गैरसाहित्यिक पत्रिकाहरुको भूमिका
मैथिली भाषामा जसरी साहित्यिक पत्रिकाहरु निस्कने र बन्द हुने क्रम जारी रहेको छ, यसभन्दा फरक अवस्था समाचारपत्र तथा अन्य खाले पत्रिकाहरुको पनि छैन । तर मैथिलीमा समाचारपत्र नै निस्के पनि तिनमा रहने अधिकांश सामग्री भने साहित्यिक नै हुन्छन् । उदाहरणका लागि रामभरोस कापडि ‘भ्रमर’ को सम्पादनमा २०३९ सालदेखि निस्कन थालेको गामघर साप्ताहिकलाई लिन सकिन्छ । घरि सक्रिय पत्रिका, घरि सरकारी अनुदान पाउन निस्कने पत्रिकाका रुपमा आफ्ना गतिविधिलाई अघि सारिरहे तापनि यसले मैथिली साहित्य–संस्कृतिसम्बन्धी रचनाहरुलाई प्राथमिकतासाथ स्थान दिने मात्र नभई कतिपय महŒवपूर्ण विशेषाङ्कहरुसमेत प्रकाशित गरेको छ ।
यसैगरी विगत एक दशकभन्दा लामो समयदेखि राजविराजबाट मैथिली साहित्य परिषदले प्रकाशन गर्दै आएको साप्ताहिक समाचारपत्र मिथिलाले प्रचुर मात्रामा साहित्यिक खुराक पस्कँदै आएको छ । राजविराज क्षेत्रको समग्र मैथिली साहित्यिक गतिविधिको केन्द्रमा मिथिला पत्रिका रहनुले पनि यसको साहित्यिक योगदानको पुष्टि गर्दछ ।
जनकपुरबाट रामानन्द युवा क्लवले २०६१ सालमा केही समयसम्म प्रकाशन गरेको साप्ताहिक विद्यापति टाइम्सले पनि साहित्यिक सामग्रीहरुका माध्यमबाट मैथिली साहित्यलाई केही हदसम्म टेवा पु¥याएको छ भने साप्ताहिकबाट हाल दैनिक रुपमा सञ्चालन हुन थालेको सीमाञ्चल (सम्पादक ः उपेन्द्र भगत नागवंशी) तथा मिथिला डट कम (सम्पादक ः सुजीतकुमार झा) ले बेलाबेला मैथिली साहित्यलाई मनग्गे योगदान दिएका छन् । राजविराजमा दर्ता भई बेलाबेला निस्कने रामनारयण देवको सम्पादनको मिथिलाञ्चल दैनिक तथा परमेश्वर कापडिको सम्पादनमा जनकपुरधामबाट सुुरू भएको साप्ताहिक पत्रिका धुवा–धाजाले पनि साहित्यिक गतिविधि र सिर्जनालाई टेवा पु¥याउँदै आएको छन् ।
यस दिशामा २०४८ सालदेखि पाक्षिक समाचारपत्रका रुपमा विराटनगरबाट रामरिझन यादवको सम्पादकत्वमा प्रकाशित हुन थालेको मिथिला टाइम्सले पछिल्ला दिनहरुमा अनियतकालीन सङ्कलनका रुपमा कतिपय विशेषाङ्कहरु प्रकाशित गरी मैथिली साहित्यको श्रविृद्धिमा महŒवपूर्ण टेवा पु¥याएको छ । यसैगरी २०६२ साल भदौदेखि मोहनकुमार सिंह, नित्यानन्द मण्डल आदिको सम्पादकत्वमा आधुनिक साजसज्जाका साथ प्रकाशन हुन थालेको मिथिलाञ्जलिले पाँच–छ अङ्क निकालेर मैथिली पत्रकारिता र गतिविधिमा नयाँ पुस्तालाई समेट्न महŒवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । यस माध्यमबाट मैथिली साहित्यले पनि धेरथोर टेवा पाएकै देखिन्छ । यस पत्रिकाको पछिल्लो चरणमा राष्ट्रिय स्तरमा स्थापित पत्रकार (हालका पत्रकार महासङ्घ अध्यक्ष) धर्मेन्द्र झा ‘विह्वल’ अतिथि सम्पादकका रुपमा संलग्न भएपछि यसले ठोस गति र दिशा लेला भन्ने आशा गरिएको थियो, तर उनले दायित्व सम्हालेपछि एक अङ्क मात्र निस्केर यो पत्रिका बन्द भयो ।
