२०७४ का चर्चित स्क्यान्डलः साम्राज्ञीको ट्याटुदेखि प्रियंकाको किससम्म
हाम्रो चलचित्र उद्योग सानो भए पनि स्क्यान्डलको धनी छ । नाम होस, बदनाम होस गुमनाम नहोस भन्ने प्रवृत्तिका कलाकारहरु धरै छन् यहाँ । उनीहरुले पेज ३ रिपोर्टरहरुलाई गसीपको कुनै कमि हुन दिँदैनन् । एकाध कलाकारहरु मात्र छन्, जो आफूलाई स्क्यान्डलबाट टाढा राख्न चाहन्छन्, स्वस्थ कर्ममा विश्वास गर्छन् ।
वर्ष २०७४ को कुरा गर्दा पनि स्क्यान्डलहरुको कुनै कमि रहेन । यस्ता स्क्यान्डलबाट कतिले फाइदा लिए भने कतिलाई नोक्सानी भयो । हामी यहाँ पुनःस्मरण गदैछौं सर्वाधिक चर्चा भएका ८ स्क्यान्डलहरुः
१. चार लाइन गीतको मूल्य ११ लाख
यो वर्ष सबैभन्दा चर्को रुपमा लिएको स्क्यान्डल हो, फिल्म ‘कृ’ मा गीत चोरीसम्वन्धि । यसको भर्खरै मात्र पटाक्षेप भएको छ । सगीतकार अल्मोडाले चार लाइन गीत चोर्दा फिल्मका निर्माता सुवास गिरी एक राज जेल मात्र बसेनन्, ११ लाख क्षतिपूर्ति तिर्न पनि बाध्य भए । यो घटना एउटा दृष्टान्तको रुपमा रहने छ ।
‘कृ’ फिल्ममा रहेको ‘उकालीमा अघिअघि’ बोलको गीतका चार लाइन ३० वर्षअघि बनेको सम्झना फिल्म्को गीतबाट सापटी लिइएको थियो । तर बिना अनुमति । सम्झनाका निर्माता तथा निर्देशक शम्भू प्रधानले कृका निर्माता गिरीलाई कपिराइटमा ताने । उनले फिल्मको कमाईको आधा हिस्सा क्षतिपूर्ति माग गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिए । परिसरले गिरीलाई हिरासतमा लियो र एक रात थुन्यो । भोलीपल्ट शम्भु प्रधानलाई गिरीले ११ लाख क्षतिपूर्ति दिने र यूट्यूवबाट गीत हटाउने शर्तसहित मिलापत्र भयो ।
यो घटनामा कृका अर्का निर्माता भुवन केसी उम्किए भने संगीतकार अल्मोडाले पनि उन्मुक्ति पाए । गिरी एक्लैले सजाय भोगे । जबकि गीत चोरिएको थियो, भुवन केसी र अल्मोडाको सल्लाहमा ।
२. ऋचा शर्मा भर्सेस छक्का पञ्जा
नेपाली चलचित्रकी प्रतिभावान अभिनेत्री ऋचा शर्मा एउटा मन्तव्यमा बहस छेडिन् । त्यस क्रममा उनले छक्का पञ्जा फिल्ममा महिला हिंसालाई बढावा दिइएको प्रसंग उप्काएकी थिइन् । तर उनलाई अरिंगलको गोलोमा हात हालेझैं भयो ।
छक्का पञ्जा फिल्ममा नायिका पि्रयंका काकीसँग विवाहका लागि दीपकराज गिरीले अनौठो शर्त राखेका हुन्छन्, दुलहीर्लाइ दैनिक एक चड्कन लगाउन पाउनुपर्ने । जसलाई पि्रयंकाले स्वीकार गर्छिन् । यस्तो वाहियात दृष्यमा दर्शकहरु हाँसेकोमा आफूलाई अचम्भित भएको उल्लेख गर्दै रिचाले भनेकी थिइन्, ‘हामी नेपाली फिल्मका दर्शकहरु हिपोक्र्याट (आडम्बरी) छौं । बोलीमा महिला अधिकारका कुरा गर्छौं र व्यवहारमा नारीमाथि शोषण हुँदा हास्छौं ।’
