पाटनका चिया अड्डाहरू
कुमार नगरकोटी
चैत्र २८, २०७२- ४: ३० बज्यो
अब चियाका अड्डालगायत पाटनका गल्लीतर्फ पद–सर्फिङ उर्फ प्रभात विचरण गर्ने बेला भो । हात मुख धोइपखाली गरिसकें । खुक्स तथा लाइटरलाई पनि खल्तीमा कोचकाच गरिसकेँ । कालो न कालो तितो न तितो कफीले मुख कुल्ला गरिसकेँ, बीपीको ट्याबलेट एमलोड–१० सितै ।
तपाईं भने अझैसम्म ओछ्यानमै पो हुनुहुन्छ । के चाला हो यो ? निद्रामै मस्त हुनुहुन्छ । के पारा हो यो ? उठ्नु पर्दैन ? ‘सुबह हो चुकि है’, जाग्नु पर्दैन ? उमेरभरिको निद्रा एक रातमै भोगचलन गर्ने इरादा छ कि क्या हो ? उठ्नुस् जाग्नुस् र आउनुस् मसितै हिँड्नुस् ।
‘जागो माई फ्रेन्ड जागो । आपनी नींद से कभि तो जागो ।’
यस द्याट्स् इट, माई दोस्त । तपाईंलाई यति चाँडै उठाएँ । नरिसाउनुहोला । होइन होइन पर्दैन, आफ्नो लुगा लगाउनु पर्दैन । मेरै लगाउनुस् । तपाईंका लागि एक सेट पीत–वस्त्र मैले छुट्याइदिएको छु । त्यही पहेँलो ‘गुड मर्निङ पोसाक’ लगाउनुहोस् ।
गुड् । द्याट्स् लाइक अ गुड फ्रेन्ड । पहेंलो वस्त्र तपाईंलाई खुप सुहाएको छ । तपाईंलाई गतिलो लुगा दिन सकिनँ । पीर नमान्नुहोला । छालाको त्यो थोत्रो जुत्ता साँघुरो त भा’छैन नि १ गुड । कहिलेकाहीं अरूकै जुत्ता लगाई यात्रा गर्नु पनि बेसै हुन्छ । कि कसो ? म त चप्पलमै ठीक छु ।
अरे ! तपाईं त ऐनामा आफ्नै थोपडा पो हेर्न थाल्नुभयो । ऐना नभई आफ्नो आत्मा हेर्नुपर्ने होइन र भन्या ?
ओके ? रेडी ? लेट्स गो ।
तपाईं त केवल एक रातको पाहुना आजै लामो यात्रामा गइहाल्नुहुन्छ हिजो राति त्यति बातचित हुन पाएन । यात्राबाट थाक्नु पनि त भएको थियो ∕ चाँडै सुतिहाल्नुभयो । अहिले अब बात मार्दै हिँडौं, है त ?
यो थुम्के डाँडा कस्तो लाग्यो ? हेर्नुस् त, यसलाई चारैतिरबाट वृक्षहरूले घेरेको छ । यी वृक्षमा पाटनभरिका कागहरू बस्छन् । अहिले सुतिरहेका छन् । एक्कै छिनपछि यिनीहरूले आवाजको सिम्फोनी क्रिएट गर्नेछन् । बीचको मैदानमा छुट्टीका दिन नानीबाबु र किशोरहरू खेलकुदमा रमाउँछन् । केहीबेरमा भद्र महिला र सज्जनहरूको भीड यहाँ देखिहाल्नुहुनेछ । ती सब स्याँस्याँ र फ्याँफ्याँ गर्दै हिँड्छन् । नानाभाँतीका उछलकुद गर्छन् ।
मर्निङवाकमा लमकलमक हिँड्ने पथिकहरूदेखि मलाई बडो हाँसो उठ्छ । बबुरो हिँडेको हो कि दौडेको ? चालै नपाइने । यस्तो चाल छलपूर्ण लाग्छ ।