नेपाल मैथिल समाजको मुखपत्रका रुपमा काठमाडौँबाट २०४९ सालदेखि त्रैमासिक रुपमा छापिन थालेको नेपाल मैथिल समाज पत्रिकाले पनि मैथिली साहित्यको विकासमा राम्रै योगदान दिएको मान्नुपर्दछ । गोपाल झाको सम्पादन–संयोजनमा निस्कँदै आएको यस पत्रिकाले मूलतः समाजका गतिविधिहरुलाई समेट्ने गर्दथ्यो । २०६० सालतिर फरक गेटअपमा मैथिल समाज नामबाट धीरेन्द्र प्रेमर्षिको सम्पादनमा पूर्ण साहित्यिक पत्रिकाको रुपमा पनि यसको एक अङ्क देखियो । तर यो पनि त्यस रुपमा दिगो रहन सकेन ।
उपलब्धिशून्य लोकतान्त्रिक गणतन्त्र
मैथिली पत्रकारिताको सार्वकालिक समस्या भनेको मूल आधार तयार नहुनु हो । जहिले पनि मैथिली पत्रपत्रिकाहरु निस्के– कुनै ठोस आधार, विचार र शैली खडा नगरिकन व्यक्तिविशेष वा संस्थाविशेषको तत्कालीन आवेश वा उत्साहलाई तुष्टि प्रदान गर्ने किसिमले मात्र निस्के । सम्बद्ध व्यक्तिको तत्कालीन निहित पूरा हुनासाथ वा समयविशेषमा पलाएको उत्साह मलिन हुनासाथ ती पत्रिका धरमर हुन थालिहाले । तर यो चिन्ताको कुरो थिएन । चिन्ताको कुरो भएको छ– मैथिल युवामा यस किसिमको उत्साह कम हुँदै जानु । देशका हरेक समस्याको समाधानका रुपमा जुन कुरालाई लिइयो त्यही कुरा मैथिली साहित्य, साहित्यिक गतिविधि र साहित्यिक पत्रकारिताका सन्दर्भमा समस्या वा बाधकका रुपमा देखा प¥यो । देशमा हरेक जनआन्दोलनको गर्भावस्था तथा प्रसव कालमा फस्टाउने वा व्यापकता लिने गरेको मैथिली पत्रकारिता २०६२–०६३ को आन्दोलनका सन्दर्भमा भने मौन र भूमिकाविहीन देखियो । यस आश्चर्य र चिन्ताको अवस्थाका पनि विविध आयामहरु छन् ।
यस समयमा प्रायः सिर्जनशील कार्यमा पहिल्यैदेखि लागेका युवा तथा प्रौढहरुको समेत तीन चरित्र देखियो । एउटा चरित्र स्वाभाविक रुपले परिवर्तनकामी व्यक्तिहरुको थियो, जो तत्कालीन समयमा लोकतन्त्र स्थापना निमित्त नागरिक समाजले सञ्चालन गरेको अभियानमा क्रियाशील थियो । नागरिक अभियान राजधानीमा सशक्त र प्रभावकारी भएकोले यस चरित्रको सक्रियता राजाधानीमै केन्द्रित थियो । राजधानीमा केन्द्रित भएकोले यसले आफूलाई नेपाली भाषामै वा राजधानीका लागि प्रभावकारी हुने माध्यममा आफूलाई क्रियाशील राख्यो । यसमा एक्का–दुक्का व्यक्ति मात्र संलग्न थिए । अर्को खाले चरित्र पर्खौं, हेरौँ र अघि बढौँको मानसिकतामा थियो । यो चरित्र जनता सडकमा उर्लिसकेपछि मात्र आन्दोलनमा सम्मिलित भयो । यस्ता चरित्रको गर्भमा आन्दोलनले ठाउँ नपाएका हुनाले यिनी जनआन्दोलनको सफलतापछि पनि सिर्जनशीलतामा लाग्न सकेनन् र आन्दोलनमा सहभागिताको प्रतिफल खोज्न तल्लिन भए । हाल लोकतन्त्रको लाभ लिइरहेको जमातका थुप्रै रचनाशील भनाउँदाहरु यसै चरित्रमा पर्दछन् । तेस्रो चरित्र प्रतिगामीहरुको थियो, जो राजाको शासन रहञ्जेल अञ्चल प्रशासकको कार्यालय कुरेर लोकतन्त्रवादीहरुको चुक्लीमा आफ्नो सारा ऊर्जा खर्च गरिरहेका थिए । यस्ताबाट यस्तो समयमा सिर्जनशीलताको अपेक्षा नै गर्न सकिने अवस्था रहेन ।
