‘रिल’ मा ‘रियल’ प्रेम जोडी
समुन्द्र राज घिमिरे ललितपुर, साउन २८
‘चपली हाइट २’ को रिलिज पूर्वसन्ध्यामा ‘रिल एन्ड रियल’ जोडी आयुष्मान र परमितासँग सोधियो, ‘तपाईंहरूको पहिलो भेट याद छ?
‘टिनएजको बेला धेरै पार्टी गइन्थ्यो,’ आयुष्मान पहिले बोले, ‘एउटा क्लबमा मैले उसलाई देखेको।’
‘साँच्चै हो!’ परमिताले अविश्वास जनाइन्।
सोफामा सँगै झन्डै टाँस्सिएर बसेका आयुष्मानले परमिताको मुखतिर हेर्दै बोले, ‘तिमीले त्यतिबेला रातो लुगा लगाएकी थियौ।’
‘तिमीले त्योबेलादेखि आँखा लगाउँथ्यौ है!’ परमिताले ठट्टा गरिन्।
‘आँखा ला’को हैन,’ आयुष्मानले भने, ‘साथीको गर्लफ्रेन्ड भनेर हेर्या नि।’
माहोल एकछिन हाँसोमय भयो।
सुरुमा त आयुष्मानले ठट्टा गरेझैं लाग्यो। नभन्दै, ‘सत्य’ त्यही रहेछ।
सात वर्षअघि परमिता आयुष्मानका साथीकी प्रेमिका रहिछन्।
करिब पाँच वर्षदेखि प्रेममा रहेको यो जोडीको ‘प्रेम कहानी’ बारे झनै जिज्ञासा बढ्यो।
‘अनि त्यसपछि?’
...
जावलाखेलको बरिस्ता क्याफे।
आयुष्मान देशराज श्रेष्ठ र परमिता राणा जुन सोफामा बसेर बिहीबार मसँग गफिए, त्यो त्यही सोफा थियो जहाँ बसेर आयुष्मानले ‘चपली हाइट २’ को मुख्य भूमिकाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
२०६९ चैत २० गते रिलिज फिल्म ‘चपली हाइट’ को प्रशंसा र आलोचना दुवैले ‘हाइट’ लिएको थियो। त्यसैको सिक्वेल ‘चपली हाइट २’ मा छानिँदा आयुष्मानमा खुसी, आशा र डरको समीश्रण थियो। फिल्म रिलिज हुनै लाग्दा कठोर परीक्षा पास हुन्छु भनी ढुक्क परीक्षार्थीको जस्तो आत्मविश्वास उनको अनुहारमा झल्किन्थ्यो।
‘चपली हाइट २’ आयुष्मानको पहिलो रिलिज फिल्म हो, तर अनुबन्धित भएको पहिलो फिल्म होइन।
यसमा छानिनुअघि नै ‘लभ नम्बर’ नामको फिल्म बन्नेवाला थियो। ‘होस्टल रिटन्र्स’ का निर्देशक सुरज भुषालको निर्देशनमा बन्ने पक्कापक्की भएर कलाकार पनि छानिइसकेका थिए। सुटिङमा जानुअघि करिब दुई महिना वर्कसप चलिसकेको थियो। एक्कासि फिल्म ‘पोस्टपोन्ड’ भयो। अहिलेसम्म बनेको छैन।
त्यसबेला आयुष्मानमा अभिनयको भोक जाग्दो थियो। ‘लभ नम्बर’ ले त्यो भोक शान्त पार्ला भन्ने उनले ठानेका थिए। त्यसो भएन। पहिलो गाँसमै किरकिरे ढुंगा लागेपछि दुःख नलाग्ने कुरै थिएन।
एकातिर पक्कापक्की भइसकेको फिल्म नबन्दाको दुःख थियो भने अर्कातिर ‘चपली हाइट सिक्वेल’ मा अभिनेता छानिएको खबर बाहिरिएसँगै आयुष्मानले यस्तो टिप्पणी सुन्नुपर्यो, ‘लुक्सले मात्र छानिएको हो, अभिनय त के राम्रो होला र?’
बुुझ्दै–नबुझी सामाजिक सञ्जालमा यस्ता टिप्पणी आउँथे। उनले ठाने, ‘त्यहाँ प्रतिक्रिया जनाउनु भनेको मुर्खता हो। त्यस्तालाई उत्तर दिने एउटै विकल्प हो, काम।’
उनले चपली हाइटलाई परीक्षा ठाने।
मनमनै सोचेको त्यो परीक्षा यस्तो थियो, जहाँ सय पूर्णांककै प्रश्न हल गर्नुपर्छ। उनले हाँस्दै सुनाए, ‘मैले १०० को मात्र होइन ११० कै हल गरेँ।’
उनमा यो आत्मविश्वास यत्तिकै आएको होइन। फिल्मको सुटिङमा सबैले उनको अभिनयको तारिफ गरेछन्। प्रेमिका परमिता राणाले पनि आयुष्मान गम्भीर भएर लागेको बताउँछिन्।
कसरी छानिए त यी दुई?
