Author Topic: सिंहदरबारको बालुवाटारको, खुल्लामञ्चको जग्गा अतिक्रमण  (Read 271 times)

0 Members and 1 Guest are viewing this topic.

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15941
सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?

पुष्प ढुंगाना
सुवास भट्ट
२०७६ बैशाख १९ बिहीबार

तस्बिर : सतिश पोखरेल/ नयाँ पत्रिका


सिंहदरबारको  वास्तविक पर्खाल
सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ ।

किन मिचियो सिंहदरबार ?
०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएपछि उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाए ।
तत्कालीन गृह मन्त्रालयका सहसचिव पद्मराज सुवेदीको पनि अनामनगरमा सडकनजिकै जग्गा थियो । पछि उनले त्यही जग्गामा घर बनाए । अहिले बाजेको सेकुवासँगै पूर्वसचिव सीताराम खनालको घर छ । उनी त्यतिवेला मन्त्रिपरिषद् सचिवालयका सहसचिव थिए । नियमअनुसार आधा जग्गा सरकारको र आधा व्यक्तिको गरी सडक विस्तार भएको भए उनको जग्गा पनि काटिन्थ्यो ।
तत्कालीन संसद् सचिवालयका सहसचिव राधेश्याम भट्टराई (पछि सचिवबाट अवकाश)को घरजग्गा पनि सिंहदरबारसँग जोडिएको थियो । गुरुयोजनाअनुसार सडक विस्तार भएको भए त्यतिवेला सरकारको सहायक सचिव रहेका रणबहादुर श्रेष्ठ (पछि सचिवबाट अवकाश)को पनि जग्गा पथ्र्यो । अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणसँगै रहेको उनको घर भएको जग्गा त्यतिवेलै सडक बन्थ्यो ।
तत्कालीन समयमा राजदरबारका पुजारी नायब बडागुरुज्यू माधवप्रसाद भट्टराईको घर पनि सिंहदरबारको पूर्वी गेटसँगै थियो । त्यतिवेला विकासको मूल फुटाउने भन्दै न्युप्लाजाबाट सिंहदरबारको कम्पाउन्ड भत्काउँदै सरकारी जग्गाबाट बाटो विस्तार गरेको पूर्वएसएसपी इन्द्र न्यौपानेले बताए । त्यतिवेला इन्स्पेक्टर रहेका उनको घर नै सिंहदरबार कम्पाउन्डसँगै जोडिएको थियो । अहिले लोकसेवा आयोगसँगै उनको घर छ ।
०३९ मा तयार भएको सिंहदरबार गुरुयोजनामा अनामनगरदेखि न्युप्लाजासम्म सडक विस्तार नगरी अनामनगरस्थित व्यक्तिको जग्गासमेत अधिग्रहण गरेर सिंहदरबारको क्षेत्रफल बढाउन सकिने प्रस्ताव थियो । तर, त्यसविपरीत मन्त्रीस्तरीय निर्णयबाट ०४७ मा न्युप्लाजाबाट अनामनगरसम्म बाटो विस्तारको निर्णय गरियो । यसबाट सिंहदरबारको ४२ रोपनी ६ आना जग्गा अतिक्रमित भयो ।
यो निर्णय गरेका थिए, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारका गहृमन्त्री योगप्रसाद उपाध्याय र भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले । गुरुयोजनाविपरीत गृहमन्त्री उपाध्यायकै उपस्थितिमा व्यक्तिको जग्गा नछुने र सिंहदरबार पर्खालभित्रबाट सडक विस्तारको निर्णय भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासे बताउँछन् । बाटो विस्तारका लागि सिंहदरबार गुरुयोजना परिमार्जन गर्ने निर्णय भने भौतिक योजना तथा निर्माणमन्त्री अच्युतराज रेग्मीले गरेका थिए ।
सरकारले सिंहदरबार परिसरको गुरुयोजना कार्यान्वयन गर्न अधिकारसम्पन्न सिंहदबार सचिवालय पुनर्निर्माण समिति गठन गरेको थियो । समितिको अध्यक्ष भौतिक योजना तथा निर्माणमन्त्री हुने व्यवस्था थियो । अध्यक्षको हैसियतमा मन्त्री रेग्मीले सिंहदरबार परिसरको बृहत् गुरुयोजना क्षेत्रलाई तीन भागमा टुक्र्याएर वैद्यखाना क्षेत्र, हालको सिंहदरबार परिसर र बबरमहल क्षेत्र बनाए । त्यसपछि न्युप्लाजादेखि अनामनगर हुँदै हनुमानस्थानसम्म सिंहदरबार परिसरभित्रबाट बाटो खोलिएको थियो । तर, त्यो निर्णयको रेकर्ड संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई नदिइएको बेल्वासेले बताए ।
१६ पुस ०४९ मा सरकारले गठन गरेको पूर्वसचिव रामबहादुर रावल संयोजकत्वको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाटो विस्तारअघि सिट नं. ११०५/२० कित्ता नं. ९७ मा ६९३ रोपनी ९ आना क्षेत्रफलमा सिंहदरबार परिसर फैलिएको थियो । तर, सिंहदरबारलाई च्यापेर सडक विस्तार गर्दा ४२ रोपनी ६ आना जग्गा बाटोमा प¥यो । बाटो विस्तार गर्दा सडकको दुवैतर्फ समान रूपमा विस्तार गर्नुपर्नेमा सिंहदरबारपट्टिको जग्गा मात्र काटियो । यसले सिंहदरबारको क्षेत्र खुम्चियो ।
यस्तै न्युप्लाजाको पूर्वतर्फ बाँसघारीको उकालो सडकसँगै जोडिएको कान्लोमा कित्ता नं. ३६१ मा १ रोपनी १ आना सरकारी जग्गा थियो । त्यसमध्ये ११ आना ३ दाम सरकारी जग्गामा व्यक्तिले घर बनाएका छन् । हालै सार्वजनिक भएको रावल प्रतिवेदनले त्यो सडकसँगै जोडिएको कान्लो अतिक्रमण गरी घर बनाउँदा सडक विस्तार गर्न असुविधा हुने उल्लेख गरेको छ ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15941
काठमाडौं महानगरमा सरकारी र गुठीका १८ सय ५९ रोपनी जग्गा व्यक्तिका नाममा
०५० अघि नै हालको काठमाडौं महानगरपालिकाभित्र पर्ने विभिन्न क्षेत्रमा एक हजार आठ सय ५९ रोपनी सरकारी, सार्वजनिक र गुठीको जग्गा अतिक्रमण भएको खुलेको छ । १६ पुस ०४९ मा सरकारले गठन गरेको पूर्वसचिव रामबहादुर रावल संयोजकत्वको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ले तीन वर्ष लगाएर अतिक्रमित जग्गाको लगत संकलन गरेको थियो । आयोगले जग्गा फिर्ता ल्याउन सुझाबसहित ०५२ मा प्रतिवेदन बुझाए पनि सरकार अहिलेसम्म चुपचाप छ ।
आयोगको प्रतिवेदनमा अधिकांश जग्गा व्यक्तिको नाममा दर्ता भएको उल्लेख छ । हाल काठमाडौं महानगरपालिकाभित्र पर्ने साबिकका ३५ वटै वडामा वडैपिच्छे भएको जग्गा अतिक्रमणको विवरण प्रतिवेदनले खुलाएको छ । आयोगको प्रतिवेदनमा अतिक्रमित स्थान, जग्गाको कित्ता, अतिक्रमण गर्ने व्यक्ति र कित्ता नम्बरसमेत उल्लेख छ ।


