Author Topic: दयाहाङ राइ - Dayahang Rai  (Read 2902 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15288
दयाहाङ राइ - Dayahang Rai
« on: July 01, 2016, 07:38:43 AM »
राष्ट्रिय पुरस्कारमा दयाहाङको ह्याट्रिक
बैकुण्ठराज पराजुली, काठमाडौं, 2016/06/30
अभिनेता दयाहाङ राईले सरकारको तर्फबाट चलचित्र विकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कारमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई बर्षमा लगातार उत्कृष्ट बनेका उनले अहिलेसम्म तीन फिल्मबाट राष्ट्रिय अवार्ड हात पारे।

 
२०६६ सालमा उत्कृष्ट सह अभिनेतामा 'दासढुङ्गा' फिल्मबाट राष्ट्रिय पुरस्कार पाएका दयाहाङले गत बर्ष फिल्म 'सम्बोधन'बाट उत्कृष्ट अभिनेताको पुरस्कार जितेका थिए । बर्ष २०७२ मा प्रदर्शित फिल्म 'कबड्डी कबड्डी'बाट उत्कृष्ट अभिनेताको विजेता छनोट भएसँगै उनले ह्यट्रिक पुरा गरेका हुन् ।
 
तीन पटक राष्ट्रिय अवार्ड विनर बनेका दयाहाङले फिल्मीखबरसँग कुरा गर्दै दर्शकले यो स्थानसम्म ल्याएको भन्दै यसको सबै श्रेय दर्शकलाई दिए । आफ्नो लक्ष्य हरेक फिल्ममा राम्रो गर्ने रहेको भन्दै त्यसको मुल्याङ्कन गर्ने तथा लेखाजोखा राख्ने काम दर्शक र निर्णायक मण्डलको रहेको उनको भनाई छ।
 
यो बर्षको राष्ट्रिय पुरस्कार बिहिबार साँझ राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच वितरण गरिँदै भएपनि पुरस्कार विजेताहरुको नाम भने बिहिबार दिउँसो नै विकास वोर्डले सार्वजनिक गरिसकेको हो ।


« Last Edit: July 04, 2016, 12:37:46 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15288
Re: दयाहाङ राइ - Dayahang Rai
« Reply #1 on: July 01, 2016, 07:40:45 AM »
दयाहाङ राईका बानी र स्वभावबारे पत्नी बेनुकालाई १०१ प्रश्न :अभिनेता दयाहाङ रिसाएपछि “डेन्जर”



रंगमञ्चबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका दयाहाङ राई अचेल ठूलो पर्दाका स्टार हुन् । ‘दासढुंगा’ ‘लुट’, ‘बधशाला’ ‘कबड्डी’, ‘झोले’, ‘कबड्डी कबड्डी’लगायतका हिट सिनेमा दिएका उनको पछिल्लो चलचित्र ‘हाउ फन्नी’ शुक्रबार रिलिज भएको छ । तुलनात्मक रूपमा अन्य अभिनेताभन्दा उनी सोझा र सामान्य जीवनशैली भएका मानिन्छन् ।

