अलबिदा क्रान्तिकारी मनमौजी मनु
पदम गौतम
चैत १७, २०७४
गत फेब्रुअरीको पहिलो साता नेपाली साहित्यका महान कथाकार मनु ब्राजाकीको निधन भयो । निकै व्यस्त भए पनि उनका विषयमा केही गतिलो सामग्री प्रकाशित हुन्छ कि भन्दै अनलाइनहरू चहारेँ । तर, कतै खास केही फेला पार्न सकिनँ । उनका दर्जनौं जिग्रीहरू मौनधारणमै व्यस्त भए । सोचेँ, अलिअलि सरसङ्गत गरेको र पढेको आधारमा मैले पनि उनीबारे केही लेख्नुपर्छ ।
पहिलो पटक मनु ब्राजाकी भन्ने नाम सुनेर उनको फिदा बन्दा म किशोर थिएँ । उनको हस्ताक्षरसहितको पत्र पाउँदा चाहिँ २० वर्ष टेकेको थिएँ । उनको पत्र मात्रले पनि जिन्दगीमा के गर्यो गर्यो खै ? औपचारिक पढाइभन्दा उनको जस्तै मनमौजी काम गर्न प्रेरित गर्यो अनि आफ्नो मनमा लागेका काम मात्रै गरिरहने बाटो फराकिलो बनायो ।
पहिलो पल्ट यी स्रष्टाको अनौठो नाम सुन्दा मलाई लाग्थ्यो– पक्कै पनि यिनको सिङ या जुरो पलाएको हुनुपर्छ । उनले आफैं चेतमानसिंह भण्डारीबाट नाम बदलेर मनु ब्राजाकी (त्यागी मान्छे) बनाएका थिए । अलिकपछि, स्नातक तह पढ्दा चाहिँ उनीबारे अझ धेरै जानियो । उनका विषयमा केही हल्ला र केही अर्धसत्य कुरा हामीमाझ निकै चर्चा हुन्थे । एक दिन एउटा साथीले भन्यो– यिनी रक्सी नखाई लेख्नै सक्दैनन् । अर्कोले थप्यो– पहिला एक्लै ‘जनयुद्ध’ गर्न हतियार उठाएका क्रान्तिकारी मान्छे हुन् अरे । अर्कोले भन्यो– उर्दूमा सही गर्छन्, उर्दू राम्रो लेख्छन् यिनी । हामीमध्ये मसहित केहीलाई त उनका धेरै गजलका लाइन लाइन कण्ठ थिए ।
यस्ता अनेक कुरा सुनेपछि कुतूहल बढेर म थामिनसक्नु भएँ । अब मैले यिनलाई पनि चिठ्ठी लेख्ने योजना बनाएँ । त्यसबेला केही समकालीन र केही अग्रज मेरा साहित्यिक पत्रमित्र थिए । गोपी सापकोटा, प्रकट पङ्गेनी ‘शिव’, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, विवश पोखरेल, राजेश्वर रेग्मी आदिको सूचीमा अब यी सिङ्–जुरो पलाएका कथाकार÷ गजलगोलाई पनि थप्ने सोच बनाएँ । तर यिनलाई चिठ्ठी लेख्न चाहिँ अरूलाई जस्तो सामान्य पत्र लेखेर पठाउन सकिनँ, सोच्दै, लेख्दै फेरि सार्दै गरेँ । करिब एक साता केर्दै, मेट्दै गरेर बल्ल पत्र तयार गरेँ ।