पुरानो बानेश्वरदेखि शंखमूल पुलसम्म १८४ रोपनी ६१० जनाले गरे अतिक्रमण

पुरानो बानेश्वर चोकदेखि पश्चिम धोबीखोला तथा त्यहाँबाट पूर्व बानेश्वर हाइट, नयाँबानेश्वर चोक र शंखमूलको पुलसम्मको क्षेत्रमा विभिन्न ८४ कित्तामा ६१० जना व्यक्तिले १८४ रोपनी २ आना जग्गा अतिक्रमण गरेका छन् । त्यसमध्ये बानेश्वर हाइट नजिकको धोबीखोलाको पुलदेखि शंखमूल घाटसम्म १७९ व्यक्तिले ६३ रोपनी १ आना जग्गा हडपेका छन् ।
त्यस्तै, साबिकको बानेश्वर महादेवस्थान गाविस वडा नं. ३ मा २२ रोपनी १० आना सरकारी जग्गामध्ये १५ रोपनी २ आना ४१ जनाले आफ्नो नाममा गरेका छन् । वडा ५ क मा २ रोपनी ११ आना सार्वजनिक जग्गा ५६ व्यक्तिको नाममा पुगेको छ । सोही वडामा २१ जनाले ४ रोपनी ११ आना सार्वजनिक जग्गा कित्ताकाट गरी आफ्नो बनाएका छन् ।
बानेश्वर महादेवस्थान–९ कको कित्ता नं. १४९ मा ९७ रोपनी ६ आना सरकारी जग्गा रहेकामा १०१ जना मिलेर ६७ रोपनी २ आनामा घर बनाएका छन् । सोही वडाको कित्ता नं. २५ मा २ रोपनी ५ आना जग्गा ६ जनाले अतिक्रमण गरेका छन् ।

स्वयम्भूको सरकारी जग्गामा व्यक्ति र संस्थाका संरचना
साबिकको गाविस स्वयम्भू वडा नं. ४ को कित्ता नं.७२६ मा २५२ रोपनी ४ आना सरकारी जग्गा अतिक्रमण गरी घ्याङ, घर, करेसाबारी, कम्पाउन्ड, पानीट्यांकी बनाइएको छ । स्वयम्भू–१ डल्लुमा कित्ता नं. १ मा २ रोपनी १० आना जग्गा रहेकामा कान्छी, भाइकाजी र सिद्धिमान महर्जनले ३ वटा पक्की घर बनाएका छन् । त्यस्तै, कित्ता नं. ८ को ४ रोपनी ८ आना जग्गामा प्रहरीचौकी छ र केही जग्गा व्यक्तिले अतिक्रमण गरेका छन् । कित्ता नं. २८ को ११ आना सरकारी जग्गा कित्ता नं. १८७ को हकवालाले आफ्नो नाममा घुसाएको छ ।
त्यस्तै, स्वयम्भू–२ को कित्ता नं. ९६ को १ रोपनी १३ आना सरकारी जग्गा ठूले लामा र रामबहादुर घलेसहित विभिन्न व्यक्तिले अतिक्रमण गरेका छन् । स्वयम्भू–३ ख कित्ता नं. १ को १ रोपनी ८ आना सरकारी जग्गामा दोर्जे लामा र चुन्दरी लामाले पक्की घर बनाएका छन् । स्वयम्भू ७ कित्ता नं. १८ को ११ रोपनी७ आना सरकारी जग्गामा २ वटा पक्की घर बनाइएको छ ।

