Author Topic: इन्द्रबहादुर राइ - कृष्ण धरावासीको नजरमा  (Read 441 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15864
इन्द्रबहादुर राईका कथामाथि कृष्ण धरावासीका शब्दचित्र
Saturday, 10 Mar, 2018 (चक्रपथ)


निरन्तर प्रयोगशील स्रष्टाका रुपमा सुपरिचित श्रद्धेय इन्द्रबहादुर राई विपना कतिपयका कथाहरु देखि नै नयाँ देखिँदै आउनु भएको हो । त्यसो त आख्यानमा नयाँ पनको अनौठो प्रस्तुति ‘आज रमिता छ’ उपन्यास राच्चै नै आज पनि रमिता नै छ । २०२१ सालमा प्रकाशीत त्यो उपन्यासले उसै बेला बोकेको उत्तरआधुनिक छाप आजसम्म नेपाली उपन्यासमा जेठै देखिन्छ ।

उहाँले विपना कतिपयका कथाहरुलाई पारस्परिक लेखनमा रुपमा मान्नु भएता पनि पाठकहरुलाई ती कथा पारस्परिक मात्र लाग्दैनन् । हामी जस्तै मैनाकी आमा, छुट्याइयो , रातभरि हुरी चल्यो, जार भएकै एउटा कथा, मेरी दिदी, जस्ता कथाहरुले विपना कतिपयलाई उत्कृष्ट संग्रह बनाएकै थियो । सन् १९६० मा छापिएका ती कथाहरुको संग्रह आज समेत उत्तिकै समकालीन छन् ।

अलिकति अघि बढेर तेस्रो आयाम तिर लागेका बेला कवितामा बैरागी काइँला र ईश्वरबल्लभले काम गर्दा गर्दै कथा समालोचनामा केन्द्रित उहाँका कथास्थाका कथाहरुमा फरक शैली आएका हुन् । ती कथाले बोकेको दुर्बोध्यताको रिङटा धेरै पछिसम्म रहिरह्यो । तै पनि एउटा दिनको सामान्यता , ऊ त्यसरी बाँचेको छ त्यसरी नै, टाडामा जस्ता कथाहरुले पाठकलाई खुशी नपारेका थिएनन् ।

इन्द्रबहादुर राईको कथा यात्राको तेस्रो चरण लीलालेखनमा आएर उभिएको देखिन्छ । यसै चौतारीमा बसेर उहााले भनिरहनुभएका कथाहरु र कथा भन्ने शैली आजको नेपाली साहित्यमा उच्चतम चर्चाको विषय छ । यो पछिल्लो शैलीमाआख्यान लेख्नेहरुको ठूलै संख्या देखिन्छ । यस शैलीका उहाँका महारुदन , बाध, विश्व तिम्रो चरणमा, कठपुतलीको मन, झ्याल जस्ता कथाहरुले कथा पाठकलाई धेरै हदसम्म हत्केलामा च्युँडो अड्याउन लगाउछ ।

उहाका तीनै चरणका कथाहरुबाट केहि प्रातिनिधिक प्रस्तुतिका रुपमा आइरहेको यो कृति इन्द्रबहादुर राईका कथाका पाठकहरुका लागि ज्यादै महत्वपूर्ण प्राप्ती भन्ने लाग्दछ ।

tundikhel

  • Global Moderator
  • ******
  • Posts: 15864
आहुतिका अगाडि इन्द्रको बयान

शनिबार, २६ फागुन २०७४, ०७ : २१ |  नागरिक
विमल आचार्य

बजारमा अनेक कुरा छन् । पढ्नलाई, हेर्नलाई, सुन्नलाई, चाख्नलाई छेलोखेलो छन् । दुःखी वा खुसी, तपाईंलाई जेजे हुनु छ, छ्यालब्याल छन् । यही पत्रिकामा पनि राजनीति अर्थात् नेतागिरी, अर्थ अर्थात् दादागिरीदेखि जीवनशैली र जूनकीरीजस्ता परिकारका पाना प्रशस्तै छन् । जो यो पानो अक्षर पढ्न आइपुग्नुभयो, अलिकति रुचि भएरै आउनुभयो।

