Author Topic: Jiwan Luitel (जिवन लुइटेल)  (Read 4408 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Jiwan Luitel (जिवन लुइटेल)
« on: September 21, 2015, 12:08:26 PM »
त्यो प्रेम नभएर क्षणिक आकर्षण मात्र थियो -नायक जीवन लुइटेल
प्रकाशित मिती : बुधबार, मंसिर २७, २०६९


० तपाईंले कला क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
मेरो सानैदेखि फिल्महरुप्रति रुचि थियो । म फिल्महरु हेर्दा आफू पनि नायक बन्न पाए कस्तो हुन्थ्यो भन्ने कल्पना गर्थें । कलाकारहरुलाई सबैले चिनेको, सम्मान गरेको र कलाकारहरुको फोटो पत्रपत्रिकाहरुमा छापिएको देख्दा मलाई भिन्ने खालको रमाइलो अनुभूति हुन्थ्यो । मैले सन् २००२ मा मिस्टर नेपालको उपाधि जित्न सफल भएपछि मोडलिङको अवसर मिल्यो । समयको अभावले मैले रंगमञ्च र टेलिभिजन कार्यक्रम गर्न सकिनँ र एकैपटक फिल्मी लाइनमा प्रवेश गरेँ ।

० तपाईंको जन्मस्थान कहाँ हो ?
मेरो जन्मस्थान विराटनगर हो ।

० तपाईंको पहिलो फिल्म ?
मेरो पहिलो फिल्म आलोक नेम्वाङले निर्देशन गर्नुभएको सानो संसार हो ।

० हालसम्म कतिवटा फिल्म खेल्नुभयो ?
मैले १९ वटा फिल्ममा काम गरेँ । जसमा सानो संसार, दीपशिखा, नाइ नभन्नु ल, अन्दाज, नसिब आफ्नो, मलाई मन प¥यो आदि छन् ।

० कुन फिल्मले जीवन लुइँटेललाई चर्चित बनायो ?
मैले फिल्महरु धेरै गरेता पनि नाइ नभन्नु ल र अन्दाजले मलाई चलचित्र क्षेत्रमा चिनाउने काम ग¥यो । नाइ नभन्नु ल फिल्मको शीर्षक गीत र अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छीको … गीत धेरै नै चर्चित भयो । धेरैजसो नेपालीहरुलाई यो गीत कण्ठस्थ आउँछ ।

० आफ्नो फिल्म हलमा चलिरहँदा र फिल्मका पोष्टरहरु चोक चोकमा टाँसिदाँ कस्तो अनुभव हुन्छ ?
मनमा कौतुहलता हुन्छ । आफूले दुःख र मिहेनत गरेको कामलाई दर्शकहरुले रुचाउनुहुन्छ कि रुचाउनुहुन्न ? कतै मेरो कुनै कमी कमजोरी पो छ कि, कतै म कमजोर भएको पो छु कि भन्ने जस्तो लाग्छ । दर्शकहरुको प्रतिक्रिया राम्रो भयो भने मनमा छुट्टै किसिमको आनन्द आउँछ । एउटा युद्ध जितेको जस्तो अनुभव हुन्छ ।

० के नायक र नायिकाको कारणले मात्र फिल्म सफल हुने हो र ?
अवश्य होइन, फिल्म सफल हुन फिल्मको कथा पटकथा समय सान्दर्भिक हुनुपर्छ । त्यस कथालाई फिल्मी रुप दिन एउटा सक्षम र अनुभवी निर्देशकको खाँचो हुन्छ । अनुभवी निर्देशकले नायक नायिकादेखि सम्पूर्ण कलाकारहरुलाई सही ढंगले तिनीहरुको क्षमतालाई कैद गर्न सक्छ । त्यसपछाडि पर्दा पछाडिका कलाकारहरु क्यामेराम्यान, संगीतकार, कला निर्देशक, द्वन्द्व निर्देशक, नृत्य निर्देशक, सम्पादक सबैको महत्वपूर्ण हात रहेको हुन्छ । फिल्मको एउटा पक्ष मात्र कमजोर भयो भने त्यो फिल्म पूर्ण रुपमा सफल हुन सक्दैन ।

