Author Topic: Bhuwan Chand - First Nepali actress (भुवन थापा / भुवन चन्द)  (Read 6169 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?

-राजन घिमिरे

June 15, 2011



सन्दर्भ : नेपाली चलचित्रको पहिलो नायिकाको जन्मदिन
आजको अवस्थामा चलचित्रको भाषा सबैले बुझने, जान्ने र मनन गर्न सक्ने माध्यमको रूपमा स्थापित भइसकेको छ । चलचित्र अनि यसमा लागेका कलाकार एवम् प्राविधिकहरू अन्य क्षेत्र र पेसासँग आबद्ध रहेकाहरूको दाँजोमा बढी चर्चा, नाम र सम्मानको भागीदार पनि बन्दै आएका छन् । विश्व चलचित्रको इतिहासको कुरा गर्दा सन् १८८८ (वि.सं १९५५) मा Louis Alme Augustin Le Prince (French) प्रिन्सले चलचित्र क्यामरा प्रयोग गरी बनाएको ‘Roundnay Garden Snene’ नामक चलचित्रलाई विश्वकै पहिलो चलचित्र मानिन्छ र उनैलाई चलचित्रको पिता पनि भनिन्छ ।
यसरी सुरु भयो चलचित्रको इतिहास । आज चलचित्र निर्माणको क्रम विश्वभरि नै झाँगिँदै र विस्तार हँुदै अगाडि बढेकोबढ्यै छ भने यो विधाको बारेमा सुन्नेबित्तिकै कान ठाडो नपार्ने र चासो नदिनेहरू कमै भटिन्छन् । मुलुकको कला, संस्कृति, भाषा र साहित्यका साथै मनोरञ्जनको बलियो, विश्वासिलो र फराकिलो माध्यम बनेको छ चलचित्र विधा ।

यसरी सुरु भएको चलचित्रको इतिहासमा नेपालले भने सन् १९५१ (वि.सं. २००८) सालमा आएर मात्र आफ्नो उपस्थिति जनायो त्यो पनि भारतबाट बनेको नेपाली चलचित्र सत्य हरिशचन्द्रमार्फत । भारतको कोलकातामा बनेको यो चलचित्रलाई विदेशी भूमिमा बनेको नेपाली भाषाको पहिलो चलचित्र मानिन्छ र स्व. डीबी परियारले यो चलचित्रको निर्देशन गरेका चिए । विदेशमा बनेको र कलाकार एवम् प्राविधिकहरू पनि त्यति नेपाली नभएका कारण चलचित्र सत्य हरिशचन्द्रमाथि नेपालीले त्यति खुलेर प्रशंसा गर्न पाएनन् र उनीहरू गौरवान्वित पनि भएनन् ।
नेपाली भूमिमा नै छायाङ्कन भएको होस् । यहीँका कलाकार अनि प्राविधिकहरूको संलग्नता भएको चलचित्र हेर्ने कालप्रेमी नेपालीको भित्री इच्छा सन् १९६४ (वि.सं. २०२१) सालमा कलाप्रेमी स्वर्गीय राजा महेन्द्रको पहलमा पूरा भयो ।

निर्देशक स्वर्गीय हीरासिंह खत्रीको निर्देशनमा नेपालमा निर्मित पहिलो चलचित्र बन्यो आमा । यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा पहिलो ऐतिहासिक झन्डा गाडिन् भुवन चन्द -थापा) ले ।
२००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मन भएकी भवन चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्र पहिलो नायिका बन्न सफन हुनुभएको हो । चलचित्र आमामा नायिकाको भूमिका निभाउँदा उहाँको उमेर मात्र १५ वर्षको थियो ।

०२२ साल असोज ५ गते चलचित्र आमामा सार्वजनिक प्रदर्शन गरिएको थियो काठमाडौंको न्युरोडमा रहेको रञ्जना हलमा । हिन्दी र अङ्ग्रेजी चलचित्रहरू नबुझे तापनि हेरिरहेका नेपाली दर्शकहरूलाई आफ्नै भाषामा सिनेमा हेर्नुको मज्जा अर्कै थियो ।

नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सुरुमा त गायिका नै हुन् । आफ्ना पिता उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी छोरी भुवन चन्दले २०१८-२०१९ सालतिर गीत गाउन थाल्नुभएको हो । आफ्ना पिता गायक भएका कारण छोरी पनि गायन क्षेत्रमा नै लाग्नुपर्छ भन्ने परिवारको मान्यताविरुद्ध गएर त्यसबेलाको अवस्थामा पनि साहसिक कार्य गर्दै उहाँ अभिनयतिर होमिनुभयो । त्यसो त बालकृष्ण समको नाटकबाटै २०१० सालबाट उहाँले बाल कलाकारको रूपमा आफूलाई रंगमञ्चमा उतार्नुभएको थियो ।

तत्कालीन सरकारको सूचना विभागले फिल्म बनाउने भन्ने जानकारी पाएपछि त्यतिबेला भुवन चन्दलगायतका केही कलाकार सूचना विभागमा गए । त्यतिबेला उहाँ राष्ट्रिय नाचघरमा करारमा काम गर्नुहुन्थ्यो । चलचित्र आमामा काम गर्ने इच्छा बोकेर भुवन चन्दका साथ त्यतिबेला विमला श्रेष्ठ, चैत्यदेवी -पहिलो नेपाली रंगीन चलचित्रकी नायिका)लगायतका कलाकारहरू सूचना विभाग पुग्नुभएको थियो ।
अन्तर्वार्ता दिएको पाँच-६ महिनापछि मात्र फिल्म बन्ने कुरा थाहा पाउनुभयो भुवन चन्दले । पहिलो चलचित्र आमाको नायकका लागि पहिले प्रेमप्रकाश मल्ल छानिनुभएको र पछि ‘होम सिक’का कारण उहाँले चलचित्रमा काम गर्न इन्कार गरेपछि त्यसै चलचित्रका गायक शिवशंकर मानन्धर नै नायकको रूपमा छनोट हुनुभएको थियो चलचित्र आमामा ।

चलचित्र आमाको प्रथम प्रदर्शनको अवसरमा आफू नेपालमा हुन नपाएकोमा निकै दु:खित हुनुहुन्छ भुवन चन्द । त्यसबेला उहाँ सांस्कृतिक कार्यक्रममा भाग लिन चीन जानुभएको थियो । चलचित्र आमा हेरेपछि कलाप्रेमी राजा स्वर्गीय महेन्द्रबाट त्यतिबेला सम्मान र कदरस्वरूप चार हजार बक्सिस पाएको क्षणलाई आज पनि भुवन चन्द झलझली सम्झनुहुन्छ ।

कलाकारिता क्षेत्रमा लागेपछि पढाइ बीचमा नै छाड्नुपरेको थियो उहाँले । पढाइ बीचमा छाड्नुपरेकोमा खिन्नता लागे पनि नेपाली चलचित्र क्षेत्रले दिएको मान-सम्मान अनि उचाइ प्राप्त गर्न पाउनुलाई भने उहाँ गर्व गर्नुहुन्छ । आफ्नो जन्मघरमा बुबा उत्साद स्वर्गीय भैरवबहादुर थापा नै कलाकार हुनुभएकोले आफूलाई कलाकार बन्न जन्मघरबाट त्यसै असहयोग नभए तापनि मामाघरबाट भने उहाँलाई त्यति सपोर्ट थिएन ।
भुवन चन्द र माइकल चन्दबीचको वैवाहिक प्रसङ्ग पनि निकै रोजक र उल्लेख गर्न लायकको छ । त्यतिबेला भुवन चन्द राष्ट्रिय नाचघरमा कलाकारको रूपमा काम गर्नुहुन्थ्यो भने माइकल चन्द राष्ट्रिय नाचघरमा नै अङ्ग्रेजीमा उद्घोषण गर्नुहुन्थ्यो कार्यक्रमतिर । त्यसै क्रममा भुवन र माइकलको भेट भएको थियो । यो भेटले अन्तत: एक-अर्कालाई जीवन साथीमा रूपान्तरित गर्‍यो भने २०३३ सालमा हिन्दू परम्पराअनुसार विवाह भयो भुवन थापा र माइकल चन्दबीच । माइकल चन्दलाई श्रीमान्को रूपमा पाउँदा भुवन चन्द जति गौरव गर्नुहुन्छ त्यो भन्दा बढी माइकल चन्द खुसी हुनुहुन्छ नेपालकी पहिलो ऐतिहासिक नायिकाको श्रीमान् हुन पाएकोमा ।