०४६ को मधुपर्कको एउटा अङ्कमा यिनको कथाको पुछारमा ठेगाना थियो, त्यही सारेँ र लैनचौर हुलाकबाट चिठ्ठी खसाएँ, औरही, महोत्तरीको ठेगानामा । त्यसबेला सेलिब्रिटीसँग सम्पर्क राख्न अहिले फेसबुक र ट्विटरमा फलो वा एड गरेजस्तो सजिलो उपाय थिएन । हामी काठमाडौंमा रहने घरविहीनहरू ठेगानाविहीन पनि थियौं । हुलाक ठेगाना अहिलेजस्तै गोलमाल थियो । अर्को उपाय काठमाडौंमा पत्राचारका लागि पोस्ट बक्स नम्बर पाउन गाह्रो थियो । मैले चाहिँ एउटा ठूलो निजी कम्पनीमा काम गर्ने साथी रेशम श्रेष्ठको पोस्ट बक्स प्रयोग गर्ने गरेको थिएँ । एक महिनाको ब्यग्र प्रतीक्षापछि मनु ब्राजाकीको पत्र मेरो हात पर्यो । केही जिज्ञासाका जवाफ, केही शुभकामनाका शब्द र केही सान्त्वनासहित । अब म त्यो चिठ्ठी बोकेरै हिँड्न थालेँ । मनुको सन्दर्भ अउने बित्तिकै मैले त्यही चिठ्ठी देखाइदिन थालेँ । अहिले सम्झँदा मेरो मनोविज्ञानमा म आफूलाई मनुबारे आधिकारिक व्यक्ति ठान्दोरहेछु भन्ने लाग्छ । उनको एउटा कथा मार्यो च्याङवा मार्यो..... स्नातक तहको ऐच्छिक नेपालीको कोर्समा थियो । यसले गर्दा पनि उनलाई नचिन्ने साथीभाइ थिएनन् । तिनका माझ म उनलाई चिन्ने हुनु गौरवको विषय हुन्थ्यो । अहिले यी सबै सन्दर्भ सम्झँदा आफैसँग लाज लागेर आउँछ ।
मनु ब्राजाकी २०५० तिर काठमाडौं सरेर केही अखबारमा नियमित लेख्न थालें, दारुपानीको खर्चका लागि । जीवनको पछिल्लो समयमा जस्तै समकालीन साथीहरूबाट उनी उपेक्षित थिए । उनको सिर्जनाका अघि टिक्न नसक्नेहरू उनलाई जँड्याहा भन्थे र मनुलाई केवल जाँडको पर्याय ठान्थे । तर काठमाडौं आउनेबित्तिकै हामी युवा कवि, लेखकका लागि चाहिँ उनी प्यारा र सरल मनु दाइ भइसकेका थिए । हामी उनको कुरा सुन्न र उनको सङ्गत पाउन स–साना अफ्ठ्याराको वास्ता नगरी पछि लागिरहन्थ्यौं । त्यस समयसम्म हाम्रो पुस्ताले रक्सी खान थालेकै थिएन । तर म मनु दाइको सङ्गत गर्न भट्टीमा बसिदिन्थेँ अनि उनको सङ्गतका लागि पकेट खर्च घटाएर तानतुन पार्थें ।
०५१ सालको हिउँदमा उनीप्रतिको क्रेज बुझेर हामीले एउटा वनभोज आयोजना गर्यौं । उनलाई फकाएर बोलाउने अनि नजिक बन्ने लालसा हामी सबैको मनभित्र थियो । त्यस बेला प्रोल्लास सिन्धुलीय जनकपुरबाट काठमाडौं आएर मेरा साथी भइसकेका थिए । उनीसहित वनभोज आयोजना गर्न प्रमोद स्नेही, इन्द्रकुमार श्रेष्ठ ‘सरित’ र म सक्रिय भयौं । वनभोज कार्यक्रममा सहभागी हुनका लागि मनु दाइको सर्त रह्यो– मलाई पिउने कुरा पनि चाहिन्छ है । हामीले पिलाउने सोच बनायौं र उनका लागि थोरै व्यवस्था गर्यौं ।
