जेठ २७ गते
बानेश्वर।
प्रिय,
आज एउटा नमिठो घटना घट्यो अफिसमा।
चर्किएको मध्यान्ह थियो। साढे बाह्र बजेको थियो। हाम्रो एकजना स्तम्भकार आउनु भयो। उहाँसँग मेरो राम्रो चिनजान थियो। त्यसैले मैले नै पहिले नमस्कार गरेँ।
“नमस्कार सर,” उहाँको अनुहार शान्त थियो, सौम्य थियो। उहाँले नजिकै आएर सोध्नुभयो, “तिमी सञ्चै छ्यौ? गाउँतिर आउन छोडिहाल्यौ। भेटघाटै छैन। आजभोलि दाई कता?”
अर्थात्, उहाँ र म पुराना चिनारू थियौं। केटाकेटीमा उहाँले मलाई पढाउनु भएको थियो। दाइ त्यतिबेला एस.एल.सी. दिने तयारीमा हुनुहुन्थ्यो र म सात कक्षाको परीक्षा दिएर बसेकी थिएँ। उहाँले त्यसैबेला आफू स्कूलमा पढाउन आएको कुरो हामीलाई सुनाउनु भएको थियो। गाउँहरू त्यतिबेला उपत्यकामा पनि पहाडतिरकै जस्ता हुन्थे। उहाँले हाम्रा बुवाआमाहरूलाई समेत चिन्नुहुन्थ्यो। मैले एस.एल.सी दिइसक्दा पनि उहाँ त्यही स्कूलमा शिक्षक हुनुहुन्थ्यो। पछि दाइ र म क्याम्पस पढ्न शहर आउँदा पनि उहाँसँग हप्तामा एकाध पटक भेट भैहाल्थ्यो, किनभने हामी विदाको दिन आयो कि गाउँतिर दौडिइहाल्थ्यौँ। पछि उहाँ राजनीति र लेखनतिर लाग्नुभयो। केटाकेटीमा हामीलाई साह्रै माया गर्ने गुरू हुनुहन्थ्यो उहाँ। त्यसैले पनि होला, उहाँप्रति मेरो सम्मानभाव अलिक बढी नै थियो।
“दाइको सरूवा भयो,” मैले भनें “अहिले हामी घरमा तीन जना मात्र छौं।”
“आमा बुवालाई मेरो नमस्कार सुनाउनु है,” उहाँले मायालु पाराले भन्नुभयो र सोध्नुभयो, “तिम्रो जागीर यही टेबलमा स्थायी भयो कि क्या हो?”
“त्यस्तै जस्तो छ,” मैले पनि मन खोलेर भनें, “जागीरमा माथि जान पनि उचालिदिने कोही हुनुपर्दो रहेछ। कामले माथि जान सकिंदो रहेनछ। चाकरी गर्न मनले नदिएपछि मच्ची मच्ची थच्ची हुँदो रहेछ।”
“सम्पादकजी माथि हुनुहुन्छ?” सरको सोधाइको आवाज सुन्दा मलाई अलिक अनौठो लाग्यो। सर आफ्नो भावना लुकाउन जान्नुहुन्न। त्यसैले उहाँको खुशी, रिस, आक्रोस जस्ताको तस्तै उहाँको अनुहारमा पोतिइहाल्छ।
“केही भयो र सर?” मैले डराइ डराइ सोधें।
“यिनीहरू कस्तो बदाम ब्यापारी जस्ता रहेछन्! लेखक खालि पैसाका लागि लेख्दैन। यिनीहरूले एउटा लेखको हजार रूपियाँ दिएका छन् भन्दैमा लेखक यिनीहरूको खेलौना हुन्छ? हुदैन। लेखकको छातिमा स्वाभिमानको आगो बलिरहेको हुन्छ। निरन्तर बलिरहने ज्योति जस्तो। त्यसैले उसँग आत्मसम्मान हुन्छ।
पैसा नाथे के हो? आज हुन्छ भोलि हुँदैन। भोलि हुँदैन, पर्सी हुन्छ। तर मान्छेको सम्मान त्यति सजिलरी आउने र जाने हुँदैन। यिनीहरू त सम्झौता पालन गर्न पनि जान्दा रहेनछन् ए!”