रेडियो नेपालमा आफ्नै पिताको साथी गायक शिवशङ्कर मानन्धरको धेरैपटक औंला समातेर भुवन चन्द रेडियो नेपाल आउने-जाने गर्नुहुन्थ्यो तर संयोग अन्तत: विपनामा शिवशङ्कर मानन्धरकै जोडी अर्थात् आफ्नै पिताको साथीको नायिका भएर पर्दामा देखापर्ने दिन आयो भुवन चन्दको जीवनमा ।

कुरा सन् १९७२ तिरको हो । कलाकार भनेपछि असल खालका हुँदैनन् भन्ने थियो । आफू रेडियो नेपालको अङ्ग्रेजी समाचारवाचक अनि भुवन चन्द प्रथम नेपाली चलचित्रकी नायिका । त्यतिबेला विवाह गर्दा साथी भाइले पनि अब माइकलले के गर्न लाग्यो ? सिनेमामा नाच्ने केटीसँग विवाह गरेर बर्बाद गर्न लाग्यो भनेर आफूलाई जिस्क्याउन थालेको कुरा उहाँ स्मरण गर्नुहुन्छ । उहाँ भुवन चन्दलाई नेपालको ठूलो सम्पत्ति ठान्नुहुन्छ । त्यतिबेलाको समाजसँग विद्रोह गरेर बाहिर निस्किएर अन्य महिलालाई पनि प्रेरणा दिन भुवन चन्द सफल भएको कुरा माइकल चन्द बताउनुहुन्छ ।

हालसम्म तीन दर्जन नाटक, रेडियोनाटक त्यत्तिकै सङ्ख्यामा एवम् दर्जनभन्दा बढी टेलिफिल्म अनि तीसवटाभन्दा बढी चलचित्रहरूमा निरन्तर रूपमा अभिनय गर्दै आउनुभएकी भुवन चन्दको आजको जीवन निकै सुखदायी, आनन्ददायी र सौखिन किसिमले बितिरहेको छ । उहाँका तीन छोरी अमेरिकामा अध्ययनरत छन् भने आफ्ना पति सञ्चारकर्मी माइकल चन्दसँग काठमाडौंको महाराजगन्जमा बस्दै आउनुभएकी भुवन चन्दलाई यो मुलुकले सधैं सम्मान गर्न सक्नुपर्छ । भावी पुस्ताका लागि भुवन चन्द थापा एउटा अध्ययन, दस्तावेज र उदाहरणीय कलाकार हुन् भन्दा समर्थनमा ताली नबजाउनेहरू शायदै होलान् ।



tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
‘आमा’ भन्दा अघि ‘माइतीघर’ बन्ने र त्यसकी नायिका माला सिन्हाकी छोरीको चरित्रमा अभिनय गर्ने पक्कापक्की भए पनि कारणवश ‘माइतीघर’ समयमा बन्न नसक्दा ‘आमा’ ले कीर्तिमान कायम ग¥यो । अहिले पनि नेपाली दर्शकले उहाँलाई नेपालको पहिलो नायिकाका रुपमा चिन्छन् ।

‘आमा’ पछि उहाँले ‘हिजो आज भोलि’ चलचित्रमा नायिकाको भूमिका खेल्नुभयो । त्यसपछि भने उहाँ चरित्र अभिनयमार्फत दर्शकमाझ आउनुभयो । “नायिकाको उमेर तय हुँदोरहेछ” – उहाँले भन्नुभयो – “म नायिका भएर आमा खेल्दा १५÷१६ वर्षकी हुँदी हुँ । दोस्रो चलचित्रमा नायिका भइसकेपछि मेरो उमेरले नायिका हुन दिएन । २५÷२६ वर्षकै उमेरदेखि म चरित्र अभिनयमा जमेँ । म स्टेज कलाकार भएकाले नायिका हुनु र चरित्र अभिनेत्री हुनुमा खासै फरक थिएन । दुवैमा म अभिनय देखाउन सक्थेँ ।”

