Author Topic: Nepali Language (नेपाली भाषा)  (Read 16367 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
नेपाली भाषा: सरलता कि विकृतितिर ?

स्रोत: कान्तिपुर

–प्रा. कुमारबहादुर जोशी

नेपाली साहित्याकाशका तीन तारा (-लेखनाथ, सम र देवकोटा) मध्येका एक नाट्यसम्राट् बालकृष्ण समले भन्नुभएको छ:

भाषा हो सभ्यता हाम्रो सारा उदय, उन्नति

जीत, वैभव भाषामै बाँच्तछन् पछिसम्म यी ।

‘शब्द’ नामको ज्योति अर्थात् भाषा-भास्कर नहुने हो भने यो सारा संसार प्रगाढ अन्धकारमा विलीन बन्ने थियो भन्ने उक्ति संस्कृतमा पनि पाइन्छ:

इदमन्धतमः कृत्स्नं जायेत भुवनत्रयम्

यति शब्दाऽवयं ज्योतिरासंसारं न दीप्यते ।

हुन पनि हेर्ने आँखा छन्, दृश्य पदार्थ वा प्राणीहरू पनि आँखा सामु नै छन् अनि उज्यालो अर्थात् सूर्य वा बत्तीको प्रकाश पनि प्राप्त नै छ भने पनि यदि ती दृश्य पदार्थ वा प्राणीलाई अथवा तिनका रूपाकृति वा गतिविधि आदिलाई बुझाउने शब्द वा भाषा हामीसँग छैन भने ती सबै गाढा अन्धकारमा विलीन भएसरह नै हुन्छन् । यस्ता उक्ति-उदाहरणबाट हामी भाषाको अपरिमित महिमाको आकलन सहजै गर्न सक्तछौं ।


हुन त म साहित्यको विद्यार्थी हुँ, भाषाशास्त्री होइन, तर पनि साहित्यको मूल आधार भाषा नै भएकोले भाषासित पनि मेरो गहीरो सम्बन्ध छ । त्यसमाथि झण्डै साढे चार दशक (२०१७-२०६१) सम्मको आफ्नो अध्यापकीय-प्राध्यापकीय जीवनमा मैले खास गरेर जुद्धोदय, परोपकार आदि हाईस्कूल र त्रिचन्द्र, जन प्रशासन प्रभृति क्याम्पसहरूमा यदाकदा भाषा पनि पढाएँ । २०३० देखि २०३३ सालसम्म म त्रिचन्द्र क्याम्पसमा पढाउँथें, २०३४ सालदेखि चाहिं कीर्तिपुर क्याम्पसमा सरुवा भएँ । जे होस्, भाषा साहित्यको मूलाधार हो भने भाषाकै कलात्मक सरस-सुन्दर स्वरूप साहित्य हो । त्यसो भएको हुनाले भाषाको सम्यक् ज्ञानविना साहित्यमा प्रवेश सम्भव छैन ।

यतिखेर म साहित्यको होइन, अपितु नेपाली भाषाको कुरा गर्न लागिरहेछु, त्यसमा पनि केही समयदेखि यस भाषामा हिज्जेमा देखा परेको भाँडभैलोका सम्बन्धमा नै केन्दि्रत हुने ध्येय अँगालेको छु । खास गरेर २०६८ चैत ४ गते ‘कान्तिपुर’ र ‘नागरिक’ मा प्रकाशित शरच्चन्द्र वस्तीका क्रमशः ‘हिज्जेको खेल, लेख्ने जति फेल’ र ‘हिज्जेमा भाँडभैलो’ शीर्षक दुई लेख र त्यस लगत्तै उक्त हिज्जेकै सन्दर्भमा चैत १३ गते ‘कान्तिपुर’ मा प्रकाशित ‘ललितपुर घोषणापत्र, २०६८’ पढेपछि यस सन्दर्भमा केही लेख्ने प्रेरणा मलाई प्राप्त भएको हो । त्यसपछि पनि पत्रपत्रिकामा प्रकाशित हरि अधिकारी, खगेन्द्र संग्रौला, जगदीश घिमिरे जस्ता लेखकका लेखहरूबाट पनि यो लेख्ने थप प्रेरणा मैले पाएँ । यसै कारण, अति कमजोर स्वास्थ्य स्थितिका बावजूद म यो लेख्ने जमर्को गर्दैछु ।

वास्तवमा केही समयदेखि नेपाली भाषाका शब्दहरूमा वर्णविन्यास वा हिज्जे सम्बन्धी भाँडभैलो जो देखा परेको छ, त्यसका मुख्य कारण दुई छन् । तीमध्ये एउटा हो— ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ भनेझैं खास गरी संस्कृतेतर भाषाबाट नेपालीमा आएका आगन्तुक शब्दहरूमा सरलीकरणको नाममा हिज्जेसम्बन्धी अपरिपक्व नियमहरू बनाएर लाद्नु । अर्को हो— सरलीकरणकै नाममा नेपाली भाषाको कथ्य वा उच्चार्य ध्वनि अनुसार शब्दहरूमा वर्णविन्यास गर्ने कच्चा फर्मान जारी गर्नु । यसरी वा जे-जसरी भए पनि यस राष्ट्रका विविध धर्म, सम्प्रदाय र संस्कृति अँगाल्ने सयभन्दा बढी जातजातिको आपसी विचार विनिमयको माध्यम भाषा वा जीवन्त साझा भाषाका रूपमा रहेको नेपाली जस्तो भाषामा हिज्जेसम्बन्धी यस्तो भाँडभैलो देखा पर्नु नितान्त चिन्ताको विषय हो । नेपालको एकमात्र राष्ट्रभाषा नेपालीमा हिज्जेसम्बन्धी यो रोगको बीजारोपण वास्तवमा हामीले नै जानी-नजानी गरेका हौं र अब यस रोगको निदान-निक्र्योल र यथोपयुक्त उपचार पनि यथासमय हामीले नै गर्नुपर्छ । त्यसो गर्न सकेनौं भने यो रोग भयावह रूपमा फैलिंदै जानेछ र यसले नेपाली भाषाको मात्र होइन, नेपाली मात्र कै पहिचान र अस्तित्व समेत सखाप पार्न बेर लाउने छैन ।

साँच्ची भन्ने हो भने, नेपाली भाषामा वर्णविन्यास र हिज्जेसम्बन्धी रोगको बीउ रोपिएको खास वर्ष हो, २०३५ । त्यस वर्ष नेपाली वर्णविन्यास पद्धतिका बारेमा त्रिभुवन विश्वविद्यालयका नेपाली शिक्षकहरूका क्षेत्रीय अभिमुखीकरण कार्यशाला गोष्ठीहरू विराटनगर, पाल्पा र काठमाडौँमा सम्पन्न भएका थिए । यस्तै गोष्ठीहरू पछि पोखरा, रामपुर र धूलिखेलमा पनि सम्पन्न गरिए । यी गोष्ठीमा सम्मिलित त्रिविका शिक्षकहरूबीच छलफल भई निस्किएका निष्कर्षहरू बुँदागत रूपमा अभिलेख गरिएका थिए, जसमध्ये दुई यस्ता छन्: (क) संस्कृतका तत्सम शब्दहरूलाई संस्कृतकै वर्णविन्यासका नियम अनुसार लेख्ने । अति प्रचलित भई तद्भवतुल्य भएका तत्सम संस्कृत शब्दहरूलाई चाहिं नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने (जस्तै: शीतल/सितल, वन/बन आदि) । (ख) विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई नेपाली तद्भव वर्णविन्यासका नियम र ध्वनि व्यवस्था अनुसार नै लेख्ने (जस्तै: हजुर, बि्रटिस, इन्जिनियरिङ, तालिम, क्याम्पस, म्याक्समुलर आदि) । -द्रष्टव्य: ‘अनिवार्य नेपाली शिक्षण निर्देशन’, त्रिवि पाविके, २०४६, पृ. ४७)

साँच्ची भन्ने हो भने, मूलतः उपर्युल्लिखित दुई नियमले नै केही समयदेखि नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको, त्यसमा पनि खास गरी ह्रस्व, दीर्घ -इ, ई, उ, ऊ) र श, ष, स को लेखन पद्धतिमा भाँडभैलोको बीजारोपण गरेका हुन् । यी नियमहरूले गर्दा नै अचेल शहीद – सहिद हुन पुगेको हो । त्यसै गरी पेशा – पेसा, शुरू – सुरु, कोशिश – कोसिस, शायद – सायद, नेशनल – नेसनल, यूरोप- युरोप, बीमा – बिमा, गरीब – गरिब, कानून- कानुन, खेलकूद – खेलकुद, स्कूल – स्कुल इत्यादि हुन पुगेका हुन् ।

निश्चय नै भाषा परिवर्तनशील हुन्छ र यसका नियमहरू पनि परिवर्तनशील हुन्छन् । कडा नियमहरू बनाएर भाषाको परिवर्तनशीलतालाई रोक्न, छेक्न खोजेमा त्यो भाषा मृत बन्छ, जस्तै: संस्कृत । नेपाली जीवन्त भाषा हो, यो परिवर्तन तर्फ अग्रसर हुँदै आइरहेको छ र जानेछ पनि । यस सन्दर्भमा, नेपाली भाषामा वर्णविन्यास वा हिज्जेको सरल र मानक रूप निर्धारण गर्ने प्रयासहरू विभिन्न समयमा, विभिन्न आन्दोलनका रूपमा हुँदै आएका छन् । त्रिवि अभिमुखीकरण कार्यशाला गोष्ठीका हिज्जेसम्बन्धी उपर्युल्लिखित नियमहरू पनि यसै सिलसिलामा आएका हुन्, ल्याइएका हुन्, खास गरी लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर लैजाने उद्देश्यले ।  तर राम्रो उद्देश्यले ल्याइएका, बनाइएका भए पनि यी नियमहरू कच्चा ठहरिन आएका छन्, किनभने यिनले लेख्य नेपाली भाषालाई सरलता र एकरूपतातिर मात्र होइन, अपितु अर्थको अनर्थ समेत हुने गरीकन र अझ शिष्ट परम्परा र प्रचलनबाट स्थापित भाषाको आपmनो मौलिक स्वरूप र पहिचान नै पनि गुम्ने गरीकन दिनानुदिन विकृतितिर धकेल्दै लैजान थालेको देखिंदै छ । यसले भाषा-साहित्यका हामी विद्यार्थीहरूलाई बढी चिन्तित तुल्याउनु स्वाभाविकै हो । किनभने, हाम्रो भाषा हाम्रो खास पहिचान हो । हाम्रो भाषाले आपmनो पहिचान यसरी गुमाउँदै जान थालेपछि हाम्रो पनि पहिचान गुम्ने डर स्वतः पैदा भइहाल्छ । त्यस कारण उपर्युक्त कच्चा नियमको अनुपालन गर्दै ‘शेक्सपियर’ (विश्वप्रसिद्ध साहित्यकार) लाई ‘सेक्सपियर’ (यौन जोडी), नबनाऔं. र नबनाऔं ‘शायर’ (कवि-गीतकार) लाई ‘सायर’ (पाल टाङ्ने कपडा), ‘शहर’ (गाउँको विकसित रूप) लाई ‘सहर’ (माछा), ‘नशा’ (मादक पदार्थ) लाई ‘नसा’ (रक्तवाहिनी नली) इत्यादि।

अर्को कुरा, बोलिने अङ्ग्रेजी (स्पोकन इङ्लिश) र लेखिने अङ्ग्रेजी (रिटन इङ्लिश) फरक-फरक भए जस्तै बोलिने -कथ्य वा उच्चार्य) नेपाली र लेखिने -लेख्य) नेपाली पनि समान हुँदैनन् । समयभेद, स्थानभेद, जातिभेद, वर्गभेद आदि भेदहरूले पनि बोलिने र लेखिने भाषामा भिन्नता आउँछ । त्यसैले नेपालीमा तद्भव र विभिन्न भाषाबाट आएका आगन्तुक शब्दहरूलाई ध्वनि व्यवस्था अनुसार नै अर्थात् जस्तो बोलिन्छ त्यस्तै लेख्ने भन्ने नियम बनाउनु पनि गलत हुन्छ । त्यो गल्ती पनि हामीले गरेका छौं— माथि उल्लिखित नियम -ख) बनाएर । यो गल्तीले गर्दा नेपालीमा दीर्घ उच्चारण हुँदैन, श र ष को पनि उच्चारण हुँदैन भनेर हामीले यिनलाई वर्णमालाबाटै हटाउने अर्को भूल पनि गर्न थालेका छौं । यस प्रकार नेपालीमा श र ष को उच्चारण हुँदैन भन्दै तिनको ठाउँमा स मात्रै लेख्ने र ‘अति प्रचलित भई तद्भवतुल्य भएका संस्कृत तत्सम शब्दहरूलाई पनि नेपाली तद्भव वर्णविन्यासका नियम अनुसार पनि लेख्न सकिने’ भन्ने नियम बनाएर ‘शीतल’ लाई ‘सितल’, ‘वन’ लाई ‘बन’ लेख्न थालेपछि नेपाली भाषाको स्थापित स्वरूप र अनुहारै बिगि्रने भइहाल्यो ।