असाध्यै नमिठो लाग्यो। आफ्नो सर भएर हो अथवा आफ्नो गाउँले दाई भएर हो थाहा छैन। उहाँको भनाइ सुन्ने बित्तिकै मलाई लाग्यो – हाम्रै तर्फबाट उहाँको अपमान हुने कुनै काम भएको छ।
उहाँलाई अखबारमा लेख्न लगाउन महाभारत नै भएको थियो। मेरो र उहाँको चिनजान छ भन्ने त त्यहाँ धेरैलाई थाहा थियो। पहिलोपल्ट अखबारको प्रमुख रिपोर्टरले मसँग लेखका लागि सरलाई मनाइदिन आग्रह गर्नुभयो। मलाई पनि राम्रै लाग्यो। कम्तिमा हप्तामा एक दिन राम्रो कुरा पढ्न त पाइने भयो भन्ने लाग्यो। त्यसैले म त्यसको लगत्तैको शनिबार गाउँमा गएँ। उहाँ गाउँमै बस्नुहुन्थ्यो।
“तिम्रा मालिकहरू लेखकको, सिर्जनाको सम्मान गर्न जान्दैनन्,” उहाँले मलाई सम्झाउदै भन्नुभयो,“उनीहरू पत्रकारिता गरिरहेका छैनन्, उनीहरू त पत्रकारिताको ब्यापार गरिरहेका छन्। म जस्तो मान्छे कसरी ब्यापारमा टिक्न सक्छु र? ब्यापारै गर्ने भए त खेतमा धान थियो, बारीमा तरकारी थियो, आठ दश लिटर दुध दिने भैंसी पनि थियो। खै मैले केही गर्न सकिन। राजनीतिमै पनि म दासतातिर लाग्न सकिन।
दुःख भए पनि मैले आत्मसम्मानको राजनीति रोजें। त्यसैले नानी, हुन्देउ, म त्यहाँ लेख्न सक्दिन। सरले मान्नुभएन भन्देउ, कुरो सकिइहाल्छ।”
आफ्नो सरसँग बहस गर्नु त हुन्थेन, तैपनि मनले जितेर मैले भनें, “सर, मान्छे जस्ता भए पनि अखबार त अक्षरको खानी हो। एकैचोटी पचास साठी हजार मान्छेले तपाईंको बिचार पढ्न पाउछन्, तपाईंको कुरो तपाईंकै भाकामा जान्न पाउछन्। लेख्दा के बिग्रन्थ्यो र!”
प्यारी बहिनीको नाक समातेर हल्लाए जसरी उहाँले मेरो नाक समाउदै भन्नुभयो, “चाँदनी, तिमी ठूली भयौ, तिमी जागिर खाने भयौ, केही दिनपछि हामी डोलीमा राखेर तिमीलाई घर पठाउछौं। तर तिमीले पूंजीपतिको कालो मन चिनेकी छैनौ। तिनीहरू लेखक कलाकारको मर्यादा राख्न जान्दैनन्।”
“त्यस्तो दिन आएछ भने चटक्कै छोडिदिने नि। आखिर सरले त्यहाँ जागिर खाएको हेाइन क्या रे! हामी जागिरेले पो जस्तो पनि भुक्तमान सहनु पर्छ। सरले त त्यो कार्यालयतिर मुखै नफर्काए पनि हुन्छ।
पारिश्रमिक पनि घरैमा पठाउन लाइदिउँला। अथवा मै बुझेर ल्याइदिउँला,” डोली चढाएर विदा गर्ने माइतिको ब्यवहार पाएकोले होला मैले झन बढी लाडे पल्टिदै अनुरोध गरेँ।
“अपमान महसुस भएकै दिन म त लेख्न छोडिदिउँला। तर त्यतिबेला तिमी जस्ता भाइबैनीहरू धुरूधुरू रूनेछौ। तिमीहरूलाई मैले रूवाउनु हुँदैन।”
“हामी रून्नौ। सरको गर्व निहुरिएन भनेर बरू हामी आफ्नो पनि शिर ठाडो पार्नेछौं।”
मेरो जिद्दी देखेर सर छक्क पर्नुभो।
“आज तिमी जाउ,” सरले मेरो टाउको मुसार्दै सम्झाउनु भयो, “सरले मान्नु भएन भन। भविष्यमा तिम्रा लागि भए पनि म लेखुंला। मैले राखेका सबै कुराहरू पुरा हुन्छन् भने म लेख्न सक्छु। तर अहिले उनीहरूसँग यी कुनै कुरा नगर्नु। सरले मान्नुभएन मात्र भन्नु।”
मेरो काम हुनेभयो भनेरै म फर्किएँ। त्यसदिन लेख सम्पादकले मलाई तीन चार चोटी खोजेछन्।
शायद उनी काम भैहाल्छ भनेर ढुक्कै थिए। काम भएन भन्न मलाई मन लागेन। त्यसैले साँझमा मैले उनलाई फोन गरिन। भोलिपल्ट कार्यालय गएको एकछिनपछि सम्पादकले के भयो भनेर फोनमै सोध्नुभयो।
मैले पनि सरले मान्नुभएन भन्ने जवाफ दिएँ। उहाँले त्यसपछि आफ्नो कोठामा बोलाएर कुरा उक्काउनु भयो । ‘सरले किन लेख्न मान्नुभएन?”