खोला छैन, अतिक्रमण गरेर पक्की भवन
राजदरबारको दक्षिणतर्फ जय नेपाल सिनेमा हल हुँदै बग्ने टुकुचा खोलामाथि घर, भवनलगायतका संरचना बनेका छन् । तर, बनेका ती संरचनाको नाप–नक्सा नै छैन । त्यस्तै, साबिकको गोंगबु वडा नं. ४ गको नक्सामा पर्ने कित्ता नं. ४३२ को कुलो गोंगबु बसोवास योजनाभित्र परी लोप भएको छ ।
खोलासमेत अतिक्रमणको चपेटामा परेको छ । खोर्सानीटारबाट दक्षिण हुँदै नीलसरस्वतीतर्फ आउने साबिक काठमाडौं नगरपालिका वडा नं. २४ को कित्ता नं ३१३ मा २५ फिट चौडासहित ३ रोपनी ४ आना क्षेत्रफलमा कुलो बगेको थियो । पूर्व–पश्चिम दुवै छेउबाट ३२ वटा कित्ताले कुलोको २ रोपनी ७ आना २ पैसा २ दाम क्षेत्रफल मिचेर त्यहाँ घर बनेका छन् । यसैगरी, काठमाडौं नगरपालिका वडा नं. १३ अन्तर्गत खोल्सा, कुलो, खोलासमेत गरी विभिन्न व्यक्तिले ७ रोपनी ४ आना जग्गा अतिक्रमण गरेका छन् ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15941
पाँचतारे होटेलले पनि मिच्यो सार्वजनिक जग्गा
साबिकको काठमाडौं नगरपालिका वडा नं. २२ मा पर्ने पाँचतारे होटेल सांग्रिलाबाट उत्तरतर्फ रानीबारी जाने बाटोको कित्ता नं. १४४ को १ रोपनी १४ आनाको कुलो बाटोमा प्रयोग भएको छ । त्यही बाटोमध्ये ७ आना जग्गामा होटेलले कम्पाउन्ड लगाई सार्वजनिक जग्गा मिचेको छ ।

अस्पताल र दूतावासआसपासका सार्वजनिक जग्गामा घरैघर
महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पश्चिम–उत्तरतर्फको साबिक वडा नं. २२ घ को कित्ता नं. ८९ को ४ रोपनी ४ आना क्षेत्रफलको सार्वजनिक जग्गामा १२ वटा घर बनेका छन् । त्यस्तै, कित्ता नं. १०२, १०३ र २७६ को १७ रोपनी १४ आना जग्गामा ७५ वटा घर बनेका छन् । भारतीय दूतावासको उत्तरतर्फको पर्खालपारि कित्ता नं.७८ र १४३ मा १ रोपनी २ दाम क्षेत्रफलमा अतिक्रमण गरी ६ वटा घर बनाइएका छन् ।
बाँसबारी छालाजुत्ता कारखानाअगाडि कित्ता नं. १५६ को ३ रोपनी ८ आनामा घर बनेको छ । साबिक धापासी गाविसको वडा नं. ८ खको प्रहरीचौकीनजिक कित्ता नं. ९१ को कुल जग्गामध्ये १ रोपनी १ आना जग्गामा नौवटा घर बनेका छन् । धापासी खोलाको डिल तथा किनारमा रहेका विभिन्न स्थानमा गरी २९ रोपनी ५ आना सार्वजनिक जग्गा अतिक्रमण गरी १२० घर बनाइएका छन् ।

कमलपोखरीको सरकारी जग्गामा घर बनाएर मालामाल
कमलपोखरीको सरकारी जग्गासमेत व्यक्तिको नाममा गएको रावल आयोगको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा साबिकको कमलपोखरीको जग्गा अतिक्रमण असह्य भएको उल्लेख छ । मालपोत कार्यालय काठमाडौंले २६ भदौ ०३६ मा कित्ता नं ४०१ को १५ आना १ दाम एक पैसा क्षेत्रफलको जग्गा पदमकुमारी गुरुङको नाममा गरिदिएको छ । त्यस्तै, कित्ता नं ४०४ को २ रोपनी १० आना एक दाम एक पैसा क्षेत्रफलको जग्गा मणिरत्न गुरुङको नाममा गएको छ । त्यस्तै, कमलपोखरीमा सीता तामाङ्नीको नाममा कित्ता नं १३४० को ४ आना, कृष्णमायाको नाममा कित्ता नं १८५१ को एक आना ३ दाम र नाम नखुलेको एक व्यक्तिको नाममा कित्ता नं ३६८ को १२ आना जग्गा गएको छ ।

छाडिएन मन्दिरको मूल ढोका पनि
साबिकको काठमाडौं नगरपालिका–१ को कित्ता नं.७६२ को १ रोपनी २ आना सार्वजनिक जग्गा अतिक्रमण भएको छ । मन्दिरको मूल ढोकाको दक्षिणतर्फ अवरोध गरी १४ वटा घर बनेका छन् । मन्दिरको उत्तरी भागमा बाटो बन्द गरी मञ्जु थापाले पक्की घर बनाएकी छिन् ।
सोही वडामा सेतो दरबार रहेको कित्ता नं. १०१ को जग्गा देवेन्द्र शमशेर जबरा र कित्ता नं. १०२ को जग्गा भिक्षुरत्न शाक्यको नाममा दर्ता छ । सेतो दरबार ऐतिहासिक तथा पुरातात्विक दरबार हो । तर, त्यस दरबारको ढोकाको पश्चिम खम्बाको उत्तरभाग भत्काई व्यक्तिले घर बनाएका छन् ।

सार्वजनिक जग्गा मिचेर निजी बाटो
पुरातात्विक तथा ऐतिहासिक महत्वको नक्साल नागपोखरी मन्दिर रहेको कित्ता नं. ४५१ को ५ रोपनी ५ आना २ दाम र कित्ता नं. ५५२ को १० आना जग्गा श्यामकुमार गिरी र श्याम श्रेष्ठको नाममा गएको छ । त्यस्तै, नक्साल नारायणचौरको नारायण मन्दिरको दक्षिणपट्टिको ४ आना २ दाम जग्गा शाह महलको कम्पाउन्ड जाने निजी बाटोका रूपमा प्रयोग भएको छ ।

मन्दिरको जग्गा मिचेर बाँडीचुँडी
नक्साल भगवानबहाल गुठीको २ रोपनी २ आनामध्ये कित्ता नं. १२१५ को १४ आना जग्गा मात्र मन्दिरको नाममा कायम राखेर बाँकी विभिन्न व्यक्तिका नाममा नापीको फिल्डबुक तयार भएको छ । आयोगले उक्त जग्गा व्यक्तिका नाममा गएकोमा कारबाही गर्न गुठी संस्थानलाई निर्देशन दिएको थियो । तर, आयोगको प्रतिवेदन कार्यान्वयन नै भएको छैन । कित्ता नं. ४७९ को २१ रोपनी ३ आना जग्गा नन्दिकेशर बहाल गुठीका नाममा दर्ता थियो । तर, मन्दिर फैलिएको भन्दा बाँकी जग्गामा व्यक्तिका घर बनेका छन् ।