माथिका कुराहरूबाट त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीहरू गरेर हामीले बनाएका उपर्युल्लिखित नियमहरू अपरिपक्व वा कच्चा रहेछन् भन्ने तथ्य स्वतः प्रमाणित हुन्छ । त्यसैले यी नियमहरूको आवश्यक संशोधन-परिमार्जन अविलम्ब हामीले नै गर्नुपर्छ भन्नेमा म छु ।

अन्तमा भन्न चाहन्छु – नेपाली भाषामा केही समयदेखि मच्चिंदै आएको भाँडभैलोले उग्र रूप धारण गर्न थालेको वर्तमान सन्दर्भमा शरच्चन्द्र वस्तीका उपर्युल्लिखित दुई लेख अत्यन्त महत्त्वपूर्ण तथा सान्दर्भिक छन् । खास गरेर लेख्य नेपाली भाषाको स्तरीकरण र मानकीकरणको यात्रामा यी दुई लेख कोसेढुङ्गा ठहरिन्छन् । जे होस्, नेपाली भाषामा देखा परेको आजको भाँडभैलोमा मुख्य भूमिका खेल्ने त्रिवि शिक्षकहरूका अभिमुखीकरण कार्यशाला गोष्ठीका छलफलबाट निष्कषिर्त उपर्युक्त अपरिपक्व दुई नियमहरूको निर्माणमा त्रिवि शिक्षकको हैसियतले मेरो पनि प्रत्यक्ष-परोक्ष संलग्नता रहेको नाताले जति अंशको दोष मेरो भागमा पर्छ, त्यो स्वीकार्दै आत्मालोचना गर्न चाहन्छु र उक्त कच्चा नियमहरूको सम्बन्धित निकायबाट आवश्यक संशोधन-परिमार्जन गर्ने-गराउने काम अविलम्ब होस् भन्ने कुरा दोहोर्‍याउन चाहन्छु। साथै नेपाली भाषाको सरलीकरणको नाममा होस् वा स्तरीकरण-मानकीकरणका नाममा, भाषासम्बन्धी अब नयाँ नियम बनाउँदा हाम्रा आदरणीय गुरु (प्रा.डा. वासुदेव त्रिपाठी, स्व. प्रा.डा. बल्लभमणि दाहाल, प्रा. ठाकुरप्रसाद पराजुली र म समेतलाई २०२१/२२ सालमा त्रिवि केन्द्रीय क्याम्पसमा नेपाली एमएमा भाषाशास्त्र पढाउनुहुने), प्रसिद्ध साहित्यकार जगदीश घिमिरेका शब्दमा ‘नेपालीका भाषाशास्त्रीहरूका भीष्मपितामह’ बालकृष्ण पोखरेलका कथन (‘गरिमा’, २०६८ कात्तिक) लाई गुरुमन्त्र मानौं भन्छु।

२०६९ साल बैशाख २० गते वुधवार।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
शहरिया बाबुआमा नेपालीमा बोल्न लगाउँदैछन् प्रतिबन्ध॑


स्रोत: नेपाली पोष्ट

-यमुना अर्याल

बाबूः           â€œà¤Ÿà¤• टू ओन्ली इङ्लिस, आर यू रेडी ? ”
छोराः          ” ओ के आइ एम रेडी ड्याडी ” ।
बाबूः            छोरा,  ” ओ के स्टार्ट ” ।

नेपाली विषयका  लेक्चर पिता र अग्रेजी लवजमा बोल्न सिक्दै गरेको छोराबिच दिनहुँ हुने संवाद हो यो । राजधानीको मध्य बानेश्वरमा बसोबास गर्ने रिजाल दम्पति र उनको एक्लो छोरा अंग्रेजीममै सबै काम कुरा गर्छन । घरमा पर-पाहूना आएको बेला बाहेक अरु बेला अग्रेजीमै कुराकानी गर्नुपर्छ । यसो आक्कल-झुक्कल बोल्दाबोल्दै नेपाली भाषा मिसियो भने अग्रेजी भाषाको शिकारु छोरालाई ड्याडीले बाथरुममा थुनिदिऊ भन्नुहुन्छ यही डरले पनि ऊ बडो होसियारी भइकन अंग्रेजीमा कुराकानी गर्छ । ठूलो भएपछि ऊ पाइलट बन्नुपर्छ , -ऊ जे सुकै बन्थ्यो होला तर परिवारले पाइलटको सपना देखाएको छ उसलाई ) त्यसका लागि अंग्रेजी त जान्नै पर्छ  ऊ अग्रेजीमै भन्छ । उसका ड्याडी मम्मीले यही कुरा उसको बालमष्तिष्कमा भर्दिसकेका छन । “मेरो त मम्मी पनि अग्रेजीमै बोल्नुहुन्छ उसले साथीभाइको मासमा अग्रेजी भाषामै भन्छ । साथीभाई पनि अग्रजीमै बोल्छन उसका अधिकाश साथीको घरमा पनि नेपाली भाषालाई ‘अलाऊ’ छैन “उसकै शब्दमा भन्नुपर्दा ।


रिजाल दमपत्तिको छोरा उनीहरुको घर  नजिकैको निजी बोर्डिङ स्कुलमा  एक कक्षामा पढ्छ, उसका दश-पन्ध्रवटा पुस्तक छन् सानाठूला गरी, एउटा पुस्तक बाहेक सबै अग्रजीमै लेखिएका छन् । एउटा पुस्तक पूरै नेपाली भाषामा लेखिएको छ जति पढे पनि आउँदैन उसलाई त्यो विषय हो अनिवार्य नेपाली  । बाबू अनिवार्य र मेजर नेपाली विषयमा चारवटा क्याम्पस पढाउँछन आमा पनि हाइस्कुलमा नेपाली विषय नै पढाउँछिन तर छोरालाई नेपाली फिटिक्कै आउँदैन । आमा बाबू स्वयम नेपाली विषयमा पोख्त भए पनि छोरालाई नेपाली भाषा बोल्न प्रतिबन्ध जस्तै छ  । अग्रेजी भाषामा खरर बोल्न सक्ने भएको छ , आमा बाबूसँग फटाफट अग्रेजीमा कुरा गर्दा आमा बाबू खुसीले गद्गद् देखिन्छन् हाम्रो छोरो कुनै खैरेको छोरो भन्दा कम छैन भन्ने दम्भ छ उनीहरुमा । घरमा नेपाली बोल्यो भने मम्मी ड्याडीले बाथरुममा थुन्नुहुन्छ स्कुलमा नेपाली बोल्यो भने टिचरले एक पिरिएड भरी उभ्याउनुहुन्छ , कहीँ नेपाली बोल्न नपाएपछि कसरी नेपाली जान्ने त मैले ?  फस्ट टर्म इक्जाममा नेपाली विषयमा अनुतिर्ण भएपछि अवोध बालकको मनमा मडारिएका प्रश्न हुन यी । लाखौं विद्यार्थीलाई नेपाली विषयमा लेक्चर दिदै आफू बाँच्ने पेशा बनाएका पेशाकर्मी नै आफ्नो भाषाप्रति यतिधेरै निच सोचाइ राख्छन भने कुनै दिन नेपाली भाषा नयाँ पुस्ताबाट लोप नहोला भन्न सकिन्न ।  अहिलेको जमाना अंग्रेजीको हो, जावो नेपाली विषय पढेर केही काम छैन उनीहरु हाकाहाकी भन्छन र हौसाउँछन आफ्नो छोरालाई अग्रेजीमा वादचित गर्न । अग्रेजी जानेपछि जहाँ पनि बिक्न सकिन्छ भन्ने भनाई नेपालीमा जिरो भएको सन्तानका आमा बाबूको मूखबाट हरक्षण सुन्न सकिन्छ ।

यो त एउटा उदाहरण हो । नेपाली विषयमा जिरो तर अरु अंग्रेजी लिपिमा लेखिएका विषयमा डिस्टिङ्सन ल्याउने छोराछोरीको सफलतामा पार्टी खुवाउने आमा बाबू धेरै छन् । जावो नेपालीमा राम्रो नम्बर नआएर र के भो त अरु विषयमा आएकै छ भन्ने खालका शब्दहरु सुनिन्छन । अन्तर्राष्ट्रिय भाषाको ज्ञान हुनु राम्रो हो, अहिलेको विश्वव्यापीकरणको जमानामा हरेक कुरामा दक्ष हुनु जरुरी छ । तर अंग्रेजी भाषा सिकाउने नाममा अवोध बाल मष्तिष्कमा बोझ थमाउनु पक्कै राम्रो होइन ।

अरुका छोराछोरीसँग आफ्ना छोराछोरीको अंग्रेजी भाषाको स्पिड जाँच्ने चलन पनि शहरीया भेगमा निकै फस्टाएको छ । फलानाको बच्चालाई त्यती राम्रो अग्रेजी आउँदो रहेनछ मेरो बच्चा त मै हुँ भन्नेका अगाडी मज्जासँग अग्रेजी बोल्न सक्छ यसखाले सवालजवाफ सुन्नमा आउँछ । ग्रामीण भेगका बालबालिका अग्रेजीमा कमजोर भए पनि नेपाली विषयमा अब्बल मानिन्छन् । सामान्य कुरा शहरीया बालबालिकालाई नेपाली भाषामा सिकाउनु पर्‍यो भने अग्रेजीमा उल्था गरिदिनुपर्छ त्यही कुरा ग्रामीण भेगका बालबालिकाको दैनिक आनीबानीमा प्रयोग भइरहेको हुन्छ । भाषामा दख्खल बनाउने नाममा आफ्नो राष्ट्रभाषाप्रति नै घृणाको भाव दर्शाउने कुरा पक्कै जायज होइन होला यसतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् । हामी  हाम्रो नयाँ पुस्तालाई समृद्ध, दक्ष, योग्य बनाऔ, तर आफ्नो भाषा प्रति नै वितृष्णा जगाउने हेतुले होइन ।

२३ फेब्रुअरी २०१०

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
नेपाली भाषामाथि चलखेल

स्रोत: ई-कान्तिपुर

-डा. खगेन्द्रप्रसाद लुइटेल

अन्तर्राष्ट्रियकरण भइसकेको र लगभग मानक रूप धारण गरिसकेको अवस्थामा नेपाली भाषामाथि चलखेल सुरु गरिएको छ र यसले विशेषतः शिक्षक-विद्यार्थीलाई अन्योलग्रस्त तुल्याएको छ । पठनपाठनमा भइरहेको एकरूपता पनि भङ्ग भएको छ । नेपाली भाषा नेपाली जातिको अस्तित्वसँग गाँसिएको हुँदा व्यक्तिगत स्वार्थभन्दा निकै माथि उठेर यसको विकासतर्फ अग्रसर हुनु आवश्यक छ ।

यसबेला भाषासम्बन्धी दुई खाले दृष्टिकोण बढी चर्चामा छन् । तिनमा एउटा पश्चगमनतर्फ उन्मुख छ भने अर्को अग्रगमनका नाममा अराजकता निम्त्याउनेतर्फ उन्मुख छ । यी दुवै अतिवादी दृष्टिकोण भएकाले यिनले अन्ततः भाषालाई खति नै पुर्‍याउँछन् । नेपाली भाषामा अहिले उठाइएको मुख्य समस्या वर्णविन्याससँग सम्बद्घ छ । वर्णविन्यास भनेको वर्णहरूको व्यवस्थित विन्यास वा वर्णहरूको ठीक रखाइ वा नियमबमोजिमको लेखन हो । ठीक ढङ्गले वर्णविन्यासको प्रयोग नगरिएमा अर्थको अनर्थ हुने हुँदा लेखाइमा वर्णविन्यास मिलाउनु आवश्यक हुन्छ । नेपाली भाषाको विशेषता नै वर्णविन्यासमा केन्दि्रत छ । ह्रस्व, दीर्घ, श, ष, स, चन्द्रबिन्दु, सिरबिन्दु, पदयोग, पदवियोग आदिलाई नेपाली वर्णविन्यासअन्तर्गत समेटिन्छ । नेपाली वर्णविन्याससम्बन्धी प्रयोगबाटै स्थापित विभिन्न नियमहरू छन् र धेरजसोले मानक रूपधारण गरिसकेको स्थिति छ भने कतिपय नियम विज्ञहरूको बौद्धिक बहसबाट संशोधन, परिमार्जन गर्न सकिन्छ र बेलाबखत भइरहेका पनि छन् । भाषा परिवर्तनशील भएकाले यससम्बन्धी नियम पनि समय, परिस्थिति, प्रयोग र आवश्यकताअनुरूप बेलाबेला परिवर्तन भइरहन्छन् । यो भाषाको नैसर्गिक गुण हो तर परिवर्तनका नाममा स्थापित मूल्यमान्यतालाई पूरै भत्काउने काम उपयुक्त हुँदैन । यतिखेर कतिपय गतिविधि त्यस्तै देखिन थालेका छन् ।