 दयाहाङका बानी र स्वभावबारे पत्नी बेनुका राईलाई १०१ प्रश्न :
१. तपार्इंहरूको बिहे कहिले भएको ?
२०६५ फागुन ९ गते बिहे गरेका हौँ, सात वर्ष भयो ।
२. प्रेम विवाह कि मागी विवाह ?
लभ म्यारिज नै हो । तर, परिवारको अनुमतिमै बिहे गरेका हौँ ।
३. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ?
मेरो रेकर्डिङ थियो बागबजारमा । मेरो साथीको उहाँ पनि साथी हुनुहुँदो रहेछ, सँगै आउनुभएको थियो । त्यहीँ पहिलोपल्ट हाम्रो भेट भयो ।
४. त्यसपछि निरन्तर भेट हुन थाल्यो ?
निरन्तर नभए पनि भेट हुन्थ्यो । उहाँले राम्रो कार्यक्रममा मलाई पनि जानुपर्छ भने बोलाउनुहुन्थ्यो ।
५. एक–अर्कालाई मन पराउने कुरा तपाईंहरूलाई कहिले थाहा भयो ?
एक–अर्कालाई केयर गर्ने गरिन्थ्यो । एक वर्षपछि त्यस्तो फिलिङ भयो ।
६. कसले पहिला प्रस्ताव गर्नुभयो ?
प्रस्ताव त उहाँले नै गर्नुभएको हो ।
७. के भन्नुभएको थियो ?
‘मैले तिमीलाई धोखा दिँदै छु । हामीबीच राम्रो साथीको सम्बन्ध छ, तर मैले त्योभन्दा फरक ढंगले सोचेको छु । तिमी के ठान्छ्यौ ?’ भनेर भन्नुभयो ।
८. अनि तपाईंले तत्कालै स्वीकार गर्नुभयो ?
गरिनँ नि । मलाई सोच्न एक–दुई दिनको समय दिनुहोस् भनँे । पछि मात्रै मैले पनि ओके भनेँ ।
९. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?
त्यस्तो डेटिङ नै भनेर त हुँदैनथ्यो । भेटघाटचाहिँ भइरहन्थ्यो ।
१०. डेटिङका लागि कस्ता ठाउँहरू रोज्नुहुन्थ्यो ?
यही ठाउँ भनेर होइन । तर, कहिले मेरो रेकर्डिङको सिलसिलामा, कहिले कार्यक्रममा त कहिले चिया खाने ठाउँहरूमा भेट गथ्र्याँै ।
११. घरमा कति पछि थाहा पाए ?
दुई–तीन वर्षपछि थाहा भयो । उहाँ त्यतिवेला काकाकाकीसँग बस्नुहुन्थ्यो, बिस्तारै आफ्नो घरमा भन्नुभयो । मैले पनि सुरुमा दिदीसँग भनँे, पछि बुबाले पनि थाहा पाउनुभयो ।
१२. घरबाट कुनै आपत्ति भएन ?
भएन । हाम्रो बुबा त्यस्तोमा आपत्ति जनाउने मान्छे होइन । उहाँको घरबाट पनि त्यस्तो आपत्ति थिएन ।
१३. विवाह कतिपछि गर्नुभयो ?
सात वर्षपछि बिहे गर्‍यौँ ।
१४. बिहानको खाजामा के लिनुहुन्छ ?
बिहानमा प्राय: खाजा नै खानुहुन्न । पानी मात्रै धेरै पिउने गर्नुहुन्छ ।
१५. खानामा के मन पराउनुहुन्छ ?
दालभात, तरकारी नै खानुहुन्छ ।
१६. माछामासु कत्तिको रुचाउनुहुन्छ ?
मासु त एकदमै मन पराउनुहुन्छ । खानासँग मासु नभई हुँदैन भन्दा पनि हुन्छ । पोर्क एकदमै मीठो मान्नुहुन्छ । माछा पनि रुचाउनुहुन्छ ।
१७. दिउँसो खाजा के खानुहुन्छ ?
दिउँसो प्राय: घरमा हुनुहुन्न । के खानुहुन्छ, टुंगै हुन्न ।
१८. रातिको खानामा के रुचाउनुहुन्छ ?
राति पनि त्यही दालभात, तरकारी, मासु नै हो ।
१९. दिनमा कति कप चिया–कफी खानुहुन्छ ?
त्यस्तै, चार–पाँच कप हुन्छ होला ।
२०. घरमा खाना कसले पकाउँछ ?
प्राय: मैले नै पकाउँछु, नानी (दिदीकी छोरी) पनि छ, उसले पनि पकाउँछे ।
२१. कसले पकाएको धेरै मन पराउनुहुन्छ ?
मैले पकाएको मीठो मान्नुहुन्छ होला (हाँसो) । नानीले पकाएको पनि मीठो मान्नुहुन्छ ।