यस्तो प्रश्नको लागि त म तयार थिइन। तर पनि कुनै न कुनै उत्तर त दिनुपर्थ्यो। त्यसैले मैले उत्तर मिलाएँ, “सर, उहाँ आजसम्म कसैका सामु दब्न मान्नुभएको छैन। शायद उहाँ आफ्नो बाहेक अरू कसैका सामु शीर पनि निहुराउन मान्नुहुन्न। अखबारमा लेख्न थालेपछि मालिकहरूले हेप्छन्, सम्पादकको हप्कीदप्की हुन्छ भन्ने उहाँलाई लागेको हुनसक्छ। मैले धेरै कर गरेँ, हुन्देउ नानी, मलाई फुर्सद छैन मात्र भन्नुभयो। उहाँको फुर्सद नहुने त कुरो छैन। शायद मैले भनेको नपत्याएको हो कि!”
“त्यस्तो त किन हुन्थ्यो र? मान्छेहरू आफैं लेख छापिदे भन्न आउछन्।”
“तर उहाँ त्यस्तो होइन सर। उहाँले छापिदे भनेर कसैलाई भनेको मलाई थाहा छैन। सबै उहासँग माग्नै जान्छन् र माग्न जानेलाई रित्तै फर्काएको पनि मलाई थाहा छैन। त्यसैले सरहरूले आफैं कुरा गर्दा शायद उहाँले लेख्नुहुन्थ्यो कि!”
“ठीक छ, म कुरा गरौंला।”सम्पादकले सरसँग कुरा गर्नुभयो। तर कुरो मिलेन। मैले सम्पादकको तिक्तता सुनें, “बडो अप्ठेरो पारिदिनु भयो। मप्रति तपाईंका मालिकको ब्यवहार अपमानजनक हुदैन भन्ने ग्यारेण्टी गर्नुहुन्छ? भनेर अवाक् पारिदिनु भयो। मैले कहाँबाट ग्यारेण्टी गर्नु! आफैंले पचासौं पटक अपमानित हुनुपरेको छ। गजबको मान्छे हुनुहुदो रहेछ। आत्मसम्मान भन्दा अहंकार बढी भए जस्तो।”
कुरो बिग्रिने पो हो कि भन्ने डर मलाई लागेको थियो। मैले सरलाई बेलुका फोनबाट कनकन पनि गरेँ। “नानी, जहाँ सम्मान हुँदैन, त्यहाँ म जान सक्दिन। तिमीलाई थाहै छ। सम्पादकले मेरो आत्मसम्मान सुरक्षित हुने ग्यारेण्टी गरेनन्। म कसरी लेख्न सक्छु र? तिमी आफ्नो प्यारो सरको शीर निहुरिएको देख्न सक्छ्यौ?”