‘चपली हाइट २’ का पटकथाकार शान बस्न्यातासँग आयुष्मानको चिनजान थियो। शानले उनलाई पहिल्यैदेखि नियालिरहेका रहेछन्। शानकै सम्पर्कबाट उनी ‘चपली हाइट २’ सम्म आइपुगेका रहेछन्।
उनलाई स्क्रिप्ट पढ्दासम्म फिल्मको नामधरि थाहा थिएन।
बरिस्ता क्याफेमा फिल्म निर्माताले स्क्रिप्ट पढ्न दिए। उनले स्क्रिप्ट पढे। पढ्दै जाँदा पो थाहा भयो, ‘चपली हाइटको सिक्वेल रहेछ।’
कथा उनलाई मन पर्यो। क्याफेमै सम्झौता पनि भयो।
आयुष्मानले आमाबाबुलाई यो खबर सुनाए। प्रेमिका त छुट्नै कुरै भएन। परमितालाई उनले पहिल्यै सोही क्याफेमै भेट्न बोलाइसकेका थिए। परमिता आइसकेपछि आयुष्मानले आफू फिल्ममा छानिएको खबर सुनाए। दुवैले खुसी साटे।
यता, परमितालाई पनि फिल्म निर्माता अर्जुनकुमारले पहिल्यैदेखि ‘आँखा’ लगाउन थालेका थिए। आयुष्मान छानिएको केही दिनमा अर्जुनकुमारले परमितालाई भेट्न बोलाए। ‘फिल्म खेल्छ्यौ’ भनेर सोधे। फिल्म खेल्नु त उनको सपना थियो, नाइँ भन्ने कुरै थिएन। स्क्रिप्ट पढ्न दिए। परमिताले ‘ओके’ गरिन्।
परमिताको पनि सानैदेखि फिल्म खेल्ने सपना पूरा भयो।
परमिताले पहिलो फोन आयुष्मानलाई गरिन्। आयुष्मानले स्क्रिप्ट पढिसकेकाले चरित्रबारे थाहा थियो। भने, ‘ग्रेट स्टार्टिङ।’
‘ग्रेट स्टार्टिङ’ परमिताका लागि मात्र थिएन, आयुष्मानका लागि पनि थियो।
किनकि, हरेक फिल्ममा फरक–फरक प्रयोग गर्न रुचाउने निर्देशकको परिचय बनाएका व्यक्तिको फिल्म खेल्न पाउनु एउटा गम्भीर अभिनेता/अभिनेत्रीका लागि ठूलै मौका हो! दीपेन्द्र के खनाल त्यस्तै निर्देशक हुन्, जसको निर्देशनमा यो ‘रियल कपल’ ले एकैसाथ ‘डेब्यु’ गर्न पाएको थियो।
फिल्ममा पहिलो भए पनि मोडलिङमा भने एकैसाथ यी दुईको परिचय स्थापित भइसकेको थियो।
सानै उमेरमा चित्र बनाउन थालेका आयुष्मानलाई कुनै बेला गायक बन्ने रहर थियो। पछि उनी मोडलिङतिर छिरे। टेलिभिजन कार्यक्रम चलाए। फिल्म खेल्दासम्म मोडलिङ र टेलिभिजनबाट धेरैले चिनिसकेका थिए। परमिता पनि फोटोसुट र म्युजिकबाट चिनिइसकेकी थिइन्।
बैंकर बाबुआमाका छोरा आयुष्मानलाई कहिल्यै बैंकिङ क्षेत्रमा लाग्ने दबाब परेन। भन्छन्, ‘बुबाममी ‘तिमीलाई जेमा इच्छा छ, त्यसैमा लाग’ भन्नुहुन्थ्यो।’
परमिता त झन् आमाकै प्रभावले मोडलिङमा आइपुगेको बताउँछिन्। ‘ममी मोडल छँदाको फोटो हेरेर मलाई सानैदेखि मोडल बन्ने रहर पलाएको थियो,’ परमिता भन्छिन्, ‘ममीले चाहना हुँदाहुँदै छाड्नुपर्यो। सायद, ममी आफूले गर्न नसकेको काम छोरीले पूरा गरोस् भन्ने चाहना राख्नुहुन्छ। ‘तिमी आफूलाई मन परेको काम गर हामी साथ’ दिन्छौं भन्नुहुन्छ।’
...
‘अनि त्यसपछि?’