२२. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?
त्यस्तो बानी त छैन । जहिले पनि ‘मीठो छ’ नै भन्नुहुन्छ । मेरो मन राख्न पनि भन्नुभएको होला ।
२३. किन नि त्यस्तो ?
प्राय: कार्यक्रममा बाहिर गइरहनुहुन्छ । घरमा भएका वेला पनि ‘मीठो भएन’ भन्दा, सँगै खाइनदिँदा नराम्रो लाग्न सक्छ भन्ने सोच्नुहुन्छ होला ।
२४. त्यस्तो केही संकेत पाउनुभएको छ र ?
काठमाडौंमै हुँदा पनि साथीभाइले सँगै खान बोलाउँछन्, घरमा मैले पकाएकी हुन्छु । साथीहरूलाई पनि नाइँ भन्न सक्नुहुन्न । त्यसरी बाहिर खाँदा ‘घरमा पनि खानुपर्छ’ भन्दै खाना नथपेको थाहा पाएकी छु ।
२५. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
पहिला–पहिला दुईजना मात्रै हुँदा त पस्नुहुन्थ्यो, पकाउनु पनि हुन्थ्यो । तर, अचेल म नै पकाएर खुवाउँछु ।
२६. के–के पकाउन आउँछ उहाँलाई ?
धेरै मीठो होइन, सामान्य काम चलाउ सबै परिकार पकाउन आउँछ ।
२७. सबैभन्दा मीठो के पकाउनुहुन्छ ?
अन्डाको परिकार मीठो पकाउनुहुन्छ ।
२८. उहाँले पकाएको तपार्इंले खान नपाएको कति भयो ?
चार–पाँच वर्ष भयो होला ।
२९. कहिलेकाहीँ पकाउन भन्नुहुन्न ?
समय नै पाउनुहुन्न । ‘कति वेला तिमीलाई पकाएर खुवाऔँ ?’ भनेर आफैँ भन्नुहुन्छ । पकाएर खुवाउनुभन्दा अचेल उहाँले एक कप चिया मसँगै खाइदिए पनि खुसी हुन्छु ।
३०. उहाँले पकाएको तपाईंलाई सबैभन्दा मीठो लागेको कुन परिकार हो ?
एकपटक अन्डाकरी बनाएर खुवाउनुभएको थियो । साह्रै मीठो लागेको थियो ।
३१. तपार्इंले पकाएको उहाँले सबैभन्दा मीठो के मान्नुहुन्छ ?
पोर्क (बंगुर)को मासु मीठो मान्नुहुन्छ ।
३२. बिहान कति बजे उठ्नुहुन्छ ?
राति अबेर सुत्नुहुन्छ, बिहान ढिलो उठ्नुहुन्छ । उठ्दा करिब आठ बजिसकेको हुन्छ ।
३३. चिया–कफी के रुचाउनुहुन्छ ?
उठ्नेबित्तिकै पानी खानुहुन्छ । त्यसपछि कालो चिया खानुहुन्छ ।
३४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
प्हिला–पहिला त गर्नुहुन्थ्यो । क्लब जानुहुन्थ्यो । तर, अचेल धेरै भयो जानुहुन्न ।
३५. किन छाड्नुभएको नि ?
समय नै हुन्न । लेट नाइट सुत्नुहुन्छ, उठ्दा ढिलो हुन्छ । अनि, काममा लाग्नुहुन्छ ।
३६. योगा पनि गर्नुहुन्न ?
योगामा रुचि त छ । तर, गर्नुभएको छैन ।
३७. राति कतिखेर सुत्नुहुन्छ ?
सुत्दा कम्तीमा पनि एक बजेको हुन्छ ।
३८. सुत्नुअघि केही खाने बानी छ ?
पानी खानुहुन्छ, जतिसक्यो धेरै पानी खानुपर्छ भन्ने छ उहाँको ।
३९. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?
पढ्नुहुन्छ । फुर्सद हुँदा समाचार हेर्नुहुन्छ ।
४०. टेलिभिजनमा समाचार कति हेर्नुहुन्छ ?
टेलिभिजनमा त त्यति हेर्नुहुन्न । घर बसे पो हेर्नु ?
४१. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
राम्रा समाचार आउँदा सबै खुसी नै हुन्छन् । उहाँको बारेमा नराम्रा समाचार प्राय: आएका नै हुँदैनन् । त्यसैले समाचारका बारेमा धेरै प्रतिक्रिया नै जनाउनुहुन्न ।