 

अहिले वर्णविन्याससम्बन्धी समस्यामा पनि ह्रस्व-दीर्घ र पदयोग-पदवियोग बढी चर्चामा छन् । कतिपयले ह्रस्व वा दीर्घ लेख्नेबारेको स्थापित मान्यतालाई पुरानैतर्फ ढल्काउने प्रयत्न गर्दैछन् भने कतिपयले प्रचलित ह्रस्व वा दीर्घलाई ठीक विपरीत बनाएर उल्टाउने कसरत गर्दैछन् । ह्रस्व वा दीर्घ लेख्दा अर्थभेदक नहुने सङ्ख्याबोधक तीन, बीस, तीस जस्ता केही शब्दका सुरुको इकार तथा तेईस, बत्तीस, छयालीस जस्ता शब्दका बीचको इकार अनि खसी, जोगी, सम्धी, स्वामी, हात्तीजस्ता पुलिङ्गी नामबोधक शब्दका अन्त्यको इकार दीर्घ हुन्छ भन्ने प्रचलित परम्परालाई भत्काएर ह्रस्व गर्दैमा भाषाको विकास भइहाल्दैन । यस्ता शब्दलाई ह्रस्व गर्नु नै पर्ने भए पनि हस्तक्षेपी पाराले परिपत्र वा घोषणापत्र जारी गरेर नभई आपसी सहमतिका आधारमा गर्नुपर्छ । ‘फुल,’ ‘फूल’ जस्ता विशिष्ट अर्थ धारण गरिसकेका शब्दलाई अपवाद न्यूनीकरणका नाममा जबर्जस्ती ह्रस्वीकरण गर्नु उपयुक्त हुन्न । ‘मलाई फूल मन पर्छ’ र ‘मलाई फुल मन पर्छ’ भन्ने वाक्यमा अर्थगत भिन्नता रहेको स्पष्ट हुँदाहुँदै यस्ता कुरा सन्दर्भबाट बुझिन्छ भन्नु निरर्थक हो । ह्रस्व गर्दा फरक नपर्ने ‘हरू,’ ‘अरू’ जस्ता शब्दलाई बेवास्ता गर्नु अनि प्रचलनमा पूरै बानी परिसकेका ‘ठीक, बीच, ठूलो’ जस्ता शब्दलाई ह्रस्व गर्दा कसलाई के फाइदा हुन्छ ?

उच्चारणका आधारमा ‘स’ को निर्धारण गरिनुपर्छ भन्ने कुरा पनि उपयुक्त देखिन्न । ‘शाह’ र ‘साह’ का अर्थ नै भिन्न भएकाले यसलाई कायमै राख्नुपर्छ तर ‘शेर्पा’ र ‘शेरचन’ ले अर्थमा भिन्नता नल्याउने हुँदा तिनलाई ‘सेर्पा’ र ‘सेरचन’ गर्न वा समझदारीमा उही रूपमा छोड्न सकिन्छ । ‘शहीद’ लाई ‘सहिद’ लेख्दा सहिदप्रति अपमान गरिएको ठानिनु उपयुक्त होइन । शब्दमा प्रयुक्त वर्णबाट मानअपमान भन्ने कुरै आउँदैन । क, ट, ठ, ड, ढ, ण, प वर्णका अघि ‘ष’ लेखिन्छ भन्दैमा ‘कष्ट’ का सादृश्यमा ‘कम्युनिष्ट’ लेख्नु उपयुक्त हुन्न, ‘कम्युनिस्ट’ लेख्नुपर्छ । यस्ता सामान्य कुरामा समेत विवाद गरेर भाषाको विकास हुन्न ।

‘ह्र,’ ‘र’ मा पनि केही समस्या देखिएका छन् । सोर र अठारजस्तै ‘बाह्र,’ ‘तेह्र’ लाई सरलीकरण गरी ‘बार,’ ‘तेर’ लेख्नुपर्छ । वैकल्पिक प्रयोगका नाममा ङ्, ञ्, ण्, न्, म् का सट्टा सबैतिर शिरबिन्दु वा चन्द्रबिन्दु लगाउनु पर्छ भन्ने तर्क पटक्कै उपयुक्त छैन, यसमा प्रयोगगत सन्दर्भ केलाउनु पर्छ ।

नेपालीमा पछिल्लो समयमा पदीय दुरुपयोगसमेत गरी बल्झाइएको जटिल समस्याका रूपमा पदयोग र पदवियोग रहेको छ । शब्दहरू जोडेर एउटै डिकमा लेख्नुलाई पदयोग र छुट्ट्याएर लेख्नुलाई पदवियोग भनिन्छ । यो नेपाली भाषाको महत्त्वपूर्ण विशेषता हो । नेपालीमा नाम र विभक्ति, उपसर्ग, प्रत्यय, समस्त शब्द, द्वित्व शब्द, अनुकरणात्मक शब्द, अकरण बुझाउने शब्दको ‘न’, सामान्य वर्तमान, भूत र भविष्यत् तथा अज्ञात र अभ्यस्त भूत बुझाउने क्रिया, संयुक्त क्रिया, व्यक्तिनामका बीचको शब्द, नाम र नामयोगी, नामसँग जोडिने नामयोगीको पछि आउने विभक्ति आदि जोडेर लेखिन्छ अनि वाक्यमा आउने सबै शब्द, संयोजक, क्रियायोगी, विभक्तिभन्दा पछि आउने विभक्ति वा नामयोगी, निपात, वर्तमान, भूत र भविष्यत् तीनै कालका अपूर्ण र पूर्ण पक्ष जनाउने क्रिया आदि छुट्टयाएर लेखिन्छ भन्ने स्पष्ट नियम र प्रचलन हुँदाहुँदै सबैजसो छुट्टयाउनु पर्छ भन्ने वियोगवादी दृष्टिकोण उपयुक्त देखिन्न ।

नामयोगी र समस्त शब्दको पदयोग गर्ने भन्ने स्पष्ट प्रचलन र नियम हुँदाहुँदै ‘दुईदुई लिपिमा लेखिने दुईटा शब्दले बनेका शब्द जोडेर लेख्ने’, ‘दुई अक्षरसम्मको स्वरान्त नामयोगीलाई विभक्तिजस्तै शीर्षशब्दसँग जोडेर लेख्ने’ व्यञ्जनान्त दुई अक्षरी, वा सोभन्दा बढी अक्षरका नामयोगीलाई अलग डिकोमा लेख्ने’ तथा ‘दुई र तीन अनि तीन र दुई लिपिमा लेखिने दुईटा शब्दको समासबाट बनेको शब्द अलग डिकोमा लेख्ने’ भन्नु औचित्यहीन कुरा हो । पहिले नामयोगी र समस्त शब्द मात्र जान्दा पुग्नेमा अब लिपिसमेत गन्नुपर्ने अनि नामयोगी मात्र जानेर नभई दुई अक्षरको त्यसमा पनि स्वरान्त- व्यञ्जनान्तसमेत बुझ्नुपर्दा त्यसले सरलीकरण नभई झन् बढी जटिलता र गन्जागोलको स्थिति पैदा गर्छ । दुई स्वरान्त अक्षरसम्मका नामयोगी जोड्ने र त्यसभन्दा बढीका नामयोगीलाई छुट्ट्याउने भन्ने कुरा औचित्यहीन, निरर्थक, तर्कहीन र अवैज्ञानिक छ । द्वित्व शब्दलाई सार्थक र निरर्थक भनी छुट्ट्याएर योग र वियोगको झमेलामा नफसाई प्रचलनलाई स्वीकार गर्दा कुनै हानि देखिँदैन । भाषाका नियम पनि वस्तुगत र वैज्ञानिक हुनु आवश्यक भएकाले पदयोग र पदवियोगमा अक्षर सङ्ख्या तथा स्वरान्त र व्यञ्जनान्तजस्ता अवैज्ञानिक प्रसङ्ग भित्र्याएर भाषालाई झन् जटिलतातर्फ अग्रसर गराई नेपाली भाषाप्रति वितृष्णा फैलाउने काम गर्नु हुन्न । नेपाली भाषा पढ्ने-पढाउनेले मात्र नभई अन्य विषयका साथै सरकारी कामकाजलगायत सर्वत्र प्रयोग गरिने साझा भाषा भएकाले अनावश्यक बखेडा झिकेर नेपाली भाषाप्रति वितृष्णा फैलाउने प्रयत्न नगरौँ ।

नाम, थरका बीचमा आउने मध्यवर्ती नामलाई अलग डिकोमा लेख्ने भन्ने कुरालाई पश्चगमनकै रूपमा लिनुपर्छ । यस्ता शब्द पहिले छुट्टै लेखिन्थ्यो, बीचमा जोड्न लगाइयो अनि अहिले जोडेर लेख्ने बानी परिसकेपछि पुनः छुट्टयाउन लगाइँदैछ । भाषा भन्ने कुरा जीवनभर सिकिरहने होइन र कतैबाट निर्देशन गरिएका आधारमा चल्ने वस्तु पनि होइन । यो एकपटक सिकिन्छ र त्यसैअनुरूप प्रयोग गरिन्छ । यसर्थ भाषामा प्रयोक्ताको भूमिका महत्त्वपूर्ण हुन्छ । यतिखेर अक्षर गनेर योग वा वियोग गर्ने नाममा ‘दिदीभाइ’, ‘रामराज’, ‘जयदेव,’ ‘महादेव’, ‘रामपुर’ र ‘कीर्तिपुर’ जोड्ने अनि ‘दिदी बहिनी’, ‘भरत राज’ ‘जीवेन्द्र देव, हरेन्द्र देव’, ‘भरत पुर’, ‘ललित पुर’ छुट्टयाउने भन्ने कुरा कति हास्यास्पद छ । यस्तो अव्यावहारिक र अवैज्ञानिक तर्क गरेर भाषामा झमेला सिर्जना गरिनु हुन्न । यस्तै ‘गरि रहन्छ’ जस्ता शब्द छुट्टयाउनाको अभिप्राय के ?

पदवियोग गरी छुट्टयाउँदा ‘अमृतराज भण्डारी’ र ‘अमृत राजभण्डारी’, ‘प्रकाशसिंह’ र ‘प्रकाश सिंह’ जस्ता शब्दमा तथा ‘रामप्रसाद खान्छ’ र ‘राम प्रसाद खान्छ’ भन्नेजस्ता वाक्यमा पूरै अर्थगत भिन्नता रहेको कुरा सारै स्पष्ट छैन र ? यसलाई सङ्कथनका तहबाट कसरी अथ्र्याउन सकिन्छ ? पदवियोगका नाममा ‘विश्वविद्यालय, न्यायपालिका, कार्यपालिका, नगरपालिका’ जस्ता सिङ्गा तत्सम शब्दलाई समेत छुट्ट्याउने कुरा कदापि स्वीकार्य हुन्न । भाषाको आधुनिकीकरण र मानकीकरणका नाममा प्रयोक्तालाई पूरै बेवास्ता गरी जबर्जस्ती रूपमा जे पायो त्यही नियम लादिएमा त्यो निरर्थक हुन्छ र अन्ततः लेखनमा अराजकता आउँछ । यस्तो लक्षण देखापर्न थालिसकेकाले भाषाको माया गर्नेहरूले यसतर्फ सोच्नु जरुरी छ । राष्ट्रिय राजनीति अन्योलग्रस्त बन्दै गएको मौका छोपी त्यसैमा भाषालाई समेत मुछेर भाँचकुँच र तोडमोड गर्ने प्रयत्न गर्नु उपयुक्त कार्य होइन ।

नेपाली भाषाका क्षेत्रमा उठाइएका समस्यामध्ये ‘श, ष, स’ तथा ह्रस्व-दीर्घमा कतिपय अर्थभेदक शब्दबाहेक अन्यमा खासै समस्या छैन । अर्थभेदक नहुने शब्दमा मैले भनेअनुसार नै हुनुपर्छ नभनी संयम र समझदारीपूर्वक अगि बढेमा यसको समाधान निकै सहज छ । संस्कृतजस्तो अति कठोर नियमवादी भाषामा अनि अङ्ग्रेजीमा समेत वैकल्पिक प्रयोग र अपवाद पाइने हुँदा नेपालीमा पनि कतिपय वैकल्पिक प्रयोग र अपवाद हुनु असामान्य होइन । त्यसलाई क्रमशः न्यूनीकरण गर्न सकिन्छ । नेपाली भाषाको पदयोग र पदवियोगमा धेरैजसो बानी परिसकेको अवस्था छ । बानी परिसकेको र त्यसले खासै असर पनि नगर्ने अवस्थामा जबर्जस्ती उल्टाउने प्रयास गर्नु राम्रो होइन । यसमा कम्प्युटर प्रयोजनका नाममा जथाभावी गरी अनावश्यक झमेला सिर्जना गर्न खोजिएको छ । कम्प्युटरअनुसार भाषा नभई भाषाअनुसार कम्प्युटर सञ्चालन गर्ने परिपाटी बसाउनु पर्छ । यसो गरेमा यस्ता समस्याको समाधान सहजै गर्न सकिन्छ ।