विशालनगरमा राजदूत निवासदेखि मन्दिरसम्मको जग्गा अतिक्रमण
चुँडालदेवी मन्दिरको कुल क्षेत्रफल १० रोपनी पाँच आना दुई दाम छ । तर, मन्दिर, चिहान र बगैँचाले सात रोपनी १० आना मात्र ओगटेको छ । बाँकी दुई रोपनी दुई आना एक पैसा जग्गा १४ जनाले अतिक्रमण गरेर घर बनाएका छन् ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट दक्षिण–पश्चिमतर्फ भाटभटेनी मन्दिर भएको कित्ता नं. १२७ को एक रोपनी दुई आना सार्वजनिक जग्गामा १० वटा घर बनेका छन् ।
विशालनगर टेम्पो बिसौनीदेखि उत्तर–पश्चिमतर्फको १९ रोपनी १२ आना क्षेत्रफलको जग्गामध्ये पाँच आना एक दाम विभिन्न व्यक्तिले निजी प्रयोग गरेका छन् । त्यही बाटोको बीचभागको १० आना एक दाम क्षेत्रफलको जग्गा कीर्तनकृष्ण भट्टराईले आफ्नो नाममा दर्ता गरी प्रयोग गरेका छन् ।
विशालनगर टेम्पो बिसौनीबाट दक्षिणतर्फ फ्रान्सेली राजदूतको निवासनजिकै बाटोको पश्चिमतर्फ कित्ता नं. २३, २४ र २५ ले चार आना दुई पैसा सार्वजनिक जग्गा मिचेर बाटोबाटै पर्खाल लगाएका छन् ।

पोखरी नै मिचेर घर
साबिक बौद्ध गाविस वडा नं. ७ घ कित्ता नं. ५६ को सात रोपनी १३ आनामध्ये सात रोपनी १० आना, कित्ता नं. ५८ को नौ रोपनी सात आनामध्ये दुई रोपनी १५ आना, कित्ता नं. २१ को सात रोपनी सात आनामध्ये तीन रोपनी तीन आना र कित्ता नं. १७२ को १५ रोपनी १० आनामध्ये तीन रोपनी १० आना जग्गा मिचेर विभिन्न व्यक्तिले घर बनाएका छन् । साबिक बौद्ध गाविसकै वडा नं. ४ क कित्ता नं. १२५ को एक रोपनी तीन आना सार्वजनिक जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा नापी गराएका छन् । कित्ता नं. १२४ को बागमती नदीकिनारको जग्गा पनि मिचिएको छ । बौद्ध गाविसकै वडा नं. ७ ङ कित्ता नं. ९ र १० को चार रोपनी दुई आना एक पैसा क्षेत्रफलको सार्वजनिक जग्गा व्यक्तिको नाममा नक्सा बनेको छ ।
वडा नं. ७ ख को कित्ता नं. ६९ को आठ आना तीन दाममा फैलिएको पोखरी, ७ ग को कित्ता नं. ११४ र ११५ को एक रोपनी पाँच आना, कित्ता नं. १ को नौ रोपनी तीन आना, ८ ख कित्ता नं. १७२ को १५ रोपनी १० आना, ९ घ को कित्ता नम्बर १ को १६ रोपनी १५ आना सार्वजनिक जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएका छन् ।

धोबीखोलाको १५ रोपनी जग्गामा घर
साबिक २९ ख कित्ता नं. ३४० को धोबीखोला किनारको ३५ रोपनीमध्ये १५ रोपनी ३ दाम जग्गा विभिन्न व्यक्तिले १० कित्ता बनाई घर ठड्याएका छन् ।

मसानघाटको बाटो अतिक्रमण
चाबहिल वडा नं. २ क मा कित्ता नं. १३ को पाँच रोपनी तीन आना एक पैसा जग्गा विभिन्न नौजना व्यक्तिले आ–आफ्नो नाममा पारेर घर बनाएका छन् । त्यो स्थान मसानघाट जाने बाटो हो । वडा नं. ३ को कित्ता नं. १२६ को आठ रोपनी चार आना तीन पैसा एक दाम जग्गा आठजनाले मिचेका छन् ।
यस्तै चाबहिल गणेशस्थान क्षेत्रको पश्चिम–दक्षिणतर्फको पाँच रोपनी १२ आना सार्वजनिक जग्गा घर कम्पाउन्ड बनाएर अतिक्रमण गरिएको छ । चाबहिल वडा नं. ६ कै कित्ता नं. ५४ को भण्डारेश्वर महादेवको मन्दिरको पूर्वतर्फको जग्गामा व्यक्तिका घरहरू बनेका छन् । वडा नं. ८ को कित्ता नं. ११० को पाँच रोपनी सात आना क्षेत्रफलको सार्वजनिक जग्गा १५ जनाले व्यक्तिको नाममा दर्ता गरेका छन् । वडा नं. ९ ‘क’को साबिक कित्ता नं. ३ को २१ रोपनीमध्ये १५ रोपनी जग्गा ३० जना मिलेर मिचेका छन् ।
साबिक कोटेश्वर वडा नं. २ कको विभिन्न कित्ता गरी आठ आना जग्गामा व्यक्तिले घर बनाएका छन् । त्यस्तै, वडा नं. २ ख को कित्ता नं. २४० को ११ रोपनी चार आना सरकारी जग्गामा नौवटा घर बनेका छन् ।