४२. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?
सिनेमा हेर्न त एकदम मन पराउनु हुन्छ ।
४३. कस्ता फिल्म रुचाउनुहुन्छ ?
अहिलेका नयाँ सिनेमा त हेरिहाल्नहुन्छ । पुराना सिनेमाहरू प्नि एकदम मन पराउनुहुन्छ ।
४४. टेलिभिजनमा कत्तिको हेर्नुहुन्छ ?
घरमै हुनुहुन्न । टेलिभिजन त हेर्नै पाउनुहुन्न ।
४५. बूढाबूढी भएर सिनेमाहलमै गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ?
प्हिला–पहिला त धेरै हेरिन्थ्यो । अचेल सँगै धेरै हेर्न पाएका छैनौँ ।
४६. गुनासो गर्नुहुन्न ?
उहाँले भ्याउनुहुन्न, के गुनासो गर्नु ? उहाँ आफँैलाई पनि फिल हुँदो हो, मैले समय दिन सकेको छैन भनेर । पछिल्लोपल्ट उहाँको फुर्सद हुँदा ककनी घुम्न गएका थियौँ ।
४७. पछिल्लोपल्ट सँगै हेरेको सिनेमा कुन हो ?
उहाँका सिनेमा रिलिज भएका त सबै हेरेका छौँ । अर्को ‘लुटेरा’ पनि हेर्‍यौँ ।
४८. टेलिभिजनमा सिरियल कत्तिको हेर्नुहुन्छ ?
सिरियल त हेर्नुहुन्न । मैले पनि हेर्दिनँ सिरियल ।
४९. गीत कत्तिको सुन्नुहुन्छ ?
गीत त मन पराउनुहुन्छ, सुन्नुहुन्छ ।
५०. कस्ता गीत रुचाउनुहुन्छ ?
आधुनिक गीतहरू बढी मन पराउनुहुन्छ ।
५१. तपाईंलाई खाजा–खाना खुवाउन रेस्टुरेन्ट कत्तिको लैजानुहुन्छ ?
पहिला त जान्थ्यौँ, तर अचेल उहाँलाई समय नै हुँदैन । कम गइन्छ ।
५२. गुनासो गर्नुहुन्न ?
कहिलेकाहीँ त गुनासो गर्न मन लाग्छ, तर फेरि आफँै उहाँको ठाउँमा बसेर सोच्छु । त्यसपछि गुनासो नै गर्दिनँ ।
५३. रेस्टुरेन्ट जाँदा कस्तो ठाउँ मन पराउनुहुन्छ ?
सकभर शान्त ठाउँ मन पराउनुहुन्छ ।
५४. बाहिर जाँदा के खान रुचाउनुहुन्छ ?
चिल्ली आइटमहरू मन पराउनुहुन्छ । प्राय: स्पाइसी खाना नै खानुहुन्छ ।
५५. परिवारलाई कति समय दिनुहुन्छ ?
अहिले त समय दिनुभएको छैन भन्दा नै हुन्छ । छोरालाई घुमाउन लैजान्छु भनेर पटक–पटक भन्नुहुन्छ, तर उहाँले बिर्सनुहुन्छ । मैले भने सम्झिरहेकी हुन्छु ।
५६. कतिवेला परिवारलाई समय दिनुहुन्छ ?
काठमाडौंमा भएका वेला साँझमा वा बिहानमा हो ।
५७. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ?
सबै खालका हुन्छन् । परिवारका कुराकानी धेरै हुन्छन्, प्रोफेसनल कामका बारेमा हुन्छन्, अरू विषयमा पनि हुन्छन् ।
५८. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
विदेश त अहिलेसम्म सँगै गएका छैनौँ, तर सँगै लैजान मन पराउनुहुन्छ । काठमाडौंमै हुने कार्यक्रममा लैजाने पनि गर्नुहुन्छ ।
५९. आफूले लगाउने लुगामा कत्तिको सचेत
हुनुहुन्छ ?
पटक्कै सचेत हुनुहुन्न । आज लगाएको लुगाको बारेमा उहाँलाई भोलि थाहा हुन्न ।
६०. के लगाउन रुचाउनुहुन्छ ?
हल्का कटनका लुगा मन पराउनुहुन्छ । क्याजुअल लुगा नै मन पराउनुहुन्छ । औपचारिक लुगामा ‘कम्फर्ट’ फिल गर्नुहुन्न ।
६१. तपाईंले ‘टिप टप’ भएर हिँड्न सुझाब दिनुहुन्न ?
‘औपचारिक कार्यक्रममा यसरी जानुपर्छ’ भन्ने गरेकी छु । बाँकी त उहाँको आफ्नो रुचिको कुरा पनि हो । त्यहीअनुसार लगाउनुहुन्छ ।
६२. भनेपछि फेसनमा कत्ति पनि रुचि छैन ?