तपाईंलाई यो डाँडाको घाँसे मैदानमा लिएर आउनुको पछाडि मेरो भित्री मनसाय यस्तो छ : केही वर्षअघि डाक्टरले बीपीको ट्याबलेट प्रेसक्राइब गर्दै– शीतयुक्त घाँसमा खाली खुट्टा डुल्ने, हिँड्ने गर्नुस्– भनेको थियो । त्यसपछि केही बिहान मैले पाटनमा घाँस खोजेँ जहाँ म गाई, घोडा, भेडाबाख्रासरि चर्न सकूँ शीत लाग्ने ठ्याक्कै भन्याजस्तो घाँस भेट्नै मुस्किल । अर्धाङ्गिनीले एक दिन मलाई यहाँ डोर्याउँदै ल्याइन् र हरिया घाँस देखाउँदै भनिन् :
प्रिय पतिदेव, अब घाँस चर्नुस् । हेल्दी हुनुस् ।
घाँस–चरन राम्रै भइरहेको थियो । तेस्रो चरण (दिन) को घाँस चरनमा समस्या भयो । म जहाँ चर्ने गर्थेँ त्यहाँ अर्कै भलाद्मी उहिल्यैदेखि चर्ने गर्दो रहेछ । घाँसका निर्मल शीतबिन्दुहरूलाई मैले पहिल्यै बिटुलिदिएकोमा ऊ आक्रोषित देखियो । बेलाबेला उसले मलाई आँखाले खाउँलाझैँ गरी, आँखैले भष्म गरिदिउँलाझैँ गरी हेर्न थाल्यो ।
मलाई निजप्रति दया जाग्यो यस्तो आक्रोशले त उसको अकल्याण हुने भो । बिचरो । यस्तो विकृत भावदशाले त उसको बीपी झन् जीपी पो हुने भयो । कसैको बीपीलाई व्यर्थमा किन जीपी बनाउनु ? गरी खाओस्, कल्याण होस् भनी त्यो घाँसे मैदान उसैलाई चर्नको निम्ति मैले छाडिदिएँ । सदासदाका लागि ।
लौ ! चियापसल आइपुग्यो । यो हाम्रो प्रथम चिया अड्डा हो । आच्या, के टोलाइरा ? हिँड्नुस् भित्र जाऔँ ।
खासमा यो चिया अड्डा मेरो पछिलो डिस्कभरी हो । याँ आउन थालेको यस्तै ३ चार महिना मात्र भयो । यसअघि प्रात: यात्राको मेरो पहिलो ह्याङ्आउट गुईटोलको चिया अड्डा हुने गथ्र्यो । बहत्तरको तोरीलाहुरे भुइँचालोले त्यसलाई नष्ट गरेपछि सुन्धाराको कापमा यसलाई फेला पारेको हुँ ।
ब्ल्याक टी, मिल्क टी र लेमन टी एकसाथ तन्मयका साथ बनाइरहेका साहुजीको नाम अकबर हो । अकबर, द ग्रेट होइनन् नि ! कम्युनिस्ट लिट्रेचरले मन पराउने आम आद्मी हुन् यिनी जो चियाचाहिँ ग्रेट बनाउँछन् । नामले गर्दा तपार्इँलाई यिनी मुसलमान बन्धु हुन् कि जस्तो लाग्न सक्छ । तर यिनी श्रेष्ठ हुन्– अकबर श्रेष्ठ । यस्तो रोचक नाम राख्ने ग्रान्ड डिजाइनरचाहिँ उनका पिताजी हुन् । वास्तवमा के भन्देखिन् नि ! पिताजीलाई उनको त्रिपुत्र हुने चरम विश्वास थियो । ज्येष्ठ पुत्रको नाम अमर राखे । यिनी माइला हुन् । यिनी अकबर श्रेष्ठ भए । कान्छा जसको नामकरण तिनले एन्थोनी जुराएचाहिँ– अफसोसका साथ भन्नुपर्छ– यो धर्तीमा जन्मिएनन् ।
एकजना नेवार पिताले त्रिपुत्रको नाम जुराएका थिए: अमर, अकबर र एन्थोनी । चाखलाग्दो छैन त १ एउटा पिताले धार्मिक सहिष्णुताको अवधारणा आफ्नो परिवारमा खोजे । बाई द वे अमिताभ बच्चन, विनोद खन्ना अनि ऋषि कपुर अभिनीत लेट् सेभेन्टिजको हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’ त तपाईंले जरुर हेर्नुभएकै होला ! कसो ?