रुचि भएकालाई भर्खरै दिवंगत लेखक इन्द्रबहादुर राईको जीवन र लेखनबारे थोरबहुत कुरा थाहै छ । त्यसैले जन्म र जन्मस्थान, विवाह र सन्तान, शिक्षा र प्रेरणा, पुरस्कार र सम्मान, संलग्नता र आबद्धता, नोकरी र चाकरी, कृति र कीर्ति, सृष्टि र दृष्टिजस्ता फजुल कुरा लेखेर यहाँ बायोडाटा तयार पार्नुको तुक छैन । यस्ता कुरा पढ्न मन भए आजको जमानामा गुगल छँदै छ । (गुगलमा छन त छ तर धेरैजसो असत्य, अर्धसत्य, भ्रमपूर्ण पनि छ है !)

इन्द्रबारे के लेख्ने ? जे लेखे पनि इन्द्रका अगाडि स्वर्गको बयान गरेजस्तो हुन्छ मैले । तर, यति बेला स्वर्ग (स्वर्ग–नर्कमा विश्वास छैन) को अगाडि पुगेका इन्द्रको जानी नजानी, सकी नसकी, ठसठसी कन्दै भए पनि बयान नगरी भएकै छैन, मलाई । अँ, इन्द्रको पहिचान र सामथ्र्यबारे पोहोर मैले एउटा लेखजस्तो केही छापिसकेको छु । त्यही कुरा दोहोर्‍याउनु, भनौँ न चोर्नुको पनि के तुक र ! त्यसो भए के लेखौँ त !

राईको २०१६ मा छापिएको पहिलो कथा ‘रातभरि हुरी चल्यो’को तात्तातो अनुवाद ‘लङ नाइट अफ स्टोम’को ब्लर्बमा खगेन्द्र संग्रौलाको लाइन छ, अगाडि । सामाजिक सञ्जालभरि गन्यमान्यदेखि नगन्य अन्यहरूले लेखिरहेकै देखेँ— आज रमिता छैन, मृत्यु पनि रमितै हो, तेस्रो आयामको मूल खाँमो रहेन, वैरागी काइँलाले म मात्र बाँकी रहे भने, मृत्यु एक लीला, राईकै किताब पढ्दै थिएँ, हिजै राईबारे कुरा गरेको थिएँ, एउटा युगको अन्त्य, ‘महान् लेखक’ विशेषण कसैलाई सुहाउँछ भने राईलाई नै आदिइत्यादि । (श्रद्धाञ्जलि दिने एउटा काइदा चैँ आतंकजस्तै बन्या छ, सामाजिक सञ्जालमा।

मर्नेसँगै टाँसिएका फोटो प्रदर्शनी आतंकको मुन्तिर रिपको अर्काे आतंक । अँ, एक जना आतंकितले त ‘दुवैलाई हार्दिक श्रद्धाञ्जलि’ भनेर पो कमेन्ट गरेछ ।)त (अ)सामाजिक सञ्जालको जञ्जालमा बाँधिएको म मनुवाका आँखा एउटा स्टेट्समा गएर अलि बेर अडिए । सशक्त कवि तथा उपन्यासकार एवं वाचाल समाजअध्येता आहुतिले आफ्नो फेसबुकमा लेखेका छन्, ‘खस नेपाली भाषी गज्जबका भारतीय साहित्यकार इन्द्रबहादुर राई आज अन्त्य भएछन्।

शोक सन्तप्त सबैप्रति समवेदना र उनीप्रति श्रद्धाञ्जलि । राई नेपालका साहित्यकार, बौद्धिक र शासकहरूमाझ पनि चर्चित थिए तर शोषित–शासित श्रमजीवीको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रुपमा अगाडि आएनन् । गज्जब प्रतिभा तर गलत विश्वदृष्टिकोणवाला लामो लस्करका एक यात्री– इन्द्रबहादुर राई । उनीबाट शिल्प र प्रयोग सिकौँ तर विचार हैन।’

