Author Topic: Sugam Pokharel (सुगम पोखरेल)  (Read 5483 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Sugam Pokharel (सुगम पोखरेल)
« on: September 16, 2016, 05:09:45 AM »
सुगमको जीवनमा लिजाको बहार
15 Apr 2016
शुक्रबार ३ बैशाख, २०७३


आइतवार बिहान काठमाडौँ, मध्य–बानेश्वरस्थित आफ्नै निवासमा मस्त रमाइरहेको थियो गायक सुगम पोखरेलको जोडी। सुगम घरको काममा निकै सहयोगी देखिए। घर छेउकै पसलबाट भान्सालाई आवश्यक सामग्री किनेर फर्किएका थिए उनी। 'यसो भ्याएको बेला किचनमा पनि हेल्प गरेको नि,' सुगमले भने, 'घरमा श्रीमतीलाई सघाउनुको मज्जै बेग्लै। उनी पनि खुशी हुने, आफूलाई पनि रमाइलो लाग्ने।'
०००
'मेरो संसार तिमी नै हौँ
बाँच्ने आधार तिमी नै हौँ'

सुगमको पहिलो हिट गीत हो यो। यही गीतबाट हजारौँ दर्शक/स्रोतामाझ उनी चिनिए। तर, धेरैलाई थाहा नहुन सक्छ उनलाई चिनाएको यो गीतले उनले आफ्नी प्रेमिकालाई सम्झेर गाएका थिएँ। प्रेमिका थिइन् लिजा शर्मा जो अहिले उनकी श्रीमती छिन्। 'त्योभन्दा अघि पनि गीत त गाएको थिएँ। तर, उनलाई सम्झेर गाएको यही गीतले मलाई हिट बनायो,' श्रीमतीलाई हेर्दै सुगमले भने। सुगमले यही कुरा लिजालाई सुनाएका थिए। तर, त्यतिखेर उनले पत्याएकी रहेनछिन्। 'रेडियोमा तिम्रा लागि गाएको गीत बज्दै छ। सुन्नु है भन्यो। सुुरुमा त विश्वासै लागेन,' लिजाले सम्भि्कइन्, 'पछि मेरो घरमा गिटार बजाउँदै गाएर सुनायो। अनि, मात्र पत्याएँ।'

लिजाको आगमनले आफ्नो जीवनमा बहार ल्याएको सुगमको भनाइ छ। 'म 'सुगम पोखरेल' बन्नुको पछाडि श्रीमतीको ठूलो हात छ,' सुगम भन्छन्, 'मेरो जीवनमा उनी आउनुअघि म सामान्य रेडियोकर्मीमात्र थिएँ। उनी आएपछि म रातारात हिट भए। साधारण आरजेबाट चर्चित गायक बने।'

लिजालाई सुगम सेलिब्रिटी भएकोमा त्यति खुशी लागेन। उनी त सुगमलाई सधैँ सामान्य अवस्थामा देख्न चाहन्थिन्। ''तिमी यस्तो गायक हुन्छौ भन्ने थाहा भएको भए तिमीसँग बिहे गर्दिनँ थिएँ' उनी अहिले पनि भन्छिन्,' सुगमले भने, 'उनलाई यस्तो रंगिन जीवन मनै पर्दैन। सामान्य र सुखी जीवनमा उनी विश्वास राख्छिन्।' छेउमै रहेकी श्रीमतीले पनि उनको कुरामा सहमति जनाइन्। भनिन्, 'हो, मैले उनलाई सेलिब्रिटी सम्झेर बिहे गरेको थिइनँ। अहिले पनि म उनलाई पहिलेकै सुगम देख्न चाहन्छु र देख्छु पनि।'

बिहे गरेपछि सुरुताका सुगमका खाल–खालका फ्यान झेल्नु लिजाको दैनिकीजस्तै बन्यो। 'घरमै आइपुग्थे फ्यानहरू। सुगमलाई लेखेको लभलेटर मेरो हातमा थमाएर जान्थे। कतिपय त सुगमसँग किन बिहे गर्या ? भन्दै झगडासम्म गर्न खोज्थे,' लिजाले सम्भि्कइन्। सुगम पनि 'किन छिटो बिहे गर्याय?' भन्ने प्रश्न आफूले निकै झेलेको बताउँछन्। 'तर, हामी दुवैले फ्यानलाई लिएर झगडा चाहिँ कहिल्यै गरेनौँ,' दुवैले एकै स्वरमा भने।

चार वर्षको प्रेम सम्बन्धपछि सुगमले लिजालाई बिहे गरेका हुन्। 'बिहेपछि प्रेम घट्छ भन्थे हाम्रो त झन्–झन् बढिरा'छ,' सुगमले भने, 'अब त उनीविना जीवन नै अधुरो हुन्छ। मेरो सफलतामा पनि कतै न कतै उनी नै हुन्छिन्।' सुगम रत्नराज्य कलेज पढ्दा लिजा पद्मकन्या कलेजमा पढ्थिन्। उनीहरूको भेट पद्मकन्यामै पढ्ने सुगमकी एक साथीले गराएकी रहेछिन्। 'पहिलो भेटमै उनको रूप मन परेको थियो,' सुगमले सम्भि्कए, 'पछि संगत गर्दै जाँदा उनको साधारण शैलीले झन् लोभ्यायो। कसैले बुभ्न नसके पनि मलाई उसले त बुझ्न सक्छ भन्ने लाग्न थाल्यो। यसरी नै प्रेम हुँदै बिहे भयो।'