० आफू चर्चित नायक बन्दा कस्तो अनुभव हुँदोरहेछ ?
पहिला त रमाइलो पनि लाग्छ । त्यसको साथै आफूमा कामको बोझ थपिएको महसुस हुन्छ । दर्शकहरुले जुन माया दिनुभएको छ, त्यसलाई लामो समयसम्म कसरी टिकाइराख्ने भन्ने सोचाइ हुन्छ । आफूमा दायित्व बढेको अनुभव हुन्छ । चर्चाको शिखरमा त जो पनि पुग्न सक्छ । तर लामो समयसम्म चर्चाको शिखरमा टिकिरहन गाह्रो हुन्छ र त्यो सबै कलाकारहरुलाई एक प्रकारको चुनौती हो ।

० आफूले खेलेको फिल्म हेर्दा कस्तो लाग्छ ?
आफूमा रहेको कमजोरी देखिन्छ । मैले जुन काम गरेँ त्यो भन्दा अझ बढी राम्रोसँग गर्न सक्ने थियो कि जस्तो लाग्छ ।

० नेपाली चलचित्र क्षेत्रमा एउटा आशालाग्दो नायकको रुपमा तपाईंलाई हेर्न थालिएको छ । के यो उचित हो ?
त्यो त दर्शकहरुले हेर्र्ने कुरा हो । म आफूले सकेको जति नेपाली चलचित्रमा मिहेनत र परिश्रम गर्छु । मलाई विश्वास छ मेरो मिहेनत र परिश्रमलाई पक्कै पनि दर्शकहरुले मन पराउनुहुनेछ ।

० फिल्मको सुटिङको क्रममा सबैभन्दा दुःखद घटेको घटना कुन हो ?
फिल्मको सुटिङको क्रममा जतिसुकै सुरक्षा विधि अपनाए पनि दुःखद घटनाहरु घटिरहन्छन् । दीपशिखा फिल्ममा हेलिकोप्टरबाट हाम फाल्दा मेरो देब्रे हात भाँचिएको थियो । त्यो नै मेरो जीवनको दुःखद घटना हो । त्यसबेला मेरो हातमा स्टिलको पाता राखिएको थियो ।

० नेपाली फिल्महरुमा हिजोआज अंग प्रदर्शन बढ्दै गएको छ भनिन्छ । तपाईंलाई कस्तो लाग्छ ?
फिल्मको कथावस्तु कस्तो छ, त्यो हेरिनुपर्छ । फिल्महरु धेरै प्रकारका हुन्छन् । जस्तै ः पारिवारिक फिल्म, हास्य प्रधान, नारीप्रधान, सामाजिक कथा वस्तुमा आधारित हुन्छन् भने कुनै फिल्म यौनसँग सम्बन्धित हुन्छन् । यदि कुनै फिल्मको कथावस्तु यौनसँग सम्बन्धित छ र यौन सम्बन्धी सन्देश दिन खोजिएको छ भने उक्त फिल्ममा बेडसिन र चुम्बनको दृश्य राख्नु अनुचित नहोला ।

० के चपली हाइट जस्तो फिल्मलाई अंग प्रदर्शनको रुपमा लिन सकिँदैन र ?
चपली हाइटजस्तो कथा भएको हिन्दी फिल्म बन्यो भने त्यसलाई हामी सहज रुपमा लिन्छौं । तर त्यही कथावस्तुलाई नेपाली फिल्ममा देखाउँदा पच्न गाह्रो हुन्छ । दर्शक र समयको माग भन्दा पनि बढी देश र संस्कृति हेरेर फिल्म बनाउनुपर्छ ।

० सबैभन्दा सुखद क्षण कुन हो ?
नाइ नभन्नु ल भन्ने फिल्मलाई विदेशमा लगेर प्रदर्शन गर्दा त्यहाँका दर्शकहरुबाट पाएका राम्रो प्रतिक्रिया म कहिल्यै भुल्न सक्दिनँ । अष्ट्रेलियाका प्रत्येक शहरहरुमा नाइ नभन्नु ल भन्ने फिल्म धेरै दर्शकहरुले मन पराउनुभयो र राम्रो प्रतिक्रिया प्राप्त भयो ।

० कुन नेपाली कलाकारबाट प्रभावित हुनुहुन्छ ?
नीर शाहबाट धेरै प्रभावित छु । उहाँले नेपाली कलाक्षेत्रका महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँको बोली, गेटअप, सामाजिक कार्यप्रतिको रुचि, आफ्नो कार्यप्रति बफादारी साथै उहाँको व्यवहार मनपर्छ । साथै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दाइहरुको दिगो मित्रता साह्रै मनपर्छ ।

० विदेशको कुन कलाकारबाट प्रभावित हुनुभएको छ ?
म सानैदेखि संजय दत्तको फिल्म धेरै हेर्थें । उहाँको गेटअप र अभियन खुबै मनपथ्र्यो । म पनि सञ्जय दत्त जस्तै हुनपाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो ।

