एक तिहाइभन्दा बढी मन्त्री विदेश सयरमा
मंगलवार, 18 अगष्ट 2009 18:11 नागरिक
लेखनाथ पाण्डे, काठमाडौं, भदौ २- मुलुकको कार्यकारी प्रमुखसँगै मंगलबारदेखि यो साता एक तिहाईभन्दा बढी क्याबिनेट मन्त्रीहरू विदेश भ्रमणमा हुने भएका छन्। प्रधानमन्त्री माधवकुमार नेपालसहित २५ सदस्यीय क्याबिनेट मन्त्रीमध्ये ९ जना यो सात मुलुक बाहिर हुनेछन्। 'एकै पटक यतिधेरै मन्त्रीहरू विदेश भ्रमणमा भएको यो ऐतिहासिक हो' विदेश भ्रमणको समन्वय गर्ने परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने।
प्रधानमन्त्री नेपालसहित अर्थमन्त्री सुरेन्द्र पाण्डे, उर्जामन्त्री प्रकाशशरण महत, वाणिज्यमन्त्री राजेन्द्र महतो, पर्यटनमन्त्री शरदसिंह भण्डारी र उद्योगमन्त्री महेन्द्र राय यादव मंगलबारदेखि भारतको पाँच दिने औपचारिक भ्रमणमा छन्। उनीहरू शनिबारमात्रै स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री सुजाता कोइराला पनि भ्रमणमा जाने कार्यक्रम भए पनि अन्तिम समयमा 'स्वास्थ्य' को कारण देखाउँदै उनले नजाने निधो गरिन्। नत्र एकैसात विदेश यात्रा गर्ने 'फूल' मन्त्रीहरू ४० प्रतिशत हुने थिए।
संघीय मामिला, संविधानसभा, ससदीय व्यवस्था तथा संस्कृती मन्त्री मिनेन्द्र रिजाल एसियाका संस्कृति मन्त्रीहरूको राउन्ड टेबल बैठकमा भाग अन्य तीन सभासद्हरूको नेतृत्व गरी पत्नीसहित शुक्रबारदेखि चीन भ्रमणमा छन्। एसिया-प्रशान्त क्षेत्रका कानुन व्यवसायीहरूको वैठकमा भाग लिन सोमबार कानुनमन्त्री प्रेमबहादुर सिंह पनि एक साताका लागि मलेसिया उडिसकेका छन्। श्रम तथा यातायातमन्त्री मोहमद अफताव आलम औपचारिक निम्तोबिनै बुधबार एक साताका लागि इजरायल जाँदैछन्। फर्केर आउने क्रममा उनी दुवई जाने कार्यक्रम निश्चित भए थप दुई दिन त्यहाँ बिताउनेछन्।
इजरायल सरकार र परराष्ट्र मन्त्रालय तत्काल भ्रमण निम्ति अनिच्छुक हुँदा-हुँदै मन्त्री आलमले नेपाली म्यानपावर व्यवसायीको 'लबिङ्' का आधारमा जाने हतार गरेका हुन्।
रोचक त के भने प्रधानमन्त्रीसँगै जाने सबैजसो वरिष्ठतम् १० मन्त्रीभित्रका हुन्। उद्योगमन्त्री यादवमात्र यो सूचिभन्दा तल २२ औं नम्बरका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेभसाइट अनुसार प्रधानमन्त्री नेपाल, पर्यटनमन्त्री भण्डारी, वाणिज्यमन्त्री महतो, अर्थमन्त्री पाण्डे र उर्जामन्त्री वरिष्ठताका क्रममा क्रमशः पहिलो, पाँचौं, सातौं, आठौं र १० औं स्थानमा छन्। यादव २२ औं स्थानमा छन्।
मलेसिया यात्रामा रहेका सिंह पनि वरिष्ठता क्रममा ९ औं स्थानमा छन्। संघीय मामिलामन्त्री रिजाल १३ औं र श्रममन्त्री आलम १७ औं नम्बरका हुन्।
प्रधानमन्त्रीको अनुपस्थितिमा उपप्रधान र भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई कार्यबहाकको जिम्मेवारी दिइएको छ।
तर, स्थायी सरकार मानिने कर्मचारीतन्त्रका प्रमुख, मुख्य सचिव माधव घिमिरे, भारत भ्रमणमा मन्त्रीहरूसँगै उनीहरूले सम्हालेका मन्त्रालयका सचिव र मन्त्री नगए पनि परराष्ट्रका दुवै सचिव भ्रमणमा भएकाले 'निर्णय प्रक्रिया र कामकाज ठप्प हुने' एक प्रशासन विज्ञले औल्याए।
मुलुकको प्रशासन हेर्ने प्रमुख पदाधिकारीका नाताले प्रधानमन्त्री नभएका बेला मन्त्रीहरूबीच समन्वय गराउने दायित्वसमेत मुख्य सचिवमा हुन्छ। 'त्यसैले प्रधानमन्त्रीका अरू भ्रमणमा समेत सामान्यतया मुख्य सचिव सहभागी हुँदैनन्,' उनको भनाई छ।
'मन्त्री र सचिवहरू एकै चोटी विदेश जाँदा कामकाज ठप्पै हुन्छ' एक सचिवले भने, 'सद्भावना भ्रमणका लागि प्रधानमन्त्रीसँग पनि यति धेरै मन्त्रि र सचिव जानुपर्ने हो वा होइन, त्यसमाथि सोचविचार गरिनुपर्थ्यो।'