यही अभिव्यक्तिका आधारमा छक्का पञ्जाकी निर्देशक दिपाश्री निरौला ‘ऋचाले नेपाली फिल्मका दर्शकहरुलाई मुर्ख भनेको’ भन्दै खनिइन् । उनले स्टाटस लेखिन्, ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मुर्ख भन्नुभएछ । पि्रय नायिकाज्यू दर्शकलाई मुर्ख भन्नुभएकाले नै तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन् । गेट वेल सुन ।’ यो स्टाटसलाई छक्कापञ्जा टिमका धेरै जनाले सेयर गरे ।
मिडियामा पनि यसले चर्को रुप लिएपछि ऋचाले फेसबुकमा लामो स्पष्टिकरण लेखिन् । उनले आफूले दर्शकलाई मुर्ख नभनेको बताउँदै महिला हिंसालाई फिल्मले प्रबर्द्धन गर्नु हुँदैन भन्नेमा चाहिँ अडिक रहेको उल्लेख गरिन् । हुन पनि उनले बोलेको भिडियो हेर्दा मुर्ख शब्द उच्चरण नै गरेको पाइँदैन ।
३. छक्का पञ्जामा गीत चोरी
‘कृ’ भन्दा अगाडि गीत चोरीको अर्को प्रकरणले पनि उग्र रुप लिएको थियो । यो थियो फिल्म ‘छक्का पञ्जा २’ को गत नाइलनको साडीमा । यो गीत चोरीमा पनि उनै अल्मोडा राना उप्रेति संलग्न थिए ।
नाइलनको साडीमा बोलको गीत कान्छा मगर नेपालीको संकलन हो । त्यसमा केही परिमार्जन र थपथाप पार्दै फिल्मका निर्मातासमेत रहेका दीपकराज गिरीले अल्मोडासँग मिनलेर नयाँ गीत रेकर्ड गराए । यो गीत यूट्यूवमा आउनासाथ हिट भयो र विवाद पनि सुरु भयो ।
कान्छा मगर नेपालीका नाति प्रसिद्ध सारंगीवादक र प्रशिक्षक श्याम नेपालीले आफ्ना हजुरबाले गाएको गीत यसरी चोरी भएको भन्दै आपत्ति जनाए । यही गीत श्यामका छोरा तथा कान्छाका पनाती पि्रन्सले गाउने तयारी भइरहेको रहेछ । यही बीचमा छक्का पञ्जाको गीत सार्वजनिक भएपछि उनीहरु आश्चर्यमा परेका थिए । यसमा दीपकराज गिरीले अल्मोडामाथि दोष खन्याएका थिए । अल्मोडाले गीतको वास्तविक सर्जकबारे आफूलाई जानकारी नदिइकन बदमासी गरेको उनको आरोप थियो ।
यो विवाद प्रहरीमा भने पुगेन । यूट्यूवमा गीतको संगीतकारमा पि्रन्स नेपाली र कान्छा मगर नेपालीको नाम पछि थपिएको थियो ।
४. प्रियंका कार्की र आयूष्मानको खुल्ला चुम्बन
पि्रयंका कार्की र आयूष्मान देशराजबीचको प्रेम यो वर्षभरी मिडियामा गसिपको विषय बनिरह्यो । विषय नभएको बेलामा उनीहरुले नै विषय दिए ।
डिभोर्सी नायिका हुन् प्रियंका । उनको रोचक मैनालीसँग उनको वैवाहिक सम्वन्ध छोटो समयमा टुटेको थियो । त्यसपछि उनीलामो समय सिंगल रहिन् । र, हालै उनी आफूभन्दा निकै कान्छा आयूष्मानसँग प्रेममा परेकी छिन् । यो जोडीको प्रेम सडकमै छताछुल्ल देख्न थालिएको छ ।