पेप्सीकोलाले पनि मिच्यो सार्वजनिक जग्गा
साबिक सिनामंगल ९ खको कित्ता नं. ७१ मा सार्वजनिक जग्गामा आठवटा घर बनाइएको छ । सिनामंगल ७ खमा कित्ता नं. ५६९ को ढलको केही भाग पेप्सीकोलाले आफ्नो कम्पाउन्डभित्र पारेको छ । तर, अतिक्रमित जग्गाको क्षेत्रफल आयोगको प्रतिवेदनमा खुलेको छैन ।
यसैगरी सानोठिमी जाने मनोहरा खोलाको पुरानो पुलदेखि उत्तरपट्टि कोटेश्वर ७ घ को कित्ता नं. २५६ को खोलाको बगरमा ६० जना मिलेर ५१ रोपनी १५ आना सरकारी जग्गा कित्ताकाट गरी व्यक्तिका नाममा लगेका छन् । कित्ताकाट भएको स्थानमा खोला नियन्त्रणका लागि लगाएको तटबन्धमा प्रयोग भएका ढुंगासमेत व्यक्तिले झिकेका छन्, तटबन्धभित्रको जग्गासमेत व्यक्तिको नाममा गएको छ ।
सिनामंगल ७ घकै कित्ता नं. २५० को मनोहरा खोलाको बगर कित्ताकाट गरी कित्ता नं. २७४ र २७५ कायम गरी व्यक्तिको नाममा लगिएको छ । कित्ता नं. २७५ मा ४ रोपनी १ आना र कित्ता नं. २७४ मा २ रोपनी ३ आना जग्गा मिचिएको छ ।

बागमती नदीको जग्गामा पनि गिद्देदृष्टि
भीमसेनगोला वडा नं.४ घ स्थित बागमती नदीमा कित्ता नं. ११२ को २ रोपनी ६ आना जग्गा ६ जनाले अतिक्रमण गरेका छन् । त्यस्तै, वडा नं. ४ ङको कित्ता नं. ११७ को ३२ रोपनी ८ आना सरकारी जग्गा ३५ जनाले मिचेका छन् । त्यही ठाउँमा ४९ जनाले थप ६४ रोपनी ११ आना जग्गा मिचेका छन् । वडा नं. १ गको कित्ता नं. ६२ मा ६ रोपनी २ आना सरकारी जग्गा ५ जना मिलेर अतिक्रमण गरेका छन् ।
साबिक भीमसेनगोला वडा नं. १ क स्थित बागमती नदीमा कित्ता नं. ११२ को ७ रोपनी ४ आना सरकारी जग्गा पाँचजनाले अतिक्रमण गरेका छन् । त्यस्तै ११ जनाले २८ रोपनी चार आना जग्गा आफ्नो बनाएका छन् । वडा नं. २ कमा कित्ता नं. ९२ को ५ रोपनी १३ आना जग्गा एकजनाको नाममा दर्ता भएको छ । सोही क्षेत्रमा ५ जना मिलेर १९ रोपनी १० आना जग्गा मिचेका छन् ।
भीमसेनगोला वडा नं. २ ङ स्थित बागमती नदीमा कित्ता नं. ११० को ६ रोपनी तीन आना जग्गा आठजनाले अतिक्रमण गरेका छन् । सोही क्षेत्रमा तीनजना मिलेर थप आठ आना जग्गा मिचेका छन् । वडा नं. ४ क स्थित बागमती किनारमा कित्ता नं. ४१९ को ९ रोपनी २ आना जग्गा १२ जना मिलेर मिचेका छन् । नदीकिनारकै थप १५ रोपनी १५ आना जग्गा ११ जनाले आफ्नो पारेका छन् ।
सिनामंगल २ खको कित्ता नं. १०१ मा बागमती खोलाको धार परिवर्तन गरी साबिकभन्दा दक्षिणतर्फ बगाउनाले उकास हुन आएको २६ रोपनी १४ आना जग्गामा ४७ वटा घर बनाइएको छ । त्यो जग्गा ०३८ देखि ०४३ सम्म गुठी संस्थानमा बाली धरौटी राखिएको थियो ।
तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालबाट त्यस क्षेत्रको जग्गा व्यक्तिका नाममा गराइएको हो । यसबारे अदालतमा मुद्दासमेत चलेको थियो । सिनामंगल वडा नं. ५ कको कित्ता नं. ४०३ को बागमती खोलाको पूर्वतर्फको अर्यालपोडे टोलदेखि पश्चिम–दक्षिणतर्फको दुई रोपनी पाँच आना क्षेत्रफल जग्गामा १२ वटा घर बनेका छन् ।

विष्णुमतीको जग्गा मासेर ठडिए घर
विष्णुमती खोला अतिक्रमण गरी १९६ परिवारले ४६ रोपनी १४ आना क्षेत्रफलमा घर बनाएका छन् । २६४ रोपनी १२ आनामध्ये ०५१ मै खोलाको ४६ रोपनी जग्गा अतिक्रमण भएको थियो । त्यस्तै, विष्णुमतीको किनारमा सात रोपनी १० आना क्षेत्रफलको जग्गा मिचेर १२५ वटा घर बनेका छन् ।

हाँडीगाउँमा मासियो पोखरी
हाँडीगाउँ–२५ ग कित्ता नं. ६० मा रहेको पोखरीको नौ रोपनी आठ आना जग्गामध्ये पाँच रोपनी १३ आना उषा केसीसहित २० जनाले पक्की घर बनाएर अतिक्रमण गरेका छन् । वडा नं. २५ ङ कित्ता नं. १३ को गौचरण चउर मिचेर घर बनाइएको छ ।

पावरहाउसको जग्गामा पनि घर
बालाजु ३ ख कित्ता नं. ६६ स्थित ३६ रोपनी २ आना क्षेत्रफलमा रहेको पावरहाउसको जग्गामा २७ जनाले ३ रोपनी ३ आना २ पैसा जग्गा मिचेका छन् ।

कालिमाटीमा सार्वजनिक जग्गा मिचेर साढे ३ सय घर
साबिक टंकेश्वर, तहाचल र कालिमाटी क्षेत्रका सार्वजनिक बाटो, सत्तल, पाटी, घाट, कुलो, सरकारी जग्गा र विष्णुमतीको बगरसमेतमा गरी ३३९ वटा घर बनेका छन् । यस क्षेत्रमा करिब २२ रोपनी सरकारी जग्गा अतिक्रमणमा परेका छन् ।

