प्रेम दिवसको छेकोमा प्रेमिल 'क्लासिक' आउने
नोभेम्बर रेनको सफलता कायम गर्नुपर्ने चुनौती
गत वर्षको हिट फिल्म ‘नोभेम्बर रेन’का बनाएको सुवास इन्टरटेन्मेन्टले फिल्मको सफलताको खुशी साट्दै साँगीतिक प्रेमकथा ‘क्लासिक’ निर्माणको घोषणा गरेको छ। नयाँ वर्षको पूर्व सन्ध्या पारेर सोमबार फिल्मको औपचारिक घोषणा गरिएको हो। फिल्मको मुख्य भुमिकामा ‘नोभेम्बर रेन’का आर्यन-नम्रताको जोडी नै हुनेछन्।। फिल्मका अन्य विधामा पनि ‘नोभेम्बर रेन’ अधिकांश सदस्यहरु दोहोरिएका छन्।
दिनेश राउतको निर्देशन रहने फिल्ममा आर्यन-नम्रताका अलावा समुना केसी, प्रज्जवल गिरी, सुशिल काफ्ले, पल शाह तथा सुनिल रावलको अभिनय रहनेछ। आर्यन सिग्देलको प्रस्तुति रहने फिल्ममा सुवास गिरी प्रमुख निर्माता रहनेछन्। ताराप्रकाश लिम्बुको संगीत रहेको फिल्मको कथा छेतेन गुरुंगले लेखेका हुन्। ‘नोभेम्बर रेन’को कथा पनि छेतेनले नै लेखेका थिए। हिमाल केसीको दन्द निर्देशन गर्ने फिल्मका छायाँकार राजेश श्रेष्ठ हुन्।
वैशाख १५ गतेदेखि फ्लोरमा जाने फिल्मलाई आगामी माघ २९ गते ‘भ्यालेन्टाइन डे’को छेकोमा रिलिज गरिनेछ। त्यस्तै फिल्म घोषणा कार्यक्रममा ‘नोभेम्बर रेन’ले सिन्धुलीको कमला बहुमुखी क्यामपसलाई नगद एक लाख रुपयाँ सहयोग पनि प्रदान गरेको थियो।
प्रकाशित मिति: बुधबार, बैशाख २, २०७२ ११:००:०९
-- from Setopati