
१३ वर्षदेखि बाख्राको खोरमा
09/11/2009 16:47:00 प्रकाश लम्साल/नयाँ पत्रिका
बारा, २३ कात्तिक : मानसिक सन्तुलन गुमाएकी एक किशोरी विगत पन्ध्र वर्षदेखि बाख्राको खोरभित्र पशुतुल्य जीवन बिताइरहेकी छिन् । आर्थिक अभावका कारण उपचार गराउन नसक्दा औराहकी १७ वषर्ीया सन्तोषी ठकुरीले बाख्राको खोरमा थुनिएर बस्नुपरेको हो ।
परिवारका सदस्य दिनभर ज्याला-मजदुरी गर्न बाहिर जानुपर्ने भएकाले उनको रेखदेख गर्ने कोही नहुँदा खोरमा थुन्ने गरिएको सन्तोषीका पिता हरि ठकुरी बताउँछन् । उनले भने, 'बाध्यताले गर्दा छोरीलाई बाख्राको खोरमा थुन्नुपरेको छ ।'
खुला छोड्दा कयौँपटक हराएको र जे पायो त्यही खाने गरेको सन्तोषीका परिवारजन बताउँछन् । खसी, बाख्रा बिहानै चराउन निकालेपछि फोहोरी खोरमा सन्तोषीलाई राखिने गरेको छ । राति भने ढोका थुनेर बहिनीहरूसँगै सुताउने गरिएको बाबुले जानकारी दिए ।
ठकुरीका अनुसार दुई वर्षको उमेरमा सामान्य ज्वरो बिगि्रएर सन्तोषी थला परेकी थिइन् ।
'राम्रोसित उपचार गराउन सकिएन, पछि चेत नै गुमाई,' आमा कमला ठकुरी भक्कानिँदै भन्छिन्, 'छोरीले राम्रो अस्पताल र ठूला डाक्टर देख्न पाएकी छैन ।'
चार वर्षको उमेरदेखि नै छोरीलाई यसरी खोरमा राख्नुपरेको कमलाले बताइन् । कमलाका अनुसार उनले दिसापिसाबसमेत लुगामै गर्छिन् ।
आर्थिक अभावका कारण सन्तोषीलाई अस्पताल लगेर उपचार गराउन नसकेका बाबुआमाले भएको सम्पत्ति पनि धामी-झाँक्री लगाउनमै खर्च गरेका छन् । सम्पत्तिका नाममा सार्वजनिक रेल्वेको जग्गामा सामान्य घरबाहेक केही नभएका उनीहरूका दुई छोरा र दुई छोरीसहित ६ जनाको परिवार छ । बाबुको हुलास स्टिलमा सामान्य नोकरी छ भने आमा मजदुरी गर्छिन् ।
छोरीले राम्रो उपचार पाए ठीक हुने सिमरा अस्पतालका डाक्टरले बताएको कमलाको भनाइ छ ।