‘हाेलीमा मृदङ्ग बजाएर जोगिरा गाउने परम्परा खाेइ कहाँ छ?' - दिनेश शर्मा
२o७५ चैत ५ मंगलबार
राजविराज– फागु पूर्णिमा अर्थात ‘होली पर्व’ नजिकिएसँगै सप्तरीसहित तराई/मधेशका प्रमुख बजार तथा ग्रामिण क्षेत्रमा होलीसँग सम्वन्धित गीतहरु घन्किन थालेका छन्। होलीका लागि किनमेल गर्नेहरुको चलहपहल पनि बढेको छ। तराई/मधेशमा महत्वपूर्ण पर्वका रुपमा होली मनाउने गरिन्छ।
हाेली आउन एक दिन मात्रै बाँकि रहँदा बिहानैदेखि होली पर्वसँग सम्वन्धित हिन्दी, भोजपुरी, मैथिली तथा नेपाली गीत बज्न थालेका छन्। ग्रामिण क्षेत्रमा भने कतिपय स्थानमा एक साताअघि देखिनै ‘जोगीरा’ गाउँने क्रम चलिरहेको छ। होलीको १५ दिनअघि देखिनै गाउँमा हरेक साँझ सामूहिक रुपमा होली गीत गाउँने परम्परा रहे पनि पछिल्लो समय सुस्तता आएको राजविराज-७ का रामकुमार यादवले बताए।
होली पर्वले युवा पुस्ता मात्र नभई किसान, मजदुर, व्यापारी, गृहणी, कर्मचारी सवैलाई उत्तिकै छोएको छ। बजारमा होली अंकित टि–सर्ट, लोला, पिचकारी, रङ, अबिरलगायतको बिक्री बढेको छ।
आधुनिकताका नाममा परम्परागत गीत लोप हुने खतरा
कतिपय होली गीतमा उत्तेजक शब्दहरुको प्रयोग बढेको छ। सुन्दा असहज लाग्ने र द्विअर्थि शब्द प्रयोग भएका यस्ता गीतले बजारमा व्यापकता पाएको छ। ‘यस्ता गीतका कारण होलीको मौलिकतामा ह्रास आएको छ’, राजविराजका वैजु जोशी भन्छन्, ‘उच्छृंखलता हटाएर परम्परा र मौलिकता जोगाउन युवा पुस्ताको सकृयता आवश्यक छ।’
आधुनिकताका नाममा युवा पुस्तामा देखिएको यस्ता गीतप्रतिको मोहले होलीमा गाइने परम्परागत लोकगीत हराउँदै गएको मैथिली साहित्य परिषद्का सचिव श्यामसुन्दर यादव बताउँछन्। ‘हाेलीमा पुर्खौली बाजा मृदङ्ग बजाएर जोगिरा गाउने परम्परा खाेइ कहाँ छ?, अब याे परम्परा बिस्तारै लोप हुँदैछ’, उनले भने, ‘पुरानो पुस्ताको अवसानपछि युवा पुस्ताले यो परम्परालाई जोगाउलान् भन्ने लाग्न पनि छोडेको छ।’
पहिला–पहिला बूढापाकाले रात परेपछि गाउँमा झ्याली, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत ‘जोगिरा’ गाउने गरेको उनी सम्झन्छन्। ‘अबको होलीमा प्रेम र सद्भाव कम छ। भाङ खाएर रमाइलो गर्ने परम्परालाई जाँडरक्सीले विस्थापित गर्दैछ’, यादव थप्छन्, ‘प्रेम र सद्भावको ठाउँ रिसरागले लिँदै गएकाले होलीको पौराणिकता र माधुर्यता पनि हराउँदै गएको छ।’
होलीको इतिहास
त्रेता यूगमा भगवान विष्णुका एक अवतार मानिने प्रह्लादसँग होली पर्वलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनकी आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी स्वयम् भष्म भएको र त्यही दिनदेखि होलीका (होली) पर्व मनाउन सुरु गरिएको मान्यता छ। असत्यमाथि सत्यकाे विजय भएकाे रुपमा यस दिनलाई लिइन्छ।
फागुन शुक्ल चतुर्दशीका दिन रातमा होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि पूर्णिमाकाे बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। होलीलाई पुरानो कटुता समाप्त गरेर आपसमा मित्रता कायम गर्ने दिनको रुपमा समेत लिने गरिएको जानकारहरु बताउँछन्।
एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर मनाइने होली, यो वर्ष पहाडमा फागुन ६ र तराइका जिल्लामा फागुन ७ गते मनाइदैछ।
nepallive.com