नेपाली भाषा राम्ररी नजान्नेले त्रुटि गर्नु सामान्य कुरा हो तर जान्नेले बुझपचाउनु वा मिचाइँ गर्नु उपयुक्त होइन । पूरै प्रचलनमा आइसकेको वर्णविन्यासलाई वैयक्तिक आग्रहका आधारमा त्यसको ठीक विपरीत गरेर परिवर्तन गर्नु औचित्यपूर्ण देखिन्न । नेपाली भाषामा देखिएका विविध समस्याहरूलाई पदीय दुरुपयोग गरेर वा कोठामा बसी कल्पना गरेर होइन यसका लागि विनाभेदभाव सक्कली भाषाविद्हरूको उच्चस्तरीय संयन्त्र बनाएर सम्बद्ध संस्थाहरूको समेत सहभागितामा साझा सहमति कायम गरी न्यूनतम विवाद र अपवाद आउने ढङ्गबाट स्पष्ट नीतिनियम बनाई त्यसैअनुरूप भाषाको प्रयोग गर्नु र सबै मिलेर भाषालाई जोगाउनु अपरिहार्य छ । नेपाली भाषाको विकास गर्नु भनेको अरू भाषाका विकासको बाटो रोक्नु होइन । सबै भाषाको विकास गर्दै जानु पर्छ ।

भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र तिनीहरू भाषाको मानकीकरण यतातिर र्फकेर हेर्छन् तर हामी आफूमै लड्न व्यस्त छौँ । नेपाली भाषा अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा आफ्नै घरबाट आगो लगाउन सुरु गर्नु पटक्कै ठीक होइन । फुटेर होइन जुटेर अनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाली भाषाको रक्षा गरौँ । मान्य ढङ्गबाट क्रमशः सरलीकरण गर्दै जाऔँ । भाषामा राजनीति नगरौँ, यसलाई प्रतिष्ठाको विषय पनि नबनाऔँ । कतैबाट सञ्चालित भएर विरोधभासपूर्ण काम नगरौँ । सके भाषाको सेवा गरौँ नसके चुप लागेर बसौँ । भाषा रहे मात्र हाम्रो अस्तित्व रहन्छ भन्नेतर्फ सम्बद्ध सबै सचेत होऔँ, चरम पश्चगामी वा अग्रगामीका नाममा अराजक पनि नहोऔँ । आपसमा छलफल गरी समझदारीपूर्वक अगि बढौँ । भाषामाथि चलखेल नगरौँ, भाषाको माया गरौँ र भाषालाई बचाऔँ ।

२०६९ साल वैशाख २८ गते विहीवार।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
वर्ण विन्यास सम्बन्धी नयाँ स्थापना

स्रोत: नयाँ पत्रिका

-प्रा.डा. बद्री विशाल भट्टराई

लेख्य नेपाली भाषालाई सरल र वैज्ञानिक ढङ्गले व्यवस्थित गर्न वर्ण विन्यासका क्षेत्रमा विगतदेखि वर्तमानसम्म धेरै पटक सुधारका प्रयासहरू भएका छन् । भरखरै नेपाली वर्ण विन्यासमा सुधार गरिएको छ । सुधारका नयाँ स्थापनाबारे यहाँ सामान्य चर्चा गरिएको छ ।

नेपाली वर्ण विन्यासका नयाँ स्थापना

नेपाली वर्ण विन्यास सम्बन्धी नयाँ स्थापनाहरू दुई वर्गमा विभाजित छन् :

क. तत्सम शब्दको वर्ण विन्यास

ख. तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास


तत्सम शब्दको वर्ण विन्यासबारे

नेपाली भाषामा प्रयोग हुने संस्कृत तत्सम शब्द संस्कृतकै नियम अनुसार लेखिन्छन् । त्यसैले तिनको बारेमा चर्चा आवश्यक छैन । शब्दकोश नै शब्दस्रोत र सूचनाको वर्ण विन्यास सम्बन्धी आधिकारिक ग्रन्थ हो ।

तद्भव र आगन्तुक शब्दको वर्ण विन्यासबारे

संस्कृत, प्राकृत हुँदै नेपालीमा आएका संस्कृतेतर शब्द, आगन्तुक शब्द र नेपाली प्रकृतिका अनुकरण मूल शब्दहरू तद्भव र आगन्तुक शब्दको वर्ण विन्यास नियमानुसार लेखिन्छन् । नेपाली प्रकृतिका व्युत्पन्न शब्द पनि यसमा नै पर्दछन् । नेपाली उच्चार्य वर्णको प्रयोग यस अन्तर्गत पर्ने भएकाले यस नियमलाई नेपाली वर्ण विन्यास नियम पनि भन्ने गरिन्छ । तद्भव नेपाली वर्ण विन्यास नियम निम्नानुसार छन् :

क. नेपाली भाषामा प्रचलित तद्भव, आगन्तुक र अनुकरण मूल शब्दका सुरु र माझका इकार र उकार ह्रस्व हुन्छन् ।

ख. नेपाली भाषामा प्रचलित सबै तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा आउने स दन्त्य (स) मात्र हुन्छ ।

ग. नेपाली तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा उच्चारण अनुसार ब, व, य, ए, ङ, न, म को प्रयोग हुन्छ ।

घ. नेपाली तद्भव, आगन्तुक र अनुकरण मूल शब्दमा ई, ऊ, ऋ, ञ, ण, क्ष, ज्ञ वर्णको प्रयोग हुँदैन ।

मिश्रित

नियम

केही तद्भव र आगन्तुक शब्दका माझमा र अन्त्यमा ह्रस्व र दीर्घ हुने भएकाले त्यस्ता शब्दलाई मिश्रति नियम अनुसार राखिएको हो ।

अ. अन्त्यमा ह्रस्व इ, उ (ि, ु) हुने नियमः सजीव नाम (दाइ, जेठाजु, आदि), निर्जीव उकारान्त (गाउँ, आलु आदि), सर्वनामबाट बनेका ति अन्त्यमा हुने विशेषण (कति, यति आदि) इकारान्त र तथा उकारान्त अव्यय (अनि, माथि, बरु आदि), स्थानवाची उकारान्त शब्द (सोलुखुम्बु, बालाजु आदि) र आउ, आइ, याइ, आइँ, नु, आलु, एलु, आरु, उ प्रत्यय लागेर बनेका शब्द ह्रस्वान्त हुन्छन् ।

आ. अगाडि दीर्घ हुने नियम एकाक्षरी सर्वनामः (यी, ती, ऊ) ।

इ. अन्त्यमा दीर्घ हुने नियम स्त्रीलिङ्गी नाम, विशेषण र क्रियाः नाम (छोरी, बहिनी, फुपू आदि) विशेषण (काली, लाटी आदि), क्रिया (गई, पढ्थी, जाली, आदि), केही पुलिङ्गी नाम (सम्धी, खसी आदि), दुवै लिङ्गमा प्रयोग हुने नाम (हात्ती, गोही आदि), थर, पेसा, जाति (थरः राई, थारू आदि, पेसाः हली, तेली आदि, जातिः नेपाली, बङ्गाली आदि), स्थानवाची इकारान्त शब्द (डोटी, म्याग्दी आदि), निर्जीव जनाउने इकारान्त शब्द (पानी, ओखती आदि), इकारान्त आगन्तुक शब्द (डिग्री, ट्याङ्की आदि), आदरार्थी जी, ज्यू जोडिएका शब्द (साहुजी, सचिवज्यू आदि), अनेकाक्षरी सर्वनाम (उनी, आफू आदि) इकारान्त विशेषण (अल्छी, सिल्ली आदि), इकारान्त सङ्ख्या वाचक शब्द -दुई, सत्तरी आदि), पूर्वकालिक कृदन्त (देखी, पढी आदि), आज्ञार्थक तथा इच्छार्थक, इकारान्त, उकारान्त क्रिया (पक्री, हेरूँ आदि) र निम्नलिखित इकारान्त प्रत्ययको योगबाट बन्ने शब्दहरू (अरी, आनी, आउनी, ती, आउरी, आरी, आडी, औरी, एली, आली, औली, यौली, तरी आदि) ।

क्षतिपूर्ति दीर्घीभवन बारे

संस्कृत, प्राकृत हुँदै नेपालीमा प्रचलित केही शब्द नेपालीमा दीर्घ लेख्ने प्रचलनलाई क्षतिपूर्ति दीर्घीभवन भनिन्छ । संस्कृतबाट प्राकृत हुँदै नेपाली शब्द भण्डारमा प्रवेश गरेकाले ती शब्द तद्भव नै हुन् । नेपालीमा तद्भव शब्द ह्रस्व लेख्ने प्रचलन बसि सकेको परिप्रेक्ष्यमा तिनै तद्भव शब्दलाई दीर्घ मात्रामा लेख्दा अपवाद नियमको शरण पर्नु पर्ने हुन्छ । अपवादको न्यूनीकरणको सट्टा अपवादको संरक्षण वाञ्छनीय हुँदैन । अर्कातिर यस्ता शब्दलाई ह्रस्वमा पनि लेख्न सकिने विचार आएको र यसले अपवादको न्यूनीकरण गर्न सहयोग पुग्ने भएकाले ह्रस्व लेख्नेतर्फ शिक्षण कार्यलाई प्रवृत्त गराउनु उपयुक्त हुन्छ । क्षतिपूर्ति दीर्घीभवनमा पनि नपरेका तर कथित शिष्ट परम्पराका नामबाट दीर्घ लेखिँदै गरेका नीलो, कीलो, जीउ, बीउ, धूलो, धूवाँ, पीर, जीरा, आदि शब्दलाई सहज रूपमा तद्भव नेपाली मानी क्रमशः निलो, किलो, जिउ, बिउ, धुलो, धुवाँ, पिर, जिरा ह्रस्व लेखिन्छ ।

सङ्ख्या वाचक शब्द र तत्सम आधार तत्त्वमा नेपाली प्रत्यय जोडिएर निर्मित शब्दबारे

सङ्ख्या वाचक शब्द र तत्सम आधार तत्त्वमा नेपााली कृत् तथा तद्धित प्रत्यय जोडिई बनेका कतिपय शब्द आधार तत्त्वानुसारी वर्ण विन्यासमा लेख्ने गरेको पाइन्छ , जस्तैः बीसौँ, सच्चालीसौँ आदि । यी शब्दको मध्यवर्ती इकार दीर्घ लेखिनु र दर्शाउनु, दशैँ, पण्डित्याइँ, दुष्ट्याइँ, शूरो जस्ता शब्दहरू तत्समकै नियममा लेखिनु उपयुक्त होइन । तिनलाई तद्भव वर्ण विन्यासको नियम अनुसार नै बिसौँ, सच्चालिसौँ, दर्साउनु, दसौँ, पन्डित्याइँ, दुस्ट्याइँ, सुरो लेखिन्छ ।

पदयोग र पदवियोगबारे

देवनागरी लिपिमा वर्ण र वाक्यका पदहरूमा डिको दिएर लेख्ने चलन छ । सोही लिपि प्रयोग गरेकाले नेपाली वर्ण र वाक्यमा प्रयुक्त पदमा पनि डिको दिने प्रचलन आएको हो । वाक्यमा प्रयुक्त कति र कस्ता शब्द एउटै डिकोमा लेख्ने र कस्ता चाहिँ छुट्ट्याउने भन्ने द्विविधा लेख्य नेपालीमा बढेको र यसबाट अनेकरूपता तथा अन्योल थपिएको छ । समास गरेका शब्दबाट पदयोगको जटिलता बढी थपिएको छ । धेरै शब्दलाई एउटै बनाउने प्रक्रिया समास हो । समास गरेर एउटै शब्द बनाउँदा ती शब्द जोडेर लेख्नु पर्छ भन्ने प्रचलनले पनि अन्योल बढेको छ । समास र डिको एउटै कुरा होइन । नेपाल सरकार, मौरी पालन व्यवसाय, श्रम शिविर आदि समस्त शब्द नै हुन् तर ती अलग अलग नै लेखिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, चिकित्सा शास्त्र अध्ययन संस्थान जस्ता बहुपदी शब्दले एउटै अर्थ दिएका छन् तर जोडिएका छैनन् । तर यस्तै प्रवृत्तिका कतिपय शब्द जोड्ने वा योजकको प्रयोग गर्ने प्रवृत्तिले बढी अन्योल सिर्जना भएको र लेखाइमा भद्दापन थपिएको छ । यति मात्र होइन यसले शब्दको मौलिक विशेषता, अलग अलग उच्चारण र लेखन हुनु हो भन्ने मान्यतालाई पनि ओझेलमा पार्न खोजेको छ । सामान्यतः पदयोग र पद वियोगबारे निम्न व्यवस्था गर्नु उपयुक्त मानिएको छ ।