दश वर्षको उमेरमा नै ‘अन्धोवेग’ नाटकबाट बालकलाकारको भूमिकामा उहाँले अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यतिबेलाको समयलाई स्मरण गर्दै उहाँले भन्नुभयो – “मेरा सहयात्री बसुन्धरा, चैत्यदेवीहरु थिए । ‘आमा’का लागि हामी सबैलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । त्यतिबेला म नाचघरमा जागिरे भइसकेको थिएँ । हाकिमले ‘नेपाली फिल्म बन्ने भएको छ त्यसका लागि तिमीहरु अन्तर्वार्ता दिन जानुपर्छ’ भन्नुभयो । भारतबाट हीरासिंह खतिवडा आउनुभएको थियो हामीसँग अन्तर्वार्ता लिन । हामी सबैले अन्तर्वार्ता दियौँ । म नायिकाका रुपमा छनोट भएँ । बसुन्धरा, चैत्यदेवी चरित्र अभिनयका लागि छानिए ।”

रेडियो नेपालका अङ्ग्रेजी समाचार वाचक हरिश चन्द (माइकल) सँग २०३३ सालमा विवाह भएपछि उहाँको अभिनयले झन् गति लियो । विगतको स्मरण गर्दै उहाँले भन्नुभयो – “मलाईभन्दा पनि मेरो श्रीमान्लाई अभिनय धेरै मनपर्छ । उहाँले अभिनयका लागि समर्थन जनाइदिनु भएपछि घरका अन्य सदस्यको पनि स्वीकृति मिल्यो । त्यसपछि म चलचित्रमा भन्दा बढी रङ्गमञ्चमा व्यस्त हुन थालेँ । चार÷पाँच वर्षमा एउटा चलचित्र बन्न थाल्यो । नयाँ कलाकार पनि विस्तारै जन्मिन थाले । हामीले चलचित्रमा काम गर्न सुरु गर्दा कलाकार नै पाइन्नथ्यो, त्यसपछि विस्तारै नयाँ कलाकार पनि देखिन थाले ।”

आफ्नो पालामा बन्ने चलचित्र परिवारका सदस्य सबै बसेर हेर्न मिल्ने बन्थ्यो भने अहिलेका चलचित्र एक्लैएक्लै हेर्नुपर्ने कथावस्तुको बन्ने गरेकामा भने उहाँको गुनासो छ । “३÷४ वर्ष अगाडि बनेको चलचित्र हेर्दा लाग्थ्यो अब नेपाली चलचित्र उद्योग खत्तम हुने अवस्थामा पुग्यो तर अहिले विस्तारै नेपाली चलचित्र राम्रो हुन थालेको छ । चलचित्र पढे लेखेका कलाकार र निर्देशक आउन थालेपछि नेपाली चलचित्रमाथि उठ्न थालेको छ” – उहाँले सुनाउनुभयो ।

अहिलेका कलाकार आफ्ना क्षमतामा भन्दा बढी कृपावादतिर उन्मुख भएकामा उहाँलाई चिन्ता लाग्छ । उहाँले भन्नुभयो – “हामी कलाकार सबैका हौँ तर अहिले त कलाकारसमेत राजनीतिक पार्टीको भागबन्डामा परेका छन् । कामको मूल्याङ्कनभन्दा पनि कुन पार्टीका कलाकारको पालो हो भन्नेतिर लाग्छन् । त्यस्ता कलाकारले नै स्थान पाइरहेका छन् ।”

नयाँ कलाकारले पुराना कलाकारलाई सम्मान नगर्ने प्रवृत्ति देखेर अचम्म लागेको बताउने कलाकार भुवन आफ्ना पालामा ‘सिनियर’ कलाकार भनेपछि मनैदेखि श्रद्धा जाग्ने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “अहिलेका कलाकार त पुराना कलाकारलाई देखेको नदेखे झैँ गरेर हिँड्छन्, त्यसलाई भने सुधार्नुपर्छ अहिलेका कलाकारले, सबै कलाकार राम्रा छन् । उनीहरुको काम पनि राम्रो छ । तर संस्कार पनि राम्रोे चाहिन्छ ।”

उहाँका तीन छोरी भए पनि कोही अभिनयमा छैनन् । सबैले केही समय सञ्चार क्षेत्रमा बिताए पनि अहिले सबै अमेरिकामा छन् । उहाँ भने जीवन रहेसम्म अभिनयमा लागिरहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “बाल्याकालदेखि नै अभिनयको स्वाद बस्यो अब यो उमेरमा अरु के गरुँ ?”