त्यस कार्यक्रममा म र प्रोल्लासका लागि एउटा सानो तर अनौठो घटना भयो । उनी र म जोडिएको एउटा समूहले एउटा हवाइ पत्रिका निकाल्थ्यो । त्यहाँ मैले अत्यन्तै सानो सामग्री चाहिएको खाली ठाउँमा सात हरफजतिको आफ्नै लघुकथा छापेको थिएँ । आफ्नै पत्रिकामा आफ्नै रचना के छाप्नु भनेर एक मुस्लिम महिला हसिना खातुनको नाममा त्यो रचना छापिएको थियो । वनभोज कार्यक्रममा हवाइ पत्रिका हात परेपछि मनु दाइले भने, ‘म यो महिलालाई चिन्छु, यिनी क्रान्तिकारी महिला लेखक हुन् ।’
बूढाको कुरा सुनेर हामी छक्क पर्यौं । अहिले सम्झँदा लाग्छ, मनु दाइले नशाको सुरमा अरूसँग अलिअलि मिल्ने नाम यकिन नगरी यसो भनेका थिए होलान् । मुस्लिम समाजमा चल्तीको उपनाम भएका कारणले कुनै वास्तविक महिला लेखकसँग त्यो नाम जुधेको पनि हुनसक्छ भन्ने पनि लाग्छ । मैले त्यसपछि पनि केही वर्ष त्यो नामबाट केही रचना छापिरहेँ । तर, सम्पर्कले भ्याएसम्म भारतीय साहित्य पढ्दा अहिलेसम्म त्यो नामको महिला लेखक फेला परेको छैन ।
अँ त, उपत्यका छिरेपछि मनु दाइ कहिले भतिजा सरतसिंह भण्डारीका घरमा त कहिले नख्खु छेउछाउ गरी ललितपुरका गाउँतिर बस्न थाले । म यदाकदा दिनभरका लागि समय मिलाएर उनका कुरा सुन्न त्यता जान्थेँ । बूढाका कुरा सुनेर आनन्द आउने र जीवनको बाटो बनाउन पनि मद्दत मिल्ने भएका कारण सकेसम्म उनलाई पछ्याइन्थ्यो । यसै क्रममा मनु दाइ र अर्का बरिष्ठ गजलकार घनश्याम न्यौपाने ‘परिश्रमी’ बीच मैले औपचारिक चिनजान गराएको थिएँ । २०५३ सालको कुनै हिउँदको महिनामा मैले काम गर्ने गरेको परिस्थिति साप्ताहिकको बागबजारस्थित कार्यालयमा उनीहरूबीच पहिलो भेट भएको थियो ।
त्यही साँझ हामी मनु दाइको भैंसेपाटीस्थित घर गएर रातभरी खानपिन गरेर बसेका थियौं । मैले यो समयमा अलिअलि पिउन थालिसकेको थिएँ, दुई साहित्यिक अभिभावक भेटेर त्यस रात निर्धक्क पिइयो । यसलगत्तै बागबजारमा एक दिन दिउँसैदेखि मनु दाइको असली फ्यान बनेर उनलाई साथ दिइयो । उनले ३० को दशकदेखि नै काठमाडौं आउँदा जाँदा बागबजारको जीवन र त्यहाँको समाज नियाल्ने गरेका रहेछन् । यस्तो अध्ययनका लागि उनी आफ्नो आदत बनेको रक्सी पिउने गर्थे भट्टीमा पसेर ।
भट्टीमै उनी जीवन र जगतसँग जोडिएको विषय बुझ्थे, सोधखोज गर्थे, दार्शनिक पाराले हेर्थे र कथा बुन्थे । अनुसन्धाताका हिसाबले गरेभन्दा फरक थियो मनु दाइले गरेको अध्ययन । तर, त्यसमा अनुसन्धान वा कथित रिसर्चभन्दा गहिरो मानवीय संवेदना गाँसिएको थियो । बागबजारका भट्टीसँग गाँसिएको त्यहाँका सयौं मान्छेका जीवन, उनीहरूको मूल्य, मान्यता र बाध्यता उनका अनेकौं कथामा आञ्चलिकताको सुगन्धसहित आएका छन् । उनका हरेक जसो गजलमा भट्टी घुमीफिरी आएकै छन् । यी सन्दर्भ उनी यदाकदा सुनाउने पनि गर्थे । त्यस साँझ उनीसँग मैले यस्तै विषयमा धेरै चासो राखिरहेँ, राति १२ बजेसम्म बूढा खुलिरहे ।
