तथा दुईवटा कथा प्रकाशित छन् । ९ कविता छापिएका छन् गद्य पद्य दुवै प्रकारका । राज प्रधान पुष्पको ‘चाहना अनि सन्तुष्टि’ तथा जसोदा खड्गीको ‘अधुरो सपना’ दुवै कथा ठिक ठिकै छन् । ‘विद्यार्थीस् अङ्क कति अङ्क प्रकाशित भयो थाहा छैन ।
माथि उल्लेखित पत्रपत्रिका बाहेक सन्दर्भगत पढेका तथा कोष बनाउँदा प्राप्त भएका विवरणहरु अनुसूचि (क) मा दिएको छु ।

अनुसूची १
(क)
(१) इशारा (मासिक)
२०५८ साल बैशाखमा मासिक रुपमा निक्लेको यो पत्रिका कति अङ्क निक्ल्यो, थाहा छैन । कृष्ण राई ‘अभागी’ लगायतको सम्पादकत्वमा निक्लेको यो पत्रिकामा प्रकाशक चाहिं ‘इशारा साहित्यिक पत्रिका परिवार’ थियो ।
(२) करुण क्रन्दन (मासिक)
फागुन २०५८ देखि मासिक रुपमा यो पत्रिका जि.का.इलाममा १६ नम्बरमा दर्ता भएर निक्लेको थियो । खेमबहादुर खालिङ्, प्रकाश पोखरेलको संयुक्त सम्पादनमा प्रकाशित छ । यसको प्रकाशक करुण क्रन्दन साहित्यिक परिवार नै हो ।
(३) ढाकर (सामयिक)
इलामबाट राधेश्याम गुप्ता लगायतका सम्पादकत्वमा २०३४ मा प्रकाशनमा आएको ‘ढाकर’ कति अङ्क प्रकाशित भयो थाहा छैन ।
(४) झुल्के घाम (त्रैमासिक)
‘झुल्के घाम’ त्रैमासिक दिलीप बमजन र यशोदा शर्माको संयुक्त सम्पादनमा कार्तिक २०५८ देखि प्रकाशनमा आएको देखिन्छ । तर अहिलेसम्म कति अङ्क निक्ल्यो भन्न सकिन्न । ‘झुल्के घाम साहित्यिक समूह’ प्रकाशक हो ।
(५) देउराली डा“डा (दुई महिने)
यो दुई महिने साहित्यिक पत्रिका केशर प्रधानको सम्पादनमा निक्लेको देखिन्छ तर यसको प्रकाशन कति भयो ? थाहा छैन ।
(६) पाथीभरा दर्शन (तीन महिने)
यो साहित्यिक पत्रिका तीन महिना अवधिमा प्रकाशन हुने गरी प्रकाशनमा आएको हो । बैशाख २०६२ मा गणेश अज्र्यालको सम्पादन तथा कोल्बुङ् साहित्यिक समाजबाट प्रकाशित यो पत्रिका बारे केही भन्न सकिन्न ।
(७) पूर्वेली चिनारी (त्रैमासिक)
२०६१ मा इलामे नानी लगायतले त्रैमासिक ‘पूर्वेली चिनारी’ नामक पत्रिका सम्पादन गरी प्रकाशनमा ल्याएको देखिन्छ तर विषयवस्तु र कति अङ्क निक्ल्यो केही भन्न सकिन्न ।
(८) प्रभात (तीन महिने)
२०६० भदौ महिनामा ‘प्रभात’ को जन्म भएको पढ्न पाइन्छ । तीन महिनाको यो पत्रिका पनि कति अङ्क निक्ल्यो, कस्तो थियो भन्ने बारेमा थाहा छैन । प्रेम प्रभात लगायतको सम्पादनमा प्रकाशित भएको थियो र यसको प्रकाशन ‘प्रभात साहित्य समूह’बाट भएको थियो ।
(९) बर पिपल
इलामबाट देवी साङ्पाङ्को सम्पादनमा एवं ‘रम्याङ साहित्य समूह’को प्रकाशनमा निक्लेको हो । पूर्णाङ्क ११ संयुक्त र पूर्णाङ्क १५ सम्म निक्लेको उल्लेख छ ।
(१०) लहर (त्रैमासिक)
फागुन २०६० मा ‘जूनतारा साहित्यिक परिवार, जीतपुर इलाम’ ले नजरा इसल लगायतको सम्पादनमा लहर त्रैमासिक पत्रिका प्रकाशनमा आएको उल्लेख भेटिन्छ । अरू केही पत्तो लाग्दैन ।
(११) वेदना (दुई महिने)
सुरज भट्टराई लगायतद्वारा सम्पादन भएको तथा ‘वेदना साहित्यिक परिवार’बाट प्रकाशित दुई महिने वेदना असोज २०६१ म प्रकाशित भएको देखिन्छ । अरु थाहा छैन ।
(१२) समता लहर (मासिक)
इलाम जिल्ला कार्यालयमा १३९ मा दर्ता भएर ‘समता लहर’ नामको मासिक पत्रिका २०५३ सालमा प्रकाशनमा आएको उल्लेख छ । यसका सम्पादकमा जी.बी.इलामे र देवी पन्थी देखिन्छन् । प्रकाशकमा ‘समता साहित्यिक परिवार’ । इलामकै जय नेपाल छापाखानामा छापिएको छ । अरु थाहा छैन ।
(१३) सौगात (दुई महिने)
२०६२ सालमा ‘सौगात’ दुई महिने साहित्यिक पत्रिका प्रकाशनमा आएको उल्लेख छ । सी.पी. शर्मा गड्तौला तथा रामकुमार सुवेदीको संयुक्त सम्पादन तथा ‘सौगात साहित्यिक तथा खोजमूलक परिवार’ द्वारा प्रकाशित यो पत्रिकाबारे पनि केही थाहा छैन ।
(१४) हाम्रो गोरेटो
सुरुमा भित्ते पत्रिकाको रुपको यो पत्रिका पछि त्रैमासिक रुपमा प्रकाशित हुन थालेको सम्म थाहा भएको छ ।
(१५) हिमशिखर (त्रैमासिक)
‘पञ्चकन्या साहित्यिक परिवारद्वारा प्रकाशित एवं हर्क राई र सुवास देउरालीबाट सम्पादन भएको यो साहित्यिक पत्रिका त्रैमासिक थियो भन्नेसम्म थाहा पाइएको छ ।
(१६) ज्योति पुञ्ज
मित्र गौतम तथा सीता खवासद्वारा सम्पादित यो हवाइ पत्रिका ‘इलामेली महिला साहित्यिक समाज’द्वारा प्रकाशित भएको उल्लेख छ । अरु थाहा छैन ।
(१७) कन्दरा
विद्वान मित्र रोचक घिमिरेका अनुसार इलामबाट २०३७ सालमा कन्दरा साहित्यिक पत्रिका प्रमुख सम्पादक गणेश निरौलाको सम्पादनमा निक्लेको थियो । सुरुमा हस्तलिखित निक्लेको यो पत्रिका छापामा एक अङ्कमात्र आएको थियो र यसका प्रकाशकमा दुर्गा शर्मा भट्टराईको नाम उल्लेख छ ।
(२०६६ ज्येष्ठ ९गते नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा चितवनमा आयोजित मोफसल साहित्यिक पत्रकारिता सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्र)