० स्कुल कलेजमा कसैलाई मन पराइएन ?
स्कुल र कलेज पढ्दा धेरै केटीहरुलाई मन पराइयो । मलाई मन पराउने केटीहरु पनि थुप्रै थिए । तर त्यो प्रेम नभएर क्षणिक आकर्षण मात्र थियो । क्षणिक आकर्षण लामो समय टिक्ने त कुरै भएन ।

० एकपटकको भेटमा तपाईंले म सगरमाथा चढ्ने विचारमा छु भन्नुभएको थियो । के यो साँचो हो ?
हो यो साँचो हो । मेरो इच्छा र उद्देश्य पनि यही हो । तर समय कहिले मिल्छ त्यो चाहिँ निश्चित भएको छैन । नेपालको गौरव सगरमाथा प्रत्येक नेपालीले नजिकबाट हेर्न र बुझ्न जरुरी छ ।

० सामाजिक कार्यहरुमा कत्तिको अग्रसर हुनुहुन्छ ?
म आफूले सकेसम्म र समयले भ्याएसम्म आफूलाई सामाजिक कार्यहरुमा समावेश गराउँछु । दैवीप्रकोप पर्दा पनि म मेचीदेखि महाकालीसम्म पुगेको छु ।

० हालैमात्र बल्थलीस्थित लड्केश्वर महादेवको दर्शन पनि गर्नुभयो ? कस्तो रह्यो अनुभव ?
लड्कु र रोशी खोलाको संगमस्थल तथा प्राकृतिक गुफामा अवस्थित लड्केश्वर महादेवको मन्दिर प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेछ । प्रत्येक हरिबोधनी एकादशीमा हजारौंको भीड तथा मेला लाग्ने उक्त क्षेत्र देख्दा म धेरै खुसी भएँ । सुनसरीको बराह क्षेत्र जस्तै लाग्यो । यस्तो ठाउँको बारेमा सबैतिर प्रचार प्रसार भएमा प्रमुख धार्मिक पर्यटकीय स्थलको रुपमा विकास होला जस्तो लाग्यो ।

० त्यहाँ लड्केश्वर युवा क्लबले आयोजना गरेको सांगीतिक कार्यक्रममा सहभागिता जनाउन पाउँदा कस्तो लाग्यो ?
म धेरै खुसी भएँ । मेरो साथमा अहिलेका नवगायक सुमन गैरे तथा चर्चित लोकदोहोरी गायक गोकुल रावत हुनुहुन्थ्यो । मैले सबै दर्शक तथा भक्तजनहरुसँग साक्षात्कार गर्ने अवसर पाएँ । म यति धेरै खुसी भएँ कि धक फुकाएर नाचेँ ।

० तपाईंलाई सबैभन्दा बढी मनपर्ने निर्देशक को हुनुहुन्छ ?
आलोक नेम्वाङ, उज्वल घिमिरे, दिनेश आचार्य ।

० कुन निर्देशकसँग फिल्म गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई तुलसी घिमिरेसँग काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

० सेक्स के हो ?
सेक्स भगवान्ले दिनुभएको एउटा पवित्र प्रसाद हो । यसलाई प्रसादकै रुपमा लिनुपर्छ ।

० के प्रेममा सेक्स उचित छ ?
प्रेम र सेक्स अलग अलग विषय हुन् । प्रेम आमाबाबु, साथीभाइ, सबैसँग गरिन्छ । तर सेक्स जीवनसाथीसँग मात्र गरिन्छ । जीवनसाथीसँग गरिएको प्रेममा मात्र सेक्स उचित छ ।

० के विवाह अगाडिको सेक्स उचित छ ?
हाम्रो देशको कला र संस्कृतिभित्र विवाह अगाडिको सेक्सलाई उचित मानिँदैन ।

० तपाईंलाई सबैभन्दा मनपर्ने नायिका ?
रेखा थापा ।

० अन्त्यमा हाम्रो पत्रिका मार्फत् के भन्न चाहनुहुन्छ ?
मलाई पाठक र दर्शकहरु समक्ष साक्षात्कार गराउने अवसर दिएकोमा काभ्रे टाइम्सलाई धेरै धेरै धन्यवाद । नेपाल रहे मात्र नेपाली रहनेछौं । नेपाली कला संस्कृतिलाई माया गर्नुहोला । हामीले जे गर्नुपर्छ नेपालमा गर्नुपर्छ । यो नै हाम्रो धर्म तथा कर्म हो ।