आन्दोलन सफल भइसकेपछि भने मिथिलाका मानिसहरुमा पनि यथेष्ट लोकतान्त्रिक जोश देखियो । तर आन्दोलन परिपक्व बनाउने काममा खासै भूमिका निर्वाह गर्न नसकेकाहरुले यस जोशलाई सिर्जशीलतामा रुपान्तरित गर्न सकेनन् । यसैबीच मधेस आन्दोलन भइदियो । मधेश आन्दोलनले त्यहाँका युवाहरुमा चेतनाको गजब वीजारोपण ग¥यो । यो बीज विद्रोही बढ्ता र उत्पादनशील कम थियो । यसले गर्दा सडकमा यी विशेष प्रकट भए, सिर्जनामा आउन सकेनन् । मधेस आन्दोलनबाट स्थापित वा सुदृढ भएका राजनीतिक दलहरुले पनि कार्यकर्तामाझ राजनीतिक नारा त दिए तर सांस्कृतिक, सामाजिक संस्कार दिनेतर्फ कुनै पहल गरेनन् । परिणामतः न त त्यो युवा समूह पार्टीहरुमै सिद्धान्तका आधारमा अडिग रहन सके, न तिनले मिथिला क्षेत्रलाई नै आफ्नो योगदान दिन सके । मधेश आन्दोलनको अर्को दुर्गुण के पनि भयो भने यसले जनमानसलाई लोकतन्त्रप्रति आस्थावान र आफ्नो अधिकारका लागि जुझारू हुन प्रेरित गर्नुभन्दा बढी ध्यान हिजोका भ्रष्ट, लोकतन्त्रका विरोधीहरुलाई चोख्याउने काममा दिए । यसबाट लोकतान्त्रिक आन्दोलनका सहयात्रीहरुमा वितृष्णा जाग्यो भने सिर्जनात्मक कार्य सुुरू गर्ने अवस्थाका युवा पुस्तामा चम्चातन्त्र सबैभन्दा सफलतन्त्र रहेछ भन्ने मानसिकताले जरा गाड्यो । अर्को कुरा, मधेशवादी दलहरुले एक मधेस एक प्रदेशलाई साकार रुप दिने सन्दर्भमा मिथिला र मैथिलीसम्बन्धी गतिविधिलाई बाधक ठानी सदा यसलाई निरुत्साहित मात्र गरे ।
यी यावत राजनीतिक परिपाटीको नकारात्मक प्रभावले जनआन्दोलन भाग– २ तथा मधेस आन्दोलन मिथिला क्षेत्रमा सिर्जनशीलताका दृष्टिले नकारात्मक सावित भयो । यसको सबैभन्दा बढी दुष्प्रभाव मैथिली साहित्य र पत्रकारिता क्षेत्रले व्यहोनुप¥यो । बाँकी रहेसहेको कसर लोकतान्त्रिक–गणतान्त्रिक नेपालको पहिलो महŒवपूर्ण साहित्यिक नियुक्तिहरुले पूरा गरिदियो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा परिषद्तर्फ महŒवपूर्ण जिम्मेवारीमा यसपटक दुईजना मैथिलीभाषी पर्नु सकारात्मक पक्ष हुन सक्छ । तर व्यक्तिहरुको चयन जुन किसिमको भयो त्यसले साहित्यको परभाषा नै फेर्नुपर्ने अवस्था उत्पन्न गरिदियो । मिथिलाको केन्द्र जनकपुरधाममा लोकतन्त्र प्राप्तिपछि जारी गरिएको कालो सूचीमा सबैभन्दा माथि नाम रहेको व्यक्ति लोकतन्त्रमा बनेको पहिलो प्रज्ञा–परिषदको सदस्य भएपछि सिर्जनधर्मीहरुले लोकतन्त्रका लागि किन मरिहत्ते गर्ने भन्ने प्रश्न खडा ग¥यो । यस्तै नेपालको कुनै पनि भाषामा एकै अक्षर पनि नलेखी प्रतिष्ठानको परिषद् सदस्य भएका अर्का सदस्यलाई देख्दा कुनै पनि व्यक्तिले साहित्य नै किन सिर्जना गर्ने भन्ने प्रश्न उभ्याइदियो । त्यही व्यक्ति र त्यस्तै चरित्रका व्यक्तिले साझा प्रकाशनमा पनि निरन्तर ठाउँ पाउँदै जानु भनेको सिर्जनाकर्म र लोकतन्त्रका पथिकहरुलाई राज्यले उल्याउनु तथा गिज्याउनु नै हो । खास योग्यले स्थान नपाउँदाभन्दा धेरै गुणा बढी चोट अयोग्यले स्थान पाउँदा लाग्दो रहेछ । यस्तोमा जतिसुकै कर्मन्यावाधिकारस्ते मा फलेषु कदाचनः जप्दै हिँड्ने मानिस पनि विचलित हुन्छ र त्यसको असर सामाजिक सिर्जनशीलतामा पर्दछ ।
उपसंहार
