
'कोही...मेरो' छिट्टै
कान्तिपुर संवाद्दाता
काठमाडौ, २०६६ पुस २३ -
चार युवा साथीहरूको जीवनमा एउटा यस्तो घटना घट्छ जसले उनीहरूलाई मात्र बदल्दैन, उनीहरूको गहिरो सम्बन्धलाई पनि बदलिदिन्छ । त्यो बदलावमा यी साथीहरूको कथा बोकेको आलोक नेम्वाङको 'कोही...मेरो,' छायांकन भर्खर सिद्धिएर सम्पादनको क्रममा छ ।
आगामी चार महिनाभित्र 'कोही...मेरो,' रिलिज गर्ने सोच बनाएका निर्देशक आलोकले फिल्मको सम्पादन कार्य धमाधम भइराखेको जानकारी दिए । 'जारी सम्पादनलगत्तै फिल्म डविङतिर लाग्नेछौं,' उनले भने । म्युजिक भिडियो निर्देशनबाट एकैचोटि रोमान्टिक कमेडी फिल्म 'सानो संसार,' बनाएर निर्देशकमा चिनिएका बनेका आलोकको 'कोही...मेरो,' दोस्रो फिल्म हो ।
आलोकले 'कोही...मेरो,' मा फिल्मी मसला प्रयोग गर्न कन्जुस्याइँ नगरेको बताए । 'पहिलो फिल्म 'सानो संसार,' नेपाली हलिउड स्टाइलको अफबिट सिनेमा थियो तर मेरो यो दोस्रो फिल्म गाना बजानादेखि भावनात्मक रूपमा जोडदार रहने छ,'
उनले भने ।
सहरमा बसिरहेका युवाहरूको प्रेम, त्याग र महत्वाकांक्षा कथावस्तु बोकेको यो फिल्म मुभिज डट कम ब्यानरमा बनिरहेको छ । सुरज वंशालले निर्माण गरेको 'कोही...मेरो,' को छायांकन काठमाडौं, जोमसोम, पोखरा र सौराहाजस्ता पर्यटकीय थलोमा गरिएको थियो । लामो अन्तरालमा फिल्मी पर्दामा देखिन लागेकी झरना बज्राचार्यसहित सञ्चिता लुइँटेल, आर्यन सिग्देल र नवनायक सुबोध थापा आलोकको यो फिल्ममा
मुख्य भूमिकामा छन् । उनीहरूलाई नायिका तृप्ती नाडर र दिनेश शर्माले साथ दिएका छन् । फिल्ममा आलोक नेम्वाङ र प्रवीण अधिकारीको कथावस्तु छ ।