अकबर मलाई चियाभन्दा अघि ‘काठमान्डु पोस्ट’ दिन्छन् । अकबरका अनुसार मबाहेक अंग्रेजी अखबार पढ्ने तीन ग्राहक छन् । सबैभन्दा पहिले म जोक पढ्छु : ‘लाफ आउट लाउड’ । अनि ‘रिप्लेज विलिभ इट अर नट’ । कागतालीले शनिबार परेको छ भने आफूलाई दिलखुस राख्न गफाडीको कोलम ‘हेड्स एन्ड टेल्स’ जरुर पढ्छु । अनि छ नि १ यो जुन कालो कमिज लगाको केटो छ नि यसरी ओहोरोदोहोर गर्ने, उसको नाम पनि कुमार हो । पत्रिका पढिरहँदा अकबरले पटकपटक कुमार भनी यो कामदारलाई बोलाउँदा हरेकपटक म पुलुक्क हेर्ने गर्छु ।
आउनुस्, अब यो गल्लीतिर छिरौँ । यति चाँडै यिनीहरूचाहिँ ठिमी, भादगाउँतिरबाट आएका हुन् । यी खर्पन र साइकल जहाँ सागसब्जी राखिएका छन्, चाहिँ पाटनका चोक, डबली र बहालतिर छरिएर डिस्ट्रिब्युट हुन्छन् । यिनीहरू छेवैबाट गुज्रँदा गल्ली नै धनियाको मगमग बास्नामा चुर्लुम्म हुन्छ । गाँजर, मुला, काँक्रोका टोकरी लिई हिँड्ने मानिसहरू अब फलफूलहरूसितै चोकमा भेला भइहाल्छन् । मेरो दुर्भाग्यचाहिँ के भने नि, साग र फलफूल म कहिल्यै किन्दिनँ । हरियो–परियो मलाई यो जुनीमा कहिल्यै मन परेन ।
कहाँसम्म भने दारु महेफिल/जमघटमा सलाद छ भने त्यसलाई खाने मदिरा–मित्रहरूप्रति मेरो कहिल्यै पवित्र भाव आएन । सलादको कलात्मक सजावटचाहिँ सदा अपूर्व लाग्छ । तर खानु ? टोक्नु ?
त्यसरी काटेर, छिलेर, पखालेर बडो मेहनतका साथ विभिन्न कलात्मक सेप एन्ड साइजमा सजाइएको सलादलाई कुनै खुंकार दानवले झैँ अति निर्ममतापूर्वक पाशविक तवरले दाँत एवं दाह्राहरूले कुरुमकुरुम टोक्नु, चपाउनु भनेको त थर्ड डिग्री मर्डरभन्दा पनि घटिया काम भएन र १ उफ माई गड १ सेभ मी फ्रम दिज सलाद– इटर्स ।
लौ हामी त लगनखेलको बस अड्डा पो आइपुग्यौं ।
आउनुस् अब एक डोज पिसाब फेरौँ । मूत्रत्याग गरौँ । रु. ५/– मात्र लगानी गर्दा हुन्छ । पिसाबको पनि हिसाब गर्नुपर्ने १ गजब छ होइन त ? गजब छैन भने भन्नुस् ल १ यो त सस्तै मान्नुपर्छ । कसो देशका वाणिज्य तथा अर्थमन्त्रीहरू यस्ता सार्वजनिक मूत्रालयतिर आउँदैनन् । धन्य छ प्रभु १ नत्र यिनीहरूले पिसाबमा समेत भ्याट र कर लगाउन बेर लगाउँदैनन् ।
पिसाबमा भ्यालु एडेड ट्याक्स ∕ अन्त:शुल्क १ नहाँस्नुस् न भन्या १ कुरा सिरियस छ ।
नाउ, मिट मिस्टर ढकाल । पपुलरली नोन एज ढकाल बाजे । यो मेरो दोस्रो चिया अड्डा ।
— सरलाई आज दुई पेग चाहिएलाजस्तो छ । पहेंलो रङको साथी पनि ल्याउनुभा रहेछ ।