आहुति हाम्रो राजनीति र संस्कृति, समाज र साहित्य, इतिहास र सिनेमा लगायत अनेकन् विषयबारे बरोबर लेखिरहने, बोलिरहने प्रखर सर्वज्ञ हुन् । उनलाई म रुचिपूर्वक पढ्छु, सुन्छु, क्रिटिकल्ली मन पराउँछु । तर, यो स्टेटस पढेपछि ममा केही प्रश्न उठे । इन्द्रबहादुर राईलाई अलि ध्यानपूर्वक पढिएको भएर, अलि प्रेम गरिएको भएर भावुक भइयो या के भइयो, आहुतिसँग अलिकति असन्तुष्ट भइयो।

राईको उपन्यास ‘आज रमिता छ’लाई अंग्रेजीमा अनुवाद गर्ने मञ्जुश्री थापाले भनेकी छन्, ‘अबको युगमा त अन्तर्राष्ट्रियतावादी पो हुनुपर्छ । हामी विश्व नागरिकका रुपमा सबै सबैसँग गाँसिएका छौँ । राष्ट्रवादको काम मान्छेलाई नियन्त्रण गर्नुबाहेक केही देखेको छैन मैले ।’ अर्काे लेखमा भनेकी छन्, ‘टोरन्टोको उपनगरस्थित एक उराठलाग्दो सरकारी कार्यालयसम्म गएर नागरिकताको जाँच दिएँ । नागरिकताको शपथ लिनका लागि मलाई बोलाउने बेलामा अबदेखि नेपाली नहुन म भावनात्मक रुपले तयार थिइनँ । अनौपचारिक रुपमा प्रायः निस्किरहन्छ–हामी नेपाली ।’ (थापाको उपन्यास–चर्चामा आहुतिले थापालाई क्यानेडियन भनेको सुनिएन)

आहुतिले भनेझैँ इन्द्रबहादुर राई भारतीय नै हुन् । यसमा शंका छैन । तर, ‘साँच्चैको कम्युनिस्ट पार्टी स्थापना गर्न लागेका’ सच्चा कम्युनिस्टले मान्छेको अन्तर्राष्ट्रिय जात हुन्छ भन्छ कि के भन्छ ? धेरै पछिको कृत्रिम राजनैतिक विभाजनबाट मात्र हेर्ने कि राजनैतिकइतर दृष्टिबाट पनि बुझ्ने ? हो, उनको नागरिकता भारतीय हो।

तर, कोही नागरिकतामा मात्र बाँचेको हुन्छ कि आफ्नो भाषा र संस्कृति, जातीयता र जरा अर्थात् पहिचानमा ? (उनका बाजे यताबाट चिया–मजदुर बन्न गएकाले मात्र मैले प्रश्न गरिरहेको छैन) पहिचानका प्रवक्ताले पहिचान नमानेर औपचारिक खोस्टोलाई मात्र मान्नु प्रगतिशीलता हो कि प्रतिगमन ? जीवनभर उसले गरेको धर्म (कर्म) औपचारिक कागज र ताइँ न तुइँको सीमा मात्र हो ? बुद्ध नेपाली हुन् भनेर कोकोहोलो गर्नु र राई भारतीय मात्र हुन् भनेर बुझ्नुको रौँचिरा के हो ? यहाँले पारिजातबारे लेखे–बोलको पढे–सुनेको छु।

पारिजातलाई हेर्ने यहाँको उदार राष्ट्र राईका सन्दर्भमा कसरी संकुचित राज्यमै खुम्चियो ? राष्ट्रियता अर्थात् पहिचानका कुरा गर्ने यहाँ केपी ओलीको राष्ट्रवादभन्दा साँघुरो राज्यवादमा कसरी झर्नुभयो ? के दार्शनिक, विचारक, साहित्यकार, कलाकारको देश हुन्छ ? बुद्ध र गान्धी, माक्र्स र लेनिन, गोर्की र चेखब के नागरिकता मात्र हुन् ? 