केही समयअघि एउटा अवार्ड समारोहमा उनीहरुले खुल्लमखुल्ला चुम्बन गरेर स्क्यान्डल मच्चाउन खोजे । प्रियंकाले अवार्ड लिएर फर्किँदा आयूश्मानले उनलाई जुरुक्कै बोकेर ओठमा चुम्बन गठरेका थिए । प्रियंकाले पनि उनलाई साथ दिएकी थिइन् । यो दृष्य केजातिलाई भन्दा देख्नेलाई लाज भने झैं भएको थियो ।
यो जोडी अहिले पनि भर्खरका टिनएजर्स जसरी जहिँतहीँ आफ्नो प्रेम प्रदर्शन गर्दै हिँडिरहेको छ । केही दिनअघि प्रियंकाको जन्मदिनमा आयूष्माले उनलाई बग्गीमा शहर घुमाएर अर्को नाटक प्रदर्शन गरे । उनीहरु चंगाचेट फिल्ममा सँगै अभिनय गर्दैछन् । अब सायद उनीहरुको प्रेम झनै झांगिएर प्रदर्शन हुने छ ।
५. पत्रकार सम्मेलनमा अंगरक्षकका साथ प्रदिप
नेपालमा पहिलोपटक बडिगार्ड सहित देखिएका नायक अनमोल केसी हुन् । उनी डि्रम्स फिल्म रिलिज हुँदा केही बडिगार्ड लिएर हलहरुमा पुगेका थिए । एउटा सुपरस्टार भएको नाताले हलहरुमा दर्शकको भिडभाडबाट जोगिनका लागि बडिगार्ड लैजानुलाई अस्वभाविक रुपमा लिइएन् ।
तर, यसैको सिको गर्न खोज्दा चिप्लिन पुगे नायक प्रदिप खड्का । नेपाली फिल्म इन्डष्ट्रीमा अनमोलको हाराहारीमा नभए पनि उनको स्टारडम राम्रै छन् । उनले थोरै फिल्मबाट धेरै फ्यान कमाएका छन् । तर, गलत ठाउँमा आफ्नो स्टारडम देखाउन खोज्दा उनी ट्रोलको शिकार भए ।
सन्दर्भ थियो, चलचित्र ‘लिलिबिली’ को घोषणा कार्यक्रम । कार्यक्रममा सो फिल्मको टिम र पत्रकार बाहेक कोही पनि थिएनन् । तर, प्रदिपले कोबाट असुरक्षा महसुस गरे कुन्नी चार जना काला भुस्तिघ्रे बडिगार्ड लिएर कार्यक्रममा इन्ट्री गरे ।
सुरुमा चलचित्रका दुई नवनायिकाहरु जसिता गुरुङ र रेविका गुरुङ २-२ जना बडिगार्डको साथमा स्टेजमा चढेका थिए । त्यसपछि नायक प्रदिप खड्का ४ जना बडिगार्ड लिएर आए । यो दृष्य देखेर पत्रकारहरु मुखामुख गरेका थिए । बडीगार्ड ल्याउनुको कारणबारे पत्रकारले प्रश्न गर्दा फिल्मका निर्देशक मिलन चाम्र्सले बलिउडका कलाकारले बडिगार्ड लिएर हिँड्छन् भने नेपाली स्टारहरुले किन हुँदैन ? भन्दै प्रतिप्रश्न गरेका थिए ।
तर त्यसपछिका दिनमा भने प्रदिप कहिल्यै बडिगार्डसहित देखिएका छैनन् ।
६. विकिनी गर्लसँग विनयको इन्ट्री
चलचित्रको प्रवर्द्धनका लागि निर्माता-निर्देशकहरु नयाँ-नयाँ जुक्ति लगाउन खोज्छन् । फरक फरक प्रयोग गर्न खोज्छन् । तर, यसो गर्दा कहिलेकाहीँ बुमर्याङ पनि खान पुग्छन् । ‘रोमियो एन्ड मुना’ फिल्मका निर्माता तथा अभिनेता विनय श्रेष्ठको यही हाल भयो । बढि सिर्जनशिल हुन खोज्दा उनी जोकको पात्र बने ।