यी दुवै १७÷१८ हाराहारीका थिए। दुवैको रुचि गाउने, नाच्ने, अभिनय गर्नेतिर थियो। रातो बंगला स्कुल पढेका आयुष्मानका साथी शुभतारा स्कुलका थिए। शुभतारा पढेकी परमिताका साथी रातो बंगलाका। एसएलसी दिएपछि रिजल्ट नआउँदाको समयमा यी दुईको भेट भएको रहेछ।
भेट हुँदा दुवैले आ–आफ्ना प्रेमी–प्रेमिका छानिसकेका थिए। परमिताका प्रेमी आयुष्मानका साथी थिए। आयुष्मानकी प्रेमिकासँग पनि परमिताको चिनजान थियो।
यी दुईबीच आपसमा चिनजान नभए पनि आयुष्मानले भने साथीकी प्रेमिका भनेर ख्याल गरिसकेका रहेछन्। परमिताले पनि झल्याक–झुलुक त देख्थिन् तर त्यति राम्रोसँग याद गरेकी रहिनछन्। उनलाई त पहिलो भेट कहाँ, कसरी भएको पनि त्यति राम्रो याद छैन।
‘खै कुन ठाउँमा हो, एउटा क्याफेमा साथीले चिनाइदिएको,’ परमिता सम्झन्छिन्।
यसरी चिनजान भएपछि भने यी दुईबीच भेट हुँदा हाइ–हेल्लो चल्न थाल्यो। करिब दुई वर्ष यस्तैमा बित्यो।
एकदिन, परमिता आफ्नी बहिनीसँग बाटोमा हिँड्दै थिइन्। आयुष्मान साइकलमा थिए। परमितालाई देखे। सामान्य बोलचालपछि आयुष्मानले भने, ‘मेरो त ब्रेकअप भयो नि।’
परमिताले पनि उस्तै सामान्य गरी भनिन्, ‘मेरो पनि ब्रेकअप भयो।’
यसपछि भने दुवैको बोलचाल बाक्लिन थालेछ। फोनमा दिनकै सयौं रुपैयाँ ब्यालेन्स सकिन थाले।
करिब दुई वर्षपछि यी दुई साँच्चैको प्रेममा परे।
‘तपाईंलाई उहाँको के कुरा मन पर्यो?’ यो प्रश्न दुवैलाई थियो।
‘जुन काम गरिरहेको हो, त्यो काममा एकदमै गम्भीर भएर लाग्ने,’ आयुष्मानले भने, ‘त्यतिबेला यसरी टिकेर काम गर्ने मान्छे थिइनँ। त्यो उसैबाट सरेको हो। मेरो बाबाममी भन्नुहुन्थ्यो, बाहिर हेरेर मात्र पत्याइ हाल्नुहुँदैन, नराम्रो मान्नु पनि हुँदैन। त्यसको पछाडिको कारण खोज्नुपर्छ। मैले उसमा राम्रो मान्छे देखेँ।’
परमितालाई भने आयुष्मान ‘राम्रो चरित्र भएको’ मान्छे लागेछ। ‘रेस्टुरेन्टमा जाँदा पनि पहिले अरूलाई बसाल्नेजस्तो स–साना कुरामा उसले एकदमै ख्याल गर्छ,’ परमिताले आयुष्मानबारे भनिन्, ‘मलाई त्यही कुराले प्रभाव पा¥यो।’
यो पाँच वर्षमा प्रेमले परिपक्वता ल्याएको उनीहरूको बुझाइ छ। दुवैले एकअर्काको सपना बुझिसकेका छन्। ‘प्रेम भनेको के हो’ भन्ने बताउन सक्ने भइसकेका छन्। प्रेमबारे दुवैको धारणा पनि उस्तै छ।
आयुष्मानलाई लाग्छ, प्रेम भनेको सहयात्रीको सपनाको सारथि हो। ‘मैले एउटा विन्दुसम्म पुग्ने सपना देखेको छु,’ आयुष्मान भन्छन्, ‘उसले पनि उस्तै सपना देखेको छ। भोलि हामीले दुवैको सपना पूरा गर्न एकअर्कालाई कत्तिको साथ दिन्छौं, प्रेममा त्यो महत्वपूर्ण हो।’
परमिताको बुझाइ पनि उस्तै छ। ‘प्रेम भनेको मोटिभेसन, सपोर्ट र ढाडस हो जस्तो लाग्छ,’ परमिताको भनाइ छ, ‘एउटा लड्न खोज्दा अर्कोले उठाउन सक्नुपर्छ।’
प्रेम र फिल्ममा चाहिने एउटै कुराचाहिँ के हो त?
‘इमानदारी,’ आयुष्मान भन्छन्, ‘अभिनय गर्दा र प्रेम दुवैमा इमानदारी चाहिन्छ।’
उनको यो भनाइमा परमिताको पनि समर्थन छ।
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३