— हो हो दुई पेग दिनुस् । हार्ड एन्ड स्ट्रङ विदाउट वाटर ।
— निट एन्ड क्लिन, सर १
— यस अफकोर्स ।
देखिहाल्नुभयो । सुनिहाल्नुभयो हाम्रो संवाद । यहाँ एक कप चिया भन्नु आपत्तिजनक हुन्छ । पेग नै भन्नुपर्छ ।
यिनी मान्छेचाहिँ रोचक एवम्, रसिक पाराका छन् । सडक किनारा नै यिनको राजकीय पसल हो । एउटा बेन्ची, पाँच छवटा मुढा, स्टोभ, दूधका भाँडाकुँडा, सिसाका गिलास, जुठो खकाल्ने बाटा इत्यादि यिनको पुँजी हो । यिनी गफास्टक हुन् । यिनको खोपडीमा संसारभरको सूचना छ । कार्ल माक्र्सको पुँजीदेखि भागवत गीताका श्लोक हुँदै बाराक ओबामाको पछिल्लो क्युबा भ्रमणबारे यिनी धाराप्रवाह प्रवचन दिन सक्छन् । तपाईंको अनुहार हेरेर नै यिनले तपाईंको पूर्वजन्मको सनसनीखेज खुलासा गरिदिन्छन् ।
एक दिन यिनले मलाई प्वाक्क भनिदिए :
— पूर्वजन्ममा तपाईं अफ्रिकाको हिप्पोपटमसको अवतारमा हुनुहुन्थ्यो ।
हिप्पोपटमस ? त्यो पनि अफ्रिकन १ सो कल्ड नगरकोटी पूर्वजन्ममा हिप्पोपटमस पो थियो । कस्तो गजब कुरा १ चिया पारखीहरू गलल्ल हाँसे । मैले पनि आफ्नो हाँसो रोक्न सकिनँ । उसले त अझ हौँसिँदै यसो पो भन्यो :
— तपाईं फिमेल हिप्पोपटमस हुनुहुन्थ्यो । अर्थात् लेडी हिप्पो ।
त्यो दिनभरि मलाई हाँसो उठ्यो । जबजब म उसको अनुहार सम्झन्थें म आफूलाई हो न हो फिमेल हिप्पोपटमस भएको ठान्थेँ र एक्लै मरीमरी हाँस्न थाल्थेँ । साँझपख खाना खाने बेला पनि अनायासै हाँसे । अर्धाङ्गिनीलाई मिस्टर ढकालको कुरा सुनाउँदा उनी आक्रोशित पो भइन् । भन्न थालिन् :
— मेरो लोग्नेलाई हिप्पोपटमस भन्ने त्यो पाजीको यत्रो हिम्मत ?
त्यसपछि अर्धाङ्गिनीको आक्रोश देखी/सुनी हाँसें ।
ढकाल बाजे यस्तै रोचक छन् । चीजबीजका यिनका आफ्नै शब्दहरू छन् । जस्तो कि चुरोटलाई यिनी धुम्रकेतु भन्छन् । स्टोभलाई अग्निकुण्ड । जब यिनी एनजीओ क्लब भन्छन् तब हामीले एमाले पार्टी भनी बुझ्नुपर्छ । उनका अनुसार राप्रपाको फुलफर्म राष्ट्रिय प्रहसन पार्टी हो । माओवादी पार्टीलाई नवबुर्जुवा दल भन्छन् । त्यसको सर्ट फर्मचाहिँ ‘नबुद’ हो । एकताका मलाई यिनी कांग्रेसी पो रैछन् जस्तो लाग्यो । खसखस लागेर सोध्या थिएँ : ढकालजी कांग्रेसचै के हो नि ! नामै लिनुहुन्न ।
‘त्यो दलको नाम उच्चारण गर्यो भने बोल्नेको जिब्रो र सुन्नेको कान अपवित्र हुन्छ,’ उनले भने ।
यिनलाई हँसिमजाकमा कसले भेट्ने ?