घटना केही महिना अगाडिको हो । ‘रोमियो एन्ड मुना’ को एउटा रोमान्टिक गीत रिलिज कार्यक्रममा पुगेका पत्रकार र चलचित्रकर्मी त्यतिबेला जिल्ला परे, जब चलचित्रका मुख्य नायक विनयको इन्ट्री भयो । उनी विकिनी पहिरनमा रहेका २ युवतीसँग लठारिँदै कार्यक्रम हलमा प्रवेश गरेका थिए । त्यो देख्दा पत्रकारदेखि फिल्मकर्मीहरुसम्म एकअर्कालाई हेराहेर गरिरहे ।
चलचित्रमा समावेश ‘स्यान्डवीच’ बोलको गीत सार्वजनिक कार्यक्रम थियो त्यो । खासमा अमेरिकामा खिचिएको उक्त गीतमा अमेरिकी युवतीहरुलाई विकिनीमा प्रस्तुत गरिएको रहेछ । त्यसैलाई लिएर विनयले यो फन्डा अपनाएका रहेछन् ।
म्यूजिक बजेसँगै विकिनी गर्लहरुसँगै विनयको इन्ट्री भएको थियो । उनले केही समय ती यूवतीसँग नाच पनि देखाए । तर, यो हर्कतले उनर्लाइ केही फाइदा भएन । उनको यो शैलीको प्रशंसा हुनुको साटो खिल्ली उडाइयो ।
७. साम्राज्ञीको वक्षस्थलमा ट्याटु
अहिलेका युवायुवतीहरुको ट्याटु खोपाउने व्यापक ट्रेन्ड छ । त्यसैले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ट्याटु खोपाउनु नौलो कुरा थिएन । उनले आफ्नो गोप्य अंग वक्षस्थलमा ट्याटु खोप्न चाहिन् । त्यो पनि उनको निजी कुरा भयो ।
तर, विवाद त्यतिबेला आयो, जब उनको वक्षस्थलको ट्याटु सामाजिक सञ्जालमा छरपष्ट भयो । यही कारणले उनको प्रेमीमयंका खड्कासँग सम्वन्ध चिसिएको चर्चा पनि चल्यो । पछि त्यो ट्याटु खिच्ने विदेशी कलाकारले आफूले फोटो लिक गरिदिएको भन्दै माफी मागे । साम्रज्ञीले पनि आफ्नो अनुमतिबिना फोटो सार्वजनिक भएको दावी गरेकी छिन् । उनले यो प्रकरणले ठूलो रुप लिनुमा पत्रकारहरुमाथि दोष थोपरेकी छिन् ।
तर,साम्रज्ञीले स्क्यान्डल मच्चाउनकै लागि यो तस्वीर सार्वजनिक गरेको र विवादमा परेपछि कलाकारलाई अघि सारेको आशंका गरिएको छ ।
७. शंकर विसीको गालीगलौज
यही महिना म्युजिक भिडियो निर्देशक शंकर विसी विवादमा परे । भृकुटीमन्डपमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता उद्घाटनको दिनको घटना हो । उनले एक यूट्यूवकर्मीलाई पिट्ने धम्की दिए ।
ती यूट्यूवकर्मीले एक गायकको अन्तरवार्ता लिइरहेको बेलामा शंकर क्यामराको बीचबाट हिडिदिएका थिए । त्यसपछि क्याराम्यानले आफूलाई घुरेर हेरेको उनको आरोप छ । ‘घुरेर हेर्ने तेरो हैसियत हो ?’ भन्दै उनले थर्काए, ‘राम्रो पिटाई भेट्लास नी ।’