पदयोगः

क. शब्दसँग प्रत्ययवत् प्रयोग हुने विभक्ति, दुई लिपि चिन्हसम्मका नामयोगी, शब्दांश (कर, कार, कृत, बद्ध, युक्त, शील, पूर्ण, हीन, जन्य आदि) लाई पदयोग गर्ने, जस्तैः नाटककार, उन्नतशील, रुचिपूर्ण, परिस्थितिजन्य आदि ।

ख. सन्धि हुँदा पूर्वापर विकार आएका शब्द पदयोग गरी लेख्ने, जस्तैः सूर्योदय, विद्यालय, एकासी, महौषधी, सत्याग्रह आदि ।

ग. द्वित्व शब्दको निरर्थक द्विरुक्त र विकारी अंश पदयोग गरी लेख्ने, जस्तैः गुटुमुटु, भातसात, आनीबानी, गल्र्यामगुर्लुम, झैझगडा आदि ।

घ. दुई अक्षरसम्मका स्वरान्त शब्दले बनेका समस्त शब्द जोडेर लेख्ने, जस्तैः केटाकेटी, बाबुआमा, शिक्षामन्त्री, अर्थमन्त्री आदि ।

ङ. अकरणको न जोडेर लेख्ने, जस्तैः नपढेको, नजाऊ आदि ।

पद वियोग

क. हरेक शब्द छुट्टाछुट्टै लेख्ने, जस्तैः राम घर जान्छ ।

ख. वाक्यमा निपात तथा संयोजक बेग्लै लेख्ने, जस्तैः म मात्र घर जान्छु । हरि चाहिँ घर आएन ।

ग. जना, वटा/ओटा, जस्ता कोटिकर बेग्लै लेख्ने, जस्तैः पाँच जना, बार्‍ह ओटा आदि ।

घ. विभक्तिपछि आउने नामयोगी बेग्लै लेख्ने, जस्तैः देशका लागि ।

ङ. व्यञ्जनान्त द्वयक्षरी र सोभन्दा बढी अक्षरका नामयोगीलाई अगिल्लो पदबाट पद वियोग गरी लेख्ने, जस्तैः बाहेक, बापत, मार्फत, अनुसार, अन्तर्गत, अनुरूप, बमोजिम आदि ।

च. विशेषण र विशेष्य भई आउने शब्द बेग्लै लेख्ने, जस्तैः

शुभ दिन, शुभ कामना आदि ।

छ. सार्थक प्रकृतिका द्वित्व शब्द बेग्लै लेख्ने, जस्तैः जे जे, के के, कुन कुन, छेउ छेउ, जति जति आदि ।

ज. दुई अक्षरबाट बनेका व्यञ्जनान्त शब्द बेग्लै लेख्ने, जस्तैः

भवन निर्माण, पुराण वाचन आदि ।

झ. जुनसुकै एकाक्षरी वा द्वयक्षरी शब्दसँग व्यञ्जनान्त द्वयक्षरी वा सोभन्दा बढीका जुनसुकै अनेकाक्षरी शब्दसँग समास भई संलग्न रहेमा पनि उल्लिखित अनुसार नै पद वियोग गरी लेख्ने, जस्तैः देश विकास, श्रम विभाग, भूमि सुधार आदि ।

ञ. व्यक्ति वाचक नाममा आउने अर्को पद बेग्लै लेख्ने, जस्तैः राम प्रसाद, मुगु जिल्ला, देवकोटा चोक आदि ।

ट. जाति, वर्ग, समाज आदि जनाउँदा सोभन्दा अगाडि आउने नाम बेग्लै लेख्ने, जस्तैः मानव जाति, गुरु वर्ग, सज्जन वृन्द आदि ।

ठ. दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्द बेग्लै लेख्ने, जस्तैः दाल भात डुकु, मन वचन कर्म, गाँस बास कपास आदि ।

ड. संयुक्त क्रिया बेग्लै लेख्ने, जस्तैः हेर्नु पर्छ, सुन्नु पर्‍यो, फहराइ रहेको छ, भनि दिनु होला, पुर्‍याइ दिनु हुने छ आदि ।

ढ. विभाजक जनाउने न, जस्तैः न तिमी न म, न पढ्छ न लेख्छ आदि ।

वर्ण विन्यास सम्बन्धी यो नव स्थापनाले तत्सम शब्दलाई एक खण्डमा र तद्भव तथा आगन्तुक शब्दलाई अर्को फाँटमा राखी सरल र वैज्ञानिक ढङ्गले व्यवस्था गरेको छ । यस मान्यता अनुसार जाँदा लेख्य नेपाली भाषा सरल र सहज हुने स्पष्ट छ । यी नियमलाई घोकाएर पढाउने भन्दा प्रयोगद्वारा सिकाउनु उपयुक्त हुन्छ । यसका निम्ति स्वयं विद्यार्थीलाई ती शब्दको स्रोत र वर्ण विन्यास सम्बन्धी सूचना पत्ता लगाउन र त्रुटि सच्याउन शब्दकोशको प्रयोग गर्न लगाउनु उपयुक्त हुन्छ ।

(नेपाली भाषा शिक्षक समाजद्वारा शनिबार काठमाडौंमा आयोजित अन्तरक्रियामा प्रस्तुत कार्यपत्रको सम्पादित अंश)

२०६७ साल जेठ १२ गते बुधवार।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
भित्र्याइएका शब्द र चलनचल्तीमा अशुद्ध शब्द
माघ ६, २०७४

डा.महेशराज पन्त

भारतमा मुसलमानी शासन आएपछि अरबी, फारसी र तुर्की भाषाका शब्द नव्य भारतीय भाषाहरूमा चल्न थाले । त्यसैले क्रमश: विदेशी भाषाका शब्द नव्य भारतीय भाषाका अभिन्न अङ्ग बन्न गए ।


