मानवशास्त्री ढकाल उमेर पुगेका दुई व्यक्तिबीचको राजीखुशी यौन सम्पर्कले समाजलाई कुनै असर नगर्ने, तर यौनको किनबेचलाई त्यही नजरले हेर्न नमिल्ने बताउँछन्। उनको भनाइमा, यौनको किनबेचलाई व्यवस्थापन गर्नुको विकल्प नभएको उनी बताउँछन्। “तर, वेश्यावृत्ति मज्जाले चलिरहे पनि यहाँ 'रेडलाइट एरिया' स्वीकार्य भएको छैन”, ढकाल भन्छन्, “हामीलाई भित्र खोक्रिए पनि बाहिर नैतिकवान देखिनु जो छ।”
विकृतिको बिस्कुन!
राजधानीको एउटा कलेजमा स्नातक गरिरहेकी २२ वर्षीया सुमिता (नाम परिवर्तन) मोबाइल फोन चलाउँदा चलाउँदै आत्तिएर ढलिन्। कारण थियो– फेसबुकमा कसैले पोष्ट गरेको उनको टाउको जोडेको नाङ्गो फोटो। फोटोसँगै 'यो केटी वेश्या हो, जसले सम्पर्क गर्दा पनि हुन्छ' भनेर लेखिएको थियो। जेठ अन्तिम साता भएको यो घटनामा सुमिताले अनिशा नामकी युवतीमाथि आशंका गरेपछि अनुसन्धान भयो। सँगै पढ्ने सुमिता र अनिशाको एउटै केटासँग 'अफेयर' रहेछ। त्यो झगडाका कारण कलेज नै छाडेकी अनिशाले फेसबुकमा त्यस्तो फोटो पोष्ट गरेकी रहिछन्।
राजधानीमै सरकारी जागीरे रहेका एक युवकले अर्कैसँग बिहे गरेकी प्रेमिकालाई तनाव दिन पहिले सँगै खिचाएका निजी तस्वीरहरू पटक–पटक फेसबुकमा राखिदिए। त्यो उजुरीमा अनुसन्धान गरिरहेका महानगरीय अपराध महाशाखा, हनुमानढोकाको साइवर सेलका इन्स्पेक्टर पशुपति राय ती फोटोहरूका कारण युवतीको घरबार भाँडिइसकेको बताउँछन्। हिजोआज फेसबुकमा अन्तरंग सम्बन्धका तस्वीर वा भिडियोहरू राखेर कानूनी कारबाहीमा पर्ने, पढाइ, जागीर वा वैवाहिक सम्बन्ध बिगार्नेको संख्या निकै बढेको इन्स्पेक्टर राय बताउँछन्।
'समाज नै ढोंगी छ'
नेपाली समाज दोहोरो चरित्रमा रमाउन खोज्छ। होटल खोल्न दिइन्छ, तर कोही त्यहाँ जोडी लिएर सुत्न गयो भने समातेर जात्रा गरिन्छ। नेपालको कर्मचारीतन्त्र, नेता र अरू सबै रुढिवादी छन्। सरकार समलिंगी अधिकार दिन्छ, तर 'रेडलाइट एरिया' तोक्दा बर्बाद हुने ठान्छ। छोराछोरी राति अबेर घर आउँदा उनीहरू 'मोडर्न' भए भनिठान्ने बाबुआमा पनि यहीं छन्।
काठमाडौंमा 'वाइफ स्विपीङ' (श्रीमती साटासाट) गर्नेहरू उहिल्यैदेखि थिए। राणा, शाह घरानियाँहरू अमेरिकाबाट 'प्ले ब्वाई', 'पेण्ट हाउस' जस्ता पत्रिका मगाएर हेर्थे। समाजको एउटा वर्गले डलरमा किनेर पढिरहेको सामग्रीलाई मैले साप्ताहिक र शुक्रबार मार्फत आम समूहमा पुर्याउँदा धेरैले 'अश्लील' भने, अझै भन्छन्। तर, त्यसो भन्नेहरूकै घरमा एउटा अंक चार प्रति पुग्छ। बाबु, आमा, छोरा र छोरी सबैले किनेर पढ्ने यी पत्रिका निकै लोकप्रिय भएका छन्।
१२ शहरको सर्वे
यौनमा सबैको चासो