अब आफैँ विचार गर्नुस्, उहाँ कति बेपरबाह हुनुहुन्छ भने मैले अहिलेसम्म कपालमा काइँयो लगाएको देखेकी छैन । जबकि पुरुष मान्छेले पर्समा, खल्तीमा काइँयो बोकेर वेला–वेला कपाल कोरेको देखिन्छ ।
६३. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
जान्नुहुन्छ । आफैँ गर्नुहुन्छ पनि ।
६४. तपाईंको लुगामा पनि लगाइदिनुहुन्छ कि आफ्नो मात्रै लगाउनुहुन्छ ?
‘यो मेरो काम, बाँकी तेरो काम’ भन्नुहुन्न । परेको वेला लगाइदिनुहुन्छ ।
६५. आफ्ना लागि लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?
प्हिला–पहिला त सँगै गएर किन्थ्यौँ । तर, पछिल्लो समय उहाँसँग जान छाडेकी छु, आफैँ किन्नुहुन्छ ।
६६. किन नि ?
उहाँलाई मान्छेहरूले घेरिहाल्नुहुन्छ । झ्याउ लाग्छ । एउटा फाइदाचाहिँ हुन्थ्यो, पसलेले ‘हेभी डिस्काउन्ट’ दिन्थ्यो ।
६७. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
केटा मान्छेहरू ब्रान्डका भने सौखिन हुँदा रहेछन्, हामी महिला भने मन परेको लगाइहाल्छौँ ।
६८. लुगा आफैँ धुनुहुन्छ कि तपाईंले धोइदिनुपर्छ ?
पहिला त आफैँ पनि धुनुहुन्थ्यो । अचेल धुनुहुन्न ।
६९. सहयोगी कत्तिको हुनुहुन्छ ?
सहयोगी त हुनुहुन्छ । समय हुँदा सघाउनुहुन्छ ।
७०. कहिलेकाहीँ तपाईंका लुगा पनि धोइदिनुभएको छ ?
धोइदिनुभएको छ ।
७१. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?
कमाएको सबै थपक्क ल्याएर मलाई नै दिने हो उहाँले ।
७२. आफूले कत्ति पनि राख्नुहुन्न ?
सुरुमा राख्नुहुन्न । पछि चाहिने रकम मसँगै माग्नुहुन्छ ।
७३. उहाँको खर्च केमा हुन्छ ?
त्यही सुटिङमा जाँदा, साथीभाइसँग बस्दा हो नि । केटा मान्छेहरूको केमा खर्च हुन्छ र ?
७४. एउटा सिनेमा खेलेको कति पारिश्रमिक लिनुहुन्छ ?
त्यो त भन्नुहुन्न भन्छन् नि (हाँसो) । मलाई थाहा पनि छैन ।
७५. एकपटकमा आफ्नो आम्दानी तपाईंलाई कति राख्न दिनुभएको छ ?
१०–१२ लाखसम्म दिनुभएको छ ।
७६. पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ?
पैसाकै लागि भनेर त भएको छैन ।
७७. तपाईंले उहाँसँग पैसा माग्नुुहुन्छ कि हुन्न ?
पैसा मसँग नै हुन्छ, माग्नैपर्दैन ।
७८. रिसाउने बानी कति छ ?
खासै रिसाउनुहुन्न । तर, रिसाउनुभयो भने ‘डेन्जर’ हुनुहुन्छ ।
७९.डेन्जर भनेको कस्तो ?
चर्को बोल्नुहुन्छ, बोल्नुहुन्न धेरैबेर ।
८०. कस्ता कुरामा रिसाउनुहुन्छ ?
एउटै कुरा दोहोर्‍याउँदा झर्किनुहुन्छ । ‘भयो अब सुनिसकेँ’ भन्नुहुन्छ ।
८१. रिसाएपछि के गर्नुहुन्छ ?
बोल्नुहुन्न धेरैबेर । तर, नबोलीकन धेरै बस्न सक्नुहुन्न ।
८२. रिसाएपछि कसले पहिला फकाउँछ ?
फकाउने त उहाँले नै हो । आफैँ बोल्न आउनुहुन्छ । मलाई त हाँसो लाग्छ । मेरो रिस पनि त्यति हुन्न ।
८३. के भनेर फकाउनुहुन्छ ?
बोल्नुहुन्छ । बरु, ‘कहिलेकाहीँ त तिमीले पनि अगाडि बोले हुने नि’ भन्नुहुन्छ । हाँसो मात्रै लाग्छ मलाई ।
८४. अरूको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?