परिणामस्वरूप ‘काजी’, ‘सरदार’, ‘सूबेदार’, ‘अदालत’, ‘दीवानी’, ‘फौजदारी’ जस्ता शब्द हाम्रा भाषामा भिजे । त्यति मात्र होइन, लोकभाषा नभए पनि विद्वद्भाषाको रूपमा प्रतिष्ठित संस्कृतमा सुद्धा त्यस्ता विदेशी शब्दलाई संस्कृतको रङ्ग दिई भित्र्याएको दृष्टान्तको रूपमा ‘सुल्तान’लाई ‘सुरत्राण’ र ‘तुर्क’लाई ‘तुरुष्क’ बनाएकोतर्फ औँल्याउन सकिन्छ । अझ अगाडि जाने हो भने, ग्रीक भाषाका शब्द हाम्रो ज्यौतिषशास्त्रमा चलेका देखिन्छन् । उदाहरणको लागि, संस्कृतको ‘हेलि’ शब्द ग्रीक भाषाको तत्सम र ‘केन्द्र’चाँहि तद्भव शब्द हो ।
भारतमा मुसलमानी शासन हुँदा मुसलमानी भाषाका शब्द त्यहाँका आधुनिक भाषामा चले जस्तै, यूरोपियनहरूको प्रवेश भएपछि यूरोपियन भाषाका शब्द कहिले तत्सम र कहिले तद्भवको रूपमा ती भाषामा चल्न थाले । उदाहरणको लागि, ‘साबुन’, ‘आल्मारी’, ‘इस्त्री’, ‘अजिटन’, ‘कर्नेल’, ‘जर्नेल’, ‘कम्पनी’, ‘मास्टर’ जस्ता शब्द ती भाषामा भित्रिए । कहिले कहिले त्यही भाषाको शब्द चलाउँदा चलाउँदै पनि अर्थ स्पष्ट पार्न पोर्चुगीज भाषामा ‘रोटी’ बुझाउने ‘पाउ’ शब्दमा त्यसको पर्याय ‘रोटी’ पनि जोडी ‘पाउरोटी’ जस्ता शब्द चलनचल्तीमा आए । यसै गरी अङ्ग्रेजी शासनकालमा थुप्रै अङ्ग्रेजी शब्द नव्य भारतीय भाषाहरूमा भित्रिए ।
नेपालमा मुसलमानले र अङ्ग्रेजले शासन नगरे पनि छिमेकी भारतसँगको सम्पर्कले त्यस्ता शब्द हाम्रा भाषामा प्रशस्त भित्रिएका छन् । भारतको मुटुमा मुसलमानी शासन चल्दा नेपालको मुटुमा नेवारराज्य चलिरहेको थियो । मुसलमानी भेषभूषा जस्तै, मुसलमानी भाषाका शब्द पनि क्रमश: नेवारी भाषाका अविभाज्य अङ्ग भएर यहाँ घुस्न थाले (गौतमवज्र वज्राचार्य, ‘नेवारी भाषामा फारसी अरबी आदि मुसलमानी भाषाको प्रभाव’, ‘पूर्णिमा’ १ पूर्णाङ्क, २०२१, ३३–४६ पृ.) । गोरखा राज्यको विस्तार हुँदै गएपछि मुसलमानी शब्द नेपाली भाषामा भित्रिने क्रम झन् बढ्दै गयो (टङ्कमणि नेपाल आदि, ‘नेपाली भाषामा प्रयुक्त अरवेली र फारसेली आगन्तुक शब्दहरूको अध्ययन’, अप्रकाशित प्रतिवेदन,
२०३८) ।
‘विजेताको चाल–चलनको विजितहरू वा विजित मनोवृत्ति भएकाहरू नक्कल गर्छन्’ (भोलानाथ पौडेल र धनवज्र वज्राचार्यद्वारा सम्पादित ‘गल्लीमा फ्याँकिएका कसिंगर’, जगदम्बा–प्रकाशन, ललितपुर, २०१८ मा ‘उपोद्घात’, १२१ पृ.) भनी नयराज पन्त (वि.सं. १९७०–२०५९) ले भने जस्तै, राजाका उत्तराधिकारीलाई बुझाउन ‘युवराज’ शब्द प्राचीन कालदेखि चलेर आएको भए पनि त्यही अर्थ बुझाउने, अरबी भाषाको ‘वलीअहद’ शब्द हाम्रो भाषामा चल्न लाग्यो । विदेशी भाषाको शब्द नेपाली भाषामा ठीकसँग उच्चारण गर्न नसक्दा ‘पति परलोक भएकी राजमाता’लाई बुझाउने अङ्ग्रेजी शब्द ‘डाउअजर् क्वीन्’को ‘टावर महारानी’ भए जस्तै ‘वलीअहद’को ‘वलेट महाराज’ हुन पुग्यो ।
भारतमा अङ्ग्रेजी शासन चल्दै गएपछि भने खोला फर्कन लाग्यो । खुलाएर भन्दा, पहिले लोकभाषामा विदेशी शब्द भित्रिन्थे भने अब विदेशी शब्दलाई आधुनिक भाषाहरूको उपजीव्य भाषा संस्कृतबाट शब्दनिर्माण गर्ने परम्परा चल्यो । यसैले, भारत स्वतन्त्र भएपछि अङ्ग्रेजी शासनसँगै आएको अङ्ग्रेजी भाषाको ठाउँमा भारतीय भाषालाई राजकीय भाषा बनाउने लहर चल्यो र त्यसको नजीकको उम्मेदवार संस्कृतबहुल हिन्दीले अङ्ग्रेजीको ठाउँ लिने सम्भावना बढयो । अनि शासनमा चलेका अङ्ग्रेजी शब्दको ठाउँमा हिन्दी र अरू भारतीय भाषामा पनि त्यस्ता शब्दको उपयोग गर्ने उद्देश्यले अङ्ग्रेजी ढङ्गले संस्कृत पढेका रघुवीर (वि.सं. १९५९–२०२०) को मातहतमा संस्कृतभाषामा शब्द रच्ने प्रक्रिया चल्यो । यसको परिणाम डेढ लाख शब्द भएको अङ्ग्रेजी–हिन्दी कोष निस्कियो (रघुवीर, ‘अ कम्प्रिहेन्सिभ् इङ्ग्लिश्–हिन्डी डिक्शन्अरि अफ् गभ्अर्न्मेन्टल् यान्ड् एड्युकेशनल् वर्डज् यान्ड् प्रेmज्इज्’, इन्टर्न्याश्अन्अल अक्याड्इम्इ अफ इन्डिअन कल्चर, नयाँ दिल्ली, ई.सं. १९७३) । तर संस्कृतभाषाको व्याकरणमा रघुवीरको र उनका सहयोगीहरूको पैठ नभएकोले होला, त्यस कोषमा संस्कृतव्याकरणबाट सिद्ध नहुने शब्द परेकाले संस्कृतव्याकरणमा पैठ भएकालाई त्यस कोषले सन्तुष्ट पार्न सकेन (महेशराज पन्त, ‘अन् स्यान्स्क्रिट् एडयुकेशन्’, काठमाडौँ, ई.सं. १९७९, १०७–१०८ पृ.) । संस्कृतको अधकल्चो ज्ञानले गर्दा ‘पञ्चवर्षीय’ योजना जस्ता अशुद्ध शब्द भारतमा चले र त्यस्ता शब्द हाम्रो भाषामा पनि चल्न थाले । व्याकरणका सूत्र उद्धृत गरी ‘पूरा भइसकेको योजनालाई ‘पञ्चवर्षीण’ ‘पञ्चवार्षिक’ वा ‘पञ्चवर्ष’ योजना भनी लेख्नुपर्दछ । पूरा हुन बाँकी योजनालाई ‘पाञ्चवर्षिक’, ‘पञ्चवर्षीण’, ‘पञ्चवर्ष’ योजना भनी लेख्नुपर्दछ’
(‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठान, काठमाडौँ, २०५९, ५८ पृ.) भनी नयराज पन्तले लेखेको कुराको सम्झना हुन्छ ।
पाश्चात्त्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ । उदाहरणको लागि, हाम्रा भाषामा अत्यन्त प्रयोगमा आउने ‘नागरिक’ वा ‘नागरिकता’ शब्द नै लिऊँ । ग्रीसमा नगरराज्य भएकाले ‘शहर’ बुझाउने ‘पोलिस्’ शब्दले ‘मुलुकको बासिन्दा’ पनि बुझाउँथ्यो । ‘पोलिस्’को ल्याटिन उल्था ‘सिभिस्’ र ‘सिभिस्’को
अङ्ग्रेजी उल्था ‘सिटिजन्’ भएकोले ती शब्दले ‘मुलुकको बासिन्दा’ बुझाउँछ । ‘सिटिजन्’ शब्दको शाब्दिक अर्थ गर्ने हो भने, यसको अर्थ ‘शहरको बासिन्दा’ हुन्छ भन्ने माथि लेखिएका कुराबाट स्पष्ट भइसकेको छ । यसो भए पनि, ‘सिटिजन्’को संस्कृत बनाउँदा हाम्रा संस्कृतज्ञहरूले संस्कृतवाङ्मयमा चल्दै आएको ‘पौर’ र ‘जानपद’ शब्द नसम्झी ‘सिटिजन्’को ठयाक्क अर्थ गर्ने कोशिश गरी ‘नागरिक’ शब्द चलाइदिए । तर ‘नागरिक’ शब्द चलाउँदा संस्कृतव्याकरणबाट त्यो शब्द बन्दै बन्दैन, ‘नागर’ वा ‘नागरक’ मात्र बन्छ भन्ने हेक्कासम्म पनि राख्न तिनीहरूले सकेनन् । त्यसमाथि, ‘नागर’ले बढीमा ‘शहरको बासिन्दा’ मात्र बुझाउने हुनाले ‘मुलुकभरको बासिन्दा’ बुझाउन त्यसले सक्दैन । त्यसैले, ‘जानपद’ शब्द मात्र
‘सिटिजन्’को पर्याय हुन सक्छ ।
मध्यकालको यूरोपको शासनपद्धति बुझाउन ‘फ्यूडलिज्म्’ शब्द अङ्ग्रेजीमा चलेको छ । त्यो शब्द ल्याटिनमा ‘बिर्ता’को अर्थमा चलेको ‘फेओदम्’को
तद्भव हो । ‘फ्यूडल्’ शब्दले मूलत: ‘राजाबाट पाएको बिर्ता भोग गरी राजाको काममा खटिने मानिस’ र ‘फ्यूडलिज्म्’ शब्दले त्यससम्बन्धी व्यवस्था बुझाउँछ । यसैले, वि.सं. १९०८ मा छापिएको, मोनियर मोनियर–विलियम्ज (वि.सं. १८७६–१९५५)को अङ्ग्रेजी—संस्कृतकोषमा ‘पूव्र्वकाले क्षेत्राधिकारविषये यो नियमस् तत्सम्बन्धी –न्धिनी –न्धि(न्) अर् क्षेत्रस्वामिक्षेत्राधिकारि–णोर् मध्ये य: स समयस् तद्विषयक: –का–कं’ अर्थात् ‘प्राचीन कालमा खेतको अधिकारको विषयमा जुन नियम थियो त्यससम्बन्धी, अथवा खेतका मालिक र खेतका अधिकारीको बीचमा जुन सम्झौता हुन्छ, त्यससम्बन्धी’ भनी ‘फ्यूडल्’ शब्दको अर्थ लामो गरी दिइएको छ (‘अ डिक्शन्अरि अफ् इङ्ग्लिश् यान्ड् स्यान्स्क्रिट्’, अक्स्फोर्ड यूनिभर्सिटि प्रेस, लन्डन, ई.सं. १८५१ मा ‘फ्डल्’ शब्द) ।
तर अहिलेका, अङ्ग्रेजी भाषाका शब्दका अर्थ हाम्रा भाषामा दिइएका कोषमा भने ‘फ्यूडल्’ शब्दको अर्थ ‘सामन्त’ र ‘फ्यूडलिज्म्’ शब्दको अर्थ ‘सामन्तवाद’ गरिएको छ । तर यस अर्थमा मूलत: एउटा तात्त्विक भेद छ । कुरा के भने, ‘सामन्त’ शब्दको मूल अर्थ ‘कुनै राजाले अर्को राज्य जित्दा जितिएको राज्यका राजालाई थमौती गरी
आफ्नो अधीनमा राखिएको, जित्ने राजालाई सिर्तो अर्थात् तिरो तिरी आफ्नो राज्यको भोग गरिआएको रजौटा’ भन्ने हुन्छ । जस्तो कि, नेपालका शाह राजाहरूका रजौटा मुस्ताङ, बझाङ, जाजरकोट आदिका राजा नेपालका राजाका सामन्त कहिन्थे । ‘फ्यूडल्’ पनि हुन त ठूला राजाको अधीनकै हुन्, तर तिनी कुलक्रमागत होइनन्, तिनी त राजाद्वारा नियुक्त अधिकारी हुन् । यस कारण
‘फ्यूडल्’को अर्थमा आजभोलि चलेको ‘सामन्त’ शब्दले ठीक अर्थ बुझाउन सक्दैन अर्थात् ‘सामन्त’मा
‘फ्यूडल्’को अभिधा छैन । यस्तो अवस्थामा कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो ।
पाश्चात्त्य शासनप्रणाली आएपछि ‘कन्स्टिटयुशन्’ शब्द पनि हाम्रा भाषामा भित्रियो । अनि त्यही ‘कन्स्टिटयुशन्’ शब्दलाई संस्कृतको चोगा पहिर्‍याई ‘संविधान’ भन्ने शब्द चलाइयो । ‘संविधान’ शब्द अङ्ग्रेजी कन्स्टिटयुशन्’को शब्दश: जस्तो उल्था भएकोले ‘कन्स्टिटयुशन्’ शब्दको तात्पर्य बुझाउने शब्दको खोजी गर्दै जाँदा ‘वैनयिक शास्त्र’ हुनुपर्ने ठहर नयराज पन्तले गरे (महेशराज पन्त, ‘भारतीय संविधानको नयराज पन्तले संस्कृत गद्यमा गरेको उल्था’, ‘पूर्णिमा’ १२८ पूर्णाङ्क, २०६५, ३४८ पृ.) ।
वि.सं. १८२८ देखि पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को प्रशस्तिमा जोडिएर आएको ‘बहादुर शमशेर जङ्ग’ भन्ने पदवी दिल्लीका बादशाह द्वितीय शाह आलम (वि.सं. १७८५–१८६३, राज्यकाल वि.सं. १८१७–१८६३)ले उनलाई ‘गोरखाको जमीनदार’ भनी दिइएको प्रमाण फेला परेपछि देशाभिमानी राजा महेन्द्र (वि.सं. १९७७–२०२८, राज्यकाल वि.सं. २०११–२०२८)ले झण्डै २०० वर्षअघि १० पुस्तादेखि प्रशस्तिमा रहँदै आएको खिताब आफ्नो प्रशस्तिबाट वि.सं. २०१९ मा हटाए (बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ दोस्रो आवृत्ति, साझा प्रकाशन, ललितपुर, २०६१, ४८६–४९१ पृ.) । त्यसै क्रममा आफ्ना बाबु श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११)को प्रशस्तिमा भन्दा केही फरक पारी उनले ‘अतिरथी’ जस्ता शब्द जोडे । ‘रथीभन्दा ठूला’ भन्ने अर्थमा व्याकरणअनुसार ‘अतिरथ’ हुनुपर्नेमा अज्ञानवश ‘अतिरथी’ लेखिन गयो । त्यसै गरी, महेन्द्रले आफ्नो प्रशस्तिमा ‘विविधविरुदावलीविराजमानमानोन्नत’पछि,
‘परमनेपालप्रतापभास्कर’को अगाडि थपेको ‘महेन्द्रमाला’को सम्बन्ध अगाडि र पछाडिका शब्दसँग मिलाउन सकिँदैन ।
महेन्द्रको प्रशस्तिको संशोधन र सेनामा चलेका
अङ्ग्रेजी शब्दको संस्कृतीकरण चूडानाथ भट्टराय (वि.सं. १९७५–२०५३)ले गरेका हुन् भन्ने प्रचार छ । ‘हामीले अमरसिंह र बलभद्रलाई विदा दिएपछि सेनामा अंग्रेजी भाषा प्रवेश गरायौं तर धेरै पछि परम सेनाधिपति श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवबाट सेनामा सबै नेपाली र संस्कृत शब्दकै व्यवहार गराइ बक्सेर देशको सार्वभौमिक स्वतन्त्रतालाई चाहिने आफ्नोपन निगाहा भएर व्यक्तित्वको परिचय बक्स्यो’ (चूडानाथ भट्टराय, ‘हाम्रो परीक्षा—एक परिशीलन’, ‘हिमानी’ ३ वर्ष १ अङ्क, २०२३, ४१–४२ पृ.) भनी महेन्द्रले गरेको यस कामको तारीफ उनले गरेकाले पनि संस्कृतीकरण उनकै हातबाट भएको अनुमान हुन्छ । संस्कृतका विद्वान् भनी कहलिएका भए पनि संस्कृतमा उनको त्यति अधिकार नभएको भन्ने कुरा उनकै लेखाइबाट सिद्ध गर्न सकिने हुनाले त्यस संस्कृतीकरणमा यस्तो गल्ती भएको हुनुपर्छ ।
हाम्रा लेखाइमा चलेका अशुद्ध शब्दको विषयमा पहिले पहिले पनि धेरैले लेखिसकेका छन् । भाववाचक ‘सौहार्द’ शब्दमा फेरि भाववाचक ‘ता’ प्रत्यय जोडी ‘सौहार्दता’ जस्ता शब्दको प्रयोग गरेको अशुद्ध भयो भनी चूडानाथ भट्टरायले लेखेको कुराको सम्झना यस प्रसङ्गमा हुन्छ । तर त्यो लेख कहाँ छापिएको थियो भन्नेचाहिँ अहिले सम्झन सकिएन । २२ वर्षभन्दा अगाडि यस्तै विषयमा फणीन्द्र नेपाल (वि.सं. २०१५ मा जन्म)ले लेखेको लेखमा यही ‘कान्तिपुर’ दैनिकका कटिङको सूचीकरणको प्रसङ्गमा हालै आँखा पर्‍यो (‘चलनचल्तीका केही अशुद्ध शब्दहरू’, २०५२।६।२१।७, ख पृ.) । यस्तै विषयमा शरच्चन्द्र वस्ती (वि.सं. २०१३ मा जन्म)ले लेखेको ‘नेपाली कसरी लेख्ने ?’ पुस्तक यसै साल प्रकाशित भयो (ज्ञान–विज्ञान शैक्षिक सहकारी संस्था लि., ललितपुर) । हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम त्यस पुस्तकमा भएको छ ।
तर शरच्चन्द्र वस्तीले मिहिनेत गरी तयार गरेको त्यस शब्दसूचीमा सबै शब्द नसमेटिएका मात्र होइनन्, उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द पनि त्यहाँ बाँकी छन् । ती सबै कुरा यस सानो लेखमा समेट्न सम्भव नभएकोले यस लेखको अन्त्यमा यस विषयमा केही कुरा मात्र लेखी चित्त बुझाउनुपरेको छ ।
‘अधेग्रो जाने’ अर्थमा प्रयोग हुने ‘गर्भपतन’ शब्द भ्रूणहत्या किंवा ‘गर्भपात’को अर्थमा हाम्रा लेखाइमा चलिरहेका छन्—
‘अझै पनि परिवारको दबाबमा गर्भपतन’ (‘अन्नपूर्ण पोस्ट्’, २०७४।७।९।५, ८ पृ.), ‘गर्भपतनको औषधि जथाभाबी बिक्री’ (‘कान्तिपुर’, २०७४।९।२४।२, ४ पृ.), ‘गर्भपतन गराउनेमा किशोरी अधिक’ (‘नेपाल समाचारपत्र’, २०७४।९।२४।२, ६ पृ.) ।
‘विस्तारो विग्रहो व्यास: स च शब्दस्य विस्तर:’ (‘अमरकोष’ ३।२।२२) अर्थात् ‘अरू किसिमका ‘फैलावट’को अर्थमा ‘विस्तार, विग्रह र व्यास’ शब्द हुन्छन्, ‘शब्दको फैलावट’ भन्ने अर्थमा चाहिँ ‘विस्तर’ शब्द हुन्छ’ भन्ने नियम छ । तर ‘शब्दको फैलावट’मा पनि हाम्रा लेखकहरूले त्यस्तो अर्थ नबुझाउने ‘विस्तार’ शब्दको प्रयोग गरिरहेका छन्—
‘करोडौँ जनताको चाहना दबाएर लाखौँ जनताको लासमाथि उभ्याइएको भारतको राष्ट्रिय एकता र अखण्डता आजै पनि धरापमै छ भनेर भारतीय लेखक राजीव मल्होत्राले ‘ब्रेकिङ इन्डिया’ पुस्तकमा सविस्तार वर्णन गरेका छन्’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) ।
‘गर्नु’ अर्थ भएको भाववाचक ‘करण’ शब्द लेख्दा लेख्दै पनि क्रियापदमा पनि ‘गर्’ नै लेख्ने अशुद्ध चलन हाम्रा लेखाइमा जहीँ तहीँ देखिन्छ—
‘यस्तै उपाय अवलम्बन गरेर उनले नेपाल देशको एकीकरण गरे’ (ज्ञानमणि नेपाल, ‘पृथ्वीनारायणलाई सम्मान किन ?’, ‘कान्तिपुर’, २०७४।९।२७।५, ७ पृ.), ‘पृथ्वीनारायणले एकीकरण नगरेको भए नेपालको अस्तित्व रहने थिएन’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.), ‘राज्य विस्तारीकरण गरिएको भए विजित राज्य भाइ–छोराहरूलाई बाँडेर उनीहरू नै राजा हुन्थे होलान्, तर यस्तो गरिएन’ र ‘गोरखा राज्य विस्तारीकरण गर्न खोजिएको हो’ (बुद्धिनारायण श्रेष्ठ, ‘कसरी हेर्ने पृथ्वीनारायण शाहलाई ?’, ‘नागरिक’, २०७४।९।२७।५, ७ पृ.)
पहिलो वाक्यमा ‘... उनले नेपाल देशलाई एक पारे’, दोस्रो वाक्यमा ‘पृथ्वीनारायणले एक नपारेको भए नेपालको अस्तित्व रहने थिएन’, तेस्रो वाक्यमा ‘राज्यको विस्तार गरिएको भए ...’ र चौथो वाक्यमा ‘गोरखा राज्य विस्तार गर्न खोजिएको हो’ भनी लेखिएको भए वाक्य बढी राम्रो हुन्थ्यो ।
‘भूतपूर्व’ अर्थात् ‘पहिले भएको, अहिले वहालवाला नभएको’ भन्ने अर्थमा आजभोलि ‘पूर्व’ शब्द चलनचल्तीमा आएको छ—
‘उक्त पर्व मनाउन एक पूर्वसुब्बा र एक पूर्वलप्टन हुन् कि के हुन्, एउटा साथी लिएर त्यहीं बस्न आइपुगे’ (जगमान गुरुङ, ‘नेपाली राष्ट्रियताको विकास’, ‘अन्नपूर्ण पोस्ट्’, २०७४।९।२७।५, ७ पृ.) । यसै गरी, ‘भूतपूर्व राजा’लाई ‘पूर्वराजा’ शब्द पनि प्रयोगमा खूब आउँछ । तर यस शब्दले विवक्षित अर्थ बुझाउन सक्दैन भनी भनिरहनु नपर्ला ।
‘तत्कालीन’, ‘समकालीन’ जस्ता शब्द अशुद्ध र ‘तात्कालिक’, ‘सामानकालिक’ जस्ता शब्द शुद्ध भए पनि प्राचीन कालदेखि नै त्यस्ता अशुद्ध रूप व्यवहारमा चलिरहेछन् । त्यसैले ‘अपभ्रंशा एवैत इति प्रामाणिका:’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भनी ‘सिद्धान्तकौमुदी’का कर्ता भट्टोजि दीक्षित भन्छन् (भोलानाथ पौडेल र धनवज्र वज्राचार्य, ‘व्याकरण–संशोधन’ ५ संख्या, २०१६, १३–१६ पृ.) । त्यही ‘तत्कालीन’ शब्दलाई ‘नेपाली कसरी लेख्ने ?’का कर्ताले पनि शुद्ध मानेकाले (११६ पृ.) जगमान गुरुङ (वि.सं. २००३ मा जन्म)ले ‘तत्कालीन’ लेखेकोमा आश्चर्य छैन—
‘तत्कालीन संस्कृति मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्मा उक्त राष्ट्रिय गान प्रस्तुत गरेका थिए’ (जगमान गुरुङ, ‘नेपाली राष्ट्रियताको विकास’, ‘अन्नपूर्ण पोस्ट्’, २०७४।९।२७।५, ७ पृ.) ।
यस प्रसङ्गमा २७ वर्षभन्दा पनि अगाडि उठेको एउटा विवादको सम्झना आयो । कुरा के भने, नेपाल राजकीय
प्रज्ञा–प्रतिष्ठानले ‘समकालीन साहित्य’ नामले पत्रिका प्रकाश गर्ने निधो गरेछ । यस विषयमा सभा बस्दा ‘समकालीन’ शब्द व्याकरणबाट बन्दैन, यस कारण यसको सट्टा अर्को शब्द राखौँ भनी प्राज्ञ नयराज पन्तले भन्दा हिन्दीमा पनि यो शब्द चलेको छ भनी अरू प्राज्ञहरूले विरोध गरेपछि उनी त्यो सभा छोडी फर्केका थिए ।