मालपोत, नापी र अदालत भएकै जग्गा मिचियो
साबिकमा जिल्ला प्रशासन कार्यालय, नापी विभाग, मालपोत कार्यालय, जिल्ला अदालतसमेत रहेको डिल्लीबजारको चारखाल अड्डा नै भूमाफियाको अतिक्रमणमा परेको छ । कित्ता नं. २०३ मा पर्ने १५ रोपनी ९ आना २ पैसा २ दाम क्षेत्रफल ओगटेको अड्डाको पूर्व कुना र पूर्वदक्षिण कुना मिचिएको छ । ‘सामान्य दृष्टिले हेर्दा यथावतै लाग्ने यस क्षेत्रको भूभाग पनि मिचेको देखिन्छ,’ आयोगले प्रतिवेदनमा भनेको छ । यस कित्ताको पूर्वी कुना र पूर्वदक्षिण गरी २ स्थानमा गरी कित्ता नं. २०१ ले ३ आना १ पैसा ३ दाम जग्गा मिचेको छ । पूर्वी कुनामा सरकारी जग्गामा कम्पाउन्ड बनाइएको छ भने दक्षिणपूर्वतर्फ फलफूल खेती गरिएको छ । ‘सरकारी तथा सार्वजनिक जग्गाको सुरक्षा गर्ने कार्यालय भएकै ठाउँमा सरकारी जग्गा अतिक्रमण भइरहेको स्पष्ट देखिँदा पनि कारबाही भएको नदेखिएकाले बत्तीमुनि अँध्यारो भन्ने उखान चरितार्थ भएको मान्नुपर्‍यो,’ आयोगले भनेको छ ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15941
बालुवाटारका सूत्रधार विदेश फरार : डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागे
पूर्वसचिवले ६ महिना लगाएर तयार पारेको प्रतिवेदनले भूमाफिया ठहर गरेका व्यक्तिलाई सरकारले निगरानीमा समेत राखेन

नवराज मैनाली
२०७६ बैशाख १८ बुधबार



शोभाकान्त ढकाल र रामकुमार सुवेदीको समूहले बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा पुरानो दरबार किनेको खुलासा भएको छ । पहिले ब्रिटिस काउन्सिल र पछि मेगा बैंकको प्रधान कार्यालय रहेको सो भवन ५ रोपनी जग्गामा छ । काठमाडौंको मुटुमै रहेको सो क्षेत्रको जग्गाको औसत मूल्य नै आनाको डेढ करोड छ । त्यसैले अहिले बजारमूल्यअनुसार सो जग्गालाई एक अर्ब २० करोड पर्छ । यो समूहले सरकारी जग्गा बेचेर कमाएको पैसा यस्ता धेरै सम्पत्तिमा लगानी गरेको छ । तर, त्यसको अनुसन्धानमा सरकारले चासो दिएको छैन ।
-बालुवाटारको सरकारी जग्गा बेचेर कान्तिपथमा दरबार खरिद : पहिले ब्रिटिस काउन्सिल र पछि मेगा बैंकको प्रधान कार्यालय रहेको भवन ढकाल र सुवेदी समूहको
-शोभाकान्त ढकाल र रामकुमार सुवेदी भारततर्फ, त्यहीँबाट शक्तिकेन्द्रसँग संवादमा
-डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागे

व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणमा संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ, तर मुख्य सूत्रधारहरूलाई निगरानीमा समेत राखेको छैन । उनीहरू आफैं सजग हुँदै विदेश लागेका छन् ।

विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट समेत शोभाकान्त ढकालले राजीनामा दिएका छन् । ढकाल र रामकुमार सुवेदी भारततर्फ गएको र त्यहीँबाट शक्तिकेन्द्रको संवादमा रहेको स्रोतको भनाइ छ । सो प्रकरणमा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीसमेत भागेको अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीले जानकारी दिएका छन् ।

सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले ६ महिना लगाएर गरेको छानबिनका आधारमा गत २८ फागुनको मन्त्रिपरिषद्ले सम्बन्धित जग्गा रोक्का गर्ने निर्णय गरेको थियो । सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको जग्गा कसरी व्यक्तिका नाममा सारियो भन्ने अनुसन्धान गर्ने निर्णय गरेको थियो । कर्मचारीको बदनियतमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र किर्तेसम्बन्धी छानबिन गर्न सिआइबीलाई जिम्मा दिइएको छ ।

सिआइबीलाई दुई म्यान्डेट छन् । पहिलो, सरकारी जग्गा कसरी व्यक्तिको नाममा गयो भन्ने प्रतिवेदन बुझाउने र दोस्रो, आपराधिक काम भएको अवस्थामा अनुसन्धान गरी मुद्दा चलाउने । तर, प्रतिवेदन बुझाउन तीनमहिने समय पाएको सिआइबी आधाभन्दा बढी समय सकिँदासम्म कागजपत्र अध्ययनमै केन्द्रित छ । सम्बन्धित विज्ञहरूको सहयोगमा छानबिन गरिरहेको सिआइबीका प्रवक्ता एसपी सुदीप गिरीले बताए ।

नेपाल र डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद्का निर्णय रद्द गर्दै सरकार

बालुवाटारको एक सय ४३ रोपनी जग्गामध्ये एक सय १३ रोपनी ०४९ मै व्यक्तिको नाममा गएको थियो । शेरबहादुर देउवा गृहमन्त्री भएका वेला अध्ययन नै नगरी जग्गा फिर्ता गर्न पत्राचार भएको थियो । बाँकी करिब ३० रोपनी जग्गा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्कै निर्णयका आधारमा व्यक्तिको नाममा गएको थियो । ती जग्गा सरकारको नाममा ल्याउन मन्त्रिपरिषद्का पुराना निर्णय खारेज हुनुपर्छ । त्यसका लागि प्रस्ताव लैजान गृह मन्त्रालयले तयारी गरिरहेको छ । सिआइबीको प्रतिवेदनसहित प्रस्ताव लगिने गृहका एक अधिकारीले बताए ।

 सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णयको फाइल नै गायब

सरकारबाट व्यक्तिको नाममा सारिएको बालुवाटारको एक सय १३ रोपनी जग्गाको मिसिल नै मालपोतबाट गायब पारिएको छ । सुवर्णशमशेर राणाका छोराहरू कनकशमशेर, कञ्चनशमशेर, रुक्मशमशेर र उनका परिवारलाई सो जग्गा फिर्ता दिन ०४९ मा गरिएको निर्णय सो मिसिलमा थियो । तर, के आधारमा यो निर्णय गरिएको थियो भन्ने खुलाउने मिसिल नै गायब छ । त्यससम्बन्धी निर्णय भएका १०२४ र १०२५ नम्बरका मिसिल भूमिसुधार मन्त्रालयअन्तर्गतका कुनै पनि निकायमा भेटिएका छैनन् । यी दुई मिसिलका आधारमा २५ कात्तिक ०४९ मा ७६ रोपनी र २३ पुस ०४९ मा ३७ रोपनी जग्गा व्यक्तिका नाममा सारिएको थियो ।
तर, यसरी नामसारी गर्ने निर्णय भएका दुवै मिसिल मालपोत कार्यालयमा नियोजित रूपमै गायब पारिएको हुन सक्ने अनुसन्धानमा आबद्ध अख्तियारका अधिकारीहरू बताउँछन् । पञ्चायतकालमा जफत गरिएका सम्पत्ति गृह मन्त्रालयले छानबिन गरी फिर्ता दिने निर्णय ०४७ मा सरकारले गरेको थियो । हदबन्दीभन्दा माथिका र अधिग्रहण गरेका जग्गा फिर्ता गरेमा भूमि ऐनको बर्खिलाप हुने पनि मन्त्रिपरिषद्को स्पष्ट मार्गनिर्देशन थियो । तर, जफत र अधिग्रहण गरिएका जग्गाको विषयमा अनुसन्धान नै नगरी शेरबहादुर देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले मालपोतलाई पत्राचार गर्दा ०४९ मा सरकारको ११३ रोपनी जग्गा व्यक्तिको नाममा गएको थियो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइराला भन्छन्–अनुसन्धानमा प्रगति भइरहेको छ

यसको अनुसन्धानलाई आयोगले प्राथमिकतामै राखेको छ । यसका लागि विशेष टोली पनि गठन भएको छ । अनुसन्धानमा प्रगति भइरहेको छ । मन्त्रिपरिषद्का नीतिगत निर्णयमाथि हामीले छानबिन गर्न पाउँदैनौँ । तर, मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत हुँदैनन् । त्यसकारण कुन निर्णय नीतिगत हुन्, कुन होइनन् भनेर छुट्याउनुपर्छ । मन्त्रिपरिषद्का सबै निर्णयमाथि हामीले अनुसन्धान गर्न नपाइने भन्ने होइन ।

सिआइबीका प्रवक्ता एसपी सुदीप गिरी भन्छन्–यो अनुसन्धान एकदमै जटिल छ

यो धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने खालको अनुसन्धान छ । विभिन्न कागजपत्रको एकदमै डिटेलमा अध्ययन गर्नुपर्ने हुन्छ । कागजपत्रहरू मालपोत, गुठीलगायत विभिन्न निकायमा छन् । पत्राचार गरेर ल्याउनुपर्ने हुन्छ । कतिपय कागजपत्र आइसके । कतिपय आउन बाँकी छ । यो हाम्रो लागि पनि अनुसन्धानको नयाँ विषय हो, केस एकदमै जटिल छ । तत्कालीन अवस्थामा कुन कानुन थियो भनेर हेनुपर्छ । सजिलो अनुसन्धान होइन, गहिरोसम्म सबै कुरा हेर्नुपर्ने भएकाले यसमा समय लागेको हो । अहिलेसम्म कसैलाई पक्राउ गर्ने तहमा पुगेका छैनौँ । सूचना मात्र संकलन गरेका छौँ । जग्गाको हक कसरी हस्तान्तरण भए भन्ने कुरा विस्तृतमा थप निर्णय नहेरीकन को–को संलग्न भन्ने भन्न सकिन्न ।

tundikhel

  • Global Moderator
  • ****
  • Posts: 15941
मध्यसहरमा टुकुचा खोला नै गायब : नारायणहिटीभित्र खोला छ बाहिर हरायो
टेकराज थामी
२०७६ बैशाख १९ बिहीबार


१. बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । २. नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । ३. जयनेपाल हलबाट दक्षिणतर्फ कमलादी मोडसम्म खोलाको नामोनिसान छैन, खोला भूमिगत बनाएर भव्य भवन बनेका छन्
काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ । स्थलगत अध्ययनमा पनि टोली गए । खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो । हामीले नक्सा अध्ययन गर्‍यौँ । नापी कार्यालयलाई पत्र लेख्यौँ । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो । हामी चकित परेका छौँ ।’
प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । तिवारीका अनुसार काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्म सरदर कम्तीमा चार मिटर चौडाइ छ । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । जय नेपाल हल क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोड पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँबराबरको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।
‘साबिकको टुकुचा खोला बग्ने भाग बढीमा १० र कम्तीमा दुई मिटरसम्म चौडा रहेको देखिन्छ । दुई मिटर चौडाको दरले हिसाब गर्दा पनि पाँच सय मिटर लम्बाइको खोलामा झन्डै पाँच रोपनी जग्गा मिचिएको देखिन्छ । सरदरमा चार मिटर मान्ने हो भने मिचिएको जग्गा डबल हुन पुग्छ । प्रतिआना एक करोड रुपैयाँको दरले मात्रै हिसाब गर्दा पनि मिचिएको जग्गाको मूल्य निकै महँगो पर्न जान्छ,’ प्राधिकरणका प्रमुख आयुक्त डा. तिवारीले बताए ।
प्राधिकरणको दाबी– ०२१ को नापीमा टुकुचा थियो, ०३३ मा गायब पारियो, नापी कार्यालय भन्छ– ०३३ अघिको कुनै विवरण छैन
डिल्लीबजारस्थित नापी कार्यालय काठमाडौंको रेकर्डमा खोला गायब भएको ठाउँ ०३३ मा नापी भएको छ । त्यसवेला तयार पारिएको नक्सामा प्राधिकरणले भनेझैँ टुकुचा खोला गायब नै छ । प्राधिकरणका अनुसार त्यस क्षेत्रमा ०२१ सालमा पनि नापी भएको थियो । सो नापीमा काठमाडौं प्लाजा–जय नेपाल हल क्षेत्रमा टुकुटा थियो । ०२१ को नापी नक्सा नापी कार्यालयसँगै हुनुपर्ने प्राधिकरणको दाबी छ । तर, नापी कार्यालय ०३३ मा लिएको नापी नक्साबाहेक विवरण नभएको बताउँछ ।
‘हामीसँग ०३३ मा लिइएको नापी नक्सा मात्रै भएको पाइयो । त्यसअघि र पछि नापी गरिएको कुनै विवरण छैन । ०३३ को नक्सा हेर्दा जय नेपाल हलदेखि काठमाडौं प्लाजासम्मको भागमा टुकुचा खोला गायब भएको देखिन्छ,’ नापी कार्यालयका सूचना अधिकृत सुमन श्रेष्ठले भने ।
मिचिएको जग्गामा बैंकदेखि सपिङ सेन्टर
बुढानीलकण्ठ हुँदै बगेर आएको टुकुचा खोला नारायणहिटी दरबार परिसर पूर्व–दक्षिण मोहडास्थित बाँसको झाङसम्म सतहमा देखिन्छ । त्यसपछि तल आउँदा गायब भएको खोला एकैपटक काठमाडौं प्लाजा पछाडितर्फको सतहमा बगेको देखिन्छ । प्राधिकरणका अनुसार बाँसको झाङदेखि प्लाजासम्म खोला बग्न इँटाको फराकिलो आर्क बनाइएको छ । खोला सोही आर्कभित्र निरन्तर बग्दै आएको छ । आर्कभन्दा माथिको भाग माटोले पुरेर भूमाफियाले निजी नाममा दर्ता गरेका छन् ।
डिल्लीबजारस्थित मालपोत कार्यालयका अनुसार उक्त जग्गामा अहिले लक्ष्मी बैंकको प्रधान कार्यालय छ । जय नेपाल हलको पार्किङ क्षेत्र पनि मिचिएको सोही जग्गामा पर्छ । सिद्धार्थ बैंकको कार्यालय रहेको भवन पनि मिचिएको सोही जग्गामा बनेको छ । एसबिएल डेभलपर्सले मिचिएको सोही जग्गामा पक्की भवन बनाई व्यापारिक प्रयोजनमा लगाएको छ । ओमकारशमशेर जबरा, महेन्द्रराज वैद्य तथा गौरी श्रेष्ठले पनि मिचिएको सोही जग्गा वर्षांैदेखि निर्बाध रूपमा भोगचलन गर्दै आएका छन् । त्यसबाहेक ट्राभल एन्ड टुरिजमसम्बन्धी कार्यालय रहेको भवन, रेस्टुरेन्ट, कफी सपदेखि सवारीसाधन पार्किङ क्षेत्र मिचिएकै जग्गामा निर्माण गरिएका छन् ।
प्राधिकरणका अनुसार टुकुचा अहिले पनि जय नेपाल हलको ठीक मुनिबाट, गल्फ ट्राभलको छेउ हुँदै लक्ष्मी बैंक, साख हाउस, सिद्धार्थ बैंक रहेको भवन लगायतस्थानबाट भूमिगत रूपमा बगेको छ ।
महानगरपालिकाले खोजी गर्‍यो गायब जग्गा
काठमाडौं महानगरपालिकाले खोलाको गायब जग्गा दोस्रोपटक खोज्न सुरु गरेको छ । यसअघि महानगरपालिकाले २४ जेठ ०६६ मा गायब जग्गा खोजी गरेको थियो । तर, त्यसको परिणाम भने प्राप्त हुन सकेन । गत २९ चैतमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्र लेख्दै महानगरपालिकाले जग्गाको पुनः खोजी सुरु गरेको हो । पहिलो चरणमा भने महानगरपालिकाले कित्ता नं. ४२२८, ४२२७, १७१० र १७११ मध्येको मिचिएको जग्गा दाबी गर्दै खोजी सुरु गरेको छ । मालपोत कार्यालयका अनुसार कित्ता ४२२८ ओमकारशमशेर जबरा, कित्ता ४२२७ एसबिएल डेभलपर्स, कित्ता १७१० गौरी श्रेष्ठ र कित्ता १७११ महेश्वरराज वैद्यको नाममा छ । महानगरपालिकाको रेकर्डमा भने श्रेष्ठको नाममा रहेको कित्ता १७१० र वैद्यको नाममा रहेको कित्ता १७११ लक्ष्मी बैंकको नाममा रहेको देखिन्छ ।
 
टुकुचा खोला मिचिएको सूचना आएको छ, विवरण पठाउन वडा कार्यालयलाई पत्राचार गरिएको छ : ईश्वरमान डंगोल, प्रवक्ता महानगरपालिका
टुकुचा खोलाको जग्गा मिचिएको सूचना प्राप्त भएको छ । यसको विस्तृत विवरण पठाउन वडा कार्यालयलाई पत्राचार गरिएको छ । यस्ता जग्गा मिचिएको यो नै पहिलो होइन । अन्य ठाउँमा पनि छन् । सबै वडालाई मिचिएको जग्गाको पूर्ण विवरण पठाउन भनेका छौँ । विवरण संकलन हुँदै छ । कतिपय आई पनि सकेका छन् । मिचिएका जग्गा फिर्ता सम्बन्धमा विशेष प्रस्ताव तयार हुँदै छ । यो प्रस्ताव कार्यपालिकामा पेस हुन्छ । निर्णयपछि कडाइका साथ मिचिएका जग्गा फिर्ता अभियान सञ्चालन हुन्छ ।

From Nayapatrika daily