जुठो गिलास खकाल्दा यिनी यस्तो खालको आफ्नै गीत गाउँछन् :
‘मिया खाए दारु, पिया खाए चाय
मिया और पियाका ईश्क हाय हाय’
लाग्छ आज यिनी गाउने मुडमा छैनन् । त्यसैले आउनुस् हिँडांै । बाटो लागौँ । हाम्रोसामु लमतन्न सुतेको बाटो मंगलबजार जान्छ । यो क्षेत्रको सबैभन्दा भीडभाड हुने ठाउँ यही हो । भीड कस्तो भने तपाईंबीचमा गई उभिइनु मात्र पर्छ, धकेलिइँदै धकेलिइँदै तपाईं बिनापरिश्रम अर्को किनारमा पुग्नुहुन्छ । बीचमा एक निद्रा सुते पनि हुन्छ । उ: त्यो बाटोको दायाँ भागको आइसक्रिम पसल छ नि– हो, त्यहाँ उहिल्यै उहिल्यै म प्राय: राति जाने गर्थें आइसक्रिम खान । अक्सर जाडो सिजनमा । दारु खाइसकेपछि मलाई यहीँको भ्यानिला आइसक्रिम खानुपर्ने । सुन्दर कविता, कथा लेख्ने साहित्यकार अविनाश श्रेष्ठसित यो पार्लरको रेफ्रिजेरेटरभित्र मैले केही यादका आइसक्युबहरू छाडेको छु । यहीँको आइसक्रिम खाँदै पाटनका गल्लीहरूमा पुराना गीतहरू गाउँदै हामी हिँड्ने गथ्र्यौँ । अँधेरी रातमा होनचा– ऐलाको रमरम मातमा । दिलको चिहानमा वर्षौंअघि गाडिएका स्मृतिहरूलाई उहाँ खोल्नुहुन्थ्यो । खोतल्नुहुन्थ्यो ।
वास्तवमा कविको हृदय यस्तो सुनसान चिहान हो जहाँ बतास पनि उदासउदास र हतासहतास चल्छ उच्छवासका साथ । सुकेका पातहरूमा प्रेमका आदिम रातहरू सर्याकसुरुक गर्छन् । शीतमा मनमीतको गितीप्रीत हुन्छ । मनसुनमा एकान्तको आत्मगलित भनसुन हुन्छ । हिउँको फुसफुस दाना वेदनाको गानामा चुर्लुम्म हुन्छ । त्यस्तो चिहानमा तपाईंले कुनै रात बिताउनु भा’ छ ?
तर, अब त त्यो समय नै कहाँ रह्यो र १ आइसक्रिम पग्लिएसरी यादहरू पनि पग्लिए । तर पनि भन्न मन लाग्छ याद त्यस्तो भ्यानिला हिम–क्रिम हो जो पग्लिए पनि त्यसले छाडेका धर्साहरू, डोबहरू, दागहरू, मनमा गढेर बस्छन् । कसो ? हो कि होइन १ होइन भने होइन भन्नुस् न, किन यति चुप ?
कमन लेट्स ह्याभ सम् मालपुवाज एन्ड ग्वालमरिज । दिनको सुरुआत मालपुवा र ग्वालमरीबाट र अन्त्य चटामरी, बारा, हाकु छोयलाको साथमा टिपिकल नेवारी ऐलासित गर्नु भनेको पाटनको सम्मान गर्नु हो । पाटनलाई प्रेम गर्नु हो । वन्ट सम मोर ? ये दिल मागे मोर ? दुई गेडा ग्वालमरी थप्ने पो हो कि १ होइन होइन यहाँको चिया नखाऔं । मिठो छैन । थर्मसको चिया पनि के चिया ?
बरु आउनुस् लामाको चिया अड्डामा छिरौँ । कुनाको कुर्सीमा तसरिफ राखौँ ।
यो पाटनको पुरानो व्यवस्थित बजार हो । तरकारी बजार पनि भनिइने यो ठाउँ सस्तो बजारको नाउँले पाटनका रैथानेहरूबीच लोकप्रिय छ । तर कुनै समय गुल्जार यो बजारले अहिले आफ्नो बैंस गुमाइसकेको छ । हामी अहिले लामाको चियापसलमा छौँ । कस्तो लामा भनेर चाहिँ नसोध्नुस् । किनकि नाम त मलाई पनि थाहा छैन । म प्राय: बस्ने भनेको यही कुनामा हो । मेरो पद–विहारको तेस्रो चिया अड्डा ।