त्यो त म देख्न सक्दिनथें। तर सरले लेख्नै पर्थ्यो।
त्यो दिन पनि राती नै थियो। सरले आउने हप्तादेखि लेख्ने कुरो मैले थाहा पाएँ। सरले नै फोनमा सुनाउनु भयो मलाई।
कम्पनीका मालिकले सरलाई रात्रीभोजको निम्तो दिएका थिए एउटा ठूलो होटलमा। डेस्क प्रमुख र सर आमन्त्रित हुनुहुदो रहेछ। सरले दिउँसै छक्क परेको स्वरमा मलाई सोध्नुभएको थियो, “नानी मलाई एउटा ठूलो होटलमा खाना खाने निम्तो दिएका छन्। तिम्रो कम्पनिका मालिक स्वयम् आउने रे। मेरो त मुटु नै ढक्ढक् गर्दैछ। उही लेख्ने कुराका लागि त होला।”
“सर, साह्रै अररो भएर नाइ नभन्दिनु होला,” मैले अनुरोध गरेँ, “आफ्ना सबै शर्तहरू राख्ने मौका यही हो।”
त्यो रात्रीभोजमा कुरो मिलेको थियो। आफूसँग नसोधी ‘कमा’ पनि तल माथि गर्न नपाइने शर्त सरले राख्नुभएछ। त्यो पनि हुने भएछ। सरको बार र टिप्पणी रहने स्थानका बारेमा पनि सम्झौता भएछ।
सरले मलाई भन्नु भएको थियो – “हामी लेखकहरू कानूनका कुरा जान्दैनौं। यो एउटा भलादमी सम्झौता हो, तर वाध्यकारी सम्झौता हो। म हप्ताको एउटा बारमा लेख्छु, त्यसमा कमा पनि संशोधन गर्न पाइदैन, मेरो लेख अनिवार्यतः सिरानमा हुनुपर्छ, मेरो पारिश्रमिक म माग्दिन, समयमा पाइन भने अर्को अंकदेखि लेख्दिन, यो लेखाइ मेरो आवश्यकता होइन, तपाईहरूको अनुरोध हो भन्ने तपाईंहरू सबैले बुझ्नु पर्छ। कुनै दिन मेरो मन अपमानित भयो भने म सामान्य सूचना दिएर लेखाइबाट अलग्गिन्छु।”
हामी सबै खुशी भयौं। सरले लेख्न थाल्नुभयो। दाइले पहिलो अङ्कको लेख पढेपछि खुशी भएर विराटनगरबाट फोन गर्नुभयो। भन्नुभयो उहाँले, “केटी अब तिमीहरूको पत्रिका पनि पढ्न पर्ने भयो, सरले नियमित लेख्ने हुनुभएको हो?”
एक वर्ष, सर र कम्पनी बीच राम्रै सम्बन्ध रह्यो। हामीले पनि राम्रो लेख पढ्ने मौका पायौं।
अखबारको विस्तार पनि फैलियो। हामी सबै खुशी भयौं।
दशैंमा सरले दश हजार पेश्की लिनुभएको थियो। त्यसलाई हामी सबैले स्वभाविक ठानेका थियौं।
बेलामौकामा त्यस्तो भैरहन्थ्यो। त्यसले कुनै नकारात्मक परिणाम निकाल्ला जस्तो पनि हामीलाई लागेको थिएन।
तर कुरो बिग्रिएछ। सरको लेख पुछारमा छापिएछ। अब कुरो बिग्रियो भन्ने हामीलाई लाग्यो।
“चाँदनी,” सरको फोन आयो। कम्पनीको इमानदार कर्मचारी भए जसरी मेरा खुट्टाहरू कामे।
“चाँदनी, देख्यौ बगरे काइदा! मैले दश हजार पेश्की के लिएको थिएँ, लात हानिहाले तिनले। अब
जति अपमान गरे पनि मैले सहनै पर्ने भयो। कित मैले पैसा खोजेर ऋण फिर्ता दिनुपर्ने भयो कित किचिक्क निहुरिएर लेखिरहनु भयो। तिम्रा सम्पादक कोठामा छन्?”