सुगमका लागि उनको 'आवाज' नै सबथोक हो। 'मलाई मेरो आवाजले बचाएको छ,' उनको ठम्याइ छ। यही आवाजबाट उनले दर्शक/स्रोतामात्र कमाएका होइनन्, श्रीमती पनि पाएका रहेछन्। जसको रहस्य श्रीमतीले आफैँले खोलिन्। 'मलाई उसको आवाजले नै लोभ्याएको हो,' लिजाले भनिन्, 'उसले फोन गर्दो उसको आवाज साह्रै मन पर्थ्यो। बोलिरहँु लाग्ने बनाइदिन्थ्यो। उसको साधारण जीवन शैली पनि मन पर्थ्यो।'

सुगम आफ्नो जोडीलाई निकै स्मार्ट ठान्छन्। कसरी स्मार्ट? 'हामी हरेक काम योजना बनाएर गर्छौं। एक–अर्काको समझदारीमा गर्छौं। टाइम–टेबलमा गर्छौं,' सुगमको छोटो जवाफ छ।

त्यसो त सुगमले सन्तान पनि योजना अनुरूप नै जन्माए। 'बिहे गरेको सात वर्षपछिमात्र हामीले सन्तानको कल्पना गर्यौँत,' लिजाले बताइन्। किन? 'जन्माएरमात्र हुँदैन्, राम्रोसँग हुर्काउन पनि सक्नुपर्छ भन्ने हामीलाई लाग्यो। त्यसैले पहिले करिअर अनि सन्तान भन्ने निष्कर्षमा पुगेका थियौँ,' सुगमले कारण खुलाए। छोरी नजन्मिइन्जेल लिजा इन्टेरिअर डिजाइनको काम गर्थिन्। 'छोरीलाई समय दिनुपर्छ भन्ने लागेर त्यसपछि काम छोडिदिएकी हुँ,' लिजाले बताइन्।

सुगमको जोडी अब अर्को सन्तान जन्माउने पक्षमा छैन। घरमा पालेको कुकुरलाई उनी 'मैले जन्माएको छोरो' भन्छन्। घरमा परिवारको संख्या 'तीन' छेउमै रहेकी सुगमकी छोरी रिसाइन्। 'हामी चारजना छौँ। मुक्ति (कुकुर) मेरो भाइ बराबर हो,' सुगमकी छोरी एन्जिलिजाले भनिन्।

लिजालाई सुगमको 'केयरिङ ह्याभिट' निकै मन पर्छ। 'जहाँ गए पनि घरको हालखबर बुझिरहने, फोन गरिरहने बानी असाध्यै मन पर्छ,' उनले भनिन्। सुगमलाई चाहिँ लिजा निकै व्यावहारिक लाग्छ। 'म त ममी भन्छु उसलाई। आफू त बच्चै छु जस्तो लाग्छ। उनीमाथि पूरै निर्भर भा'को छु। हरेक कुरामा व्यावहारिक देख्छु उनलाई,' श्रीमतीको मन पर्ने पक्ष सुनाए सुगमले।

मन नपर्ने पक्ष पनि त होलान् ? 'किन नहुनु?' लिजाले पोल खोलिहालिन्, 'उनी समयका पाबन्द छैनन्, त्यही कुरामा कहिलेकाहीँ झगडा पनि गर्छु। ' सुगमले चाहिँ लिजाको जिद्दी गर्ने बानी मन नपर्ने बताए। समयकै कुरामा कहिलेकाहीँ झगडा पर्दा श्रीमतीले नै फकाउने सुगमले बताए। 'म त मिस्टेक रियलाइज नै गर्दिनँ। आफैँ मिस्टेक गर्छु अनि सरी चाहिँ उनले भन्छिन्। म त उल्टै रिसाएर बसिदिन्छु,' सुगमले आफ्नो कमजोरी आफैँ सुनाए।

सुगम आफ्नो जिन्दगीको दुःखद क्षण मान्छन् 'ड्रग्स काण्ड' लाई। लागुऔषध सेवनको क्रममा प्रहरीले उनलाई पक्राउ गर्दाको चर्चा र प्रतिक्रियालाई उनी कहिल्यै बिर्सन नसक्ने बताउँछन्। 'जति भएको थियो त्योभन्दा बढी हल्ला पिटिएको थियो,' उनले भने, 'त्यतिबेला ममाथि गरिएका समीक्षा सुन्दा साह्रै नरमाइलो लागेको थियो। मान्छेले ममाथि हेर्ने नजर नै फरक भएको थियो। आफ्नै पनि पराई भएका थिएँ। दुःख पर्दा मान्छे चिनिन्छ भन्थे। हो रहेछ, जस्तो लागेको थियो।' त्यही क्षणले आफूलाई दुःखी बनाएको लिजाले बताइन्। त्यतिबेला श्रीमती र छोरीबाट मिलेको साथ आफूले भुल्न नसक्ने सुगमले बताए।


tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15886
Re: Sugam Pokharel (सुगम पोखरेल)
« Reply #1 on: September 16, 2016, 08:44:14 AM »