भट्टीवालीले मध्य राततिर यतै सुत्ने कि जाने भनेपछि हामी उठेर हिँड्नुपर्ने भयो । म बागबजारमै रहने साथी थानेश्वर सापकोटाको कोठा गएर सुतेँ । मनु दाइ पाटनतिर दिदीको घर जान्छु भन्दै छुट्टिए । उनलाई दिदीको घरमा पनि भिनाजुका कारण बेलाबेला अफ्ठ्यारो पथ्र्यो । त्यस्तो समयमा चाहिँ हाम्रा साथी सुनिल पुरी थिए, परेमा मनुको नाममा जे पनि सहयोग गर्ने । अर्को भेटमा त्यो रात बढी मातेर उनले पाएको हण्डर पनि सुनियो, दाइकै मुखबाट ।
कुनै जमानामा हजुरबाको खल्तीको पैसा चोरेर भारतका धेरै सहर भ्रमण गर्ने मनु लेखनको चार दशकदेखि नेपाली साहित्यका महान् कथाकार र गजलकार थिए । सम्पन्न किसान परिवारमा हुर्किएका उनी आफ्ना बाबु र बाजेले धार्मिक किताब पढ्ने गरेकै कारण अध्ययन र साहित्यमा हामफाल्न सजिलो भएको पृष्ठभूमि सम्झिने गर्थे । उनी भन्थे, ‘म सामन्ति किसानको नालायक छोरो हुँ ।’
उनले लामो समयसम्म आफ्नो पुख्र्यौली घर महोत्तरीको औरही बसेरै काठमाडौंलाई लेखनमा चुनौती दिए । त्यति बेला लाग्ने मोफसलवाद र काठमाडौंवादको विषय उनका बारे उठेन । राजधानी पस्नुअघि लेखन र व्यवहारकै कारण काठमाडौंका नयाँ लेखकमाझ उनी मिथकजस्ता थिए । ५० को दशकमा राजधानीवासी भएपछि उनीबारे धेरैका भ्रम हटे । बरु, केही कुरामा उनी अनौठा नै रहेछन् भन्ने स्थापित भयो ।
सयौं कथा र गजलका सर्जक ब्राजाकीको तिम्री स्वास्नी र म बहुचर्चित् कथासङ्ग्रह हो । यस पङ्क्तिकारका एक जना अनुयायी लेखक भाइसाथी अनिल थापा अहिले पनि यो कथा कण्ठस्थ सुनाउँछन्, सन्दर्भ निस्कँदा । यसबाट पनि उनले पछिल्लो पुस्तामा कति प्रभाव छाडेका रहेछन् भन्ने प्रष्ट हुन्छ ।
जीवनको अन्तिमतिर उनी केही वर्ष मुलुकबाहिर अमेरिकाको कोलोराडो बसे, सन्तानका साथ । करिब डेढ दशकअघि नेपालमा एकपल्ट र फेरि अमेरिकामा अर्कोपल्ट स्ट्रोक भएपछि बिर्सने समस्याले सताइएका थिए उनी । तैपनि जीवनको अन्तिम किताब भन्दै संस्मरण लेखिरहेको बताएका थिए, २०७० सालको मध्यतिर । पत्रकार नरेश ज्ञवाली र यो पङ्क्तिकारसँग उनले त्यस दिन किताबको नाम सुनाएका थिए– बिर्सनेका सम्झनाहरू । पछि न त यो किताबको नाम फेरिएको कतै सुनिएन, न त किताब नै निस्कियो ।