मैथिलीमा साहित्यिक पत्रकारिताको इतिहास हेर्दा खासै निराशाको अवस्था छैन । शताब्दीभन्दा लामो इतिहास हुनु भनेको सानोतिनो गौरवको विषय होइन । नेपालमै पनि यसको इतिहास आधा शताब्दीभन्दा लामो भइसकेको छ । पत्रिका निस्कने र बन्द हुने प्रक्रियाले केही चिन्ताजनक अवस्था उत्पन्न भए पनि मैथिली साहित्यिक पत्रकारिताको जीवन–सञ्चार भने यसरी नै हुँदै आएको छ । यस्ता पत्रिकाहरुले नै मैथिली साहित्य र साहित्यिक पत्रकारिता दुवैको इतिहासलाई गतिशील पार्न टेवा पु¥याई रहेका हुँदा तिनलाई कम किमार्थ आँक्न मिल्दैन ।
हालको दिनमा मैथिलीको कुनै निश्चित र व्यापक प्रभाव भएको स्थान नहुनु, मिथिला र मैथिली भाषा भएको स्थानलाई मधेसवादी दलहरुले आफ्नो प्रभाव क्षेत्र भने तापनि त्यहाँको भाषा–संस्कृतिको उत्थान निम्ति सिन्कोसम्म नभाँच्नु बरु त्यसको तेजोवध गर्नका निम्ति विदेशी भाषाको वकालत गर्नु, राष्ट्रिय राजनीति गर्दैछु भन्ने काङ्ग्रेस, एमाले जस्ता पार्टीसम्बद्ध मैथिल नेताहरुमा आफ्नै भाषाको प्रयोग गर्दा पनि अराष्ट्रिय भएको आरोप लाग्ला कि भन्ने त्रास देखिनु, मिथिला क्षेत्रकै उद्योगी–व्यवसायी तथा पूँजीपतिहरुमा पनि मैथिलीको लागि योगदान दिएर सानो क्षेत्रमा चर्चा पाउनुभन्दा नेपालीकै लागि सहयोग दिएर राष्ट्रिय स्तरमा चर्चा बटुल्ने मोह हुनु जस्ता कारणले मैथिली पत्रकारिताले आर्थिक टेवा पाउन सकेको छैन । दक्षिण एशियामै साहित्यलाई अनुत्पादक क्षेत्रकै रुपमा लिइराखिएको परिप्रेक्ष्यमा दुईटा राज्यमा बाँडिएर बिटुलिएको मिथिलाका लागि झनै फाल्तु कुरा हुन पुगेको छ । यसले गर्दा व्यावसायिकतालाई पनि अँगाल्न सकेको छैन । राज्यको साँच्चीकै टेवा पु¥याउने खालको नीति पनि छैन ।
अहिलेसम्म नेपालमा खासगरी दुईथरि मानिसले मैथिली पत्रकारिता गर्ने गरेका छन् । एकथरि पत्रकारिताको नाउँमा सरकारी अनुदान र विज्ञापन तान्नुका साथै आफ्नो उद्देश्यविशेष पूरा गर्नका निमित्त सम्बद्ध क्षेत्रको ध्यान तान्ने खालका । अर्कोथरि भाषा–संस्कृतिको माया तथा यसका लागि केही गर्नुपर्छ भन्ने जोश भएका । दुवैथरिको यात्रा दिगो हुने कुरै आउँदैन । पहिलो थरि मान्छे आफ्नो उद्देश्य पूरा हुनासाथ यसबाट विमुख हुन्छ भने अर्कोथरि पारिवारिक बोझ र आर्थिक भारले गाँज्दै गएपछि थाक्छ ।
यसरी नै चलिरहे तापनि मैथिली साहित्यिक यात्राको शृङ्खला भने अटूट छ । यस शृङ्खलाले निरन्तर केही जोशिला व्यक्ति जन्मँदै आएका छन्, सकारात्मक कार्य हुँदै आएका छन् । यसलाई पनि महŒवपूर्ण नै मान्नुपर्ने हुन्छ । हालका दिनमा रेडियो, टेलिभिजन जस्ता माध्यममा पनि मैथिल र मैथिलीको पहुँचमा अभिवृद्धि हुँदै गएको छ । यसमा रहेको मैथिल संलग्नतालाई मैथिली पत्रकारिताको विकासका दृष्टिले पनि उपयोग गरिनुपर्ने आवश्यकता छ । त्यस्तै इन्टरनेट पत्रिका तथा फेसबुक जस्ता सञ्जालका माध्यमबाट पनि मैथिली पत्रकारितालाई व्यापक पार्न सकिने आधारहरु स्थापित हुँदै गएका छन् । आशा छ– आगामी दिनमा यी सबैको प्रयोगले मैथिली पत्रकारिताले ठोस आकार र गन्तव्य निर्धारण गर्दै आफूलाई निरन्तर अग्रसर राख्नेछ ।
मजष्उचभ२थबजयय।अयm