  हामी सीमान्तीकृत, अल्पसंख्यकको अधिकार र संघर्षको कुरा गर्छाैँ । जसरी नेपालमा खस भाषाबाहेक अन्य भाषाले राष्ट्रभाषाको मान्यता पाउन २०६३ सालसम्म संघर्ष गर्नुपर्‍यो । संघर्ष अझै जारी छ । अझै पनि कोही आफ्नो मातृभाषा (अथवा बोल्न मन लागेको भाषामा) मा शपथ लिन्छ र संसद्मा बोल्छ भने यहाँ खिसी उडाइन्छ।

यहाँ अल्पसंख्यक भाषीले गरेको संघर्ष र उता उस्तै अल्पसंख्यक भाषीले गरेको संघर्ष हेर्ने यहाँका दुई आँखामध्ये एउटा सीके लाल र अर्काे केपी ओली कसरी ? नेपालमा अल्पसंख्यक भाषीले गरेको संघर्षलाई मेरो साथ र समर्थन छ भने उता भारतमा पनि अल्पसंख्यक भाषी लगायतले गरेको संघर्ष कसरी ‘श्रमजीवीको मुक्तिको सन्दर्भ’ होइन ? भारतमा खस नेपाली भाषालाई मान्यता दिलाउन राईले जति संघर्ष गर्नुपर्‍यो र त्यसबापत आफ्नो भौतिकीको विनाश सहनुपर्‍यो त्यसलाई क्रान्तिकारीको आँखाले कसरी भ्रान्ति र लीलामात्र देख्यो ?

शोषित–शासित श्रमजीवीको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रुपमा अगाडि आएनन् ।’ कहिल्यै पनि ? यो वाक्य पढेपछि मलाई लाग्यो, तपाईंले कि त राईको साहित्य (विशेषतः कथा) पढ्नु नै भएको छैन कि त क्रिटिकल्ली हेर्ने नाममा यहाँ नेगेटिभ्ली हेरिरहनुभएको छ।

उत्तर आधुनिकतावाद होस् या माक्र्सवाद, म सकेसम्म सबैलाई क्रिटिकल्ली हेर्न नै मन पराउँछु । तर, क्रिटिकल्ली हेर्नु र नेगेटिभ्ली हेर्नुमा धेरै फरक छ । म मानवमा पूरापूर दानव वा पूरापूर देवताको अस्तित्व देख्दिनँ । कसैलाई समग्रतामा नबुझी एक–दुई रचनाका आधारमा सुपर वा झुर भन्नु वस्तुवादी मूल्यांकन होइन, अधिमूल्यन वा अवमूल्यन मात्र हो । मेरो नजरमा ‘वीरेन्द्र जिन्दावाद’ लेख्यो भन्दैमा भूपी राजावादी कवि होइन र ‘म चीन हुँ’ लेख्यो भन्दैमा भीमनिधि तिवारी प्रगतिशील–विद्रोही होइन । कसैको पासपोर्ट साइजको फोटो मात्रै हेरेका भरमा छातीको नाप कहिलेसम्म बताइरहने ?

राई सुरुमा माक्र्सवादको नजिक भए पनि पछि मात्र विरोधी भएका हुन् । (बाबुराम भट्टराई अहिले माक्र्सवादी होइनन्, के अब उनले माक्र्सवाद छोड्नुअघिका लेखनको कुनै महत्व छैन ? ती सबै बाबुरामसँगै गैरमाक्र्सवादी भइगए ?) राईले मार्क्सवादलाई साहित्य अपहरणको बात नै लगाएका छन् । यस आधारमा यहाँले राईलाई गलत विश्वदृष्टिकोणवाला भन्नु स्वाभाविक छ । साहित्यको अपहरण मार्क्सवादवादिक प्रतिबद्धता (सन् १९९४) मा उनले बढी नै विषवमन गरेका छन्, यस आधारमा म उनको आलोचना गर्छु।

तर, उनका रातभरि हुरी चल्यो, जयमाया आफू मात्र लिखापानी आइपुगी, खिर, चपरासी, मेरी दिदी, घाँसीसँग जन्तीजस्ता धेरै कथा पढेको भए ‘शोषित–शासित श्रमजीवीको मुक्तिका सन्दर्भमा उनी कहिले पनि विषय, विचार र पात्रका रुपमा अगाडि आएनन्’ भन्नुहुन्थेन कि यहाँले ? अथवा राईले हृदयचन्द्रसिंहको स्वास्नीमान्छेमा प्रगतिशीलता, डीपी अधिकारीको आशमायामा मार्क्सवाद, विप्रको तीन घुम्तीमा अस्तिवादी वरण, पारिजात, डा. लक्खीदेवी सुन्दासजस्ता बृहत् समालोचनात्मक लेख सम्झिनुभएको भए ‘कहिले पनि’ भन्नुहुन्थेन कि ?