लामो कुरा लेख्न समस्या हुने भएकाले पछिल्लो समयमा चाहिँ उनी गजल लेखेरै आफ्नो उफान पोखिरहेका थिए । त्यस बेला चाहिँ उनले भनेर अरूलाई लेख्न लगाउने रहेछन् । भन्थे, ‘अहिले सम्झन समस्या छ र लामो कुरा लेख्न पनि गाह्रो हुन्छ । यो समयमा मैले २, ४ वटा मात्रै कथा लेख्न सकेँ । अहिले लेख्न मन लाग्छ तर शब्द नै सम्झन गाह्रो हुन्छ । मनमा आएका कुरा छोटोमा लेख्न पाइने हुनाले यो अवधिमा पनि गजल चाहिँ धेरै लेखेको छु ।’
जीवनमा कहिल्यै नोकरी नखाएका र कामको दुःख नगरेका मनु रक्सी र अमेरिका बसाइबारे भन्थे, ‘मैले लेख्ने र लेख्नुपूर्व चिन्तन गर्नका लागि रक्सी खाने गरेको धेरै समय भएको थियो । परिवारले यस विषयमा चिन्ता गर्ने क्रममा अमेरिका बस्ने मेरी छोरी र यहाँ बस्ने उसकी आमाले स्काइपमा कुरा गर्दागर्दा मलाई उतै बस्न मन्जुर गराए ।’
विदेश बस्नेबित्तिकै राष्ट्रबिरोधी हुने नयाँ सामाजिक सञ्जालको आरोप, बहसमा आउने अनेकौं खालका राष्ट्रवादका परिभाषा र विवादसँगै मनुजस्तो महान कथाकारलाई लगातार अमेरिका बस्नु सामाजिक हिसाबले पनि गाह्रो थियो । अर्को कोणबाट हेर्दा विकसित मुलुकमा दिउँसो आफ्नो घर र छरछिमेकमा मात्र नभएर निकै टाढाटाढासम्म पनि घरमा केही हुँदैन । उनले यस विषयमा भनेका थिए, ‘यहाँजस्तो गफ गरेर समय विताउने अवस्था हुँदैन । समाचारबाहेक टिभी हेर्न मन नलाग्ने भएकाले लाइब्रेरी गएर समय बिताउथेँ ।’ त्यस समयको उनको अनुभूति थियो, ‘भविष्यमा गर्ने केही नरहेपछि अतीतले हामीलाई बाँच्ने ऊर्जा दिँदोरहेछ ।’
पञ्चायतको चरम उत्कर्षको समयमा कथा र गजलको ‘डन’ बन्नुका अनेकौं अर्थ थिए । बाल्यकालदेखि नै विद्रोही स्वभाव, अत्यन्त उन्नत चेतना अनि समाजको चेतनास्तर चाहिँ अत्यन्तै तल । अनि यही समयमा बाहुनक्षत्री परिवारको पहिलो पुस्ताका जँड्याहा भएर परिवारको नजरमा बेरोजगार हुनु कम्ती अफ्ठ्यारो विषय थिएन । यो अवस्थाले उनलाई अझ बढी सिर्जनशील र अराजक बन्ने प्रेरणा दियो । चेतना र विद्रोहको सङ्गम मनुले २०५२ सालमा माओवादी नामको समूहले सुरु गरेको ‘जनयुद्ध’ जस्तै विद्रोह जगदिश घिमिरेसँग मिलेर दुई दशकअघि नै परिकल्पना गरेका थिए ।
घिमिरेले यो सन्दर्भ उनको चर्चित किताब अन्तर्मनको यात्रामा पनि उल्ल्ख गरेका छन् । मनुले सुनाएथे, ‘सनकमा हामी युद्ध गर्न बन्दुक उठाउने भन्दै जनकपुरबाट सिन्धुली पुग्यौं । चन्द्रमान लामा र हामी दुई गरेर समूहमा तीन जना थियौं । उनीहरू माक्र्सवाद अध्ययन गरेर आफूभित्रको अराजकता साम्य पार्न हिँडेका थिए । हाम्रो कम्युनिस्ट समाज पनि खुलेको थियो । जगदिश भिमानबाटै बिरामी भएर फर्कियो, चन्द्रमान र म चाहिँ सिन्धुलीगढीसम्म पुग्दा जनयुद्ध सेलायो ।’