उनले यसरी थर्काएको भिडियो तुरुन्तै यूट्यूवकर्मीले यूट्यूवमा पोष्ट गरिदिए, जुन चाँडै भाइरल भयो । यूट्यूव लगायत सामाजिक सञ्जालमा शंकरमाथि गाली वषिर्न थाल्यो । कतिपयले उनको जातलाई उछालेर पनि गाली गरे । यसबाट शंकर क्षुब्द भए । केही दिनअघि उनले आफूलाई गाली गर्नेहरुको स्किनसट नै बोलेकर प्रहरीमा पुगेका छन् । उनले आफूमाथि जातीय आधारमा गाली गर्नेहरुलाई साइबर क्राइममा उजुरी गरेका छन् । उनले उजुरी गरेकाहरुमध्ये २ जना नेपालभित्र र ४ जना नेपाल बाहिर रहेछन् । प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको छ ।
९. आस्था राउत र ज्योती मगरको ‘दोहोरी’
हालै दुई गायिकाहरुबीच फेसबुकमा दोहोरी चल्यो । सन्दर्भ थियो, महोत्सवहरुमा केही गायिकाले प्रदर्शन गर्दै आएको अश्लिलता ।
आस्थाले आफ्नो फेसबुकबाट महोत्सवमा अश्लिलता फैलाउनेहरुविरुद्ध आवाज उठाएकी थिइन् । यसले घोच्न पुग्यो गायिका ज्योती मगलाई, जो अश्लिलताकी रानी मानिन्छिन् । उनले फेसबुकबाटै आस्थालाई लामो जवाफ दिइन् । त्यसपछि उनीहरुबीच दोहोरी चलिरह्यो ।
यसमा जनसमर्थन भने आस्थाको पक्षमा रह्यो । उनले वास्तवमै गम्भीर मुद्दा उठाएकी थिइन् । पछिल्लो समय महोत्सवमा राम्रो गाउने भन्दा अंग देखाउनेहरु बढि बिकिरहेको उनको चिन्ता थियो । केही समयअघि मात्रै नग्नता प्रदर्शन गर्दा कोहलपुर महोत्सवबाट गायिका सरस्वती लामा लखेटिनु परेको थियो । हालै मात्र केही जिल्लाबाट ज्योती मगर र सरस्वती लामाजस्ता गायिकाहरुलाई महोत्सवमा प्रतिवन्ध लगाइएको खबर आएको छ ।
१०. नीति शाहको बयान
मिस नेपालकी सेकेन्ड रनरअप निती शाह पनि विवादमा आइन् । विवादमा आउनुको कारण थियो, उनले जापानमा पुगेर दिएको एउटा अभिव्यक्ति ।
जापानमा भएको मिस इन्टरनेसनलमा विभिन्न देशबाट आएका सुन्दरीहरुलाई महिला शिक्षाको सम्वन्धमा आफ्नो भनाई राख्न भनिएको थियो । त्यसैले नीतिले आफ्नो उत्तरमा उनले नेपालमा दुई समुहका महिला रहेको भनेर विभाजन गरेकी थिइन् । आफ्नो मन्तव्यका क्रममा उनले गाउँमा रहेका अशिक्षित महिलाहरु विभिन्न देशमा वेश्यावृत्तीका लागि विक्री हुने गरेको बताइन् ।
विदेशमा गएर नेपालको विषयमा नकारात्मक प्रचार गरेको भनेर उनको तीव्र आलोचना भयो । नितीले भनेका कुरा बेठिक त थिएन, तर अन्तर्राष्ट्रिय मञ्चमा देशको बारेमा नकारात्मक छवि निर्माण हुने गरी अभिव्यक्ति नदिएको भए हुन्थ्यो भन्ने धेरैको भनाई रह्यो । अनि कतिपयले चाहिँ उनलाई राम्ररी अंग्रेजी बोल्न नआएको भनेर पनि टिप्पणी गरे ।
यसअघि मिस नेपाल प्रतियोगितामा निती धेरैकी फेभरेट थिइन् । तर, उपाधि भने निकिता चन्दको पोल्टामा परेको थियो ।