सम्पादकजी आउनु भएको थिएन। तर पनि मैले घरैको फोन दिएर उहाँहरूको सम्पर्क मिलाइदिएँ। आधा घण्टामा उहाँहरूको कुरो सकियो होला भन्ठानेर मैले सरको फेान नम्बर थिचें।
“कसैले बीचमा बदमासी गर्यो, यो गल्ती नै हो, मेरो समस्यालाई यहाँले बुझिदिनु पर्यो, अब यस्तो हुनेछैन, भन्नुभयो।”
“माफ मागेपछि त लेख्नै पर्छ सर, फेरि यस्तो दोहोरियो भने चटक्कै छोड्दा पनि हुन्छ।” सरले लेख्नुभएको थियो। त्यसपछि बीचमा दुइटा पाठक प्रतिकृयाहरू सरको लेखको विरूद्धमा
छापिएका थिए। उहाँले दुबैपटक लेख्दिन भन्नुभएको थियो। तर त्यसलाई पनि हामीले नै सामसुम पारेका थियौं।
आज के भयो थाहा थिएन। आज त उहाँको लेख छापिने दिन पनि थिएन।
“सर, केही भयो फेरि?” मैले फेान खेलाउदै सोधें।
“अब सबै समाप्त भयो,” उहाँले गम्भिर स्वरमा भन्नुभयो, “आज यिनीहरूको अखबारमा मेरा विरूद्धमा दुइटा टिप्पणी छापिएका छन्। पहिलो हो पाठक प्रतिकृया। त्यो पाठक प्रतिकृया नक्कली हो। मेरो आफ्नै सालोको नाममा त्यो प्रतिकृया छापिएको छ। शायद नक्कली प्रतिकृया लेख्ने कम्पनीको भाटलाई मेरो बिहे अन्तरजातिय हो भन्ने थाहा थिएन होला। त्यसैले नमिल्ने जाती र थरको प्रयोग गर्दा त्यसले मेरै घरतिर पनि तान्नसक्छ भन्ने तिनलाई थाहा पाएन। सँगैको ब्यङ्ग कोलममा पनि जसको जौ खाने उसैको जुँगा उखेल्ने भनेर मैले यो अखबारका बारेमा गरेको टिप्पणीलाई लिएर मनपरी लेखिएको रहेछ। मैले आफ्नो लेखको गणना गरेर पैसा फिर्ता लिनु भनेको छु।”
“कम्पनीका कोही ठूलाबडासँग कुराकानी भएन सर?” मैले डराई डराईं सोधें।
“फोनमा कुरा गरेँथें मैले। यस्ता कुरालाई ब्यक्तिगतरूपमा लिइदिनु भएन भन्दै थिए। मैले हुँदैन भने। अहिले सम्पादकलाई जानकारी गराइदिउँ भनेर आएको। म अब यो पत्रिकामा लेख्दिन।”
सरको मन बेस्सरी पिरिएको थियो। त्यो जलेको थियो। त्यसैले मैले फेरि पनि लेखिरहनु पर्छ भनेर थप अनुरोध गर्न सकिन।
मैले सम्पादकको नम्बर थिचें। टेलिफोन उठ्यो। मैले सर आउनु भएको कुरो बताएँ। सामान्यतयाः भेटघाटको समय पहिले नै मिलाउने चलन थियो। आउनेहरू यतिबेला आउछु है भनेर फोनमा समय लिने गर्थे। त्यसैले सम्पादकले नाईं पो भन्नुहुने हो कि भन्ने शंका लागेको थियो। तर अनौठो! उहाँले सजिलरी भन्नुभयो, “माथि पठाइदेउ न!”
सर भर्याङ चढ्नु भयो। मलाई चौ चौ लागिरह्यो। उसो त सम्पादकको कोठामा दिउंसो पसेको मानिस लामै समय गफ गरेर फर्किन्थ्यो। तर आज मलाई लाग्यो – सर तुरून्तै फर्किनु हुन्छ र सम्पादकसँग खस्रो मसिनो गरेरै फर्किनु हुन्छ।
नभन्दै त्यस्तै भयो। पन्ध्रै मिनेटमा उहाँ भर्याङबाट तल झर्नुभयो। उहाँप्रति सद्भाव जाहेर गर्न म बसेको ठाउँबाट जुरूक्क उठें। भुर्इंतलामा कोही थिएनन्। म भर्याङको नजिकै गएँ।
“के भयो सर?” मैले सकेजति विनम्र भएर सोधें।
उहाँ खिसिक्क हाँस्नुभयो। अघि जाँदाको आगो उहाँको अनुहार र मन दुबै ठाउँमा निभिसकेको रहेछ । मेरो मन चङ्गा भयो।
“चाँदनी, मैले यो अखबारमा अब नलेख्ने भएँ,” उहाँले गर्वोन्मत्त स्वरमा घोषणा गर्नुभयो। मलाई नमिठो लाग्यो। हप्तामा एकदिन पाइने रमाइलो पनि श्रोतमै सुक्ने भएछ।