तनाव त हुन्छ होला, तर ‘रिफ्ल्याक्ट’ गर्नुहुन्न । मैले सोधँे पनि उहाँलाई । ‘म घर जान भनेपछि १० मिनेट अगाडिदेखि घरको बारेमा मात्रै सोचेर हिँड्छु’ भन्नुभयो ।
८५. परिवारका सदस्यलाई गाली कति गर्नुहुन्छ ?
त्यस्तो त गर्नुहुन्न ।
८६. रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ?
पिट्ने काम त कहिल्यै गर्नुभएन ।
८७. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ?
‘नानी’ भन्नुहुन्छ ।
८८. तपाईंले चाहिँ के भनेर सम्बोधन गर्नुहुन्छ ?
पहिला दयाहाङलाई छोटो बनाएर ‘हाङ’ भन्थेँ । त्यसको अर्थ राजा हो । अचेल छोराले पापा भन्छ । सबैले पापा नै भन्छौँ ।
८९. जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
अरू कुरामा त त्यस्तो जिद्दी गर्नुहुन्न, तर खाने कुरामा उहाँलाई सम्झाउन सकिन्न ।
९०. कस्तो खाने कुरामा भन्नुभएको ?
बिरामी हुँदा, स्वास्थ्यले साथ नदिँदा पनि उहाँलाई मन लागेको खानै पर्छ । कसैले सम्झाउनै सक्दैन । चिल्लो, पिरो, मासु जतिभन्दा पनि खान छाड्नुहुन्न ।
९१. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?
चुरोट पहिलादेखि नै खानुहुन्छ ।
९२. कुन चुरोट खानुहुन्छ ?
साथीहरूसँग बसेका वेला सूर्य लाइट भनेको सुनेकी छु ।
९३. दिनमा कति खानुहुन्छ ?
पाँच–सातवटा खानुहुन्छजस्तो लाग्छ ।
९४. छाड्न भन्नुहुन्न ?
एकपटक दाँतमा समस्या देखिएपछि खान छाडेको थियो । फेरि खान थाल्नुभयो । छाड्नुस् भनेर कर त गरेकी छैन, तर ‘तपाईंको स्वास्थ्य हो, बिग्रिने कुरामा ख्याल गर्नुहोला’ भन्ने गरेकी छु ।
९५. रक्सी कत्तिको खानुहुन्छ ?
खानुहुन्छ, तर मात्ने गरी होइन । खाए पनि उस्तै हो, नखाए पनि उस्तै हो ।
९६. कुन रक्सी खानुहुन्छ ?
ह्विस्की, रम खानुहुन्छ ।
९७. तपाईं खानुहुन्छ कि खानुहुन्न ?
वाइन खान्छु ।
९८. रोमान्टिक कत्तिको हुनुहुन्छ ?
रोमान्टिक नै हुनुहुन्छ ।
९९. गीत कत्तिको गुनगुनाउनुहुन्छ ?
गुनगुनाउनुहुन्छ । बाथरुममा हुँदा, लुगा लगाउँदा गुनगुनाउनुहुन्छ । गीत पनि गाउनु त हुन्छ, तर मीठो होइन । उहाँले गाउन थालेपछि म त हाँसेको हाँस्यै हुन्छु ।
१००. नाच्नचाहिँ कस्तो नाच्नुहुन्छ ?
तपाईंहरूले देख्नुभएकै छ, बिजोग छ ।
१०१. घरमा कत्तिको नाच्नुहुन्छ ?
तीन वर्षको छोरो छ, ऊ रोयो भने नाच्नुहुन्छ । उहाँ नाच्यो भने छोरो पनि हाँस्छ । बिहान बिहान नाचेर हामीहरुलाई पनि हसाउनुहुन्छ ।



खगेन्द्र पन्त\नयाँ पत्रिकाका : साभार

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15288
Re: दयाहाङ राइ - Dayahang Rai
« Reply #2 on: July 02, 2016, 01:39:51 PM »

« Last Edit: July 04, 2016, 12:37:56 PM by tundikhel »

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15288
Re: दयाहाङ राइ - Dayahang Rai
« Reply #3 on: July 04, 2016, 12:39:30 PM »

LilDeviL

  • 10X
  • ***
  • Posts: 10
Re: दयाहाङ राइ - Dayahang Rai
« Reply #4 on: October 18, 2016, 11:45:36 PM »
Salute to one of the finest actors of nepal!!