यौनप्रति नेपाली समाजको बदलिंदो धारणा पहिल्याउन हिमाल ले गत फागुनमा काठमाडौं, दमक, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, काठमाडौं, पोखरा, बुटबल, घोराही, नेपालगञ्ज र धनगढीमा गरेको सर्वेक्षणमा १८ देखि ७० वर्षसम्मका ३७४ जना सहभागी थिए। तीमध्ये ५८ प्रतिशतले पत्र–पत्रिका हेर्दा सबभन्दा पहिले यौन सम्बन्धी सामग्रीमा आँखा जाने बताए। यो समूहमा पुरुष ६७.४ प्रतिशत र महिला ४२.४ प्रतिशत थिए। पत्रपत्रिकामा यौन सम्बन्धी सामग्री कत्तिको पढ्ने गर्नुभएको छ? भन्ने प्रश्नमा नियमित पढ्ने गरेको बताउनेमध्ये ७९.३ प्रतिशत १८–२४ वर्ष उमेर समूहका थिए। २५–३९ उमेर समूहका ६७.६ प्रतिशत र ४०–५९ समूहका ४२.९ प्रतिशतले पत्र–पत्रिकाका यौन सामग्री पढ्न रुचि राख्ने गरेको सर्वेक्षणले देखायो। ६० वर्ष माथिका भने १७ प्रतिशतले मात्रै यौन सामग्री पढ्ने गरेको जवाफ दिए। ३०.४ प्रतिशतले पत्र–पत्रिकामा छापिएका तस्वीर र सामग्री अश्लील भएकाले परिवारसँग बसेर हेर्न, पढ्न नमिल्ने र ३० प्रतिशतले मिल्ने बताएका थिए।
नेपाली समाज यौनका विषयमा उदार बन्दै जानुमा ३२.६ प्रतिशतले मोबाइल फोन र ३१ प्रतिशतले इमेल इन्टरनेटको मुख्य भूमिका रहेको बताए भने २०.६ प्रतिशतले पत्रपत्रिका र टेलिभिजनलाई कारक माने। इन्टरनेटलाई कारक भन्नेमा १८ देखि २४ वर्ष उमेर समूहका ४०.२ प्रतिशत छन्। ६० वर्षमाथि ४५ प्रतिशतले मोबाइल फोनलाई समाजलाई खुला बनाउने कारक मानेका छन्। तपाईं यौन सम्बन्धी कोसँग खुलेर कुरा गर्नुहुन्छ? भन्ने प्रश्नमा ५९ प्रतिशतले साथीसंगीसँग भन्ने जवाफ दिए। साथीसंगीसँग यौनका कुरा गर्नेमा १८–२४ वर्ष उमेर समूहका ७१.३, २५–३९ वर्ष उमेर समूहका ६७.६ र ४०–५९ उमेर समूहका ४९.५ प्रतिशत देखिए।
टोल, छिमेकमा यौन सम्बन्धबारे बढी उदार (गर्लफ्रेण्ड/ब्वाईफ्रेण्ड बनाउने र यौनसम्बन्ध राख्ने, विवाहेत्तर सम्बन्धमा लाग्ने) मान्छे कत्तिको देख्नुभएको छ? भन्ने प्रश्नमा ५२.७ प्रतिशतले अलि अलि देखेको र २०.९ प्रतिशतले धेरै देखेको बताए भने ५०.५ प्रतिशतले समाजले खुल्ला यौन गतिविधिलाई सहज रूपमा नलिएको, ३२.४ प्रतिशतले सहज रूपमा लिन थालेको बताए। १८ देखि २४ वर्ष उमेर समूहका ५६.३ प्रतिशत र २५–३९ उमेर समूहका ५२.८ प्रतिशतले नेपाली समाज अझै परम्परागत रहेको बताए।
प्रहरीले होटलमा छापा मारेर यौनकार्यमा संलग्न भन्दै जथाभावी पक्राउ गर्नुलाई ३४.८ प्रतिशतले विकृति रोक्ने प्रयासका रूपमा लिए भने २१.४ प्रतिशतले नागरिकको व्यक्तिगत अधिकारको हनन्को रूपमा अर्थ्याए। यसैगरी, १३.६ प्रतिशतले यसलाई प्रहरीको मनपरी भने। सर्वेमा सहभागी ५०.४ प्रतिशतले नेपालमा अलग्गै 'रेडलाइट एरिया' आवश्यक भइसकेको बताए, जसमा पुरुष ५९.१ प्रतिशत र महिला २८.९ प्रतिशत छन्। यसैगरी, २०.६ प्रतिशतले 'रेडलाइट एरिया' लाई अनावश्यक भने। 'रेडलाइट एरिया' आवश्यक ठान्नेमा १८–२४ वर्ष उमेर समूहका ५० प्रतिशत छन्। ६० वर्षभन्दा माथिका ७२.२ प्रतिशत उत्तरदाताले 'रेडलाइट एरिया' तोक्न ढीलो भइसकेको बताए।
डम्बरकृष्ण श्रेष्ठ
साभार : हिमाल साप्ताहिक