लेखकले मौलिकता विकास गर्नका लागि उसमा जीवन र जगतलाई हेर्ने दृष्टिकोण पहिल्यै हुनुपर्छ भन्ने चेतना उनले हाम्रो पुस्तालाई सिकाए । यसको परिणाम मेरो पुस्ताका मनुका फ्यानमध्ये राजनीतिक चेतनालाई नै घृणा गर्ने कवि, लेखकहरू राजनीति बुझ्ने प्रयासमा लागे । अहिले तिनै भन्छन्, ‘हरेक कविले राजनीति बुझ्नु अनिवार्य छ, गर्नु, नगर्नु आफ्नो कुरा ।’ अहिलेको पुस्ताले सुरुमै सिकेका कतिपय लेखनसँग सम्बन्धित विषय मनुले कतै नबोली लेखेरै स्थापित गराएथे ।
अहिले हरेकजसो लेखकले बुझेको ‘मौलिकता भन्नु नै शब्दलाई आफ्नो ढङ्गले प्रयोग गर्नु हो र शैली नौलो नभई पाठकलाई आकर्षित गर्न सकिँदैन’ भन्ने विषयका उनी प्रष्ट देखिने उदाहरण थिए । साहित्यसँग जोडिएका र जेलिएका कुरालाई सुगठित ढङ्गले लेखनमा राखेर निजत्व बनाउने काममा उनी यस्तरी लागे कि तराईको पीडा र आञ्चलिकतालाई शैलीको मौलिकतासहित त्यहाँको समाज साहित्यमा स्थापित गराए । उनको कथामा बाध्यताको यौन, अभाव, शोषण र पाखण्डको पटाक्षेपको मिश्रण पाइन्छन् । तैपनि उनी नेपाली साहित्यको समग्र स्तरसँग सन्तुष्ट थिएनन् । नयाँ पुस्ताका लेखकसँग माफी माग्दै उनी भन्थे, ‘अहिलेको साहित्य लेखन गम्भीरताभन्दा बढी प्रचारात्मक छ । व्यावसायिकता बढेको कुरा एक हिसाबले राम्रो भए पनि यसले हलुका वस्तुलाई धेरै ल्याउँछ । गम्भीर लेखनमा लागेका मान्छेलाई यसले फरक नपरे पनि पाठकलाई चाहिँ कुन असल साहित्य र कुन कमसल भन्ने भ्रम पर्छ ।’
मनु जति यौन नेपाली साहित्यमा कसले लेख्यो होला र ? तर, उनको यौन प्रचारको र बजारी यौन थिएन । यौन र नारीलाई हाम्रो समाजले हेर्ने विषयका विडम्बना र पीडा छन् उनका कथामा । उनी व्यावसायिकताका लागि तिलस्मी, यौन र जासुसी विषय धेरै लेखिने बताउँदै यस्ता सामग्रीले आलोचनात्मक चेत भुत्ते बनाउने र केवल पढुन्जेल मनोरञ्जन मात्र दिने विषयमा सबैभन्दा सचेत थिए । वास्तवमा मनुले भनेजस्तै त्यसरी हेर्दा अहिलेका चर्चाका आएका धेरै सामग्री साहित्य नै हो कि हैन भन्ने प्रश्नचिह्न लगाउनु पर्छ । अझ पछिल्लो समयमा अखबारको प्रभाव र सङ्ख्या बढेसँगै समाजमा सामाजिक सञ्जालले पनि सञ्चारमाध्यमकै हाराहारीको हस्तक्षेपकारी भूमिका निर्वाह गर्न थालेका छन् ।