‘संसत्सम्बन्धी’ भन्दा ‘सांसद’ र ‘विद्युत्सम्बन्धी’ भन्दा ‘वैद्युत’ हुनुपर्नेमा ‘संसदीय’ र ‘विद्युतीय’ शब्द चलेका छन्—
‘माओवादीको एजेन्डा स्वीकार गर्दै संसदीय पद्धतिमा विश्वास गर्ने दलहरूले समेत राष्ट्रियता कमजोर बनाउने खेलमा साथ दिए’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । ‘विद्युतीय’ शब्दको प्रयोग त ‘नेपाली कसरी लेख्ने ?’का कर्ताले नै गरेकाले (१३८ पृ.) अरूलाई के भन्नु ।
‘आधार लिइएको’, ‘शासन गरिएको’, ‘उल्था गरिएको’, ‘सम्बन्ध भएको’ र ‘वितरण गरिएको’ भन्ने अर्थमा क्रमश: ‘आधृत’, ‘शिष्ट’, ‘अनूदित’, ‘सम्बद्ध’ र ‘वितीर्ण’ हुनुपर्नेमा ‘आधारित’, ‘शासित’, ‘अनुवादित’, ‘सम्बन्धित’ र ‘वितरित’ चलेका छन्—
‘विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता महत्वपूर्ण संस्थाको अध्ययन र तथ्यांकमा आधारित छ विश्लेषण’ (युवराज गौतम, ‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । यो तर्क पनि तथ्यमा आधारित छैन (आहुति, ‘पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता ?’ ‘नागरिक’, २०७४।९।२९।७, ख पृ.) । ‘देश हुनका निम्ति राज्यसत्ता र शासित जनता भूभाग भए पुग्छ’ (उही) । ‘संग्रौलाद्वारा अनुवादित भारतीय लेखक सत्यजित राय (रे)को पुस्तक ‘सत्यजित रायका कथा’को लोकार्पण समारोहमा वाग्लेले यस्तो तुलना गरेका थिए’ (‘राय र पाण्डेका कृति एकसाथ’, ‘कान्तिपुर’, २०७४।९।२९।७, ९ पृ.) । ‘उनीहरूले धर्मप्रचारको निहुँमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित गुप्त सूचना संग्रह गरिरहेको चाल पाएपछि नेपालबाट धपाइएको इतिहासकार सूर्यविक्रम ज्ञवाली र बाबुराम आचार्यको तर्क छ’ (‘पृथ्वीनारायणको गल्ती के ?’, ‘नागरिक’, २०७४।९।२८।६, ७ पृ.) । ‘नेपाली कसरी लेख्ने ?’का रचयिताले ‘आधारित’ (६९ पृ.), ‘अनुशासित’ (१०४ पृ.) र ‘वितरित’ (१३८ पृ.) सही शब्द मानेको देख्दा अचम्म लाग्छ ।
‘समर्थ’को अर्थमा ‘क्षम’ शब्द र ‘असमर्थ’को अर्थमा ‘अक्षम’ शब्द हुनुपर्नेमा आजभोलि ‘सक्षम’ र ‘असक्षम’ शब्द चलेका छन्—

‘समग्रतामा पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दू पहाडिया खस–आर्य अहंकारवादी राजा थिए’ (आहुति, ‘पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता ?’, ‘नागरिक’, २०७४।९।२९।७, ख पृ.) । अरूको त के कुरा गर्नु, दरबारबाट छापिएको मेरो आफ्नै लेखमा ‘क्षम’ शब्द ‘सक्षम’ भई छापिएको सम्झना यस प्रसङ्गमा हुन्छ (‘रमझम’, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहमा इतिहासको चेतना’, २०४१, २४ पृ.) ।

परसवर्ण गर्नैपर्नेमा परसवर्ण नगर्ने, विकल्पले परसवर्ण हुने शब्दमा चाहिँ परसवर्ण गर्ने चलन अहिले चलेको छ । त्यही चलनको समर्थन शरच्चन्द्र वस्तीको यस पुस्तकमा पनि भएको छ । खुलाएर भन्दा, ‘अङ्कुश’, ‘आशङ्का’, ‘निष्कलङ्क’ र ‘शङ्ख’ नलेखी ‘अंकुश’ (१०३ पृ.), ‘आशंका’ (१०६ पृ.), ‘निष्कलंक’ (१२१ पृ.) र ‘शंख’ (१४१ पृ.) सही रूप मानी त्यहाँ राखिएका छन् । त्यसै गरी, खुट्टा काटेर लेखिने ‘उपनिषद्’, ‘ऋत्विक्’, ‘नाशवान्’ र ‘मन्त्रिपरिषद्’को सट्टा ‘उपनिषद’ (१०८ पृ.), ‘ऋत्विक’ (१०८ पृ.), ‘नाशवान’ (१२० पृ.) र ‘मन्त्रिपरिषद’ (१३२ पृ.) सही ठानिएका छन् । ‘त’मा द्वित्व हुने ‘पाश्चात्त्य’ र ‘बोधिसत्त्व’को ठाउँमा ‘पाश्चात्य’ (१२४ पृ.) र ‘बोधिसत्व’ (१३० पृ.) शुद्ध मानिएका छन् । व्याकरणबाट सिद्ध नहुने ‘पूर्वीय’ शब्द (१२५ पृ.) सही ठहर्‍याइएको छ । ‘जागर्ति’ र ‘जाग्रत्’ हुनुपर्नेमा ‘जागृति’ र ‘जाग्रत’ शुद्ध ठानिएको छ (११४ पृ.) ।
प्रकाशित : माघ ६, २०७४ ०९:०१


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
भाषिक विमर्शको शीतल समीर
प्रतिटिप्पणी
माघ १३, २०७४शरच्चन्द्र वस्ती

काठमाडौँ — हाम्रा भाषारभित्र्याइएका शब्द र चलनचल्तीका अशुद्ध शब्द’ शीर्षकमा अघिल्लो शनिवार ९२०७४ माघ ६ गते० प्रकाशित डा। महेशराज पन्तको लेख पढ्न पाउँदा मन आनन्दित भयो।


शब्दको अर्थ, मर्म र व्यक्तित्व पर्गेल्न सक्ने विद्वानहरूले सार्वजनिक रूपमा खबरदारी नगरिदिएकै कारण शब्दको अपमान र अंगभंग गर्नुलाई नै आफ्नो जीवनको सार्थकता ठान्ने ‘सरकारी भाषाशास्त्री’ हरूको कर्कश कोलाहलले हाम्रो भाषिक पर्यावरण प्रदूषित हुन पुगेको छ। यो उकुसमुकुसका बीच, ‘विद्वान्’ शब्दलाई सार्थकता प्रदान गरेका डा। पन्तको लेखले स्वच्छ–शीतल समीर प्रवाहित गरेको अनुभूति भएको छ। यस्तो समीर निरन्तर प्रवाहित भइरहोस् !