प्राध्यापक, लेखक, समालोचक, सम्पादक एवं सक्रिय पब्लिक इन्टेलेक्चुअल सुन्दासलाई सविस्तार चिनाउने राई कसरी शोषित–शासितबारे निष्पृह ? यहाँले ‘कहिले पनि’ भन्नुभएको छ म त भन्छु राईले सुरुमा ‘जहिल्यै पनि’ निर्धा र निरक्षर, चिया बगानका श्रमिक र विश्वयुद्धले पीडित, घरबारविहीन निमुखाहरूलाई पात्र र विषय बनाएका छन् । मुखले माक्र्सवादको गायत्री जप्दैमा वा शपथ खाँदैमा कोही गंगाप्रसादहरू स्वतः शोषित–पीडितको पक्षधर हुन्छ कसरी ? लीलालेखन अघिसम्म राईको मूल प्रवृत्ति प्रगतिशीलता नै हो ।

लेखनमा अलिक नौलो प्रयोग गरे, अलिकति क्लिष्ट बनाए (उनका अनुसार स्वतः बनेको) भन्दैमा उनका पूर्वार्द्धका उत्कृष्ट कथाहरूलाई अवमूल्यन गर्नुहुँदैन । भोलि तपाईंले मार्क्सवाद छोड्नुहोला रे, छोड्ने मात्रै होइन,मार्क्सवादको आलोचकै बन्नुहोला रे (राजनीतिमा असम्भव केही छैन, बाबुरामले त छोडे), के त्यतिबेला तपाईंका ‘नयाँघर’, ‘स्खलन’ वा ‘गहुँगोरो अफ्रिका’ले पनि –प्रगतिवाद–प्रगतिशीलता छोड्छन् ? छोड्दैनन्।

राईले आफ्नो एउटा लामो लेखमा वर्नर कार्ल हाइजनबर्कलाई केन्द्रविन्दुमा राखी बहुलताको वकालत गरेका छन् । राईले धार्मिक, जातीय र राज्यीय अझ वैचारिक लगायत सबैखाले कट्टरताको विरोधी भएर गम्भीर तर्क दिएका छन् यस लेखमा । बहुलता स्वीकार्नु, धर्म–जात–देशको आधारमा कसैलाई महान्-तुच्छ देख्नु कसरी प्रगतिशील हुनु हो ?

र अन्त्यमा, केही अघि चिन्तक चैतन्य मिश्रले चाहिँदैन कम्युनिस्ट पार्टी भन्दा यहाँले ‘चैतन्यसित संवादको औचित्य छैन’ भनेर संवाद अन्त्यको घोषणा गर्नुभएको छ । मलाई लाग्थ्यो, के के जाति अन्त्य, कहिले लेखकको अन्त्य, कहिले हुँदै नभएको भगवान्को अन्त्य, कहिले इतिहासको अन्त्य, अनेक अन्टसन्ट अन्त्यको शृंखला उत्तर आधुनिकतावादीहरूले मात्र चलाउँदा हुन्, तर सच्चा कम्युनिस्ट पार्टी खोल्न लागेका यहाँले वाद–विवाद–प्रतिवाद, संवाद–संघर्षविना कस्तो पार्टी बनाउनु हुने हो, शुभकामना छ।

अल्पज्ञान र भावुकताले भरिएका यी झुर प्रश्नमा यहाँले संवादको अन्त्यको घोषणा पक्कै गर्नुहुने छैन, किनकि चैतन्यलगत्तै उही पत्रिकामा आएको केपी ओलीको कुरामा यहाँले आपत्ति जनाएर ‘बोलौँ’ भनेर संवादको आह्वान गर्नुभएको थियो । चैतन्य मिश्रजस्तो गम्भीरभन्दा केपी ओलीजस्तो जोकर संवादका लागि योग्य भएपछि म महाजोकर त संवाद लागि झनै महायोग्य भइहालेँ नि !

(from Nagarik)