हामीसामु देखा परेका चियाबाजहरू यो पसलका नियमित ग्राहक हुन् । चनासितै उसिनेको अण्डा खाइरहेको मान्छे– लामाका अनुसार –गुप्तचर विभागको कर्मचारी हो । हेर्दै जानुस्, निज अण्डा मानवले यसपछि फिक्का चिया खानेछ । नुन हालेको । नमक टी ।
बेलनाले भकाभक रोटी पेलिरहेकी आइमाई लामाकी जहान हो । ढाका टोपी र ज्वारीकोट लगाएका दुई बुढा एकआपसका घनिष्ट दौंतरी हुन् । यिनीहरू सदा साथमा हुन्छन् । दुवै पाखुराभरि ड्रागन–ट्याटु रोपेको युवा फेसबुक एडिक्ट हो । यसलाई तपाईं यदाकदा गाँजाको पेपर रोल गरिरहेको अवस्थामा पनि देख्न सक्नु हुनेछ । तर गाँजाभन्दा ठूलो नशा त उसलाई हेर्दा फेसबुक नै देखिन्छ । लाग्छ, फेसबुकको गजेडी नशाबाट निजलाई फेसबुकका देवदूत मार्क जुकरबर्गले समेत कल्याण गर्न सक्ने छैनन् ।
निजसामु दुवै हातले च्याप्प गिलास समाती सुरुप सुरुप आवाज निकाल्दै चिया खाँदै गरेको मनुवाचाहिँ अभिनेत्री रेखा थापाको अभूतपूर्व फ्यान हो । यस्तो खालको क्रेजी फ्यान तपार्इं देशमा विरलै भेट्न सक्नुहुन्छ । उ लवस्तरो तथा हाउडे किसिमको मनुवा हो । हाउडे शब्दले मलाई अकसर विश्वविख्यात जादूगर हाउडिनीको स्मरण गराइदिन्छ । कहिलेकाही शब्दको सम्बन्धबारे सोच्दा म हैरान हुन्छु । जस्तो कि जापानी किमिनो । हिन्दी कमिनासित म्याच गर्ने । त्यसमा नेपाली किमा थप्नुस् । किमिनो, कमिना र किमा । त्यसपछि एउटा गज्जवको वाक्य गठन गर्नुस् –किमिनो लगाएको कमिनाले किमा खायो ।
खैर, म हाउडेको कुरा गर्दै थिएँ यी चियाबाजहरू प्राय: हाउडेको मजाक गर्छन् । खिल्ली उडाउँछन् । तर उ ङिच्च ङिच्च हाँस्दै सम्पूर्ण मजाकलाई टोलरेट गर्छ । टोलरेट शब्द टोइलेटजस्तो सुनिएन ? अँ त हाउडेको एउटा रुचि बडो जबर्जस्त छ । ऊ राशिफल हेर्ने मान्छे हो । पत्रिकामा उ सदा कन्या राशि हेर्छ ।
कन्या उसको राशि भने होइन नि १ उसका अनुसार रेखा थापाको हो । आफ्नै राशिको चाँहि उसलाई बालै भएन । रेखा थापाको राशिमा ‘उत्साह बढ्ने’ लेखिएको छ भने ऊ त्यसैत्यसै उत्साहित हुन्छ । ‘अस्वस्थता’ लेखिएको छ भने खिन्न हुन्छ । ‘पराक्रम बढ्ने’ लेखिएको खण्डमा ऊ लामासित दुइटा अण्डा माग गर्छ ।
हाम्रो छेवैमा बसी स्टिलको ठूलो गिलासमा एक्स्ट्रा चिया जो खाइरहेको छ, त्योचाँहि स्वर्णमन्दिरको उत्तरी द्वारमा बस्ने मगन्ते हो । गिलास उनको आफ्नै हो । उनी आफैँ ल्याउँछन् । मझैं मौनप्राय: रहन्छन् । उनको खल्तीमा तपाईंले हात हाल्नुभयो भने प्रशस्त सिक्काहरू फेला पार्न सक्नुहुन्छ । लामालाई उनले चिया खाएबापत बुझाउने भनेको तिनै सिक्काहरू हुन् । मैले उनको हातमा कागजको रुपैयाँ कहिल्यै देखिनँ । वाई द वे रुपिँया र उपिँया उस्तैउस्तै हुन् । कहिल्यै एक ठाउँमा नबस्ने ।
अनि लामा नि १
अब सुन्नुस् लामाको कथा :