हाम्रो भाषामा चलेका, चलाइएका जेजति शब्द पक्रेर तिनको रूप र अर्थबारे जेजस्ता कुरा लेखकले औंल्याउनुभएको छ, तिनमा विमति व्यक्त गर्नुपर्ने ठाउँ छैन। गुरुकुलीय शिक्षा, गहन विद्वत्ता र परिच्छेद–समर्थ पाण्डित्यको दुर्लभ समष्टि झल्किएको छ त्यस लेखमा। लेखको पूर्वाद्र्घमा विदेशी शब्दलाई संस्कृतको चोगा पहिर्‍याई बनाइएका ‘संविधान’, ‘सामन्त’ वा ‘नागरिक’, ‘पञ्चवर्षीय’ जस्ता शब्दले कसरी वाञ्छित अर्थ दिंदैनन् वा ती शब्दै बन्दैनन् भन्ने स्पष्ट पार्ने सन्दर्भमा उहाँले गरेका दुई टिप्पणी विशेष मननीय छन् स् क। पाश्चात्य भाषाका शब्दलाई संस्कृतमा भाषान्तर गर्न संस्कृतको जुन तहको ज्ञान चाहिन्थ्यो, त्यो तहको ज्ञान भएका मानिसको हातबाट शब्द बनाउने काम नभएकोले शब्दको निकै बिजोग भएको छ। ख। कि हामीले विदेशी शब्द नै हाम्रो भाषामा भित्र्याउनुपथ्र्यो, कि संस्कृतवाङ्मयको आलोडन गरेर ठीक शब्दको चयन गर्न सक्नुपथ्र्यो, तर आफ्नो भाषाको शब्द भनी ठीक अर्थ नबुझाउने शब्द चलाउन हुँदैनथ्यो। यी यस्ता टिप्पणी हुन्, जसको प्रकाशमा हामी नेपाली भाषालाई निकै चहकिलो पार्न सक्छौं।

लेखको उत्तराद्र्घमा, यसै वर्ष साउनमा प्रकाशित मैले लेखेको पुस्तक ‘नेपाली कसरी लेख्नेरु’ को चर्चा गर्दै त्यसमा ‘हाम्रो लेखाइमा चलेका अशुद्ध शब्दको वर्णक्रमले फेहरिस्त नै तयार गरी त्यसको शुद्ध रूप दिने प्रशंसनीय काम’ भएको मन्तव्य व्यक्त गरिएको छ। साथै सो शब्दसूचीमा ‘उनले शुद्ध ठानेका, वास्तवमा अशुद्ध शब्द’ पनि रहेको बताउँदै, त्यसमा रहेका ‘आधारित’, ‘अनुशासित’, ‘वितरित’, ‘तत्कालीन’, ‘जागृति’, ‘जाग्रत’, ‘नाशवान’, ‘मन्त्रिपरिषद’, ‘पूर्वीय’ जस्ता कतिपय शब्दलाई लिएर यी शब्द सिद्ध हुँदैनन्रशुद्ध होइनन् भनिएको छ। र, ‘यो पुस्तकका रचयिताले यिनलाई सही शब्द भनेको देख्ता अचम्म लाग्छ’ भन्दै ‘९यिनले पनि० शुद्ध मानेकाले जगमान गुरुङ ९प्रभृति० ले ‘तत्कालीन’ ९आदि० लेखेकोमा आश्चर्य छैन’ भन्ने टिप्पणी गरिएको छ। आफ्नो पुस्तकले डा। पन्त जस्ता उद्भट विद्वानको यत्रो विश्वास हासिल गर्न सकेकोमा मलाई सन्तोष लागेको छ। यही मेसोमा, उहाँले चर्चा गरेका उक्त शब्दहरूको सन्दर्भ पक्रेर आफूलाई लागेका केही कुरा संक्षेपमा भन्न उत्प्रेरित भएको छु।
डा। पन्तले भनेझैं उक्त शब्दहरूको शुद्ध रूप क्रमशस् ‘आधृत’, ‘अनुशिष्ट’, ‘वितीर्ण’, ‘तात्कालिक’, ‘जागर्ति’, ‘जाग्रत्’, ‘नाशवान्’, ‘मन्त्रिपरिषद्’ नै हो। ‘पूर्वीय’ अशुद्ध हो, ‘पौरस्त्य’ शुद्ध हो। कुनै शंकै छैन। संस्कृत पढेको र व्याकरणमा यत्किञ्चित् गति भएका कारण मलाई यति हेक्का नरहने कुरै भएन। यदाकदा संस्कृतमा लेख्नुपर्दा यस्तै लेख्छु, अशुद्ध लेख्ने कुरै आएन। नेपालीमा यिनको तत्सम रूप यही हो, यसमा पनि कुनै द्विविधा छैन। यस रूपमा यिनको जति प्रयोग गरे पनि हुन्छ।

तर, कुरा यति मात्र छैन। नेपालीमा यी शब्दलेआफ्नो रूप बदलिसकेका छन्। बदलिएको रूपमा स्थापित एवं शिष्टपरम्परा र प्रचलनबाट अनुमोदित पनि भइसकेका छन्। धेरैलाई यस्ता शब्द ९आधारित, अनुशासित, वितरित, तत्कालीन, जागृति, जाग्रत, नाशवान, मन्त्रिपरिषद, पूर्वीय आदि० संस्कृतबाट आएका तत्सम शब्द हुन् भन्ने लाग्छ, जुन भ्रम हो। अब यी नेपाली शब्द हुन्। यिनलाई ‘संस्कृत’ होइन, ‘संस्कृतवत्’ संज्ञा सम्म दिन सकिएला। पारिभाषिक रूपमा ‘तद्भव’ भन्न सकिन्छ र ‘अपभ्रंश’ पनि। ‘अपभ्रंश एवैत इति प्रामाणिकास्’ अर्थात् ‘यी रूप अपभ्रंश नै हुन् भनी प्रमाणको आधारमा बोल्नेहरू भन्छन्’ भन्ने डा। पन्तद्वारा उद्धृत भट्टोजिदीक्षितीय भनाइ यहाँ सान्दर्भिक हुन आउँछ। यस्ता शब्द नेपालीमा असंख्य छन् र हामी ढुक्कै चलाइरहेकै छौं। जस्तै, ‘तन्त्र’ बाट ‘तान्त्रिक’ त बन्छ, तर ‘गणतन्त्र’ बाट ‘गणतान्त्रिक’, ‘प्रजातन्त्र’ बाट ‘प्रजातान्त्रिक’ अथवा ‘लोकतन्त्र’ बाट ‘लोकतान्त्रिक’ शब्द बन्छ ररुयस्ता शब्दलाई नेपालीमा तद्भव मानेर स्वीकार्नु समीचीन हुने दीक्षा मैले चार दशक अघि भाषाविज्ञ महानन्द सापकोटाबाट प्राप्त गरेको हुँ। २०३३ साल चैतको उत्तराद्र्घ र त्यसपछिका केही महीना भारतको वाराणसीमा उहाँसँग मेरो संगत भएको थियो। ‘नेपाली शब्द परिचय’ छपाउन त्यहाँ पुग्नुभएको रहेछ र प्रूफरीडिङ आदिमा मसँग सहयोग माग्नुभयो। म लागिपरें। त्यस क्रममा शब्दबारे प्रशस्त छलफल चल्थ्यो। ‘उपर्युक्त’ शब्द शुद्ध हो र ‘उपरोक्त’ अशुद्ध, त्यसैले ‘उपरोक्त’ लाई बहिष्कार गर्नुपर्छ भन्थे सबै विद्वानहरू। म पनि त्यही पक्षमा थिएँ, किनभने संस्कृत व्याकरण अनुसार ‘उपरोक्त’ अशुद्ध नै थियो। छलफलका क्रममा पाणिनीय सूत्रको आधार लिएर म बढ्तै चम्केपछि उहाँले सम्झाउँदै भन्नुभयो, ँभाषा भनेको लोकव्यवहारबाट बन्दै जाने हो। ‘उपरोक्त’ शब्दलाई लोकले मानिसक्यो। जनजिभ्रोले स्वीकारिसक्यो। त्यसैले यसलाई पनि मान्यता दिनुपर्छ।” मैले ‘कसरीरु’ भनेर सोध्दा उहाँले भन्नुभयो, ँसजिलै छ। ‘उपर्युक्त’ लाई संस्कृतबाट आएको तत्सम भन्ने, ‘उपरोक्त’ लाई त्यसको तद्भव।” नेपाली भाषालाई बुझ्न र यसको गाँठो फुकाउन त्यो सूत्र मेरा लागि मार्गदर्शक बनेको छ।

संस्कृतबाट जन्मे पनि नेपाली भाषाको स्वभाव भनौं वा बानीबेहोरा, गति भनौं वा मार्ग अलिअलि फरक छ। मानिसकै सन्तानको झैं। त्यसैले, समास भए पनि हेर्दा लामो देखियो, असजिलो लाग्यो भने यसले डिको जोड्दैन। संस्कृतका हलन्त शब्द ९खास गरी नाम र विशेषण० मा हलन्त छोड्दै गएको छ। ‘नाशवान’ मात्र होइन शक्तिमान, बलवान, बुद्धिमान, हनुमान, भगवान आदि लेख्न रुचाउँछ। ‘महान्’ लाई ‘महान’ मात्र लेख्तैन, त्यसमा संस्कृतकै प्रत्यय ‘ता’ थपेर ‘महानता’ पनि बनाउँछ। ‘विद्युत्’ र ‘संसद्’ को खुट्टो काट्न छोडेर उल्टै ‘ईय’ थप्छ र ‘विद्युतीय’, ‘संसदीय’ बनाउँछ। मलाई लाग्छ, हामीले यिनलाई पनि तद्भवको कोटिमा राखेर स्वीकार्नु नै उचित हुन्छ। संस्कृतमा अशुद्ध, नेपालीमा शुद्ध। हामी नेपाली भाषाको कुरा गर्दैछौं नि त !

मेरो अभिप्राय बिगारिएका, भत्काइएका सबै शब्दलाई नेपालीमा सही मानेर स्वीकार्नुपर्छ, अशुद्धि र अराजकताका निम्ति चोरबाटो खोलिदिनुपर्छ भन्ने कदापि होइन। बृहत्तर लोकव्यवहारबाट स्वीकृत एवं शिष्टपरम्पराबाट अनुमोदित शब्दलाई स्वीकार्नुपर्छ— अलिकति उदारता, पर्याप्त विवेक र प्रशस्त संवेदनशीलताको भाव लिएर, भन्ने मात्र मेरो आशय भनौं वा आग्रह हो। विकल्प र निपातको आलोकमा पर्यवलोकन गर्दा मैले पढेका पाणिनिको सरणि पनि यस्तै थियो जस्तो लाग्छ।

डा। पन्तले निकै सूक्ष्म र गहिरा कुरा उठाउनुभएको छ। त्यस स्तरका कुरा र विमर्श चल्नैपर्छ। तर, आजको भाषिक विमर्श त्यतिमा सीमित रहनुहुँदैन। किनभने, आज हाम्रो भाषा अज्ञान वा असावधानीवश गरिएका त्रुटिबाट ‘असंस्कृत’ अवस्थातर्फ अभिमुख भएको मात्र होइन, सुनियोजित तवरमा भइरहेका सांघातिक प्रहारहरूबाट क्षतविक्षत नै भइरहेको छ। कहीं ‘चाइल्ड् फ्रेन्ड्ली’ लाई ‘बाल मैत्री’ भन्ने जस्ता हास्यास्पद अनुवादको आघातबाट रन्थनिएको छ त कहीं ‘मराउमाथि कात्रो’ भनेझैं ‘अपांग’ ९नेत्रप्रान्त० लाई ‘विकलांग’ को अर्थमा प्रयोग गर्दा पनि नपुगेर ‘अपांगता भएको’ भन्न विवश बनाइएको छ। नेपालीमाएउटा पातलो स र एक–एकवटा ह्रस्व इ–उ भए पुग्छ, श–ष–ई–ऊ चाहिंदैनन् भन्ने पण्डितम्मन्यहरूको विप्रलापबाट प्रताडित छ। अनि, राज्यशक्तिको आडमा शुद्ध शब्दहरूको बलात् अंगभंग गरिने, वर्णमालाबाट वर्णहरू हटाइने, छँदाखाँदाका संयुक्त अक्षर फुटाइने ९‘विद्या’ लाई ‘विद्या’ मात्र होइन, ‘अङ्क’ लाई समेत ‘अङ्क’ बनाइने० जस्ता आततायी व्यवहारबाट युद्धस्तरमा आक्रान्त छ। यस अवस्थामा डा। पन्त जस्ता विद्वानहरूको भाषिक संवेदनशीलताले भरिपूर्ण वैचारिक विमर्शले नै नेपाली भाषालाई संकटमग्न हुनबाट जोगिन सघाउनेछ। नेपाली भाषाप्रेमी हामी सबैले यसको स्वागत गर्नुपर्छ। जय होस्!

प्रकाशित : माघ १३, २०७४ १०:५३