वनारस लाइब्रेरीका स्टाफले शरदचन्द्र चट्टोपाध्यायको चरित्रहीन भन्ने ठूलो किताब दिँदा उनी त्यसबेला, ‘हाम्रो नेपालीमा यस्ता किताब किन नभएका होलान्’ भन्ने सोच्थे । त्यसै बेलादेखि लेख्ने प्रयास गर्न थालेका मनु ८ कक्षा पढ्दा एकपल्ट मुम्बई पुगेछन् । त्यसबेला अर्काकै भनाइमा आधारित लेख लेखेर टाइम्स् अफ इन्डियाको कार्यालयमा लगेर दिएपछि उनका रचना छापिन थाले । जीवनमै छापिएको त्यो पहिलो रचना उनले धेरै दिनसम्म दिनमा ६, ७ पटक पढ्ने गरेको सुनाउँथे ।
हरेक साहित्यप्रेमी र साहित्यका विषयमा लेख्ने व्यक्तिले गफ दिने एउटा विषय हो– नेपाली साहित्यको स्तरबारे आँकलन । धेरै ठाउँ र दशकौंदेखि भनिने गरेको छ, नेपाली साहित्य अनुवाद मात्र हुने हो भने विश्व साहित्यको स्तरमा छ । यो कसले नाप्ने र त्यसका आधार के छन् भन्ने चाहिँ कसैले अहिलेसम्म भनेका छैनन् । यस विषयमा ब्राजाकीले मसँग भनेका थिए, ‘आधुनिक अङ्ग्रेजी साहित्य धेरै फरक छ । मलाई कथाबारे केही थाहा भएको आधारमा भन्दा उनीहरूको लेखन धेरै परिपक्व छ । तर त्यहाँ अहिले लेखिन थालेका धेरै कुरा हामीले पनि पहिल्यै प्रयोग गरिसकेका हुने रहेछौं । मैले धेरै अघि अन्नपूर्णाको भोज भन्ने कथा मेरा साथीहरू किशोर नेपाल र सन्तोष भट्टराईलाई पात्र बनाएर लेखेको थिएँ । पश्चिममा सन् २०१२ मा मात्र अर्नेस्ट हेमिङ्वेलाई पात्र बनाएर लेखिएको नयाँ शैलीको कथा भन्दै छापिएको थियो । विदेशी भाषामा हाम्रा कृति अनुवाद भएको भए हामी पनि धेरै कुरामा अगाडि हुनेरहेछौं नि । तर त्यो अनुवादमा सरकार र मन्त्रीको सिफारिस चाहिँ हुनुहुँदैन ।’
जीवनभर नास्तिक रहेका मनु अलिक निष्क्रिय र रक्सीविहीन भएको समयमा चाहिँ कति नास्तिक बने त ? पङ्क्तिकारलाई निकै जिज्ञासाको विषय थियो यो । २०७० को त्यस झरिलो साँझमा उनले आफू जति उमेर बढ्यो, त्यति नै धेरै नास्तिक बनेको बताए । भने, ‘रक्सी खान छाडेपछि नास्तिकता अझ बढेको छ ममा । ईश्वर भनेको वकबास हो जस्तो लाग्छ अहिले पनि ।’
उनको यो भनाइले करिब दुई दशकअघि एक रात मनुले मसँग गाएको पुरानो हिन्दी गीतको स्मरण गरायो । नशा लाग्दै गएपछि उनले त्यस रात यस्तो गीत गाएका थिए
भगवान दो घडी जरा इन्सान बन के देख
धर्ती में चार दिन कभी मेहमान बन के देख ।
माफी चाहन्छु मनु दाइ, म मिडियामा काम गर्ने लेखक भएर पनि तत्कालीन रोयल नेपाल एकेडमीका मान्छेले पचाइदिएको तिम्रो कथा सङ्ग्रह आमालाई बेच्नु हुँदैन लाटा का विषयमा खोज्न सकिनँ । अलबिदा र क्रान्तिकारी सलाम मनु दाइ, तिम्रै बाटोको नक्कल गर्दै म पनि यतिसम्म कोर्न सक्ने भएँ ।
-तस्बिर– नरेश ज्ञवाली