यो टहरोमा यतिका ग्राहकहरू माझ म ठ्याक्कै कहिलेदेखि देखिइन थालेँ त्यसको मलाई हेक्का छैन । कहिलेदेखि यहाँ आउन थालेँ ठीक यकिनसाथ भन्न सक्दिनँ ।
म आउँथेँ । यो कुनामा बस्थेँ । चिया पिउथेँ । जान्थेँ ।
तपाईंलाई अचम्म लाग्ला । भर्खरै उल्लेख गरेका यी मानिसहरूसित मैले आजसम्म दोहोरो कुरा गरेको छैन । यिनीहरूको निम्ति मेरो हैसियत केवल परचक्रीजस्तो मात्र थियो । एउटा अज्ञात स्ट्रेन्जर जो उनीहरूलाई सुन्छ, उनीहरूको क्रियाकलाप हेर्छ र प्रतिक्रियामा मौनस्त रहन्छ । साहुजीलाई सबैले लामा भनेको सुनेर मैले पनि लामा भनेको हुँ । घर दोलखा । उमेर यस्तै ५५ हो कि । नहुन पनि सक्छ । उनलाई म यदाकदा बाटोघाटोमा देख्थेँ । काँधमा दुधको क्रेट बोकी हिँडेको । औँलाबीच अकसर चुरोट सल्किरहेको हुन्थ्यो । त्यो चुरोट ओठमा बिरलै बस्थ्यो । कहिले कता कहिले कता सल्किरहेको हुन्थ्यो । गल्लीतिर मलाई भेट्दा–वर्दा हाँसेको जस्तो गर्थे । आफ्नो पसलको चिया गाहकी ठानी मलाई उनी भाउ दिन्थे । बदलामा म पनि फिस्स गर्थेँ । हाम्रो सम्बन्ध त्यति मात्र थियो । जम्मा त्यति नै ।
तर एक दिन त्यो सम्बन्धले आफ्नो आयतन फैलायो, यसरी :
त्यो बिहान पनि चिया पिउँदै थिएँ चुपचाप । चुरोटको धुँवा उडाउँदै त्यो परको मत्स्यपसलको आँगनमा चाङ लगाइएका माछाहरू हेर्दै थिएँ जो चिप्लँदै भुइँमा झरिरहेका थिए । यस्तैमा लामा मेरो अघिल्तिर उभिन आइपुगे । उनको दुवै हात फैलिएको थियो । फैलिएको हातमा ‘कान्तिपुर’ थियो । पत्रिकामा मेरो याँमानको तस्बिर थियो । लामाले तस्बिरतिर इसारा गर्दै भने– यो मान्छे तपाईं हो ?
मैले हो ‘भनेँ’ । खासमा त्यो ‘कोसेली’ थियो जहाँ मेरो अन्तरर्वाता छापिएको थियो– ‘सामाजिक यथार्थवादले ध्वस्त पार्यो’ शीर्षकमा । छेवैमा मेरो किङसाइज्ड फोटो थियो । फोटोग्राफर किरण पाण्डेले खिचिक्क खिचेको फोटोमा म फिस्स गरि रेलिङमा अडेसिएको थिएँ ।
आफ्नो गुपचुपे जोगी ग्राहकलाई पत्रिकामा देखेर लामा चकित र ट्वाँ परेका रहेछन् । गाहकी त ठूलै मान्छे रैछ भन्ने उनलाई भ्रम परेछ । भने पनि :
‘तपार्इं त ठूलो लेखक हुनुहुँदो रैछ ।’
‘ठूलो होइन,’ मलाई संकोच लाग्यो ।
‘पत्रिकामा यत्रो ठूलो फोटो छ । तपाईं ठूलै लेखक हुनुपर्छ । नत्र किन छाप्थ्यो ?’
सबै ग्राहकहरू मतर्फ हेर्न थाले । ‘कोसेली’ हातहातबाट सर्दैसर्दै सबैकहाँ पुग्यो । सबैले फोटोसित मलाई दाँजेर हेर्न थाले, पुलुकपुलुक । आफ्नो गुप्त परिचय यसरी कत्लेआम भएकोले बढो असहज महसुस गरेँ । यता लामाको प्रश्न जारी थियो :
‘के लेख्नुहुन्छ ?’
‘कथा । वास्तवमा कथाकर्मी हुँ,’ भनेँ ।
‘कथाकर्मी ? सिकर्मी, डकर्मी जस्तै कथाकर्मी ?’ उनको जिज्ञासा ।
‘हो हो, त्यस्तै,’ भनेँ ।
‘हामीजस्तो सामान्य मानिसको कथा पनि लेख्नुहुन्छ ?’
‘लेख्छु नि ।’
पत्रिका साहुनीको हातमा पुग्यो । रोटी बेल्न/पेल्न छाडी मलाई हेरी । अनि आफ्नै पारामा यसो भनी–
‘पत्रकारले भिखारी, कुकुर बिरालोको फोटो खिच्छ र पत्रिकामा छाप्छ । अस्ति हाम्रै पसलको छेउमा एउटा माग्नेको फोटो खिच्दै थियो ।’
समय आफ्नै अगतिलो गतिमा हिँड्दै गयो । लामो समय चियापसलमा गईनँ । मलाई कताकता लाग्यो लामाको चिया अड्डामा मैले एउटा सामान्य गाहकीको आफ्नो स्वआर्जित हैसियत गुमाएँ । आइन्दादेखि न उनले मलाई विशेष खालको दृष्टिले हेर्नेछन्, मानमनितो पनि गर्नेछन् भन्ने कल्पनानै मेरो लागि कहालीलाग्दो थियो । आफ्नो अज्ञात परिचय– एक स्ट्रेन्जर– को भूमिका नै मेरो परिचय थियो । उनको निम्ति म कुनै अपरिचित गाहकी भएकै गलितो हुने थियो । म कसरी ‘ठूलो’ हुन सक्थेँ र १ कथित ठूलो भएपछि ठालु पनि हुनुपर्ने हुँदो हो ? यो दु:खदायीपूर्ण थियो ।
तर असोजको एक बिहान–तीन महिनापश्चात मलाई त्यो चिरपरिचित चियाको पुरानो गन्ध र स्वादको याद आयो । त्यो चिया जसलाई लामाबाहेक अरू कसले पो बनाउन सक्थ्यो र १ टहरामुनि लुसुक्क छिरेँ ।
यही ठाउँमा बसेँ ।
साहुनीले चिया ल्याइदिई । लामालाई देखिनँ । टेबलमै बाँकी रहेका जुठा गिलास लैजादैँ गरेकी साहुनीलाई सोधेँ :
‘लामाजी खोई ? देख्दिनँ त ?’
‘लामा त मर्यो,’ उसले भनी ।
त्यो ज्यादै अप्रत्यासित अनि अकल्पनीय जवाफ थियो । म अक्क न बक्क परेँ । उसैले भनी– ‘झट्ट बिरामी भयो । हस्पताल लगेको भोलिपल्ट मर्यो । निमोनिया भन्थ्यो डक्टर ।’
चिया बेस्वादको खल्लो लाग्यो । चियाको गन्ध र स्वादमा लामाको जादू, आत्मीयता पनि कहाँ थियो र १
लामा कति जतनका साथ चिया बनाउँथे भने म उनले चिया पकाएको हेरिबस्थेँ । आफ्ना सम्पूर्ण ग्राहकको स्वादमाथि उनको पूर्ण नियन्त्रण थियो । स्वादको उनी खुप हेक्का राख्थे । कुन गाहकीलाई कस्तो स्वाद चाहिन्छ, को चिनीबिना खान्छ, कसलाई चिनी बढी चाहिन्छ, को कडा रङको खान रुचाउँछ, कसलाई मरिचको धुलो मन पर्छ र कसलाई सुकुमेलको त्यसै अनुरूपको अनुपात मिलाउँदै अड्कली अड्कली, भाँडाको सतहबाट पोखिन खोज्ने फिँजलाई फू फू फू फू गर्दै लामा चिया बनाउँथे । चिया पकाउँथे ।
पकाउनु तथा बनाउनु सायद गलत शब्द हुन् ।
लामा त बरु चियाको रचना गर्थे । चियाको सृजना गर्थे । चियाको कपमा उनी कलाकारिता गर्थे ।
त्यो दिन पैसा तिर्दा साहुनीले लिन मानिन । छक्क परेँ । यस्तो त कहिल्यै हुँदैन थियो । पैसा इन्कार गर्नुको रहस्य उसले यसरी खोली :
‘मर्नुअघि लामाले भन्यो ‘त्यो लेखकलाई मेरो तर्फबाट एक कप मिठो चिया खुवाउनु, फ्रिमा । पैसा नलिनु ।’ त्यसैले आज चियाको पैसा तपाईंले दिनु पर्दैन ।’
जिन्दगी, अस्तित्व कति बिडम्बनापूर्ण छ । लामाको कथा यस्तै थियो । लामा अब त यो पसलमा कहिल्यै नआउने गरी गइसकेका छन् । तमाम गाहकीलाई अनाथ छाडी ।
हिँड्नुस् ।
अब हामी पनि जाऔँ ।